काठमाडौं । आज कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन । आफ्नो जीवनको सबैभन्दा ठूलो सहारा, नबोलीकनै धेरै कुरा बुझ्ने मान्छे, आफू थाकेर पनि सन्तानका लागि कहिल्यै नथाक्ने ती सबै बुवाहरूप्रति हार्दिक नमन ।
‘बुवा’ यो शब्द आफैंमा एउटा संसार हो । जहाँ माया हुन्छ, तर प्रदर्शन हुँदैन । जहाँ चिन्ता हुन्छ, तर गुनासो हुँदैन । जहाँ सपना हुन्छन्, तर आफ्ना लागि होइन, सन्तानका लागि हुन्छन् ।
आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म घर फर्किँदा, बुवाको अनुहारमा थकान देखिन्छ, तर सन्तानका अगाडि मुस्कान हराउँदैन । हामी सानो हुँदा बुवाको औँला समातेर हिँड्न सिक्यौँ । उमेर बढ्दै जाँदा मात्र बुझ्न थाल्यौँ त्यो औँला समातेको हातले हाम्रो भविष्य पनि सम्हालिरहेको रहेछ ।
बाल्यकालमा बुवाले किनिदिएको एउटा सानो खेलौनाले हामीलाई संसारकै ठूलो खुसी दिन्थ्यो । आज हामी आफैं महँगा वस्तुहरू किन्न सक्ने भएका छौँ, तर बुवासँग नजिकै बसेर दुई मिनेट मन खोलेर कुरा गर्ने समय भने कतै हराउँदै गएको छ ।
धेरैका कर्मथलो जन्मथलोभन्दा टाढा छन् । कोही नेपालमै छन्, कोही विदेशमा । हामी आफ्नो भविष्य बनाउन दौडिरहेका छौँ । तर कहिलेकाहीँ मनमा प्रश्न उठ्छ कतै आफ्नो भविष्य बनाउने क्रममा हामीले त्यो भविष्य बनाउन आफ्नो जीवन समर्पण गर्ने बुवाको संघर्ष त बिर्सिरहेका छैनौँ ?
कहिलेकाहीँ बुवाले गाली गर्नुभयो, हामीलाई लाग्यो, बुवा कठोर हुनुहुन्छ । कहिलेकाहीँ हाम्रो इच्छा पूरा गर्न सक्नुभएन, हामीले सोच्यौँ, बुवाले हामीलाई बुझ्नुभएन । तर समयले विस्तारै सिकायो, बुवा कठोर हुनुहुन्न रहेछ, उहाँ त परिस्थितिसँग लडेर हामीलाई सुरक्षित राख्न खोजिरहनुभएको रहेछ ।
उहाँले हाम्रो इच्छा पूरा गर्न नसक्नुभएको होइन रहेछ, बरु हाम्रा इच्छा पूरा गर्न आफ्ना धेरै इच्छा त्याग्नुभएको रहेछ ।
बुवाको जीवन पनि एउटा यस्तो कथा हो, जुन हामीले धेरै ढिलो बुझ्छौँ । त्यो कथामा उनका आफ्नै सपना थिए, रहर थिए, चाहना थिए । तर परिवारको जिम्मेवारीले ती सपनाहरूलाई विस्तारै पछाडि धकेलिदियो । हाम्रो किताब, हाम्रो पढाइ, हाम्रो लुगा, हाम्रो आवश्यकता र हाम्रो भविष्यका लागि बुवाले आफ्ना धेरै रहरहरू त्याग्नुभयो ।
हामी सफल हुँदा सबैभन्दा धेरै खुसी हुने मान्छे बुवा नै हुनुहुन्छ । तर हाम्रो सफलताको श्रेय माग्ने मान्छे उहाँ कहिल्यै हुनुहुन्न । सायद यही बुवाको सबैभन्दा सुन्दर विशेषता हो । उहाँले सन्तानलाई उड्न सिकाउनुहुन्छ, तर आफूले बनाइदिएको आकाशको श्रेय कहिल्यै खोज्नुहुन्न ।
सायद बुवाले सन्तानबाट ठूलो कुरा कहिल्यै खोज्नुहुन्न । उहाँलाई महँगो उपहारभन्दा हाम्रो केही समय, दुई शब्दको माया र नजिकै बसेर गरिने सानो कुराकानी नै पर्याप्त हुन्छ । हामी भविष्य बनाउन दौडिरहँदा कतै उहाँको वर्तमान एक्लिँदै त गएको छैन, एकपटक सोचौँ ।
समयको विडम्बना पनि कस्तो छ, हामी सानो हुँदा बुवासँग समय थिएन, किनकि उहाँ हाम्रो भविष्य बनाउन व्यस्त हुनुहुन्थ्यो । आज हामी ठूलो हुँदा हामीसँग बुवाका लागि समय छैन, किनकि हामी आफ्नै भविष्य बनाउन व्यस्त छौँ । यही दौडको बीचमा बुवाको त्याग र प्रतीक्षालाई भने नबिर्सौँ ।
