कविता : एक चिहान
वि.सं.२०८३ भदौ २० शनिवार
shares
ऊ मौन थियो
निरीह पनि
उसको विवशतालाई
नगण्य ठाने, बेवास्ता गरे,
गरिबीले हो या आवश्यकताले
तर विडम्बना ! गहना खोजी खोजी फुकाएर लगे
उसलाई कसैले चिनेनन् , केही थाहा छैन जसरी ? अन्जान बने, मानवता हरायो ।
ऊ सहिरह्यो, अनेक हन्डर खाएर परिस्थितिसङ्ग लडिरह्यो
उसको सहनशीलताको
निष्कर्ष निकाले
उसलाई कुनै पीडा नै छैन, रत शान्त छ ।
उसले प्रश्न गरेन
सवाल जवाफ थिएन
कुनै ताली बजाएन
सङ्केत पनि गरेन
न विरोध गर्यो, न प्रतिकार नै
उसले क्षणभरमै हजार प्रश्न जन्मायो
गुमनाम भयो
तर उत्तर दिनेहरूले बुझ्न सकेनन्, बहिरा भए
आँफुलाई नै सर्वोपरि माने ।
ऊ चुप थियो
इशारा गरेन
न सिकायत गर्यो
उसको चुप्पीभित्र
एउटा संसार हरवखत बोलिरह्यो तर कसैले सुनेनन, वास्ता गरेनन् ।
उसले कुनै पत्र लेखेन,
सन्देश पठाएन
गुनासो पनि गरेन, शान्त थियो
तर उसको स्तब्धता हजार शब्दभन्दा गहिरा थिए, तीव्र वेगको छालजस्तै ।
उसले आफ्नो पीडा
पानीसङ्ग घोलेर पियो
आशुहरू छालसङ्गै बगे
धुमिल आशा निराशामा परिणत भयो
ऊ बगर अनि रूखमा गएर थन्कियो, पार्थिव शरीर बनेर ।
ऊ आवाजविहीन थियो
परिस्थितिका अगाडि निरुपाय
उसको मौनता खुला आकाशमुनि कैद भयो,
थियो त केवल कालो बादलभित्र मडारिएको मौसम
जुन उसको ओठमा थियो
तर कसैले बुझ्न सकेनन अनि देखेनन् पनि ।
ऊ नबोलेरै धेरै बोलिरह्यो
तर कसैले सोध्यो, “तिमी किन बोल्दैनौ ?”
ऊ फिस्स हाँस्यो, मौनता साँध्यो
सायद ! उसलाई थाहा थियो
जसलाई शब्दले बुझाउँन सकिदैन
उसको अव्यक्तताले पुरै कथा भनिरह्यो ।
ऊ बोल्दैनथ्यो
तर उसको मौनताले अनगिन्ती कथा सुनाउँथ्यो
ओठमा चुप्पी थियो
आँखामा अगणित संवाद
अनुहार शान्त थियो
तर मनभित्र
उर्लदो समुद्रको गहिरो छाल ।
मान्छेहरू उसको मौनतालाई
कमजोरी मान्थे
उसको मुस्कानलाई
सन्तुष्टि ठान्थे, ध्यान दिदैनथे
कसैले बुझेन ? उसको मुस्कान भित्रको पीडा
उसको मुस्कानले अपरिमित शब्द भनिरह्यो
ऊ नबोलेरै धेरै बोलिरह्यो ।
ऊ लाचार थियो, वेवश उस्तै
पर्खिरह्यो कोही त आउलान्
आफन्त होलान्, खोज्लान्
स्तब्ध आँखाभरि उर्लदा भावनाहरूको अगणित चित्कार सल्बलाइरहयो
कसैले सुनेनन्
ऊ आवाज गरिरह्यो
केवल बाँच्नका लागि सङ्घर्ष गरिरह्यो
अन्तिम साससम्म
मान्छे न हो, थकित भयो,
अचेत भयो अनि विलिन भयो
सधैँ सधैंका लागि
यो भौतिक संसारबाट ।
कोही सेताम्मे छन्,
कोही हिलाम्मे छन्
कोही अझै छन् भूगर्भमा
माटोमुनि दबिएका अनगिन्ती रहस्यहरू अझै मौन छन् ।
उसलाई आश हुँदो हो
जीवनको अन्तिम बिदाइमा
सम्मान पाउँने, विचरो ! भन्दोहो,”एक थुङ्गा फूल मेरो भागमा पनि पर्ला ।“
श्रद्धाञ्जलीको आश गर्दो हो
तर अफसोच
कहिल्यै पूरा नहुँने गरी दबिएका छन्
कोही खोँचमा, कोही बगरमा
त कोही सुरुङमा
पहिचान छैन, सम्पर्क छैन,
कोही दाबेदार भएन
अन्ततोगत्वा फरक परिवेश, फरक बाटो, फरक पहिचान, फरक समुदाय, फरक भूगोल, फरक संस्कृति, तर अन्तिम विदाइ अनि अनुभूति उस्तै,
सबैको यात्रा मौनताको, नाम रहने भयो, युगौँसम्म, परिचयसहितको, “एक चिहान, केवल एक चिहान ।“





























