अहंकारको सगरमाथा र यसले निम्त्याउने विनाश 

2.1K
shares

 

अहंकार आत्ममूल्यको अतिरञ्जित भावना हो, जसमा व्यक्ति आफ्नो क्षमताको स्तरलाई वास्तविकताभन्दा धेरै माथि राख्छ । आफुलाई सर्वैसर्वा सम्झने क्रिया, भाव, गुण र मपाईत्व भावनालाई अहंकार भनिन्छ । अहंकार भनेको आफु अरु भन्दा श्रेष्ठ हु भन्ने गर्वको भाव हो । यसले आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफुलाई केन्द्रीत राख्छ । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग , शक्ति, पद, ज्ञान तथा वुद्धि , यशसमेतका केन्द्रीत अहंकारहरु हुन्छन । अहङ्गार आफुले आफुलाई सर्वगुण सम्पन्न र अति जान्ने सुन्ने मान्ने प्रवृति हो । आफ्नो पद प्रतिको घमण्ड नै अहङ्गार हो । म, मेरो, मेरो धर्म, मेरो सम्प्रदाय, मेरो संस्कार, मैले गरेको, मैले श्रेय पाउनुपर्छ, मैले गर्दा भएको, मैले भनेझैं हुनुपर्दछ , म नभएको भए सम्भव थिएन भन्ने ममत्व नै अहंकारमा लैजाने कारण हुन्। व्यक्तित्व हावी हुनु अहंकार हो। कुनै पनि कामको श्रेय या सफलतामा मैले गर्दा नै भएको भन्ने धारणा र केन्द्रमा आफूलाई राख्नु अहंकारको प्रस्तुति हो। अहंकार भनेको अहम हो । मै हुं भन्ने भाव, घमण्ड र अभिमान नै अहंकार हो ।

। अहंकारी व्यक्तिहरू आफूलाई अरूसँग तुलना गर्दा उन्नत, उच्च र शक्तिशाली मान्ने प्रवृत्ति राख्दछन्। उनीहरूले आफ्नो स्थिति र आस्थालाई मात्र साँचो र सही ठान्छन् र अरूका विचार र भावनालाई त्यती महत्व दिन चाहँदैनन्। मानिसमा जुन विशेषता हुन्छ उक्त विशेषताले नै उसलाई सर्वश्रेष्ठ सिद्ध गर्छ । अहंकारले मानिसलाई पतनको बाटो तिर लैजान्छ । अहंकार मानिसको पतन तथा विनाशको कारण हो भने निरंहकारिताले उसको सुख सन्तोष, प्रगती, उन्नती , सुख ,समृद्धि तथा प्रसन्नताको बाटो खोल्छ ।मानवलाई विवेकहीन बनाउने यी विकारहरूको धरै प्रभावबाट मुक्त गर्न, तर्क र इच्छा वा आशक्तिको प्रभावबाट मुक्त हुुनु आवश्यक छ । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारबाट उत्पन्न हुने अर्को विकार हुन् भय, चिन्ता, ईष्र्या, राग र द्वेष । अहंकार एक संग्रह हो जुन विष जस्तै हो । अहंकारी व्यक्तिले आफुलाई संसारमा अत्यन्त महत्वपुर्ण ठान्छ, यदि उसले थोरै मात्र सफलता पाएमा आफुलाई सर्वश्रेष्ठ र महान सम्झन्छ ।यही धन–सम्पत्ति, शारीरीक सौन्दर्य, जाती, वंश, बृद्धि, कला पद प्रतिष्ठा तपस्या, सिद्धि तथा उपलब्धिको आधारमा उसले आफुलाई अरुभन्दा महान सम्झन्छ । यस्ता व्यक्तिले आफ्नो सधै चाकडी र प्रशंसा गर्नेलाई सम्मान गर्ने गर्छन् । यीनले अरुमाथी अधिपत्य जमाउन चाहान्छन् र आफ्नो आलोचना सुन्न चाहान्नन् । यदि कोहीले उसको विरोध र आलोचना गरेमा उसप्रति प्रतिशोध लिन्छन ।

