उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता सुरु, ५० विद्यालयका ६०० विद्यार्थी सहभागी

74.7K
shares
Nabil bank

काठमाडौं । कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता सुरु भएको छ।

काठमाडौंको धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको आफ्नै सभाहलमा बुधबारदेखि सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न विधाका एकल नृत्य प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको पहिलो दिन कक्षा १ देखि ६ सम्मका विद्यार्थीले फ्रीस्टाइल र झ्याउरे नृत्य प्रस्तुत गरेका छन्। दोस्रो दिन कक्षा २ देखि ५ सम्मका विद्यार्थीले फ्रीस्टाइल र कौरा नृत्यमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी तेस्रो दिन कक्षा ३ र ४ का विद्यार्थीले मारुनीलगायतका नृत्य प्रस्तुत गर्नेछन् भने चौथो दिन कक्षा ७ र ८ का विद्यार्थीले तीज नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिताको पाँचौँ तथा अन्तिम दिन कक्षा ९ का विद्यार्थीको नृत्य प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका प्रत्येक विधामा उत्कृष्ट १० स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिनेछ।

कार्यक्रम संयोजक रोशन बुढाथोकीका अनुसार प्रतियोगिताका लागि सञ्चालन गरिएको अडिसनबाट उपत्यकाका ५० विद्यालयका करिब ६०० विद्यार्थी छनोट भएका छन्। छनोट भएका विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गर्दै प्रतियोगितामा सहभागिता जनाइरहेका छन्।

विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले हालसम्म १०० भन्दा बढी विद्यालय, कलेज तथा विभिन्न संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन र संयोजन गर्दै आएको जनाएको छ।

संस्थाका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालले नेपाली कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेका प्रतिभाको पहिचान र विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

उनका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र नृत्यप्रति नयाँ पुस्ताको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका पूर्व क्याबिनेट सचिव डा. तृजा ढकाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो।

आयोजकका अनुसार प्रतियोगिताको छैटौँ संस्करणले काठमाडौं उपत्यकाका बाल तथा युवा नृत्य प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र नृत्यको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन नृत्य निर्देशक नारायण रिजालले गरेका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x