दशैँ: हिजो र आज

348
shares
Nabil bank

 

भिडियो कलको स्क्रिनमा अक्षताको रातो रङ त देखिन्छ, तर के त्यसमा निधारले खोज्ने मान्यजनको औँलाको त्यो न्यानो स्पर्श र आत्मीयता भेटिएला ?

 

नेपाली समाजमा दशैँ केवल एउटा सांस्कृतिक चाड मात्र होइन, यो हाम्रो सामाजिक मनोविज्ञानको ऐना, पारिवारिक मिलनको महाउत्सव र संस्कृति हस्तान्तरणको बलियो माध्यम पनि हो। तर, गतिशील समयसँगै हाम्रो जीवनशैली र सोच्ने तरिका मात्र बदलिएको छैन, चाडबाड मनाउने रैथाने शैलीमा पनि व्यापक परिवर्तन आएको छ। आजको नयाँ पुस्ताले मनाइरहेको आधुनिक दशैँ र केही दशकअघिको पुस्ताले अनुभव गरेको परम्परागत दशैँबिच निकै ठूलो खाडल देखिन्छ। विगतको त्यो सरल एवं आत्मीय दशैँ र वर्तमानको यो प्रविधिमैत्री तर भड्किलो दशैँबिचको तुलनाले हाम्रो समाज कता जाँदै छ भन्ने कुरालाई बडो सुन्दर ढंगले उजागर गर्दछ।

 

विगतको मौलिकता र आत्मीयता

विगतको दशैँलाई सम्झँदा मात्रै पनि मनमा एक प्रकारको सुगन्ध, उमङ्ग र हार्दिकताको सञ्चार हुन्छ। महिनौँ अघिदेखि सुरु हुने दशैँको रौनक बेग्लै हुन्थ्यो। असार-साउनको खेतीपाती सकेर भदौको घाम लाग्न थालेपछि गाउँघरमा दशैँको स्वागतार्थ तयारी सुरु हुन्थ्यो। घर,गाउँ,टोल सरसफाई तथा बाटो घाटो पधेरो र चौतारीको मर्मत गरिन्थ्यो। प्रकृतिको पोल्टोबाट झिकिएको रैथाने रातो र सेतो माटो (कमेरो) ले घरहरू लिपेर चिटिक्क बनाइन्थ्यो। दैलो र झ्याललाई रुखका बोक्रा वा पुराना ब्याट्रीबाट तयार पारिएको कालो रङले सजाइन्थ्यो, जसले दशैँ आएको साँचो आभास गराउँथ्यो।

 

त्यो समयको दशैँ विशेष गरी बालबालिकाहरूका लागि नयाँ लुगा फेर्ने र मीठो खाने दुर्लभ अवसर थियो। वर्षभरि नयाँ कपडा फेर्न नपाउने परिवारका लागिसमेत दशैँ नै एउटा यस्तो सुखद बहाना हुन्थ्यो, जतिबेला नयाँ कपडा सिलाइन्थ्यो। दर्जीकहाँ कपडा सिलाउन दिएर आफ्नो लुगा कहिले तयार हुन्छ भनी दैनिक जसो धाउनुको मज्जा नै बेग्लै हुन्थ्यो। नयाँ कपडाको त्यो स्वाभाविक सुगन्ध र खुसी आजका महँगा ब्रान्डेड मलहरूमा कतै पाइँदैन।

 

गाउँका चोक र चौताराहरूमा हालिने लिङ्गे तथा रोटे पिङ दशैँका मुख्य आकर्षण थिए। घटस्थापनादेखि नै युवाहरू जम्मा भई वनबाट बाबियो काटेर डोरी तयार पर्थे र अग्ला बाँसका लिङ्गा गाड्थे। दशैँमा कम्तीमा एक पटक भुइँ छोड्नुपर्छ भन्ने धार्मिक र सांस्कृतिक मान्यताका कारण बालकदेखि वृद्धसम्म पिङ खेल्न लामबद्ध हुन्थे। दुर्गा मन्दिर तथा कोटमा हुने पुजाआजा र मेलामा राम रमिता हेर्नेको लर्को हुन्थ्यो, उता स्थानिय युवाहरु सांस्कृतिक कार्यक्रमको तयारीमा जुट्थे, कतै दिउसो त कतै राति नाटक र निर्त्य चल्थ्यो।

