बचतकर्तालाई आफ्नै डिपोजिट निकाल्न सास्ती, एटीएममा हुँदैन पैसा, चेक भएकालाई केरकार !

150
shares

पछिल्लो समय बैंक, वित्तिय संस्थामा रकम डिपोजिट गर्न सजिलो रहेको तर झिक्न निकै गाह्रो रहेको गुनासो बढ्दो छ । पैसा झिक्न जाँदा बैंक, वित्तिय संस्थाका कर्मचारीहरुले केरकार गर्ने गरेको बचतकर्ताहरुको गुनासो छ । उनीहरुका अनुसार कर्मचारीहरुले किन पैसा निकाल्न लागेको ? केमा लगानी गर्ने ? जस्ता प्रश्न सोध्छन् ।

जवाफ नदिएमा पैसा नै दिन नमान्ने बचतकर्ताहरु बताउँछन् । ‘बल्लतल्ल लाइनमा लागेर पैसा झिक्न पालो आएको हुन्छ । तर, कर्मचारीहरु कहिले हस्ताक्षर मिलेन भनेर पैसा दिँदैनन् त कहिले किन निकाल्न लागेको, के गर्नेजस्ता प्रश्न सोधेर हैरान पार्छन् । अरुकै अगाडि जवाफ दिन बाध्य पार्छन् । यसले हाम्रो गोपनीयता हनन भइरहेको छ,’ एक बचतकर्ताले भने ।
यता, डेबिट कार्ड (एटीएम) बाट पैसा निकाल्नेलाई पनि उत्तिकै सास्ती छ ।

पहिला डेबिट कार्डबाट एक पटकमा २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो । तर, नेपाल राष्ट्र बैंकले उक्त सीमा घटाएर एक पटकमा २० हजार र दैनिक ५० हजार रुपैयाँमात्र निकाल्न पाउने व्यवस्था गर्यो । राष्ट्र बैंक भन्छ–एटीएम २४ सै घण्टा खुल्छ । खुलेरमात्र के गर्नु, बैंकको एटीएम मेशिनमा पैसा नै नभएपछि ।
एटीएम मेशिनमा पैसा नभएर रित्तो फर्किनुपरिरहेको अधिकांश बचतकर्ताको गुनासो छ ।

भन्छन्–खाँचो परेर आएको हुन्छ । तर, मेशिनमा पैसा नै हुँदैन । यसले बचतकर्ताहरु आफ्नै निक्षेप निकाल्नबाट वञ्चित भइरहेका छन् । सर्वसाधारणले आपतविपद् वा दुःख, सुखमा काम लाग्छ भनेर बैंक, वित्तिय संस्थामा निक्षेप जम्मा गरेका हुन्छन् । निक्षेप लिएर जाँदा बैंकले सहजै लिन्छ । तर, त्यही पैसा निकाल्न भने बचतकर्ताले अनेकौं दुःख, हैरानी भोग्नुपरिरहेको छ ।
सहकारी, लघुवित्त, फाइनान्स डुब्दा करोडौं बचतकर्ताको बिचल्ली भयो ।

उनीहरुको रुवाबासी चलिरहेकै छ । खाईनखाई, जीवनभर मेहेनत गरेर कमाएको पुँजी डुब्दा कतिपयले आत्महत्या गरेका छन् त कतिपय डिप्रेसनमा गएका छन् । वित्तिय संस्था डुब्नुअघि बचतकर्ताले आफ्नो निक्षेप निकाल्न कोशिस नगरेका होइनन् । तर, अनेकौं बहाना र आश्वासन दिलाएर बचतकर्तालाई निक्षेप फिर्ता गरिएन ।‘हामी डुब्दैनौं, डुबेपनि हम्रो आफ्नै भवन छ, यो भवन बेचेर भएपनि बचत फिर्ता गर्छौ’ सहकारीका अध्यक्ष, सञ्चालक, कर्मचारीहरु बचतकर्तालाई आश्वासन दिन्थे ।

बचतकर्ताले पनि विश्वास गरे । त्यही विश्वासले गर्दा पाँच वर्षदेखि उनीहरुको रुवाबासी चलिरहेको छ । सहकारी डुब्यो, अध्यक्ष, सञ्चालक, कर्मचारीहरु भागे । उनीहरुको पत्तो छैन । अनि बचतकर्ताहरु निक्षेप फिर्ता माग्दै कहिले आन्दोलन गर्छन् त कहिले आमरण अनशन बस्छन् । त्यही हालत अब बैंकका बचतकर्ताको पनि हुने संकेत देखिँदैछ । नत्र भए किन सहकारीजस्तै बैंकले पनि बचतकर्तालाई निक्षेप फिर्ता दिन आलटाल गरिरहेको छ ?