मानिसले सम्पन्नता खोज्नु, ज्ञान प्राप्त गर्नु, सफलता चाहनु मानवीय गुण हुन् तर सफलता पश्चात मनमा उत्पन्न हुने मै हुँ भन्ने भाव अहंकार हो । मै हुँ श्रेष्ठ भन्ने भाव उत्पन्न हुनु अहंकार हो । आफू नै कर्ता, आफू नै सर्वश्रेष्ठ सम्झनु र अरूको अवमूल्यन गर्नु ठूलो अहंकार हो । मैले धन कमाएँ, मैले डिग्री पास गरेँ, मैले पिएचडी गरे, मैले पुरस्कार पाएँ, सम्मान पाएँ, डाक्टर भएँ, इन्जिनियर भएँ, वकिल भएँ, विदेश गएँ, यो गरेँ त्यो गरेँ यि सबै अभिमान हुन् । विद्वानहरूका अनुसार ‘अहंकार दुःखको एउटा बलियो कारण हो । अहंकारको अर्को नाम हो अभिमान वा घमण्ड । जीवनमा गर्व, स्वाभिमान र अहंकार उस्तै देखिन्छन् तर ती स्वरूपमा नितान्त फरक छन् ।

अहंकारको रस लंडाई, झगडा ,द्धन्द क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या र वासना गर्नमा हुन्छ। अहंकारको प्रवृति आफूलाई ठूलो र अर्कोलाई सानो देख्ने किसिमको रहेको हुन्छ । ती अहंकाररुपी भूत जब व्यक्तिउपर हावी हुन्छन तव व्यक्तिको वुद्धि, विवेक, चेतना मर्न थाल्छ र व्यक्तिले वेहोसी एवं नसाको तालमा कार्य गर्छ साथै पछि होसमा आउंदा पश्चाताप गर्नुपर्ने अवस्था बाहेक अरु केहि पनि रहदैन ।

अहिले सार्वजनिक जीवनयापन गर्नेहरुमा प्रेम, करुणा, दया, समन्याय, समभाव, समान व्यवहार गर्नु पर्दछ भन्ने सोंच र भाव हराउदै गएको अवस्था विधमान छ । सार्वजनिक जीवनयापन गर्नेहरुमा अहिंसा, सदाचारीता , नैतिकता, दया भाव , विवेक, प्रेमपूर्ण, करुणावान र परोपकार,मानवीयता आदि गुणहरु आवश्यक पर्दछ । अहिले सार्वजनिक जीवन अवलम्वन गर्नेहरुमा इर्श्या, द्धेष, क्रोध, हिंसा, घृणा, वैमनस्यता ,अस्वस्थ्य प्रतिस्पर्धाको भावना, अरु सित तुलना जस्ता नकारात्मक भावहरु उव्जने गरेको पाइन्छ । यस्ता कर्मले गर्दा उनिहरुमा कार्य सम्पादनका सिलसिलामा ठूलो अहंकार उत्पन्न हुन आउछ। आफुलाई अर्को सम्झन्छन ।मैले यती गरे,यो मैले गरे, मैले मेरै कार्यकालमा गरे,म नभएको भए यो सम्भव हुने थिएन यो गरे सवलाई अहंकारले समात्छ । जब व्यक्तिमा अहंकार बढदै जान्छ तब अनेक विकृति एवं समस्याहरु देखा पर्न थाल्छ ।

व्यक्तिको आध्यात्मिक स्तरको एउटा महत्त्वपूर्ण मापण्ड हो, अहंको मात्रा । यसको अर्थ हो उनको आत्माको सबैतर्फ अनि विद्यमान अन्धकार कति हटेको छ तथा उनको आफ्नो अन्तरात्माको साथ कति पहिचान स्थापित भएको छ ।आत्माको सबैतर्फ अन्धकार अर्थात अहंको अर्थ हो मनुष्यको त्यो प्रवृत्ति जहाँ उनको पहिचान केवल पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिसम्म सीमित हुन्छ । त्यो अहं अर्थात आफ्नो वास्तविक अस्तित्वको (आत्माको) आध्यात्मिक अज्ञान । हाम्रो आधुनिक शिक्षाप्रणाली र समाजले हामीलाई यही शिक्षा सिकाउछ कि हाम्रो अस्तित्व, हाम्रो देह, मन एवं बुद्धि सम्मनै सीमित छ र हाम्रो वास्तविक अस्तित्व हाम्रो अन्तरात्मा हो, यो तथ्यबाट हामी अनभिज्ञ छौं ।

