व्यक्तित्व, समाज र राष्ट्रमा नैतिक नेतृत्वको प्रभाव
वि.सं.२०८२ फागुन ७ बिहीवार
shares
नेतृत्व केवल शक्ति, पद वा अधिकारको प्रदर्शन होइन। नेतृत्व दृष्टि, धैर्य, नैतिकता र समाजप्रतिको दायित्वको संयोजन हो। यदि नेतृत्वकर्तामा नैतिक मूल्य, सदाचार र जिम्मेवारीको भाव छैन भने त्यसको प्रभाव नकारात्मक मात्र हुँदैन, तर व्यक्तित्व, समाज र राष्ट्र सबै तहमा अस्थिरता, भ्रस्टाचार र अविश्वासको वातावरण सिर्जना गर्छ। व्यक्तित्व, समाज र राष्ट्रको समग्र विकासमा नैतिक नेतृत्वको भूमिका अतुलनीय छ। यस लेखमा हामी नैतिक नेतृत्वले कसरी व्यक्तिगत चरित्र, सामाजिक संरचना र राष्ट्रिय जीवनलाई प्रभाव पार्छ भन्ने विषयलाई विशद रूपमा व्याख्या गर्नेछौं।
व्यक्तित्व विकासमा नैतिक नेतृत्वको प्रभाव अत्यन्त गहिरो हुन्छ। नैतिक नेतृत्वले मात्र व्यक्तिलाई मूल्य, आदर्श र अनुशासनमा दृढ बनाउँछ। व्यक्तित्व विकास व्यक्तिको आचार, चरित्र, सोच र निर्णय क्षमतामा नैतिक स्थिरता ल्याउनु हो।
पूर्वीय दर्शनले व्यक्तित्व विकासको मूल आधार नैतिकता, सत्य, कर्म र आत्मबोध मान्छ। जब नेतृत्वकर्ता यी मूल्यको पालन गर्दछ, तब उसले अरुलाई उदाहरणका रूपमा प्रेरित गर्छ। नैतिक नेतृत्वले व्यक्तिलाई आन्तरिक चेतना, आत्मबोध र स्वमूल्यांकनमा पनि अग्रसर बनाउँछ। जब व्यक्ति आफ्नो स्वार्थ, अहंकार र लोभलाई नियन्त्रण गर्न सक्षम हुन्छ, तब उसले समाजहित, राष्ट्रहित र मानव कल्याणका लागि आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न सक्छ। यस्तो व्यक्तित्व समाजमा विश्वास, सहकार्य र स्थायित्वको वातावरण सिर्जना गर्छ।
व्यक्तित्व विकासपछि नैतिक नेतृत्वले समाजमा स्थायी प्रभाव पार्छ। समाज एउटा समष्टि हो, जहाँ प्रत्येक नागरिकले आफ्नो कर्तव्य र अधिकारको पालन गर्नु पर्छ। यदि समाजमा नेतृत्वकर्तामा नैतिकता र जिम्मेवारीको भाव प्रबल छ भने समाजमा पारदर्शिता, न्याय र समानता सुनिश्चित हुन्छ।पूर्वीय दर्शनले नैतिकता र धर्मलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। धर्म धर्म भनेको सत्य बोल्नु, अरुको हितमा काम गर्नु, अन्यको सम्मान गर्नु र समाज सुधारमा योगदान दिनु हो। जब नेतृत्वकर्ता यी सिद्धान्तमा अडिग हुन्छ, तब उनीहरूको निर्णय र नीति समाजमा विश्वास र सहिष्णुता फैलाउँछ।नैतिक नेतृत्वले समाजमा सामाजिक न्याय, समान अवसर, सहिष्णुता, भाइचारा र सहयोगको भावना प्रवर्धन गर्छ। यसले भेदभाव, असमानता र हिंसा जस्ता सामाजिक विकृति कम गर्न योगदान पुर्याउँछ। यस्तो समाजमा नागरिकहरूको सहभागिता, जिम्मेवारी र राष्ट्रप्रतिको समर्पण बढ्छ।
