चेतनाको उज्यालोमा मानव अस्तित्वको पुनर्खोज
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।
मानव जीवन अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतर्फ, सीमितताबाट अनन्ततर्फको चेतनाको यात्रा हो। यही यात्राको केन्द्रमा उज्यालो चेतना उभिएको छ। यो त्यस्तो शक्ति हो, जसले मानिसलाई बाँच्न मात्र होइन, अर्थपूर्ण रूपमा बाँच्न सिकाउँछ। जब मन उज्यालो हुन्छ, तब जीवनका कठिनाइहरू पनि अवसरझैँ देखिन थाल्छन् र पीडा पनि शिक्षामा रूपान्तरित हुन्छ।
मानव सभ्यताको सम्पूर्ण इतिहासलाई एउटा प्रश्नले निरन्तर पछ्याइरहेको छ—मानिस आखिर को हो? ऊ जैविक अस्तित्व हो, कि चेतनाको विराट सम्भावना? उसले निर्माण गरेका सभ्यता, विज्ञान, राज्य, धर्म, संस्कृति र प्रविधिले यो प्रश्नको अन्तिम उत्तर दिन सकेका छैनन्। प्रत्येक युगले आफ्नै उत्तर खोज्यो, तर प्रत्येक उत्तरसँगै नयाँ प्रश्न जन्मियो। आज कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, उपभोक्तावाद, डिजिटल संस्कृति र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आइपुग्दा मानव अस्तित्वको प्रश्न झन् गहिरिएको छ। मानिससँग सूचना धेरै छ, तर आत्मबोध कम छ। सम्पत्ति धेरै छ, तर सन्तोष कम छ। सम्पर्क धेरै छन्, तर सम्बन्धहरू कमजोर बन्दै गएका छन्। यसैले आजको युगले भौतिक विकासभन्दा बढी चेतनाको उज्यालोमा मानव अस्तित्वको पुनर्खोजको आवश्यकता महसुस गरिरहेको छ।
साहित्यले मानिसलाई उसको अन्तरात्मासँग संवाद गर्छ। दर्शनले जीवनको अर्थ खोज्छ। अध्यात्मले स्वयंभित्रको उज्यालो पहिचान गर्न सिकाउँछ। यी तीनै धाराहरूको संगममा चेतना एउटा यस्तो केन्द्रबिन्दुका रूपमा उभिन्छ, जहाँबाट मानव अस्तित्वको वास्तविक अर्थ उद्घाटित हुन थाल्छ।
युनानी दार्शनिक सुकरातले “आफ्नो चिन” भन्ने आग्रह गरेका थिए। यो आग्रह सम्पूर्ण दार्शनिक परम्पराको आधार थियो। मानिसले संसारलाई जित्नुभन्दा पहिले स्वयंलाई बुझ्नुपर्छ भन्ने विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ। प्लेटोले सत्यलाई इन्द्रियभन्दा माथिको बौद्धिक अनुभूतिको विषय माने भने अरस्तुले तर्क र अनुभवबीच सन्तुलन खोजे। पूर्वीय दर्शनमा उपनिषद्हरूले “तत्त्वमसि” भन्दै आत्मा र ब्रह्मको एकत्वको अनुभूति गराए। बुद्धले जागरणलाई मुक्ति भने। यी सबै धाराहरूको मूल सन्देश एउटै थियो—मानव अस्तित्वको केन्द्र बाहिर होइन, भित्र छ।
आधुनिक युगले विवेक, विज्ञान र प्रगतिलाई केन्द्रमा राख्यो। औद्योगिक क्रान्तिपछि मानिसले प्रकृतिमाथि अभूतपूर्व नियन्त्रण स्थापित गर्यो। तर यही प्रक्रियाले मानिसलाई आफ्नै सिर्जनाको कैदी पनि बनायो। जर्मन दार्शनिक फ्रेडरिक नित्शेले पुराना मूल्यहरूको विघटनतर्फ संकेत गर्दै नयाँ मूल्य सिर्जनाको आवश्यकता औँल्याए। अस्तित्ववादी चिन्तक जाँ–पल सार्त्रले मानिस स्वतन्त्र छ, तर त्यो स्वतन्त्रतासँग उत्तरदायित्व पनि अनिवार्य रूपमा जोडिएको छ भन्ने धारणा अघि सारे। अल्बेर काम्युले जीवनको निरर्थकताभित्र पनि मानवीय गरिमा र विद्रोहको सम्भावना देखे। यी सबै चिन्तनले चेतनालाई बाह्य संरचनाभन्दा बढी व्यक्तिगत जिम्मेवारीसँग जोडिदिए।
