दशौँ वर्ष काठमाडौँमा फन्को मार्ने संजीव नेपाल रास्वपा सरकारका प्रिय  

1.5K
shares

काठमाडौं । कर्मचारी संकेत नम्बर २१७७९४ भएका सरकारी कर्मचारी संजीव नेपाल हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । उनी हाल कर्मचारी सरुवासम्बन्धी काममा संलग्न रहेका छन् । कर्मचारी प्रशासनमा उनको हालीमुहाली चलिरहेको छ । आफूले जागिरे जीवनभर दुर्गम क्षेत्रमा काम नगरेका कर्मचारीले अन्य कर्मचारीको सरुवा–खटनपटन गरिरहेका छन् ।

२०७३ सालमा परराष्ट्र सेवाको नायब सुब्बा पदबाट सरकारी सेवामा प्रवेश गरेका नेपाल २०७४ सालमा प्रशासन सेवातर्फ शाखा अधिकृत बनेका थिए । २०७५ सालमा उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा कार्यरत थिए । त्यसपछि २०७५ फागुन ३० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृतका रूपमा सरुवा भएपछि उनी काठमाडौंबाहिर जान परेको छैन ।

 

कांग्रेस र एमाले निकट नेताहरूसँग सम्बन्ध विस्तार गर्दै उनले मालदार मानिने अध्यागमन कार्यालयमा समेत लामो समय काम गरे । अध्यागमन विभागमा कार्यरत रहँदा आर्थिक लेनदेनको आरोप खेपेका नेपाल शक्तिकै कारण कार्वाहीमा भने परेनन् ।

 

प्रभावशाली पहुँच बनाएका नेपाल अहिले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा रहेर सरुवासम्बन्धी काम हेर्दै आएका छन् ।

 

सरकार परिवर्तनसँगै राजनीतिक निकटता बदल्ने प्रवृत्ति भएका नेपाल हाल सत्तारुढ दलसँग निकट रहेको बताउने गरेका छन् । उनीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै सरुवामा प्रभाव पार्ने र आर्थिक लेनदेन गर्ने आरोपसमेत लाग्ने गरेको छ । एक सुब्बाका अनुसार सरुवाका लागि निश्चित मूल्य तोकेर काम गरिने गरेको छ । प्रधानमन्त्री कार्यालयको लिष्ट भन्दै लेनदेनका कर्मचारीलाई मालदार ठाउँमा पठाउने उनको दैनिकी हो ।

मन्त्री र सचिवसम्म पहुँच रहेको दाबी गर्दै सरुवाका विषयमा प्रभाव जमाउने शैलीका कारण सरुवा माग्न जाने कर्मचारीसमेत अचम्मित हुने गरेका छन् । प्रधानमन्त्रीकै नाम बेच्न थालेपछि सचिव र कर्मचारी प्रशासनका प्रमुखसमेत उनीसँग हच्कन थालेका छन् ।

भूमि मन्त्रालयमा अधिकांश समय बिताएका उनले गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागमा पनि लामो समय काम गरेका थिए ।

 

निकटवर्तीहरूका अनुसार अतिरिक्त विशेष दक्षताभन्दा पनि पहुँच व्यवस्थापनमा माहिर रहेका नेपालले जुनसुकै सरकार आए पनि आफ्नो प्रभाव कायम राख्न सफल हुँदै आएका छन् । सरकार परिवर्तन हुनासाथ राजनीतिक रंग बदल्ने र प्रभावशाली शक्ति केन्द्रसँग निकटता बढाउने उनको शैलीबारे कर्मचारी वृत्तमा व्यापक चर्चा हुने गरेको छ।

 

उनको व्यक्तिगत सूचना प्रणाली हेर्दासमेत जागिरे जीवनभर दुर्गम क्षेत्रमा कार्यरत नरहेको तथ्य देखिन्छ । यही कारण दुर्गम क्षेत्रमा वर्षौँ सेवा गरेका कर्मचारीहरूले भने सरुवा व्यवस्थापनको जिम्मेवारी यस्ता कर्मचारीलाई दिइनु उचित नभएको टिप्पणी गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

दरबन्दीबिनै दर्जनौं कर्मचारी सरुवा, रास्वपाको भजन मण्डली सुरक्षित

civil hospital
Hams Hospitals