व्यक्तित्व र समाजमा सकारात्मक प्रभाव पारेपछि नैतिक नेतृत्वले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। राष्ट्र निर्माण राष्ट्र निर्माण स्थिरता, सामाजिक न्याय, मानव अधिकारको सम्मान, पारदर्शिता, सार्वजनिक विश्वास र दीर्घकालीन विकास सुनिश्चित गर्नु हो।
पूर्वीय दर्शनले राष्ट्रको स्थायित्व र समृद्धि मानव मूल्य, नैतिक प्रशासन र नागरिकको कर्तव्यपालनमा निर्भर रहेको बताउँछ। यदि राष्ट्रका नेतृत्वकर्ता ईमानदार, पारदर्शी र समाजहितमुखी छन् भने, नीति निर्माणदेखि सेवा प्रवाहसम्म नैतिकता र पारदर्शिता कायम हुन्छ। यस्तो प्रशासनले भ्रष्टाचारमुक्त, समावेशी, उत्तरदायी र न्यायपूर्ण राष्ट्र निर्माण गर्न सहयोग पुर्याउँछ।
नेपालमा संघीय लोकतान्त्रिक शासन प्रणाली लागू भए पनि यसको सफलता नेतृत्वमा निर्भर छ। यदि राष्ट्रका नेताहरूमा नैतिक मूल्य, जिम्मेवारी र पारदर्शिता हुन्छ, तब नीति र कार्यक्रम प्रभावकारी हुन्छ। नागरिकमा विश्वास बढ्छ र सामाजिक एकता प्रवर्धन हुन्छ। विपरीत, यदि नेतृत्वमा भ्रष्टाचार, स्वार्थ र अनुशासनहीनता हुन्छ भने राष्ट्रिय स्तरमा अस्थिरता, असमानता र अविश्वास सिर्जना हुन्छ।नैतिक नेतृत्वले राष्ट्रको दृष्टिकोणलाई दिगो विकास, सामाजिक न्याय, आर्थिक समानता र मानव अधिकारको सम्मानतर्फ निर्देशित गर्छ। यसले राष्ट्रिय नीति निर्माण, कूटनीति, प्रशासनिक कार्यान्वयन र जनसेवामा सकारात्मक प्रभाव पार्छ। उदाहरणका लागि, यदि सरकारी नीति निर्माणमा नैतिकता र पारदर्शिता अपनाइन्छ भने भ्रष्टाचार कम हुन्छ, सार्वजनिक स्रोतको उचित प्रयोग सुनिश्चित हुन्छ र दीर्घकालीन विकास सम्भव हुन्छ।
पूर्वीय दर्शनले नैतिक नेतृत्वका लागि गहिरा सिद्धान्त प्रस्तुत गरेको छ। नेतृत्वकर्ताले सत्य, कर्म, नैतिकता र आत्मज्ञानको आधारमा मात्र निर्णय लिनु पर्छ। सत्यको पालनले विश्वास र स्थायित्व सिर्जना गर्छ, असत्यले अस्थिरता र अविश्वास ल्याउँछ। कर्ममा ईमानदारी र जिम्मेवारी अपनाउनाले परिणाम सकारात्मक आउँछ, जबकि खराब कर्मले विफलता जन्माउँछ। निर्णय र नीति निर्माणमा नैतिकता र मूल्यको पालन अपरिहार्य छ; केवल स्वार्थ वा लाभ हेर्ने दृष्टिकोणले राष्ट्रलाई संकटमा पार्छ। आत्मज्ञानले नेतृत्वकर्तालाई स्वार्थ, अहंकार र लोभ नियन्त्रण गर्न सघाउँछ, जसले स्थिर, न्यायपूर्ण र विवेकपूर्ण प्रशासन सुनिश्चित गर्छ।
पूर्वीय दर्शनका यी सिद्धान्तहरू आजको आधुनिक समाज र प्रशासनमा अत्यन्त सान्दर्भिक छन्। यदि राष्ट्रका नेतृत्वकर्ताले यी मूल्य अपनाए, तब मात्र दीर्घकालीन विकास, सामाजिक न्याय र राष्ट्रिय स्थिरता सम्भव हुन्छ।