अहंकार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो । मानिस जस्तोसुकै शक्तिशाली किन नहोस्, जस्तोसुकै ज्ञानी, तपस्वी,निस्वार्थी त्यागी किन नहोस् यदि अहंकारलाई काबुमा राख्नबाट चुक्यो भने उसको पतन निश्चित छ । पौराणिक इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । भस्मासुर, शुम्भ–निशुम्भ, रावण, सबैै वरदानी, शक्तिशाली भएर पनि अहंकारका कारण पतन भएका पौराणिक कथामा उल्लेखित अहंकारी पात्रहरू हुन् । धार्मिक मान्यताअनुसार पनि त्रेतायुगमा भएको रामायण युद्ध रावणको अहंकारले गर्दा भयो ।त्यसैगरी द्धापरयुगमा भएको महाभारत युद्ध पनि दूर्योधनको अहंकारको कारणबाटै हुन पुगेको मान्न सकिन्छ । महाभारतमा चेडी देशका नरेश शिशुपाल, अहंकारको कारण कृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्यकश्यप जस्ता दैत्यहरू वरदानी भएर पनि अन्त भए । यी पौराणिक तथ्यहरू चाहे वास्तविक घटना हुन् चाहे कोही विद्वानले बनाएका कथा हुन् । दुःखको कारण अहंकार हो भन्ने सन्देश दिन्छन् । स्वाभिमानले टाउको उच्च राख्छ भने अहंकारले टाउको निहुरिन्छ । मानिसले सम्पन्न हुन्छु भन्ने सोच राख्नु स्वाभिमान हो तर दम्भले अरूलाई विपन्न देख्नु अहंकार हो । सफलता खोज्नु स्वाभिमान हो तर अरूको असफलतामा हेला गर्नु अहंकार हो । उच्चता खोज्नु स्वाभिमान हो तर अरूलाई कमजोर देख्नु अभिमान हो । अतः विद्वानहरू भन्नुहुन्छ, ‘स्वाभिमान मानव गुण हो भने अहंकार अवगुण हो । स्वाभिमान सम्मान गर्न योग्य हुन्छ भने अहंकार दण्डयोग्य हुन्छ । स्वाभिमान प्रिय हुन्छ भने अहंकार घृणित हुन्छ । अतः विद्वानहरू भन्नुहुन्छ ‘स्वाभिमानको रेखा पार हुनु अहंकारको जन्म हुनु हो । अहंकार सबैभन्दा दुःख हो । अहंकारीको अन्त अत्यन्त दुखद हुन्छ । अहंकारले बुद्धि भ्रष्ट बनाउँछ, विवेकहिन बनाउँछ । वास्तवमा मानवलाई अन्धो बनाउँछ ।

ठूला आहोदाधारीहरूको अहंकारको उत्पत्ति प्रायः तिनीहरूको शक्ति र प्रभावमा छिपेको हुन्छ । जब कुनै व्यक्ति ठूलो पदमा पुग्छ, उसको आसपासका मानिसहरूले उसलाई ठूलो महत्त्व दिन थाल्छन् र यसले उसलाई अझ बढी अहंकार र गर्वको भावना जगाउँछ। यसरी एक व्यक्तिको बाह्य सफलता र स्थिति उसको भित्री विकास र आत्ममूल्यबाट बढी महत्त्व पाउन थाल्छ। यस्तो अवस्थामा, उसलाई आफ्नो पद र प्रतिष्ठाका आधारमा आफूलाई उच्च र अनन्य ठान्न प्रलोभन हुन्छ।

ठूला आहोदाधारीहरूको अहंकार प्रकट हुने तरिका विविध छन्। अहंकार भएको व्यक्तिले आफूलाई अत्यधिक महत्त्वपूर्ण र अद्वितीय ठान्दछ । यस्ता व्यक्तिहरू सधैं आफूलाई अरूसँग उच्च र श्रेष्ठ देखाउने प्रयास गर्छन्। उनीहरूले आफ्नो स्थितिलाई अन्य व्यक्तिहरूसँग तुलना गर्दा आफूलाई प्रभावशाली र योग्य ठान्दछन्। यो भावनाले उनीहरूलाई आत्मकेन्द्रित र अरूका विचार र भावना विचार नगर्ने बनाउँछ । अन्ततोगत्वा यसले उसको विनास अवश्य निम्त्याउँछ ।

