लघुकथा: शून्य सहनशीलता
वि.सं.२०८३ असोज २१ बुधवार
shares
–ईश्वर पोखरेल
आरोहण सहज थिएन।
सुरुमा दीक्षान्तसँग दुई थोक मात्र थिए— हातमा ढुङ्गा र मनमा समाजसेवा।
अलि माथि पुगेपछि उसले ढुङ्गा बिस्तारै भुइँमा राखिदियो। अब दीक्षान्तको हातमा फाइल थियो र, काँधमा जिम्मेवारी : क्वाटरमा बस्ने मन्त्रीज्यूको क्वाटरभन्दा अग्लो बन्दै गरेको निजी ‘झुपडी’को रेखदेख गर्ने जिम्मेवारी उसले पाएको थियो ।
त्यही झुपडीको छतबाट दीक्षान्तले पहिलोपटक चुचुरो देख्यो/बुझ्यो : त्यहाँ पुग्न अझै धेरै ‘पापड बेल्नु’ पर्छ ।
उसले पापड बेल्यो; बेलिरह्यो।
अन्ततः दीक्षान्त आफैं मन्त्री बन्ने भयो।
शपथको अघिल्लो साँझ राज्यले उसलाई एकान्तमा बोलाएर कानमा फुसफुसायो, “तिमी समाजसेवा जप्दै यहाँसम्म आयौ। तिम्रो निष्ठामा हामीलाई शंका छैन। मन्त्री बन्नु छ भने होऊ; तर सुन- घुस, कमिसन र अपारदर्शी लेनदेनमा हाम्रो शून्य सहनशीलता छ।”
त्यो रात उसको ओठतालु सुक्यो।
त्यस वर्षको दशैंमा दीक्षान्तले आफ्ना छोरा–नातिलाई आशिष दिने शैली फेर्यो।
हिजोसम्म भन्थ्यो— “ठूलो मान्छे भएस्; मन्त्री भएस्; धेरै कमाएस्।”
त्यस वर्ष उसले त्यसो भनेन।






























