चेतनाको आरोहण र साँचो गौरव     

1K
shares

 

साँचो गौरव हाम्रो भित्री चेतना र आत्मज्ञानबाट उत्पन्न हुन्छ। मानिस जीवनभर विभिन्न उपलब्धि र सम्मानको पछाडि लाग्छ, तर यदि चेतना जाग्रत छैन भने ती सबै केअस्थायी प्रकाश जस्तै मिटीन्छन्। चेतनाको आरोहण यही भित्री उज्यालोलाई खोज्ने यात्रा हो, जहाँ आत्म–साक्षात्कार, मनको शुद्धता, र नैतिक विवेक हाम्रो साँचो गौरवको आधार बन्न पुग्छ।

साँचो गौरवको आरम्भ आत्म–ज्ञानबाट हुन्छ। जब हामी आफूलाई, आफ्ना कमजोरी–शक्तिहरू, भावनात्मक बाधाहरू र मानसिक अवस्थाहरूलाई स्पष्ट रूपमा बुझ्न थाल्छौँ, तब जीवनका वास्तविक उद्देश्यहरूप्रति हाम्रो दृष्टिकोण प्रष्ट हुन्छ। चेतनाको वृद्धि हामीलाई केवल व्यक्तिगत उन्नतिको बाटो देखाउँदैन, तर अरूको भलाइ र समाजमा सकारात्मक योगदानको मार्ग पनि उजागर गर्छ। यसरी हामीको गौरव आत्मकेन्द्रित नभई जीवन–केन्द्रित बन्छ।

यो यात्रा सजिलो हुँदैन। अनेकौं भ्रम, अहंकार, लोभ र ईर्ष्या बीच हामी भुल्न सक्छौँ कि वास्तविक गौरव हाम्रो भित्री शान्ति र न्याय–भावनामा छ। चेतनाको आरोहणले हामीलाई यस्ता बाधाहरू चिन्न, स्वीकार गर्न र पार गर्न सिकाउँछ। जब हामी हरेक चुनौतीलाई आत्म–अन्वेषणको अवसरको रूपमा लिन्छौँ, तब हाम्रो आत्मा एक प्रकारको आध्यात्मिक दृढता प्राप्त गर्छ।

साँचो गौरवले जीवनमा सम्मान ल्याउँछ, तर त्यो सम्मान बाह्य दृष्टिबाट होइन, आत्म–मूल्य र कर्म–शुद्धताबाट आउँछ। एउटा चेतनाशील व्यक्ति आफ्नो क्रियाकलापमा सत्य, दया र सहानुभूतिको मार्ग अपनाउँछ। अरूलाई सहयोग, सहिष्णुता र प्रेम दिँदा, उसले भित्री सन्तोषको अनुभव गर्छ, जुन कुनै बाह्य पुरस्कारले दिन सक्दैन। यही अनुभव नै हाम्रो गौरवको वास्तविक आधार हो। चेतनाको आरोहणले हामीलाई जीवनको अर्थ बुझ्न सहयोग गर्छ। हाम्रा कार्य, विचार र भावनाहरू केवल व्यक्तिगत लाभका लागि होइन, सम्पूर्ण मानवता र वातावरणको कल्याणका लागि निर्देशित हुन थाल्छन्। साँचो गौरव प्राप्त गर्ने व्यक्ति आफ्नो भित्री उज्यालोलाई संसारसँग साझा गर्छ, र यसरी जीवनमा साँचो शान्ति, उद्देश्य र गौरव अनुभव गर्छ। यसैले, जीवनभरको यात्रा भित्री चेतना र आत्म–ज्ञानको आरोहणमा केन्द्रित हुनुपर्छ। जब चेतना जाग्रत हुन्छ, तब हामी जीवनको प्रत्येक अनुभवलाई शिक्षाको रूपमा ग्रहण गर्न सक्छौँ र वास्तविक गौरवको अनुभव प्राप्त गर्छौँ। यही भित्री उज्यालो हो, जसले हाम्रो जीवनलाई पूर्णता र अर्थले भरिदिन्छ।

मानव जीवनको वास्तविक मूल्य उसको बाह्य उपलब्धि वा भौतिक सम्पत्तिमा मात्र निर्भर गर्दैन। उपनिषद् र भगवद् गीता जस्ता ग्रन्थहरूले ज्ञानलाई बौद्धिक साधन नभई आत्मा शुद्ध गर्ने साधनको रूपमा व्याख्या गरेका छन्। जब व्यक्ति आफ्नो जीवनलाई भौतिक प्रदर्शन र विलासिताबाट अलग गर्दै, आन्तरिक मूल्य, विवेक र आध्यात्मिक चेतनामा केन्द्रित बनाउँछ, तब उसको गौरव स्थायी र गहन हुन्छ।