ठूला आहोदाधारीहरूले प्रायः आफ्नो सार्वजनिक छवि र प्रतिष्ठा बढाउनमा ध्यान केन्द्रित गर्दछन्। तिनीहरूलाई आफ्नो बाहिरी रूप र छवि महत्त्वपूर्ण लाग्दछ, जसका लागि उनीहरूले प्रायः आफ्नो भित्री नैतिकता र ईमानदारीलाई तिलाञ्जली दिन्छन्। उनीहरूले आफूलाई सधैं अन्य व्यक्तिहरूको अगाडि उच्च स्थानमा राख्न र सम्मान प्राप्त गर्न मात्रै लालयित हुन्छन् ।

अहंकारी व्यक्तिहरू अरूसँगको संवादमा प्रायः केवल आफ्नो विचार र रायलाई महत्त्व दिन्छन्। यस्ता व्यक्तिहरू अरूसँग सल्लाह गर्न वा अरूका भावनालाई ध्यान दिन इच्छुक हुँदैनन्। यसका कारण, तिनीहरूको निर्णयहरू एकतर्फी मात्रै हुन्छन् । यस्ता व्यक्तिहरू प्रायः आफूलाई अत्यन्त सक्षम र उच्च कार्यक्षमता भएको देखाउन चाहन्छन्। यस्ता व्यक्तिहरू आफ्नो कामलाई महिमामण्डित गर्न र अरूसँग तुलना गर्दा आफूलाई अरूसम्मत ठान्न इच्छुक हुन्छन्। यस्ता व्यक्तिहरूलाई आलोचना गर्न असहज अनुभव हुन्छ । उनीहरू आलोचनालाई आफ्नो आत्मसम्मानको उल्लंघनको रूपमा लिन्छन् र यसलाई अस्विकार गर्छन्। जब तिनीहरू आलोचना गर्छन् तब पनि प्रायः उनीहरूको प्रतिक्रिया र कार्य यस्तो प्रकारको हुन्छ कि उनीहरूले आलोचनालाई नकार्छन् र आफूलाई सधैं सही ठान्न चाहन्छन्।

समाजमा केही व्यक्तिहरू आहोदाधारी र प्रभावशाली बन्ने क्रममा आन्तरिक अहंकारको सगरमाथामा चढ्दछन्। आजको समयको हकीकत हो कि धेरैजसो ठूला आहोदाधारीहरूले आफ्नो अहंकारलाई अत्यधिक महत्त्व दिन्छन् र यसका कारण उनीहरूको व्यक्तित्व र निर्णयहरू अन्य व्यक्तिहरूको भलाइभन्दा मात्र आफ्ना स्वार्थ र लाभमा केन्द्रित हुने गर्दछन्। यो अवस्था समाजका लागि हानिकारक र नकरात्मक असर ल्याउन सक्छ।

समाज र संस्कृतिका कारण व्यक्तिको मानसिकता र विचारधारामा प्रभाव पार्दछ। विशेषगरी, समृद्धि र सफलता केवल बाह्य प्रदर्शन र रङ्गीन जिवनशैलीमा आधारित मानिन्छ भने, व्यक्तिको आन्तरिक मूल्य र नैतिकता भने कमजोर पर्न सक्छ। यस्तो समाजमा अहंकारी सोचको विकास हुने सम्भावना बढी हुन्छ । जब कुनै व्यक्ति ठूला आहोदामा पुग्छ, उसले आफ्नो शक्तिको आँकलन गर्ने प्रारम्भिक बिन्दुहरू बाह्य र भौतिक सफलता र स्वार्थमूलक दृष्टिकोणबाट हुन्छ। यसले व्यक्ति आफूलाई तल्लो तहका मानिसहरूभन्दा फरक र उच्च ठान्न थाल्छ। यसलाई एक प्रकारको अति आत्मविश्वास पनि मान्न सकिन्छ, जुन वास्तवमा अहंकारको रूपमा प्रकट हुन्छ । व्यक्तिकोजीवनमा प्रभावशाली पारिवारिक पृष्ठभूमि र संस्कृतिको ठूलो प्रभाव पर्छ। जब परिवारका सदस्य वा आन्तरिक सर्कलले व्यक्तिलाई निरन्तर ठूलो बनाउँछन् र सधैं अरूसँग तुलना गरिन्छ, तब उसलाई अहंकारको भावना विकसित हुने सम्भावना बढी हुन्छ।