बीसौँ शताब्दीको उत्तरार्धमा उत्तरआधुनिक दर्शनले एउटा नयाँ चुनौती प्रस्तुत गर्यो। जाँ–फ्राँस्वा ल्योतारले महान् आख्यानहरूप्रति अविश्वासको कुरा गरे। उनका अनुसार कुनै एउटा सिद्धान्तले सम्पूर्ण सत्यलाई प्रतिनिधित्व गर्न सक्दैन। मिशेल फुकोले ज्ञान र शक्तिबीचको सम्बन्धको विश्लेषण गर्दै सत्य पनि सत्तासँग गाँसिएको हुन सक्ने तर्क प्रस्तुत गरे। जाक्स डेरिडाले विघटनको अवधारणामार्फत प्रत्येक पाठ, विचार र संरचनाभित्र लुकेका बहुअर्थहरू उजागर गर्न खोजे। जाँ बोद्रियारले डिजिटल युगमा मानिस वास्तविकताभन्दा प्रतिरूपको संसारमा बाँच्न थालेको विश्लेषण गरे।
उत्तरआधुनिक दर्शनको यो योगदान महत्त्वपूर्ण छ, किनकि यसले निरपेक्ष सत्यप्रतिको अन्धविश्वासलाई चुनौती दियो। तर यसले अर्को प्रश्न पनि जन्मायो—यदि सबै अर्थ अस्थायी छन् भने मानव अस्तित्वको आधार के हो? यही प्रश्नको उत्तर चेतनाको उज्यालोमा खोज्नुपर्ने हुन्छ। चेतना कुनै बन्द सिद्धान्त होइन यो निरन्तर जागरणको प्रक्रिया हो। यसले विविधतालाई अस्वीकार गर्दैन, तर मूल्यहीनतालाई पनि स्वीकार गर्दैन।
भारतीय दार्शनिक परम्पराले चेतनालाई अस्तित्वको मूल तत्त्व मानेको छ। अद्वैत वेदान्तका आदि शङ्कराचार्यका अनुसार परम सत्य चेतनस्वरूप ब्रह्म हो। बुद्ध दर्शनले अनात्म र प्रतित्यसमुत्पादको सिद्धान्तमार्फत अहंकारभन्दा परको जागरणलाई जोड दिन्छ। यी दुवै परम्पराले मानिसलाई बाह्य पहिचानभन्दा भित्री रूपान्तरणतर्फ डोर्याउँछन्।
नोबेल पुरस्कार विजेता साहित्यकारहरूका कृतिहरूमा पनि चेतनाको यही खोज देखिन्छ। रवीन्द्रनाथ ठाकुरले मानिसलाई प्रकृति, सौन्दर्य र विश्वमानवतासँग जोडिएको चेतनशील प्राणीका रूपमा चित्रण गरे। उनका साहित्यमा स्वतन्त्रता आत्माको विस्तार हो। अल्बेर काम्युका उपन्यासहरूमा निरर्थकताको अनुभूतिबीच पनि नैतिक दृढता र मानवीय सम्मानको खोज देखिन्छ। हर्मन हेसेका साहित्यिक पात्रहरूले बाह्य सफलताभन्दा आत्मज्ञानको यात्रालाई महत्त्व दिन्छन्। यी सबै स्रष्टाहरूको साझा सन्देश यही हो कि मानिसको वास्तविक विजय बाहिरी संसारमाथि होइन, आफ्नै अज्ञानमाथि हुन्छ।
आजको डिजिटल युगमा सूचना अत्यन्त सहज रूपमा उपलब्ध छ। तर सूचना चेतना होइन। तथ्य ज्ञान हुन सक्छ, तर ज्ञान विवेक नहुन सक्छ। विवेक करुणामा रूपान्तरण नभएसम्म सभ्यता पूर्ण हुँदैन। कृत्रिम बुद्धिमत्ताले लाखौँ निर्णय गर्न सक्छ, तर नैतिक निर्णयको अन्तिम जिम्मेवारी अझै पनि मानवीय चेतनामै निहित छ। यसैले भविष्यको सभ्यता प्रविधिले होइन, प्रविधिलाई सञ्चालन गर्ने चेतनाले निर्धारण गर्नेछ।
मानिसले चन्द्रमामा पाइला टेक्यो, समुद्रको गहिराइ नाप्यो, अणुको शक्ति नियन्त्रण गर्यो, तर यदि उसले आफ्नै लोभ, हिंसा, घृणा र अहंकारमाथि विजय प्राप्त गर्न सकेन भने ती उपलब्धिहरू अपूर्ण रहनेछन्। चेतनाको उज्यालोले मात्र शक्ति र जिम्मेवारीबीच सन्तुलन कायम गर्न सक्छ। नैतिकता बाह्य नियन्त्रणको परिणाम होइन; त्यो जागृत चेतनाको स्वाभाविक अभिव्यक्ति हो।
