हिमालयन लाइफको सीईओमा कबि फुयाँल नियुक्त
वि.सं.२०८३ असोज २८ बुधवार
shares
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा कबि फुयाँललाई नियुक्त गरेको छ। कम्पनीले उनलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीसमेत दिएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत फुयाँलले राजीनामा दिएपछि हिमालयन लाइफको नेतृत्व सम्हाल्न पुगेका हुन्।
कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले फुयाँललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उक्त निर्णय असोज १३ गतेदेखि लागू हुने गरी गरिएको कम्पनीले जनाएको छ। अर्को व्यवस्था नभएसम्म उनले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
कानुनी प्रक्रियासम्बन्धी केही विषयका कारण उनलाई तत्काल पूर्णकालीन सीईओको जिम्मेवारी दिन नसकिएको बताइएको छ। यद्यपि, आगामी दिनमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने सम्भावनाका बीच उनलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय फुयाँलसँग विभिन्न जीवन बीमा कम्पनीमा काम गरेको अनुभव छ। उनले आफ्नो व्यावसायिक यात्रा लक्ष्मी बैंकबाट सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।
फुयाँलले सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा समेत काम गरेका थिए। त्यसपछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका उनले चार वर्षसम्म कम्पनीको नेतृत्व सम्हालेका थिए। पछिल्लो समय उनी सन नेपाल लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
व्यवसाय विस्तार, बजार रणनीति निर्माण, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र संस्थागत व्यवस्थापनमा अनुभव हासिल गरेका फुयाँलको नियुक्तिलाई हिमालयन लाइफको आगामी व्यावसायिक योजनासँग जोडेर हेरिएको छ। उनको नेतृत्वमा कम्पनीले बजार विस्तार, प्रतिस्पर्धात्मक क्षमता वृद्धि र व्यवस्थापकीय कार्यसम्पादनलाई कसरी अघि बढाउँछ भन्ने विषय आगामी दिनमा चासोको केन्द्र बन्नेछ।
































