क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक, ८३.३७ प्रतिशत कार्य सम्पन्न
वि.सं.२०८२ मंसिर १५ सोमवार
shares
बिराटनगर, पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२/८३ को प्रथम त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै निर्धारित कार्यमध्ये ८३.३७ प्रतिशत भौतिक प्रगति र ४७.५५ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ। सो जानकारी कार्यालय प्रमुख डा. विदुर प्रसाद गौत्तमले दिनुभयो।
उहाँका अनुसार सीमा क्षेत्रमा अवैध रूपमा हुने पशु तथा पशुजन्य सामग्रीको रोकथाम तथा नियन्त्रणमा कार्यालयले प्रभावकारी कार्यान्वयन गरेको छ। विराटनगरको रानी, सुनसरीको भान्टाबारी तथा सिराहाको माडर नाकाबाट हुने आयात–निर्यातमा नियमित निगरानी, कडाइका साथ जाँच र प्रमाणिकरणको प्रक्रिया पूरा गरिएको प्रतिवेदनमा उल्लेख छ।
अवैध रूपमा भित्रिने जोखिमयुक्त पशुजन्य सामग्री नियन्त्रण, स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै कार्यालयले आयातकर्ता तथा निर्यातकर्ता उद्योगसँग निरन्तर समन्वय गर्दै आएको छ।
प्रतिवेदनअनुसार पहिलो त्रैमासिक अवधिमा अवैध सामग्री नष्ट गर्ने अभियान झनै सशक्त रूपमा संचालित गरिएको छ। कार्यालयको टोलीले ३२ पटक अनुगमन गर्दै ठूलो परिमाणका अवैध वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको छ। नष्ट गरिएका सामग्रीमध्ये—
-
२४० केजी ब्रोलर कुखुराको मासु
-
३२९ वटा बोइलर कुखुरा
-
सेतो अण्डा २९ क्रेट
-
१०४ केजी पहिचान नखुलेको आलो मासु
-
३० केजी प्याकेज्ड सी–फिस
-
१० वटा एक्वेरियम माछा
-
७३५ केजी फ्रोजन फिस
-
२० केजी माछाको सिद्रा नष्ट गरिएको उल्लेख छ।
भारत–नेपाल सीमाबाट भित्रिने पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण, संक्रमण जोखिम नियन्त्रण तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको प्रतिवेदनमा जनाइएको छ। साथै आयातित कच्चा पदार्थको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशाला परीक्षणसमेत गरिएको छ।
सीमामा अवैध सामग्री रोकथामका लागि कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग निरन्तर सहकार्य जारी राखेको जनाएको छ।


























