लघुकथा : बेचिएका सपना
वि.सं.२०८३ कात्तिक ७ शनिवार
shares
–ईश्वर पोखरेल
साँझपख भट्टीमा छिर्यो, भवनाथ।
यस बजारमा सबैभन्दा ठूलो र चल्तीको प्लटिङ्ग उसैको हो।
भवनाथको प्लटिङ्ग पहिले टारबारीमा थियो; टार सकिएपछि खेतमा झर्यो; अनि बगरमा ओर्लियो ।
भवनाथको नयाँ प्लटिङ्ग देखेपछि रुद्रलाई पाखाको घर जान उकालो/ओह्रालो गर्न अल्छी लाग्न थाल्यो।
“घर बनाइहाल्छस् भने तँलाई मिलाएरै दिउँला नि,” भवनाथले कर्के नजरले हेर्यो।
रुद्रको अनुहार उज्यालो भयो।
हेर्दा–हेर्दै बगरमा घरैघर भए।
ठूलो बाढी आयो।
यसपटकको बाढी टारबारीसम्म उक्लियो । तल्लो प्लटिङ्गका मान्छेहरू ज्यान जोगाउन पाखातिर उक्लिए। बाढीले बगरका घरहरू मात्र होइन; भवनाथले बेचेका सपनाहरू पनि बगायो।
अस्ति यही भट्टीमा रुद्रले भवनाथलाई भेट्टाएछ।
“बल्छीमा चारा उनेर मलाई पाखाबाट बगरमा झारिस् र बिल्लिबाठ पारिस्!” रुद्र बाघ झैं रन्कियो।
भट्टीमा कोही बोलेन।
रुद्रसँग उसै पनि कसैले सक्दैनथ्यो; अस्ति त झन् ऊ अर्कै भएको थियो ।
आज भट्टीमा भवनाथ पहिलो पटक लडखडाएर होइन, पछुताएर रोयो : “म टारबाट खेत र खेतबाट बगरमा झरें भन्ठान्थें; थाहा भयो, म त मित्रता र इमानबाट पातालमा झरें छु।”

































