विश्वबन्धुत्वको दीपशिखा र मानवताको नयाँ युग

1.5K
shares

विश्व आज आर्थिक प्रगति र प्रविधिको चमत्कारमा डुबेको छ, तर हृदय अझै अँध्यारो छ। असमानता, युद्ध, र पहिचानको टकरावले शान्तिको सन्देशलाई विस्थापित गरिरहेको छ। यही अवस्थामा “समभाव” र “विश्वबन्धुत्व” मानव आत्माको नयाँ प्रकाशको रूपमा उदाउँछ।

 

 

मानव सभ्यताको दीर्घ यात्रामा असमानता, द्वन्द्व र विभाजन स्थायी रोगजस्तै फैलिंदै आएको छ। शक्तिको भूख, विचारधारात्मक टकराव, र पहिचानको संकीर्णता मानव आत्माको सार्वभौम स्वरलाई दबाउँदै आएको इतिहास छ। फ्रान्सिस फुकुयामाले आफ्नो प्रसिद्ध ग्रन्थ इतिहासको अन्त्य र अन्तिम मानिसमा मानव समाज अन्ततः उदार लोकतन्त्र र समान मूल्यतर्फ विकसित हुने तर्क प्रस्तुत गर्छन्, तर त्यो अन्त्य मानवताको आत्मिक युग होइन—त्यो  राजनीतिक रूपान्तरणको क्षण हो। वास्तविक “इतिहासको अन्त्य” त तब मात्र सम्भव हुन्छ, जब चेतना र समभाव विश्वमानवका जीवनमा मूर्त रूपमा अवतरित हुन्छ।

 

 

सामुएल हन्टिङ्टनले भनेको सभ्यताहरूको टकराव—आज पनि विश्व राजनीति र सामाजिक चेतनाको गहिरो पाटो बनेको छ। तर यो ठोक्काबारी असमान चेतनाको संघर्ष हो। जब मानवजाति सांस्कृतिक, धार्मिक र राष्ट्रिय सीमाहरूलाई आत्माको स्तरमा रूपान्तरित गर्न सक्दैन, तब असमानता अनन्त रहन्छ। त्यसैले हन्टिङ्टनको चेतावनीले हामीलाई एउटा आध्यात्मिक उत्तरदायित्व स्मरण गराउँछ—सभ्यताको रक्षा होइन, चेतनाको पुनर्जीवन नै हाम्रो युगको सर्वोच्च कर्तव्य हो।

 

 

युवाल नोआ हरारीले होमो देवता र सेपियन्स  मार्फत देखाएका छन् कि प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा मानिस “देवत्व” को भ्रममा फस्दैछ। तर हरारीकै शब्दहरूमा, “ज्ञानको विस्तार नै नैतिकताको विस्तार होइन।” जब चेतना बिना बुद्धिको वृद्धि हुन्छ, तब संसारमा विभाजन गहिरो हुन्छ। त्यसैले, आजको युगले खोजेको “देवत्व” प्रविधिबाट होइन, समभाव र विश्वबन्धुत्वको भावबाट जन्मिनुपर्छ।

 

 

आजको विश्वमा असमानता  आर्थिक वा राजनीतिक संरचनामा सीमित छैन; यो चेतनाको तहमा पनि निहित छ। शक्ति र सम्पत्तिको केन्द्रीयकरणले मानवतालाई आन्तरिक रुपमा विखण्डित बनाएको छ। अतः “विश्वबन्धुत्वको दीपशिखा”  आदर्शिक कल्पना होइन, यो मानव आत्माको पुनर्जागरणको अनिवार्य स्वर हो। समभाव—अर्थात् समान दृष्टि, समान गरिमा, र समान अस्तित्वबोध—ले नै विश्वलाई आध्यात्मिक ऐक्यको युगतर्फ डोर्याउन सक्छ।

 

 

फुकुयामाको संस्थागत आधुनिकता, हन्टिङ्टनको सांस्कृतिक चेतावनी, र हरारीको प्रविधिक यथार्थ—यी तीन दृष्टिकोणहरूलाई एकीकृत गर्ने सूत्र नै हो “समभाव”। जब चेतना सामूहिक हुन्छ, तब सभ्यता द्वन्द्व होइन, सहअस्तित्वको संगीत बन्न पुग्छ। यही हो—विश्वबन्धुत्वको दीपशिखा, जसको उज्यालोले मानवता पुनः आफ्नो मूल स्वरूप—एक आत्मा, एक चेतना, एक युग—का रूपमा फक्रिनेछ।

