सिंहदरबार भित्र हाजिरी किताब बोकेर कर्मचारी खोज्दै सतर्कता टोली
वि.सं.२०८३ वैशाख ८ मंगलवार
shares
काठमाडौं। वर्षौँदेखि ढिलासुस्ती, बहानाबाजी र गैरजिम्मेवारीमा डुबेको सिंहदरबार अहिले ‘डरको राज’मा चलेको छ। बालेन्द्र शाह नेतृत्वमा कडाइ सुरु भएपछि सरकारी कर्मचारीतन्त्र एकाएक घुँडा टेक्न बाध्य भएको छ।
हिजोसम्म ११ बजेसम्म कार्यालय नझर्ने, काम नगरी फर्किने र बहाना बनाउने कर्मचारीहरू अहिले भने ९ नबज्दै हाजिरी गर्न दौडिरहेका छन्। समयमै नपुगेको खण्डमा सीधा कारबाहीको डरले उनीहरूलाई ‘डिसिप्लिन’ सिकाएको छ।
राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमनले सिंहदरबारभित्र त्रासको वातावरण नै सिर्जना गरेको छ। ९ बजेर ५ मिनेटमै हाजिरी किताब बोकेर कर्मचारी खोज्दै हिँड्ने टोली देखिएपछि ढिलाइ गर्नेहरूको मुटु काँप्न थालेको छ।
अब ५ बजेर ५ मिनेटअघि कार्यालय छाड्ने हिम्मत कसैले गर्दैन। पहिले बिरामीको बहाना बनाउने र बिदा खाने कर्मचारीहरू समेत अहिले ‘एक्कासी स्वस्थ’ भएका छन्।
मनलाग्दी पोसाक, ढिलासुस्ती र लापरबाही अब इतिहास बन्दै गएको छ। डिजिटल निगरानी र चुस्त सेवा प्रणालीले सरकारी कार्यालयहरूमा नयाँ अनुशासन थोपरेको छ।
प्रधानमन्त्रीको स्पष्ट सन्देश छ—काम गर, होइन भने ठाउँ खाली गर। यही सन्देशले कर्मचारीतन्त्रलाई चुपचाप तर बाध्य भएर ट्रयाकमा फर्काएको छ।
सिंहदरबारभित्र अहिले देखिएको यो परिवर्तन केवल सुधार होइन, ‘झट्का दिएर गरिएको सुधार’ हो। वर्षौँदेखि जरा गाडेको बेथिति तोड्न कडाइ आवश्यक पर्छ भन्ने सन्देश सरकारले व्यवहारमै देखाएको छ।
अब प्रश्न उठ्न थालेको छ—यो डरमा आधारित अनुशासन कति दिन टिक्छ? तर तत्कालका लागि भने सिंहदरबार ‘फुल स्पिड’मा देखिएको छ।



