मानव अस्तित्वको पुनर्खोज निरन्तर यात्रा हो। यो यात्रा पुस्तकबाट सुरु हुन सक्छ, तर अनुभवमा पुगेर मात्र पूर्ण हुन्छ। यो तर्कबाट प्रारम्भ हुन सक्छ, तर करुणामा परिपक्व हुन्छ। यो व्यक्तिबाट आरम्भ हुन्छ, तर विश्वमानवतामा विस्तार हुन्छ। जब मानिसले आफूलाई केवल उपभोक्ता, मतदाता, कर्मचारी वा नागरिकका रूपमा होइन, चेतनशील, उत्तरदायी र करुणामय अस्तित्वका रूपमा चिन्न थाल्छ, तब मानव सभ्यताको नयाँ अध्याय आरम्भ हुन्छ।
मानव अस्तित्वको पुनर्खोज नैतिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक पुनर्जागरणको आधार पनि हो। कुनै पनि राष्ट्रको समृद्धि केवल उसको कुल गार्हस्थ उत्पादन , सैन्य शक्ति वा प्रविधिको उन्नतिले मात्र मापन गर्न सकिँदैन। राष्ट्रको वास्तविक उचाइ त्यहाँका नागरिकको चेतनास्तरले निर्धारण गर्छ। चेतना परिष्कृत नभएसम्म लोकतन्त्र भीडतन्त्रमा, स्वतन्त्रता स्वेच्छाचारितामा, विज्ञान विनाशकारी शक्तिमा र समृद्धि असमानतामा रूपान्तरण हुन सक्छ।
जर्मन दार्शनिक मार्टिन हाइडेगरले आधुनिक मानिसलाई अस्तित्वलाई बिर्सिएको प्राणीका रूपमा चित्रण गरेका छन्। उनका अनुसार मानिस वस्तुहरूको उपयोग गर्न अत्यन्त सक्षम भयो, तर अस्तित्वको मौलिक प्रश्नलाई बिर्सियो। आधुनिक प्रविधिले संसारलाई स्रोतका रूपमा मात्र हेर्न सिकायो। जंगल काठ भयो, नदी जलविद्युत् बन्यो, मानिस श्रमशक्ति बन्यो र अन्ततः स्वयं जीवन पनि बजारको वस्तुमा सीमित हुन थाल्यो। यस्तो अवस्थामा चेतनाको पुनर्जागरण भनेको वस्तुकरणबाट मानवताको पुनर्स्थापना हो।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले विकासलाई मानवीय क्षमताको विस्तारसँग जोडे। उनका विचारमा विकासको वास्तविक उद्देश्य मानिसलाई स्वतन्त्र रूपमा सोच्ने, छनोट गर्ने र सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्नु हो। यो दृष्टिकोण चेतनासँग सम्बन्धित छ। चेतना विस्तार नभएसम्म स्वतन्त्रता पनि केवल कानुनी अधिकारमा सीमित रहन्छ।
त्यसैगरी, नोबेल पुरस्कार विजेता साहित्यकार अलेक्जेन्डर सोल्झेनित्सिनले आफ्नो लेखनमार्फत एउटा गम्भीर नैतिक सत्य उजागर गरेका छन्—असल र खराबबीचको सीमारेखा कुनै राष्ट्र, वर्ग वा संस्थाभित्र होइन, प्रत्येक मानिसको हृदयभित्र हुन्छ। यो विचारले मानव अस्तित्वको सबैभन्दा ठूलो युद्ध बाह्य शत्रुसँग होइन, आफ्नै लोभ, घृणा, हिंसा र अहंकारसँग हुने तथ्यलाई स्मरण गराउँछ।
उत्तरआधुनिक चिन्तनले बहुलता, विविधता र वैकल्पिक दृष्टिकोणलाई सम्मान गर्न सिकायो। यसले एउटा मात्र सत्य, एउटा मात्र संस्कृति वा एउटा मात्र विचारधाराले सम्पूर्ण मानव अनुभवलाई प्रतिनिधित्व गर्न सक्दैन भन्ने महत्त्वपूर्ण चेतावनी दियो। तर उत्तरआधुनिकताले अर्थको विखण्डन गरिसकेपछि नयाँ प्रश्न उभियो यदि सबै आख्यान सापेक्ष छन् भने नैतिकताको आधार के हो? यदि प्रत्येक सत्य केवल भाषिक निर्माण हो भने न्याय, करुणा र मानव अधिकारको सार्वभौमिकता कसरी स्थापित हुन्छ?
