कविता : पहिचान

102
shares

 

 

कसैले सोध्यो, “आखिर ! के होत चिनारी , किन चाहिन्छ ?”

मान्छे नामका पछाडि दौडिएको देख्छु ।

दिनरात नभनी खटेको देख्छु

तर अचम्म !

कसैले त्यहीँ नाम विरासतमा पाएको छ ।

न कुनै मिहिनेत, न कुनै लगानी बस् वंशको प्रमाण बोकेको छ

ऊ मख्ख छ, सम्बन्धको पासपोर्ट पाएकोमा

नामपछि खान्दानको ट्याग झुन्ड्याएको छ

पुस्तौंदेखिको परम्परा धानेको छ । देखाउँछ, पूर्वजका नामावली ।

 

 

 

पुलुक्क हेर्छु, मौनता पनि सल्बलाउँदो रहेछ,

मैले यो नामका लागि के के गरिन ?

कति मौन बसेका दिनहरू सम्झेँ,

कति प्रश्न बोकेका अनुत्तरित रातहरू सम्झेँ ?

कति पटक लडेँ,

उठेँ,भयो अब पुग्यो, भन्ठानेँ, मान्छे न हो थाकेँ,

लाग्यो, अब यात्रा यहीँ टुइ्ग्याउँछु,

गुमनाम हुन्छु,

तर नेपथ्यबाट मधुर स्वर आउँथ्यो, “तेरो यात्रा अझै बाँकी छ ।“

 

 

यो नाम मैले विरासतमा पाएको थिइनँ

यदि पाएको भएँ,

मपनि बोक्थेँ होला खान्दानी ट्याग अनि

गन्तव्य सहज बनाउँथेँ होला

तर यसभित्र त मेरा जिउँदा सपना थिएँ

कहिल्यै हार नमान्ने साहस थियो । कहालीलाग्दा क्षण,

भोगाइ र सङ्घर्षका पदचाप थिएँ

कसैको पहिचानले म उभिएको होइन

समयको अनेक हन्डर ठक्करले तिखारिएको हुँ ।

यसभित्र मेरा कति आशु लुकेका थिएँ, कसैलाई व्यक्त नगरिएका अनगिन्ती कथा थिएँ ।

कठिन यात्रा,

बाधा अनि चुनौतीका अगणित परीक्षा थिएँ ।

 

 

मौन थिएँ, कमजोर थिइनँ । झुकेको थिएँ तर लडेको थिइनँ,

झिनो आश बाँकी थियो ।

मलाई निच देखाउँन कतिपयले मेरो मौनताको खिल्ली उडाए,

मजाक बनाए, कमजोर ठाने ।

तर तिनीहरूलाई के थाहा, गहिरा नदीले किनारासङ्ग बहस गर्दैन भनेर ।

 

 

आज मेरो नाम देखेर लाग्न सक्छ, “ वाह ! क्या भाग्यमानी रहेछ ।“

तर

यदि नियतिले दिएको भए किन मिहिनेत गर्नुपर्थ्यो र ?

यो मेरो भोगाइको दस्तावेज हो

अनि

समयलाई तिरेर किनेको मूल्य हो ।

 

 

हिजो जुन तगारो बन्यो आज उसैले मेरो बाटो छोड्न थालेछ

कस्तो अचम्म ?

उसैले आज मेरो नामको अर्थ खोज्न थालेछ,

मलाई लडाउँन हरसम्भव प्रयास गर्यो

तर अफसोच

आज उसैले मेरो सफलताको उचाइ नाप्न थालेछ ।

त्यसैले म भन्छु, “मेरो नामसङ्ग वंश नजोड ।“

मसङ्ग खान्दानी फेहरिस्त छैन

समयले दिएको चोटको खाता भने लामै छ,

ककस्लाई सुनाऊ खोई ?