अहिलेको विश्व र नेपालमा नेतृत्वमा नैतिकताको कमी प्रष्ट देखिन्छ। भ्रष्टाचार, स्वार्थ, शक्ति दुरुपयोग र असक्षम प्रशासनले व्यक्तिगत जीवनदेखि समाज र राष्ट्रसम्म अस्थिरता ल्याएको छ। यस परिप्रेक्ष्यमा पूर्वीय दर्शनले प्रस्तुत गरेको नैतिक नेतृत्व सिद्धान्त अत्यन्त आवश्यक छ। नैतिक नेतृत्वले सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ, नागरिकमा विश्वास र सक्रिय सहभागिता बढाउँछ, समाजमा न्याय, समानता र भाईचारा कायम राख्छ। दीर्घकालीन राष्ट्र विकास र समृद्धिका लागि नैतिक नेतृत्व अपरिहार्य छ। यसैले, नैतिक नेतृत्व केवल व्यक्तिगत गुण नभई समाज र राष्ट्र सुधारको मूल आधार हो।
व्यक्तित्व, समाज र राष्ट्रमा नैतिक नेतृत्वको प्रभाव अपरिहार्य छ। व्यक्तित्वमा नैतिकता र संयम विकास गर्दा व्यक्ति जिम्मेवार, अनुशासित र समाजहितमुखी हुन्छ। समाजमा नैतिक नेतृत्वले विश्वास, न्याय, समानता र सहकार्य प्रवर्धन गर्छ। राष्ट्रमा नैतिक नेतृत्वले पारदर्शी, भ्रष्टाचारमुक्त, स्थिर र दिगो प्रशासन सुनिश्चित गर्छ।पूर्वीय दर्शनका सिद्धान्त—सत्य, कर्म, नैतिकता, धर्म र आत्मज्ञान—नैतिक नेतृत्वको आधार हुन्। यदि नेतृत्वकर्ताले यी मूल्य अपनाए, तब मात्र व्यक्तित्व, समाज र राष्ट्रको समग्र विकास सम्भव छ। नेपालको संघीय लोकतान्त्रिक प्रणालीमा नैतिक नेतृत्व अपनाइए, तब राष्ट्रले स्थिरता, समृद्धि, सामाजिक न्याय र दिगो विकास सुनिश्चित गर्न सक्छ।
नैतिक प्रशासन समाजको नैतिक संरचना, राष्ट्रिय एकता र दीगो विकासको आधार हो। सत्य, न्याय, सहिष्णुता, समानता, पारदर्शिता र उत्तरदायित्वले मात्र प्रशासनलाई सशक्त बनाउँछ। जब प्रशासन नैतिक र जिम्मेवार हुन्छ, तब मात्र राष्ट्रले समृद्धि, शान्ति र दिगो विकास हासिल गर्न सक्छ। त्यसैले, समाज र राज्यका सबै अंगहरूले नैतिक प्रशासनको संरक्षण, प्रवर्द्धन र अभ्यासमा सक्रिय योगदान दिनु आवश्यक छ।नैतिक प्रशासन नेतृत्व, शिक्षा, प्रविधि र नैतिक मूल्यहरूको संयोजन हो। यो समाजमा विश्वास, सहकार्य र मेलमिलापको वातावरण सिर्जना गर्छ, जसले राष्ट्रलाई समृद्धि र स्थायित्वतर्फ डोर्याउँछ। नैतिक प्रशासनको शक्ति नै समाज र राष्ट्रको स्थायी विकासको अपरिहार्य आधार हो।
निष्ठा र अनुशासन प्रशासनको आत्मा हुन्—यी बिना सरकार केवल यान्त्रिक संयन्त्र बन्छ, जसले जनताको पीडा महसुस गर्न सक्दैन। त्यसैले अबको सुधारको बाटो हो—प्रशासनलाई नीति र कानुनभन्दा पहिला चेतना, धर्म, सेवा र सदाचारको आधारमा पुनःनिर्माण गर्नु। यही बाटोले नेपाललाई न केवल प्रशासनिक दृष्टिले सुदृढ बनाउनेछ, तर नैतिक र आध्यात्मिक रूपमा पनि समृद्ध बनाउनेछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)





