 

यातायातको विकास नभएकाले मानिसहरू टाढा-टाढाबाट दिनौँसम्म पैदल हिँडेर आफ्नो थातथलो आइपुग्थे। बाटोको सम्पूर्ण दुःख घरको सङ्घारमा पुगेर आमाबुबाको अनुहार देखेपछि मेटिन्थ्यो। टीकाको दिन मान्यजनको हातबाट अक्षता र जमरा लगाउँदा पाइने आशीर्वाद र दक्षिणास्वरूप प्राप्त हुने सुक्का, मोहर वा एक-दुई रुपैयाँको नोटमा जुन आत्मसन्तुष्टि हुन्थ्यो, त्यसको मूल्य आज हजारौँ रुपैयाँसँग पनि तुलना गर्न सकिँदैन। पुराना मनमुटाव बिर्सने र पारिवारिक एकतालाई बलियो बनाउने वास्तविक माध्यम नै त्यही पुरानो दशैँ थियो।

 

आधुनिकता, प्रविधि र उपभोक्तावादको छाया

समय बदलियो र सँगसँगै दशैँ मनाउने हाम्रो शैलीमा भौतिक सुविधा, प्रविधि र उपभोक्तावाद हाबी हुँदै गयो। आज दशैँमा घर रङ्गाउन माटो र कमेरोको आवश्यकता पर्दैन; कङ्क्रिटका घरहरूमा महँगा आधुनिक रङहरू लगाइन्छन्। घर सफा र चम्किलो त देखिन्छ, तर त्यसमा विगतको जस्तो प्राकृतिक सुगन्ध र हार्दिकता भेटिँदैन। बजारको सहजता र आर्थिक पहुँचका कारण वर्षभरि नै इच्छानुसार कपडा किन्न सकिने भएकाले दशैँको नयाँ लुगामा पहिलेको जस्तो चरम खुसी र उत्सुकता हराइसकेको छ। कपडा दर्जीकहाँ सिलाउने परम्परा घट्दै गएर रेडिमेड मल र अनलाइन सपिङले स्थान लिएको छ।

 

खानपानको हकमा पनि आधुनिक दशैँ निकै फेरिएको छ। विगतमा दशैँमा मात्र पाक्ने सेलरोटी, अनरसा र मासुका परिकारहरू आज मानिसका भान्छामा दैनिक जसो पाक्ने गर्छन्। त्यसैले आजभोलि दशैँको खानपान स्वास्थ्यभन्दा पनि प्रदर्शन र विलासिताको विषय बनेको छ। बजारका प्याकेज गरिएका खानेकुरा, सफ्ट ड्रिङ्कस र महँगा मदिराहरूले परम्परागत रैथाने परिकारहरूलाई विस्थापित गर्दै लगेका छन्।

 

सबैभन्दा ठूलो प्रभाव त प्रविधिको विकासले पारेको छ, जसले दशैँलाई भर्चुअल अर्थात् डिजिटल बनाइदिएको छ। विगतमा पिङ खेलेर, चङ्गा उडाएर वा साथीभाइ जम्मा भएर खेलिने परम्परागत खेलहरू आज मोबाइल स्क्रिनमा सीमित भएका छन्। शुभकामना दिनका लागि चिठ्ठीपत्र लेख्ने वा व्यक्तिगत रूपमा भेट्ने चलन हटेर फेसबुक, इन्स्टाग्राम र टिकटकका तयारी सन्देश तथा भिडियोहरू पोस्ट गर्ने होडबाजी चल्छ। टीका लगाएर आशीर्वाद लिने बेलामा पनि ध्यान आशीर्वादमा भन्दा बढी फोटो खिच्न र सामाजिक सञ्जालमा ‘अपलोड’ गर्नमा केन्द्रित हुने गरेको देखिन्छ।