साँचो गौरव धर्म, नैतिकता, सेवा र आत्मा जागरणसँग रूपमा जोडिएको हुन्छ। पुस्तकालय, ज्ञान बाँड्ने प्रयास, ध्यान, ध्यानयुक्त कर्म र विचार सृजनाले मानवको चेतनालाई उज्यालो बनाउँछन्, जसले समाजमा स्थायी परिवर्तन र सकारात्मक ऊर्जा फैलाउँछ। यस दृष्टिले गौरव केवल बाह्य प्रदर्शन होइन, आत्मज्ञानको यात्रा हो—जहाँ मानिसले आफ्नो वास्तविक मूल्य र जीवनको उद्देश्य बोध गर्छ। यही यात्रामा व्यक्ति मात्र सफल हुँदैन, ऊ सभ्य, विवेकी र आत्मसाक्षात्कारपूर्ण मानव बन्छ।

मानव सभ्यता सधैँ गौरवको खोजमा अग्रसर रहँदै आएको छ। अस्तित्वको बोधसँगै मानिसले आफूलाई अरूभन्दा अलग र श्रेष्ठ देखाउन चाह्यो। कहिले मुकुटमा, कहिले धनमा, कहिले शक्ति र कीर्तिमा। समयसँगै गौरवका प्रतीक फेरिँदै गए। प्राचीन युगमा ज्ञान, तपस्या र सत्यनिष्ठा गौरवका आधार थिए; तर आधुनिक युगमा ती स्थान विलासिता, प्रविधि र प्रदर्शनले ओगटेका छन्। यसरी, गौरवको अर्थ क्रमशः आत्माबाट वस्तुतर्फ सर्दै गएको छ।

आजको समाजमा घडीले समयभन्दा हैसियत देखाउँछ, मोबाइलले संवादभन्दा प्रतिष्ठा जनाउँछ। मानिस कति बुझ्दछ भन्नेभन्दा कति देखाउँछ भन्नेमा मूल्याङ्कन हुन थालेको छ। बाह्य चमक नै सफलताको प्रमाण ठानिएको छ। तर यो चमक क्षणभङ्गुर छ। यसमा चेतनाको उज्यालो छैन। अहंकारको झिल्को छ। साँचो गौरव कुनै ब्रान्डको लेबल होइन, विचारको स्तर हो। कुनै सम्पत्तिको प्रदर्शन होइन, आत्माको परिष्कार हो।साँचो गौरव त्यो हो, जसले समाजमा प्रकाश फैलाउँछ। अन्धकारमा चेतनाको दियो बाल्छ। प्रश्न उठ्छ—महँगो घडी बाँध्नुमा गौरव के छ, जब समयको अर्थ बुझ्ने चेत हराउँदै गएको छ? महँगो मोबाइल बोक्नुमा गौरव के छ, जब ज्ञानका पानाहरू पल्टाउने इच्छा मरेको छ?

सभ्यता भवन, वस्त्र र प्रविधिले मापन हुँदैन। सभ्यताको आत्मा चेतनामा हुन्छ। आज मानिसलाई “के पढ्यौ?” भन्दा “के बोक्यौ?” भन्ने प्रश्नले परिभाषित गर्न थालिएको छ। सफलताको मापदण्ड घडीको चमक र मोबाइलको मोडेल बनेको छ। तर कसैले सोध्दैन—तिमीले के सोच्छौ? तिमीले समाजलाई के दियौ?

पूर्वीय दर्शनले ज्ञानलाई आध्यात्मिक प्रकाश मानेको छ। उपनिषद् भन्छ—“विद्यया अमृतमश्नुते।” ज्ञानले नै अमरत्व दिलाउँछ। ज्ञान बिना आत्मा अन्धकारमा हुन्छ र त्यो अन्धकार कुनै महँगो घडी वा मोबाइलले हटाउन सक्दैन। ज्ञानले मन उज्यालो बनाउँछ, विवेकले जीवनलाई दिशा दिन्छ—यही साँचो गौरव हो।

प्रविधि मानव सृजनशीलताको चमत्कार हो, तर समस्या तब सुरु हुन्छ जब प्रविधि चेतनाभन्दा ठूलो ठानिन्छ, जब वस्तु मूल्यभन्दा माथि राखिन्छ। मोबाइल आवश्यक छ—विचार विनिमयका लागि। घडी आवश्यक छ—समयको सदुपयोगका लागि। तर दुवै अहंकार प्रदर्शनका साधन बने भने सभ्यता सतही हुन्छ। त्यसैले आज आवश्यकता छ—भोगवादी जीवनबाट बोधवादी जीवनतर्फ फर्किने। साँचो गौरव वस्तुमा होइन, विचारमा हुन्छ; धनमा होइन, धर्ममा हुन्छ। जब व्यक्ति ज्ञान, सेवा र सत्यमा आफ्नो सफलता खोज्छ, तब ऊ समयभन्दा ठूलो बन्छ। यही नै गौरवको पुनर्परिभाषा हो—जहाँ आत्मा धनभन्दा उज्यालो हुन्छ, विवेक शक्तिभन्दा महान् हुन्छ, र मानव वास्तवमै मानव बन्छ।

civil hospital
Hams Hospitals