आफ्ना र पराइले दिएको आघात पनि लामै छ ।

 

 

नबोलेरै धेरै बोलिएका कथा थिएँ,

ओठमा चुप्पी थियो तर मनमा हजार प्रश्न थिएँ,

उत्तर दिने धेरै भेटिए,

तर प्रश्न बुझ्ने कोही भेटिएनन् ।

हरेक प्रश्नका आफ्नै कथा छन् । आफ्नै व्यथा छन्

हजार शब्दभन्दा गहिरा छाल थिएँ,

बुझेँ,

जीवन समुद्रको छालसरी रहेछ

हरेक छालले किनारालाई छुन सक्दैन

केही फर्कन्छन् त केही किनारामा नपुग्दै थाक्दा रहेछन् ।

मपनि त त्यहीँ समुद्र जस्तै रहेछु

बाहिर शान्त

तर भित्रबाट पराधीन छालहरूको कैद ।

उसले व्यङग्य गर्यो, “ यी छालहरू किन धेरै उफ्रिएका ।“

तुलना गरे,

हो, मपनि त्यस्तै त रहेछु, छालजस्तै

जो बोल्यो, उसैका कुरा गहिरा,उसैलाई सुन्ने, मान्ने अनि सर्वोसर्वा ठान्ने

तर

जो चुप रह्यो उसको मौनता कमजोरी ठान्ने

शान्तिको अभिनय गर्न पनि कम्ता सहज थिएनँ ?

कसैले सोध्यो, “के छ ?”

मुस्कुराएर जवाफ दिनुपर्थ्यो, “सब ठिक छ ।“

मसङ्ग चोटको बहीखाता थिएनँ

देखाउँनलाई

सङघर्ष अनि दु:खका सूची पनि थिएनन्

तर अनुभव भने राम्रै थियो

सङ्घर्षले बाटो देखायो,

दु:खले सहन सिकायो अनि पीडाले जीवनको वास्तविकता बुझायो ।

अपरिमित सङ्घर्षका कथा बोकेर पनि समयले मौन पात्र बनाइरह्यो

अन्तहीन यात्रा जारी रह्यो ।

 

 

कति पटक लडेँ, उठेँ,भयो अब पुग्यो,भन्ठानेँ, मान्छे न हो थाकेँ,

लाग्यो, अब यात्रा यहीँ टुइ्ग्याउँछु,

गुमनाम हुन्छु,

तर नेपथ्यबाट फेरि मधुर स्वर आउँथ्यो,  “उठ्, सबै आज जित्नु पर्दैन बस्, एक पाइला चाल, बिस्तारै आफ्नो गतिमा, तेरो यात्रा अझै बाँकी छ ।

एकदिन तेरो मौनता आवाज बन्नेछ

आशु नदी बन्नेछ

आज थाकेको मन फेरि उठ्नेछ ।“

 

 

जीवनमा थकाइले अल्पविराम खोज्ने रहेछ,

तर अन्त्य होइन

जसले जीवनलाई सम्हाल्छ फेरि नयाँ वाक्य लेख्न थाल्छ ।

पूर्णविरामले कथा बाँकी रहन्छ, तर पात्रहरू सम्झनामा सीमित ।

 

 

मैले बुझेँ,

“चोटले मान्छेलाई कमजोर बनाउँदैन, अब सङ्घर्षसङ्ग डर लाग्दैन ।“

किनकि टुट्नु अन्त्य होइन रहेछ,

टुटेर पनि आफुलाई समेट्नु जीवनको मजबुत पाटो रहेछ ।

अब कसैले सोध्यो भने, “म ठिक छु ।“

भन्नु पर्दैन

आँखाले नै सफलताको विगुल बजाउँनेछ, नलेखिएका कथा सुनाउँनेछ ।

अनि मपनि निर्धक्कले भन्नेछु,

“रात जति लामो भएपनि बिहानीले आफ्नो बाटो कहिल्यै बिर्सदो रहेनछ ।“

 

 

यो नाम मैले विरासतमा पाएको थिइनँ,

कहिल्यै हार नमान्ने साहस थियो । कहालीलाग्दा क्षण, भोगाइ र सङ्घर्षका पदचाप थिएँ,……।।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals