कविता : पहिचान
वि.सं.२०८३ भदौ २१ आइतवार
shares
कसैले सोध्यो, “आखिर ! के होत चिनारी , किन चाहिन्छ ?”
मान्छे नामका पछाडि दौडिएको देख्छु ।
दिनरात नभनी खटेको देख्छु
तर अचम्म !
कसैले त्यहीँ नाम विरासतमा पाएको छ ।
न कुनै मिहिनेत, न कुनै लगानी बस् वंशको प्रमाण बोकेको छ
ऊ मख्ख छ, सम्बन्धको पासपोर्ट पाएकोमा
नामपछि खान्दानको ट्याग झुन्ड्याएको छ
पुस्तौंदेखिको परम्परा धानेको छ । देखाउँछ, पूर्वजका नामावली ।
पुलुक्क हेर्छु, मौनता पनि सल्बलाउँदो रहेछ,
मैले यो नामका लागि के के गरिन ?
कति मौन बसेका दिनहरू सम्झेँ,
कति प्रश्न बोकेका अनुत्तरित रातहरू सम्झेँ ?
कति पटक लडेँ,
उठेँ,भयो अब पुग्यो, भन्ठानेँ, मान्छे न हो थाकेँ,
लाग्यो, अब यात्रा यहीँ टुइ्ग्याउँछु,
गुमनाम हुन्छु,
तर नेपथ्यबाट मधुर स्वर आउँथ्यो, “तेरो यात्रा अझै बाँकी छ ।“
यो नाम मैले विरासतमा पाएको थिइनँ
यदि पाएको भएँ,
मपनि बोक्थेँ होला खान्दानी ट्याग अनि
गन्तव्य सहज बनाउँथेँ होला
तर यसभित्र त मेरा जिउँदा सपना थिएँ
कहिल्यै हार नमान्ने साहस थियो । कहालीलाग्दा क्षण,
भोगाइ र सङ्घर्षका पदचाप थिएँ
कसैको पहिचानले म उभिएको होइन
समयको अनेक हन्डर ठक्करले तिखारिएको हुँ ।
यसभित्र मेरा कति आशु लुकेका थिएँ, कसैलाई व्यक्त नगरिएका अनगिन्ती कथा थिएँ ।
कठिन यात्रा,
बाधा अनि चुनौतीका अगणित परीक्षा थिएँ ।
मौन थिएँ, कमजोर थिइनँ । झुकेको थिएँ तर लडेको थिइनँ,
झिनो आश बाँकी थियो ।
मलाई निच देखाउँन कतिपयले मेरो मौनताको खिल्ली उडाए,
मजाक बनाए, कमजोर ठाने ।
तर तिनीहरूलाई के थाहा, गहिरा नदीले किनारासङ्ग बहस गर्दैन भनेर ।
आज मेरो नाम देखेर लाग्न सक्छ, “ वाह ! क्या भाग्यमानी रहेछ ।“
तर
यदि नियतिले दिएको भए किन मिहिनेत गर्नुपर्थ्यो र ?
यो मेरो भोगाइको दस्तावेज हो
अनि
समयलाई तिरेर किनेको मूल्य हो ।
हिजो जुन तगारो बन्यो आज उसैले मेरो बाटो छोड्न थालेछ
कस्तो अचम्म ?
उसैले आज मेरो नामको अर्थ खोज्न थालेछ,
मलाई लडाउँन हरसम्भव प्रयास गर्यो
तर अफसोच
आज उसैले मेरो सफलताको उचाइ नाप्न थालेछ ।
त्यसैले म भन्छु, “मेरो नामसङ्ग वंश नजोड ।“
मसङ्ग खान्दानी फेहरिस्त छैन
समयले दिएको चोटको खाता भने लामै छ,
ककस्लाई सुनाऊ खोई ?