यसतर्फ बचतकर्ता र सरकार दुवै सतर्क हौं । किनकि बैंक डुब्नु भनेको जनता डुब्नु हो । राज्य डुब्नु हो । अर्थतन्त्र धरायसी हुनु हो । त्यसैले, बैंकले के कस्ता क्षेत्रमा लगानी गरेको छ ? बैंकको अवस्था कस्तो छ ? सम्बन्धित निकायहरुले अध्ययन गरौं । नत्र पछि पछुताउनुबाहेक कुनै विकल्प रहँदैन । अर्कोकुरा, पछिल्लो समय बैंकको खाताबाट आफ्नो निक्षेप हराएको गुनासो पनि जताजतै सुनिन्छ ।

हुन त बैंककै कर्मचारीको मिलीभगतमा बचतकर्ताको खाताबाट रकम चोरिएका घटना थुप्रा छन् । यसले बैंकमा आफ्नो निक्षेप सुरक्षित छ भनी ढुक्क भने बस्नुहुन्न । बेलाबखत चेक गरिरहनुपर्छ । नत्र अन्धोविश्वासले नराम्ररी डुबाउनसक्छ । अहिले बैंकका ऋणीहरुको पनि गुनासो बढ्दो छ । आफूहरुले नियमित साँवाब्याज तिरेपनि ऋण ज्युँको त्यूँ रहेको उनीहरुको आरोप छ । ‘समयमै किस्ता तिर्दासमेत पेनाल्टी, हर्जाना हानिन्छ,’ उनीहरु भन्छन् ।

यता, बैंक आफैं पनि तनावमा छ । सहकारीजस्तै बैंकको पनि लगानी तीन क्षेत्रमा छ, घरजग्गा, गाडी र सेयर । यी क्षेत्रमा बैंकले आँखा चिम्लेर लगानी गरेको छ । भूमाफिया, दलालहरुले यी वस्तुको मूल्य कृत्रिम रुपमा बढाए, बैंकले अध्ययन नै नगरी धमाधम कर्जा प्रवाह गर्यो । केही दशकअघि रोपनीको पाँच–दश हजारमा नबिक्ने खेतबारी भूमाफियाहरुले डोजर चलाएर टुक्राटुक्रा पारे । र, आनाकै लाखदेखि करोडौंमा बेचे ।

त्यही जग्गा धितो राखेर बैंकले खर्बौ कर्जा प्रवाह गरेको छ । छिमेकी मुलुक भारत र चीनले सिसा, फलाम, रबर, कपडा, फर्मलगायतबाट गाडी बनाए । अटो शोरुमहरुले मोडेलअनुसार लाखदेखि करोडमा गाडी किनेर भित्र्र्याए । र, त्यही गाडी पाँच गुणा बढी मूल्यमा बेचे । सोही गाडी धितो राखेर बैंकले पनि खर्बौ ऋण दियो । बैंक, वित्तिय संस्थासहित जलविद्युत, इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर निष्काशन गर्दै आएका छन् ।

दलालहरुले यही सेयरको मूल्य बढाएर कित्ताकै ३२ सयदेखि पाँच हजारसम्ममा बेचे । सर्वसाधारणले किने । अनि बैंकले त्यही सेयर धितो राखेर कित्तामै २८ सयसम्म कर्जा प्रवाह गर्यो । तर, केही वर्षयता यी तीनै क्षेत्र सुस्ताएका छन् । घरजग्गा, गाडी र सेयर गाडी ठप्पजस्तै भएको छ । मूल्य लगातार घटिरहेको छ, तैपनि किन्ने कोही छैनन् । यिनै क्षेत्रमा लगानी गर्दा सहकारी भाग्नुपर्यो, अब बैंकको सोही हविगत हुने देखिन्छ ।

बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारीहरुले हिजो घुस खाएर कर्जा बाँडे । सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कलकारखाना, राजपरिवारलगायतको जग्गासमेत धितो राखेर कर्जा दिइयो । एक करोडको धितोलाई पाँच करोडसम्म ऋण दिए । त्यसको दश प्रतिशत कमिशन, तीन प्रतिशत सेवाशुल्क अनि १२ देखि १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म असुले । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने ।

तर, धितोकै मूल्य घटेपछि बैंक संकटमा परेको हो । अहिले बैंकसँग धितो त थुप्रै छ तर किन्ने कोही छैनन् । फेरि धितोको मूल्य घट्दा ऋणै नउठ्ने अवस्था छ । यसले बैंक तनावमा परेको हो । कर्जा नउठेपछि बैंकसँग पैसा हुँदैन अनि पैसा नभएपछि बचतकर्तालाई केरकार गरिन्छ । अहिले भएको यही नै हो ।
बैंकसँग निक्षेप फिर्ता गर्न रकम छैन, अनि रकम निकाल्न आएका बचतकर्तालाई के, कसो, किन भन्दै हैरानी पारिन्छ । सँगै बैंकले शाखा घटाउने र कर्मचारी कटौती पनि शुरु गरिसक्यो । निक्षेपको पनि ब्याज लगातार घटाइरहेको छ । यसतर्फ बुझौं कि बैंक निकै समस्यामा छ । त्यसैले, बचतकर्ता चनाखो हौं ।

civil hospital
Hams Hospitals