 

वैदेशिक रोजगारी र विश्वव्यापीकरणका कारण भौतिक रूपमा घर आउन असम्भव भएपछि आजभोलि भिडियो कलमार्फत ‘डिजिटल टीका’ लगाउने र डिजिटल वालेटमार्फत दक्षिणा ट्रान्सफर गर्ने चलन सुरु भएको छ। यसले भौगोलिक दूरी त मेटाएको छ, तर भौतिक निकटता र अक्षताको स्पर्शबाट मिल्ने साँचो आत्मीयता भने बिस्तारै हराउँदै गएको छ।

 

विगत र वर्तमानको तुलनात्मक स्वरूप

समय चक्रसँगै दशैँ मनाउने सामाजिक, आर्थिक र सांस्कृतिक आयामहरूमा ठूलो रूपान्तरण आएको छ। विगत र वर्तमानको दशैँलाई तुलना गरेर हेर्दा सबैभन्दा ठूलो भिन्नता यसको आर्थिक स्वरूपमा देखिन्छ। हिजोको दशैँ सरल, कम खर्चिलो र रैथाने उत्पादनमा आधारित हुन्थ्यो भने आजको दशैँ अत्यधिक खर्चिलो, तडकभडकपूर्ण र उपभोक्तावादी संस्कृतिमा रुमल्लिएको छ। मनोरञ्जनका रैथाने माध्यमहरू जस्तै लिङ्गे पिङ खेलिने, चङ्गा उडाइने र चौतारीमा सामूहिक लोकगीत गाइने चलनलाई आज मोबाइल, सामाजिक सञ्जाल, भिडियो गेम र रिसोर्ट संस्कृतिले पूर्ण रूपमा विस्थापित गरिदिएको छ।

 

यो रूपान्तरण हाम्रो पोशाक र खानपानमा पनि स्पष्टै झल्किन्छ। विगतमा वर्षमा एक पटक मात्र नयाँ कपडा फेर्ने र घरमै बनाइने सेलरोटी जस्ता परिकारमा जुन विशेष उत्साह हुन्थ्यो, वर्तमानमा त्यो महिनापिच्छे नयाँ कपडा किन्ने, फास्टफुड र रेस्टुरेन्ट धाउने तथा महँगा ब्रान्डेड मदिराको प्रदर्शन गर्ने विलासितामा बदलिएको छ। सञ्चार र सम्बन्धको गहिराइलाई नियाल्ने हो भने, हिजो चिठ्ठीपत्रको पर्खाइ, कष्टकर पैदल यात्रा र प्रत्यक्ष भेटघाटले सम्बन्धहरूमा एउटा बलियो आत्मीयता भर्थ्यो।

 

तर आज, भिडियो कल, सामाजिक सञ्जालका ‘रेडिमेड’ सन्देश र डिजिटल शुभकामनाले सम्बन्धहरूलाई केवल औपचारिकतामा खुम्च्याइदिएका छन्। सहरी प्रभावका कारण पहिले दशैँका बेला सहरबाट गाउँ फर्किनेहरूको लर्को लाग्थ्यो र गाउँघरमा बेग्लै रौनक छाउँथ्यो; आज भने यो चाड सहरका बन्द कोठाहरूमा सीमित हुन थालेको छ वा मानिसहरू दशैँको लामो बिदालाई विदेश वा विभिन्न पर्यटकीय स्थलहरू घुमेर बिताउने आधुनिक फेसनतर्फ आकर्षित भइरहेका छन्।

 

