लघुकथा :तारिख
वि.सं.२०८३ भदौ २० शनिवार
144
shares
shares
ईश्वर पोखरेल
श्रीमतीले छाडेपछि रनवीरलाई गाउँमा बस्न मन लागेन।
बेलुका शुक्रेसंग मनको कुरा खोल्यो ।
साँझमा भुजिया र चिउरा खायो । अनि झोला मिलायो ।
झोलामा कोच्न लाग्दा एउटा पुरानो सर्टको गोजीमा केही भए झै लाग्यो ।
हेर्यो — चौकीले दिएको तारिखको पर्चा।
खोरबाट चारवटा भाले हराउँदा रत्नेले रनवीरलाई पनि मुछेको थियो । हात थिएन उसको; तैपनि दुई दिन थुनियो।
चार दिनपछि तारिख रहेछ।
तारिखमा गएन भने गाउँले/कानूनले भन्लान्— “चोर नै रहेछ।”
नगरेको कसुर बोकेर कसरी भाग्नु?
रनवीरले झोलाबाट सर्ट निकाल्यो।
भोलिपल्ट दिउँसो शुक्रेले देख्यो — “यतै छस् त, माल्दाइ?”
“गाउँ छाड्ने भइनँ, कान्छा ! पर्सि तारिख छ।”





