यही बिन्दुमा चेतनाको दर्शन पुनः प्रासङ्गिक हुन्छ। चेतना कुनै विचारधाराको बन्द कोठा होइन। यो खुला आकाश हो। यसले विविधतालाई स्वीकार्छ, तर विवेकलाई त्याग्दैन। यसले स्वतन्त्रतालाई सम्मान गर्छ, तर उत्तरदायित्वलाई पनि समान रूपमा महत्त्व दिन्छ। यसले व्यक्तिको स्वतन्त्रतालाई स्वीकार्छ, तर सामूहिक कल्याणलाई अस्वीकार गर्दैन। त्यसैले चेतना उत्तरआधुनिक विखण्डन र परम्परागत कठोरताबीचको सन्तुलित पुल हो।
पूर्वीय दर्शनमा करुणा चेतनाको सर्वोच्च अभिव्यक्ति मानिन्छ। बुद्धले प्रज्ञा र करुणालाई एउटै सिक्काका दुई पाटा माने। प्रज्ञाविहीन करुणा भावुकता हुन सक्छ र करुणाविहीन प्रज्ञा कठोर बौद्धिकता मात्र बन्न सक्छ। यही कारणले चेतनाको उज्यालो ज्ञान, प्रेम र उत्तरदायित्वको समन्वित स्वरूप हो।
आज कृत्रिम बुद्धिमत्ता, जैविक इन्जिनियरिङ, क्वान्टम कम्प्युटिङ र डिजिटल नेटवर्कले मानव सभ्यतालाई अभूतपूर्व मोडमा पुर्याइरहेका छन्। तर एउटा मूलभूत प्रश्न अझै बाँकी छ के प्रविधिले मानिसलाई अझ बढी मानव बनाइरहेको छ? यदि प्रविधिले समय बचायो, तर सम्बन्ध हरायो सूचना बढायो, तर बुद्धि घटायो; सम्पर्क विस्तार गर्यो, तर आत्मीयता समाप्त गर्यो भने त्यो प्रगति अधूरो हुनेछ। त्यसैले भविष्यको सबैभन्दा ठूलो चुनौती प्रविधिको विकास होइन, चेतनाको विकास हो।
शिक्षाको उद्देश्य विवेकशील नागरिक निर्माण गर्नु हो। विश्वविद्यालयहरूले प्रश्न गर्ने क्षमता, नैतिक निर्णय गर्ने शक्ति र सत्यप्रतिको बौद्धिक निष्ठा विकास गर्नुपर्छ। शिक्षा तब मात्र सफल हुन्छ, जब त्यसले विद्यार्थीलाई प्रतिस्पर्धी मात्र होइन, संवेदनशील पनि बनाउँछ।
मानव अस्तित्वको पुनर्खोज मानव सभ्यताको अपरिहार्य आवश्यकता हो। जलवायु परिवर्तन, युद्ध, आर्थिक असमानता, सांस्कृतिक द्वन्द्व, मानसिक तनाव र नैतिक सङ्कटजस्ता विश्वव्यापी चुनौतीहरूको समाधान केवल कानुन, प्रविधि वा अर्थतन्त्रबाट सम्भव छैन। ती सबैका केन्द्रमा चेतनशील, विवेकपूर्ण र करुणामय मानव आवश्यक छ।
यसैले आजको सबैभन्दा ठूलो क्रान्ति चेतनाको क्रान्ति हो। यही क्रान्तिले उत्तरआधुनिक अनिश्चितताभित्र अर्थ, वैज्ञानिक प्रगतिभित्र नैतिकता, र भौतिक समृद्धिभित्र आत्मिक गरिमा पुनःस्थापित गर्न सक्छ। मानव अस्तित्वको परम आधार कुनै बाह्य संरचना होइन त्यो जागृत चेतना हो। चेतनाको यही उज्यालोमा मानिसले आफूलाई पुनः भेट्छ, समाजलाई पुनः निर्माण गर्छ र सभ्यतालाई नयाँ मानवीय दिशातर्फ अग्रसर गराउँछ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)





