आफ्ना र पराइले दिएको आघात पनि लामै छ ।
नबोलेरै धेरै बोलिएका कथा थिएँ,
ओठमा चुप्पी थियो तर मनमा हजार प्रश्न थिएँ,
उत्तर दिने धेरै भेटिए,
तर प्रश्न बुझ्ने कोही भेटिएनन् ।
हरेक प्रश्नका आफ्नै कथा छन् । आफ्नै व्यथा छन्
हजार शब्दभन्दा गहिरा छाल थिएँ,
बुझेँ,
जीवन समुद्रको छालसरी रहेछ
हरेक छालले किनारालाई छुन सक्दैन
केही फर्कन्छन् त केही किनारामा नपुग्दै थाक्दा रहेछन् ।
मपनि त त्यहीँ समुद्र जस्तै रहेछु
बाहिर शान्त
तर भित्रबाट पराधीन छालहरूको कैद ।
उसले व्यङग्य गर्यो, “ यी छालहरू किन धेरै उफ्रिएका ।“
तुलना गरे,
हो, मपनि त्यस्तै त रहेछु, छालजस्तै
जो बोल्यो, उसैका कुरा गहिरा,उसैलाई सुन्ने, मान्ने अनि सर्वोसर्वा ठान्ने
तर
जो चुप रह्यो उसको मौनता कमजोरी ठान्ने
शान्तिको अभिनय गर्न पनि कम्ता सहज थिएनँ ?
कसैले सोध्यो, “के छ ?”
मुस्कुराएर जवाफ दिनुपर्थ्यो, “सब ठिक छ ।“
मसङ्ग चोटको बहीखाता थिएनँ
देखाउँनलाई
सङघर्ष अनि दु:खका सूची पनि थिएनन्
तर अनुभव भने राम्रै थियो
सङ्घर्षले बाटो देखायो,
दु:खले सहन सिकायो अनि पीडाले जीवनको वास्तविकता बुझायो ।
अपरिमित सङ्घर्षका कथा बोकेर पनि समयले मौन पात्र बनाइरह्यो
अन्तहीन यात्रा जारी रह्यो ।
कति पटक लडेँ, उठेँ,भयो अब पुग्यो,भन्ठानेँ, मान्छे न हो थाकेँ,
लाग्यो, अब यात्रा यहीँ टुइ्ग्याउँछु,
गुमनाम हुन्छु,
तर नेपथ्यबाट फेरि मधुर स्वर आउँथ्यो, “उठ्, सबै आज जित्नु पर्दैन बस्, एक पाइला चाल, बिस्तारै आफ्नो गतिमा, तेरो यात्रा अझै बाँकी छ ।
एकदिन तेरो मौनता आवाज बन्नेछ
आशु नदी बन्नेछ
आज थाकेको मन फेरि उठ्नेछ ।“
जीवनमा थकाइले अल्पविराम खोज्ने रहेछ,
तर अन्त्य होइन
जसले जीवनलाई सम्हाल्छ फेरि नयाँ वाक्य लेख्न थाल्छ ।
पूर्णविरामले कथा बाँकी रहन्छ, तर पात्रहरू सम्झनामा सीमित ।
मैले बुझेँ,
“चोटले मान्छेलाई कमजोर बनाउँदैन, अब सङ्घर्षसङ्ग डर लाग्दैन ।“
किनकि टुट्नु अन्त्य होइन रहेछ,
टुटेर पनि आफुलाई समेट्नु जीवनको मजबुत पाटो रहेछ ।
अब कसैले सोध्यो भने, “म ठिक छु ।“
भन्नु पर्दैन
आँखाले नै सफलताको विगुल बजाउँनेछ, नलेखिएका कथा सुनाउँनेछ ।
अनि मपनि निर्धक्कले भन्नेछु,
“रात जति लामो भएपनि बिहानीले आफ्नो बाटो कहिल्यै बिर्सदो रहेनछ ।“
यो नाम मैले विरासतमा पाएको थिइनँ,
कहिल्यै हार नमान्ने साहस थियो । कहालीलाग्दा क्षण, भोगाइ र सङ्घर्षका पदचाप थिएँ,……।।




