सामाजिक र आर्थिक अवसरका हिसाबले जब व्यक्तिलाई कुनै विशेष स्थिति प्राप्त हुन्छ, तब उसलाई आफ्नो अहंकारको सागरमा डुब्न सजिलो हुन्छ। यस्तो अवस्थामा, व्यक्ति आफ्नो आसपासको वातावरणलाई हानी पुर्याउने गरी निर्णय गर्न थाल्छ र अनावश्यक अहंकार प्रकट गर्छ। आफरलाई बढी महत्व दिदा समग्र समाजमा यसको नकारात्मक प्रभाव पार्न सक्छ । अहंकारी नेतृत्वले प्रभावकारी निर्णय लिन सक्दैन, किनकि यो नेतृत्व समूहको आवश्यकताहरू र वास्तविकता बुझ्नबाट टाढा हुन्छ । यसले गलत निर्णय र दिशाभूल ल्याउँछ जसले अन्ततः संस्थाको वा समाजको क्षति पुर्याउँछ। अहंकारले व्यक्तिलाई केवल आफू र आफ्नो अवस्थालाई मात्रै महत्व दिन लगाउँछ, जसका कारण अन्य व्यक्तिहरूका अधिकार र संवेदनशीलतामा बेवास्ता गर्न थालिन्छ । यसले असहमति र द्वन्द्वको उत्पत्ति गर्न सक्छ, जसले समाजमा अस्थिरता निम्त्याउँन मदत गर्दछ ।

व्यक्तिले आफ्नो आन्तरिक अहंकारलाई बुझ्न र नियन्त्रण गर्न सिक्नुपर्छ। आत्म–जाँच र आत्म–समर्पणले व्यक्ति स्वयंको कमजोरी र कमजोर पक्षलाई स्विकार गरेर सुधार गर्ने अवसर दिन्छ । समाजमा समानता र न्यायको सुनिश्चितता गर्दै अहंकार र विभेदको प्रचलनलाई समाप्त गर्न सकिन्छ। प्रत्येक व्यक्तिका अधिकार र स्थानको सम्मान गर्दै सही मार्गमा अघि बढ्न सकिन्छ । नेतृत्वका लागि साँचो र प्रेरणादायक दृष्टिकोण आवश्यक छ। नेतृत्व गर्ने व्यक्तिले सधैं आफूलाई सबैभन्दा माथि राख्नुको सट्टा अरूसँग सहकार्य गर्दै समाजको सामूहिक भलाइका लागि काम गर्नु पर्छ ।

ठूला आहोदाधारीहरूको अहंकार केवल व्यक्तिगत स्वार्थ र पारिवारिक फाइदाका लागि होइन, यसले सम्पूर्ण समाजमा नकरात्मक प्रभाव पुर्याउँछ। यसको कारण समाजमा असमानता, द्वन्द्व र असहिष्णुता फैलिन्छ। यसलाई नियन्त्रण गर्न र सुधार गर्न केवल शिक्षा, आत्म–जाँच, समानता र नेतृत्वको सही मार्गदर्शन आवश्यक छ। केवल जब हामी यी दृष्टिकोणहरूलाई आत्मसात गर्छौं, तब समाजमा वास्तविक र साँचो परिवर्तन आइलाग्न सक्छ।

साधना आरम्भ गरेपछि हाम्रो अहं क्रमशः क्षीण हुन थाल्दछन् । यसको हामीमा बढ्दै गरेको आध्यात्मिक स्तरसँग सीधा सम्बन्ध हुन्छ । आफ्नो गल्ति स्वीकार गर्न नसक्नु पनि अहंको लक्षण हो । शरीर, मन र अहंकारको जीवन जीवन होइन, यी तीनबाट मुक्त भएपछि शून्यको र शान्तिको जीवनमा प्रवेश गरी निर्वाण प्राप्त हुन्छ। अहंकार मनको इन्धन हो, मन समस्या हो, अशान्ति हो । मनबाट अहंकारको उत्पति हुन्छ । अहंकार मनको पहिलो सन्तान हो । अहंकारले आफुपछि क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या बोकेको हुन्छ । मनले चल्नेवाला व्यक्ति अहंकारी हुन्छ, मन सधै वासना र अहंकारको साथ चल्ने गर्दछ । अहंकारी व्यक्ति मनलाई मालिक बनाउंछ, मनको मालिक हुन सक्दैन तर निर्दोष र सरल व्यक्ति मनको मालिक हुन्छ । जव मन मालिक बन्दैन तब निर्दोषता, सरलता पैदा हुन्छ, दम्भ ,लोभ र क्रोध मेटिन्छ एवं शान्ति र आनन्द मिल्छ।यस जगतमा मानिसमा दुई प्रकारका भ्रम छन एक पदार्थ वा द्रब्यको र अर्को म (इगो, अहंकार)को भ्रम । अहंकारले चौविसै घण्टा म, मेरो, मलाई भन्छ निद्रामा समेत म सम्झन्छ । अहंकारी व्यक्ति चाँडै निदाउन सक्दैन । जवसम्म म रहन्छ तवसम्म अर्को भन्ने भाव नष्ट हुंदैन ।

अहंकार एउटा प्रयोजन हो, जसले धन , शक्ति र पद माग्छ । अहंकार पाएर पनि दुखी हुन्छ । भनिन्छ मानिसको घर जति ठूलो हुंदै जान्छ मन त्यति सानो हुँदै जान्छ । अहंकारले त्यही माग्छ जहाँ केही पाउने आशा हुन्छ । अहंकार त्याहा जादैन, जहां उसले केही पनि पाउदैन । हामी मलाई केन्द्रमा राखेर जीवन चलाई राखेका छौ । हाम्रो दृष्टि अहम केन्द्रित छ तसर्थ हामीलाई अहंकारको पर्दाले घरेको छ। भनिन्छ अहंकारभन्दा ठूलो अरु पाप छैन बांकी सारा पाप अहंकारबाटै उत्पन्न हुन्छन ।

सन्त कविर भन्नुहुन्छ अहंकार ,क्रोध र कल्पनाबाट संसारका मानिसले धेरै धोका खान्छन, जहां अहंकार हुन्छ त्यंहा अनेक विपत्तीहरु आई लाग्छन, ज्ञानलाई अहंकारले नष्ट गर्छ । काम, क्रोध, लोभ,मोह, अभिमान, अहंकार जस्ता दुर्गणहरु जवसम्म ह्दयमा निवास रहन्छन तवसम्म पण्डित र मूर्ख दुवै एक समान हुन् । दोश्रोको नजरमा अहंकारी व्यक्तिमा धोकेबाज, निन्दक, वेइमान, लोभी, शोषक, भोगी, स्वार्थी, इर्श्यालु, कंजुश, चोर, डांकु, तानाशाह, गुण्डा, नेतागिरी , दादागिरी, चम्चा, आतंकवादी, मोहग्रस्त, सन्की, दम्भी, कठोरदील, निर्मोही, मूर्ख, बकबासी, रुढीवादी, कटाक्षी, जिद्धी, अवज्ञाकारी, धुर्त, पाखण्डी, चलाख, यशाकांक्षी, निकृष्ट, पापी, तुच्छ, दुस्साहसी जस्ता दुर्गुणहरु रहेका हुन्छन ।