किनकि एक दिन हामीसँग समय, पैसा र संसार सबै हुन सक्छ, तर ‘बुवा’ भनेर बोलाउँदा जवाफ दिने त्यो आवाज नहुन सक्छ । त्यसैले बुवा साथमा हुनुहुन्छ भने आजै उहाँको हात समातौँ, केही बेर कुरा गरौँ र महसुस गराऔँ, जीवनभर उहाँले दिएको माया हामीले बिर्सेका छैनौँ ।
आज बुवाको मुख हेर्ने दिन । कतिपयका बुवा घरमै हुनुहुन्छ । कतिपयका बुवा विदेशमा हुनुहुन्छ । कतिपय अस्पतालको शय्यामा हुनुहुन्छ । अनि कतिपयका बुवा यो संसारमा हुनुहुन्न । तर उहाँको सम्झना, उहाँले सिकाएको संस्कार र उहाँले देखाएको बाटो सन्तानको हृदयमा सधैँ जीवित रहन्छ ।
आज बुवाको अनुहार हेर्दा एकछिन ध्यान दिएर हेर्नुहोस् । कपालमा थपिएका सेता रेखाहरू हेर्नुहोस्, अनुहारमा देखिएका चाउरीहरू हेर्नुहोस्, ती चाउरी केवल उमेरका निशानी होइनन्, ती त हाम्रा लागि बिताएका अनगिन्ती दुःख, संघर्ष र त्यागका कथा हुन् ।
समयसँगै बुवाको शरीर कमजोर हुँदै जान्छ । हिजो हामीलाई काँधमा बोकेर हिँड्ने बुवालाई आज कहिलेकाहीँ हाम्रो हात समातेर हिँड्नुपर्ने हुन्छ । त्यसैले, बुवा साथमा हुनुहुन्छ भने आज केवल उहाँको मुख नहेर्नुहोस्, उहाँको मन पनि हेर्नुहोस् ।
उहाँले जीवनभर हामीबाट खोज्नुभएको थोरै समय दिनुहोस् । नजिकै बसेर कुरा गर्नुहोस्, उहाँको हात समात्नुहोस्, अनि भन्नुहोस्, ‘बुवा, तपाईं हुनुहुन्छ, त्यसैले मेरो संसार अझै पूरा छ ।’
किनकी बुवा केवल एउटा सम्बन्ध होइन । बुवा त घरको त्यो मौन आकाश हो, जसले आफैं घाम र वर्षा सहेर पनि सन्तानलाई छायाँ दिइरहन्छ ।
शब्दमा बुबाप्रति मायाको बयान गर्न नसकुँला । तर जीवनको हरेक गन्तव्यमा तपाईंको साथ बन्न चाहन्छु । तपाईं थाक्दा विश्राम बन्न चाहन्छु । तपाईं दुःखी हुँदा खुसीको कारण बन्न चाहन्छु । र कुनै दिन तपाईंका आँखाबाट आँसु झरे भने, त्यो आँसु पुछ्ने नरम रुमाल बन्न चाहन्छु ।
जीवनले जति टाढा पुर्याए पनि, समयले जति व्यस्त बनाए पनि, बुवाले सानोमा हात समाएर संसार देखाउनुभएको त्यो बाल्यकाल छोराछोरीको मनबाट कहिल्यै टाढा हुने छैन । हिजो बुवाले हामी सानो हुँदा हात समातेर संसार देखाउनुभयो । अब हाम्रो पालो हो बुवाका कमजोर हुँदै गएका हात समातेर जीवनको बाँकी यात्रा सँगै हिँड्ने ।
बुबा, तपाईंले छोराछोरीको लागि धेरै सपना त्याग्नुभयो, धेरै दुःख लुकाउनुभयो र आफ्नै पीडाभन्दा सधैँ हाम्रो मुस्कानलाई ठूलो बनाउनुभयो । आज मसँग तपाईंलाई दिने कुनै ठूलो उपहार छैन । बस्, एउटा वाचा छ, तपाईंको आँखामा आँसु आउन नदिने प्रयास गर्नेछु, आए पनि, त्यो आँसु झर्नुअघि नै पुछ्नेछु ।
किनकी बुबा, तपाईं मेरो जीवनको त्यो छायाँ हुनुहुन्छ, जसको वास्तविक मूल्य घाममा निस्किएपछि मात्र थाहा हुन्छ । आजको कुशेऔँशीमा आफ्ना सन्तानका लागि जीवनभर संघर्ष गर्ने, आफ्ना सपना थाती राखेर सन्तानको भविष्य बनाउने र आफ्नो पीडा लुकाएर सन्तानको अनुहारमा मुस्कान ल्याउने ती सबै बुवाहरूप्रति हार्दिक सम्मान ।






