रूपान्तरणका सबल र दुर्बल पक्ष

समयसँगै आएको यो परिवर्तन पूर्ण रूपमा नकारात्मक मात्र छैन र पूर्ण रूपमा सकारात्मक पनि छैन। यातायातको विकासले गर्दा विगतको जस्तो कष्टकर यात्रा गर्नुपर्ने बाध्यता आज छैन; मानिसहरू छोटो समयमै देश-विदेशबाट आफ्नो घर आइपुग्न सक्छन्। प्रविधिको प्रयोगले गर्दा टाढा रहेका परिवारका सदस्यहरू पनि कम्तीमा भिडियो कलमा अनुहार हेरेर चाडको खुसी साट्न सक्षम भएका छन्। आर्थिक सबलताका कारण अभावका कारण चाड मनाउन नपाउने अवस्थामा कमी आएको छ।

 

तर, यसको नकारात्मक पक्ष निकै चिन्ताजनक छ। दशैँको मौलिकता र सांस्कृतिक जग बिस्तारै खस्किँदै गएको छ। आजको दशैँमा ‘देखासिकी’ र ‘तडकभडक’ निकै बढेको छ। छिमेकीले भन्दा महँगो सामान किन्ने वा ठूलो भोज गर्ने प्रतिस्पर्धाले गर्दा विपन्न वर्गका लागि दशैँ ‘दशा’ जस्तो बन्न पुगेको छ। पिङ हाल्ने र सामूहिक रूपमा चाड मनाउने संस्कृति हराउँदा सामाजिक एकता र भाइचाराको भावना कमजोर हुँदै गएको छ। युवा पुस्तामा आफ्नो संस्कृतिप्रतिको गौरवभन्दा पनि आधुनिकताको नाममा पश्चिमा संस्कृतिको अन्धो अनुकरण गर्ने प्रवृत्ति बढेको देखिन्छ।

 

निष्कर्ष

सङ्क्षेपमा, ‘त्यो दशैँ’ भावना, सामाजिक सम्बन्ध, सरलता र आत्मिक खुसीको एउटा जीवन्त प्रतीक थियो भने ‘यो दशैँ’ भौतिक सुविधा, अत्याधुनिक प्रविधि, व्यस्तता र आधुनिकताको एउटा ओजपूर्ण प्रतिबिम्ब मात्र हो। समयको निरन्तर गतिलाई कसैले रोक्न सक्दैन र यससँगै आएका सामाजिक परिवर्तनहरूलाई पूर्ण रूपमा नकार्न पनि मिल्दैन। तर, आधुनिक बन्ने अन्धो दौडमा आफ्ना गौरवमय परम्परा, सांस्कृतिक पहिचान र रैथाने मूल्य मान्यतालाई भुल्नु कदापि बुद्धिमानी हुन सक्दैन।

 

आजको मुख्य राष्ट्रिय आवश्यकता भनेको ‘त्यो दशैँ’ मा रहेको निश्छल आत्मीयता, सरलता र मौलिकतालाई ‘यो दशैँ’ को आधुनिक प्रविधि, सुविधा र सहजतासँग सुन्दर ढंगले जोड्नु हो। हामी प्रविधिको अधिकतम प्रयोग गरौँ, तर त्यसको दास बनेर आफ्ना मानवीय सम्बन्धहरूलाई ओझेलमा नपारौँ। आर्थिक रूपमा सबल र सक्षम बनौँ, तर तडकभडक र देखासिकीको आडम्बर गरेर संस्कृतिलाई विकृत र भड्किलो नबनाऔँ।

 

जब हामीले विगतको आत्मीय हार्दिकता र वर्तमानको आधुनिक भौतिकताबिच एउटा सही सन्तुलन कायम गर्न सक्छौँ, तब मात्र दशैँको वास्तविक मर्म र यसको अद्वितीय सांस्कृतिक गरिमा जीवन्त रहनेछ। चाडबाडको बाह्य रूप समयअनुसार बदलिए पनि यसको अन्तरात्मा सधैँ पवित्र रहनुपर्छ; अनि मात्र हरेक वर्ष आउने विजयादशमीले नेपाली समाजलाई सामाजिक एकता, आपसी भाइचारा र खुसीको एउटै कसिलो सूत्रमा बाँधिरहन सक्छ।

 

यादव घिमिरे 

पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका

हाल: कलंकी १४, काठमाडौँ

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x