धनवान, पदवान मानिसहरु जति अहंकारी देखिन्छन त्यति अहंकारी सामान्य मानिस देखिदैन र हुदैन । धन र पद भएका मानिसहरुमा क्रोध र अहंकार बढी हुन्छ । उनीहरुमा यती अहंकार हुन्छ की दुईजना जव एक अर्कासंग भेट हुन्छन् पहिला कसले कसलाई नमस्कार गर्ने भन्ने अहंम हुन्छ । अहंकारले सर्मपणमा वाधा दिन्छ । कोही पनि अहंकारले मुक्त नभई सर्मपण गर्न सक्दैन। मेरोपन अर्थात ममत्वको भाव नै हिंसा भएकोले समग्र हिंसा आफ्नो र पराईको विचमा तानिएको सीमा रेखाबाट हुन्छ । कुनै पनि म, मेरोको भावना नै मोहको निस्सा हो । क्रोधबाट मोह उत्पन्न हुन्छ, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित हुनाले मानिस पछारिन्छ । अहंकारी व्यक्तिको भाव, विचार, बाणी र उसले गर्ने कार्यमा असंगति हुन्छ । जव मानिस अहंकारले भरिन्छ तब उसले प्रकृतिसंग समेत शत्रुता राख्छ । रजनिश ओशो भन्नु हुन्छ जहां अहंकार हट्छ त्यहाँ जीवनमा फूल फूल्न थाल्छ ,जहाँ झुक्ने अवसर आउँछ त्याँहा झुक्नु, जहां झुक्नको लागि परिस्थिति आयो त्यसैगरी अवसर सम्झनु, यसरी झुकिरहयो भने अहंकार काटिदै जाने छ, अहंकार दुङ्गाको चट्टान हो समय लाग्छ काटिनमा। भनिन्छ व्यक्तिले आप्mनो जीवनमा दुईप्रकारको यात्रा गर्न सक्छ एक शक्तिको र अर्को शान्तिको, शक्तिको यात्रा अहंकारको यात्रा हो, शक्तिले सत्य जान्दैन। अहंकारको अनुपस्थितिमा आनन्द प्राप्त हुन्छ ।अहंकारको पूर्ण अन्त भएमा विनम्रताको आगमन हुन्छ । अहंकारी व्यक्तिहरु आक्रमक र हिंसक हुन्छ । अरुलाई निर्भय भएको देखाउन खोज्छन । उनीहरु ठूलो पदको खोजमा, धेरै धनको लोभमा, यशको खोजमा लागिरहेका हुन्छन।उनिहरु सुरक्षित रहन चाहन्छन की भोली रोग,गरिबी,मृत्यु जेसुकै आओस कुनै डर छैन। भित्रको भयको कारण सुरक्षाको सवै उपाय अपनाउछन ।

अहंकारबाट मुक्त हुन सर्वप्रथम हामीले आफुभित्र कुन प्रकारको अहंकारको भूत हावी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहंकारका विभिन्न भूतप्रति हामी सजग हुन सकेमा अहंकार निश्कृय हुन्छ र ह्दय प्रेमले भरिन्छ । अक्सर हामी आफ्नो अहंकारको भूतको पुष्ट्याई गर्न कोशिस गर्छौ, तर्क विर्तक गर्छौ, आफ्नो भूतलाई तर्कद्धारा प्रमाणित गर्न खोज्छौ तर यस्तो कार्य गर्दा झन अर्को अहंकारको भूत थप हुन्छ । ।सर्बप्रथम आफ्नो अहंकार आफै थाहा पाउने चेष्टा गर्नुपर्छ । जस्तै ,चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो भित्री अपराध वोधमा म खराव हुं भन्ने वोध एवं स्मृति भएमा पश्चाताप गर्छ र अहंकार हराउछ ।

धन तथा भोगकेन्द्रित अहंकार भएको व्यक्तिले म लोभी हु, वासनायुक्त हु भन्ने वोध भएमा उसले दान गर्ने प्रयास गर्दछ । साथै शक्ति, पद र वलको अहंकार भएको व्यक्तिलाई सो आफ्नो अपराधहरुको भित्री वोध म अरुलाई पीडा दिइरहेको छुू भन्ने जव बोध हुन्छ उसले आत्मपीडा महशुस गर्न थाल्दछ । भाव तथा प्रेमकेन्द्रित अहंकारको वोध म मोह ग्रस्त हुं भन्ने भएमा उसले पलायन हुने प्रयास गर्दछ । वुद्धि एवं विचारको अहंकार भएको व्यक्तिलाई म चंचल, अस्थिर हुं भन्ने वोध भएमा उसले आफ्नो मनसंग शत्रुता गर्दछ । यसर्थ अहंकारको वोध भएमा अहंकार हावी हुन नदिने अन्य कार्य गरिन्छ र ईगो साम्य हुन्छ ।

जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारलाई दुःखका कारण मान्न सकिन्छ तर सबै अवस्थामा दुःखको कारणको रूपमा मान्न उचित हुँदैन । यी पाँच तत्वहरू प्राकृतिक हुन् । मनुष्य जीवनमा यसको आवश्यकता अनिवार्य छ संवेदनाहरू सबै अवस्थामा विकार हुँदैनन् । लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउँछ र सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसलाई आवश्यकताभन्दा धेरै मोहले दुर्बल बनाउँछ । दुर्बलता विनाशको मार्ग हो । अहंकारको प्रभावले मानवलाई अपराधी बनाउँछ ।जो व्यक्तिमा अहंकार हुन्छ र धेरै रिस उठ्छ, उसलाई दुश्मनको आवश्यकता नै पर्दैन । अहंकारी मानिस प्रशंसाको भोको हुन्छन्, आलोचना त सुन्नै चाहँदैन । मानिस प्रशंसामा प्रसन्न हुन्छन्, आलोचनामा क्रोधित हुन्छन् । उनीहरू आफ्नो कार्यमा, क्षमतामाथि प्रश्नचिन्ह लागेको हेर्न चाहँदैनन् अहंकारले शक्ति, क्षमताको दुरूपयोग गर्न प्रेरित गर्छ । अहंकारीको सम्पन्नता कमजोरहरूको दुःखको कारण बन्छ । अहंकारी मानिस आफ्नो क्षमता, शक्ति वा सम्पनतामाथि कसैले औँला उठायो भने असाध्यै असह्य हुन्छन् र क्रोधित भएर प्रश्नलाई नै समाप्त गर्ने प्रयत्न गर्छन् । ती मानिस सही या गलतको कुनै लेखाजोखा गर्दैनन् । यहाँ सत्य असत्यको कुनै गुञ्जायस हुँदैन ।

अहंकारलाई निश्कृय पार्न प्रेम, मैत्री र करुणा बढाउनु पर्छ ।मैत्री र करुणामा म र मेरोको भेद हुंदैन । मैत्रीले दोश्रोलाई हर्षित गर्छ र करुणाले दोश्रोको दुखलाई हटाउन सक्छ । प्रत्येक व्यक्तिले आफूभित्रको अहंकारलाई नीरिक्षण गर्दै चेतनाको दियो जगाउने प्रयास गर्नु आवश्यक पर्छ ।कतिपय अवस्थामा शारीरिक, मानसिक र भावनात्मक लहडको कारण व्यक्तिको अहंकार उच्च तहमै पुगिसकेको हुन्छ। यीभन्दा माथि उठेर व्यक्ति शरीर, मन र भावना मात्र नभई आन्तरिक चेतना हो भन्ने बोध भएको क्षण अहंकार निस्तेज हुन पुग्दछ।अहंकार उन्नति र प्रगतिको बाधक हो। सार्वजनिक जीवनमा सफलता प्राप्त गर्ने हो भने अभिमान, अहंकार त्यागी अगाडी बढ्नुको विकल्प छैन । जहां अहंकार हट्छ त्यहाँ जीवनमा फूल फूल्न थाल्छ ,जहाँ झुक्ने अवसर आउँछ त्याँहा झुक्नु, जहां झुक्नको लागि परिस्थिति आँउछ त्यहाँ झुकिरहयो भने अहंकार काटिदै जाने छ, अहंकार दुङ्काको चट्टान हो समय लाग्छ काटिनमा । जहां अहंकार हुन्छ त्यंहा अनेक विपत्तीहरु आई लाग्छन। व्यक्तिको चरित्र र मानसिकता सुधार्न शिक्षा र संस्कारको महत्व अनिवार्य छ । अहंकारलाई कम गर्नका लागि प्रत्येक व्यक्तिको भित्रको नैतिक र समाजिक जिम्मेवारीलाई बलियो बनाउन आवश्यक छ ।

 

  (उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

civil hospital
Hams Hospitals