 

 

असमानता मानव समाजको पुरानो वास्तविकता हो। जात, वर्ग, धर्म, भाषा, आर्थिक स्थिति वा भौगोलिक विभाजनको आधारमा मान्छेहरूलाई भिन्न व्यवहार गर्नु, मानिसको मूल अधिकार र समानताको अवधारणासँग असंगत छ। यद्यपि प्राचीन समयदेखि समाजले यस असमानतालाई सहिष्णुता, अनुशासन वा परम्परागत नियमले केही हदसम्म व्यवस्थापन गरेको पाइन्छ, तर वास्तविक समानता र समभावको अनुभूति आजसम्म पूर्ण रूपले हासिल भएको छैन। असमानता  सामाजिक संरचनामा देखिने तत्व मात्र होइन, यो मानिसको चेतनामा पनि रहेको भेदभाव र स्वार्थको प्रतिबिम्ब हो। यही मानसिक र सांस्कृतिक असमानताले समाजमा द्वन्द्व, असन्तोष र विवादलाई जन्म दिन्छ।

 

 

समभाव, जसको आधार समानुभूति, करुणा, न्याय र मानव अधिकार हो, समाजको उज्यालो मार्ग हो। समभाव मानसिक र आध्यात्मिक दृष्टिले सबै प्राणीको अस्तित्वको सम्मान गर्ने चेतना हो। जब एक व्यक्तिले अरूको पीडा, आवश्यकताहरू र अधिकारको सम्मान गर्छ, तब मात्र साँचो समानुभूति जन्मन्छ। पूर्वीय दर्शन, विशेष गरी बुद्ध धर्म, हिन्दू धर्म, कन्फ्युसियस र ताओवादी चिन्तनले यस समभावलाई जीवनका उच्चतम मूल्यका रूपमा स्थापित गरेका छन्। बुद्ध धर्ममा करुणा र मैत्री सबै प्राणीप्रतिको दया र सम्मानको मार्ग देखाउँछ। हिन्दू धर्ममा ‘दया धर्मको मूल हो’ भनिएको छ, जसले सहिष्णुता, क्षमा र समानुभूतिलाई जीवनको आधार बनाउँछ। कन्फ्युसियसले पनि शासक र नागरिकबीचको न्याय, समान व्यवहार र उत्तरदायित्वमा जोर दिएका छन्। यी शिक्षाले स्पष्ट देखाउँछन् कि समाजमा असमानतालाई हटाएर समभाव स्थापना गर्नु मात्र बाह्य सामाजिक सुधार होइन, मानसिक र चेतनात्मक सुधारको पनि आवश्यकता हो।

 

 

मानिसको चेतनामा असमानता हुनु, स्वार्थ, लोभ र अज्ञानताको परिणाम हो। जब मानिस आफ्ना लाभ, पद, सम्पत्ति वा अधिकारमा केन्द्रित हुन्छ, तब उसले अरूको आवश्यकतामा संवेदनशीलता गुमाउँछ। यस्तो स्वार्थपरक दृष्टिकोणले सामाजिक मेलमिलाप कमजोर बनाउँछ, विश्वास र सहकार्यको सम्बन्ध तोड्छ। त्यसैले चेतनाको विकास, आत्म–साक्षात्कार र नैतिक शिक्षाले मात्र असमानतालाई समभावमा रूपान्तरण गर्न सक्छ। शिक्षामा समानता, न्याय, करुणा र नैतिकताको शिक्षा दिनाले व्यक्तिमा समभावको मूल्य गाढा हुन्छ।

 

 

वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन् कि समानुभूतिपूर्ण चेतनाले मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा सकारात्मक प्रभाव पार्दछ। न्यूरोविज्ञानले पुष्टि गरेको छ कि करुणा र समानुभूतिको अनुभव गर्दा मस्तिष्कका सम्बन्धित क्षेत्र सक्रिय हुन्छन्, जसले निर्णय क्षमतामा सुधार, तनाव कम गर्नु र पारस्परिक विश्वास बढाउन सहयोग पुर्याउँछ। यसैगरी समाजशास्त्र र मनोविज्ञानको अध्ययनले पनि प्रमाणित गरेको छ कि असमानता घटाउँदा सामाजिक स्थायित्व, सहयोग, समावेशिता र समृद्धि बढ्छ।

 

 

नेपालजस्तो बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा असमानताको समस्या अझ जटिल छ। जातीय भेदभाव, क्षेत्रीय असमानता, आर्थिक विभाजन र लैङ्गिक असमानताले समाजलाई अस्थिर बनाएको छ। यस्ता असमानताले नागरिकमा निराशा, अविश्वास र सामाजिक द्वन्द्व बढाउँछ। तर जब चेतनामा समभावको मूल्य स्थापित हुन्छ, तब यी चुनौतीहरू पार गर्न सकिन्छ। विपत्तिमा, प्राकृतिक प्रकोप वा महामारीमा देखिने जनताको सहकार्य, करुणा र मेलमिलाप नै प्रमाणित गर्छ कि चेतनाको उज्यालोले असमानतालाई पार गर्न सक्दछ।

 

 

दार्शनिक दृष्टिले, समभाव  सामाजिक आदर्श मात्र होइन, यो आत्मिक शुद्धि र मानवता प्राप्तिको मार्ग हो। पूर्वीय दर्शनले देखाउँछ कि मानिसले  आफ्नै सुख, लाभ वा अधिकारमा केन्द्रित भएर जीवन बिताउँदा वास्तविक मानवता नष्ट हुन्छ। बुद्ध धर्ममा करुणा र मैत्रीले व्यक्तिलाई मात्र होइन, समाजलाई पनि उज्यालो बनाउँछ। हिन्दू धर्ममा दया र धर्मपालनले नै साँचो न्याय र समानता सुनिश्चित गर्छ। इस्लाममा ‘अल्लाह रहमान र रहीम हुनुहुन्छ’ भन्ने सिद्धान्तले सबै प्राणीप्रति समान व्यवहार र करुणाको शिक्षा दिन्छ। येशू ख्रिस्तले प्रेम, करुणा र क्षमाको माध्यमबाट समाजमा मेलमिलाप स्थापना गर्ने मार्ग देखाएका छन्।

 

 

असमानताबाट समभावमा यात्रा  बाह्य सामाजिक संरचनामा सुधार मात्र होइन, चेतनाको गहन परिवर्तन हो। जब मानिसले आत्म–अनुशासन, नैतिक शिक्षा, करुणा र समानुभूतिको अभ्यास गर्छ, तब मात्र समाजमा साँचो समभाव र मेलमिलाप जन्मन्छ। शिक्षा, परिवार र समाजिक संस्थाहरूले यसको लागि मार्गदर्शन गर्नु अत्यन्त आवश्यक छ। जब व्यक्तिका हृदयमा समभावको मूल्य अंकित हुन्छ, तब निर्णय, व्यवहार र नेतृत्वमा नैतिकता र न्याय सुनिश्चित हुन्छ।

 

 

आजको प्रतिस्पर्धी, स्वार्थपरक र आत्मकेन्द्रित संसारमा समभावको चेतना समाजको आधारशिला हो। आर्थिक लाभ, पद र सम्पत्तिमा मात्र केन्द्रित समाज अस्थिर, असंवेदनशील र हिंसात्मक बन्न सक्छ। तर जब समानुभूति, करुणा र सहिष्णुताको मूल्य चेतनामा प्रवेश गर्छ, तब सामाजिक पूँजी निर्माण हुन्छ। समभावशील समाजमा विवाद कम हुन्छ, सहयोग र सहकार्य बढ्छ, र दीर्घकालीन विकास सम्भव हुन्छ।

 

 

हामीलाई चाहिएको छ चेतनाको चीलका पंख, जसले हामीलाई सीमाभन्दा माथि उडाएर सबै मानवलाई एउटै परिवारका सदस्यका रूपमा देख्ने दृष्टि देओस्। जब चेतनाको आकाशमा मानवता उड्छ, तब राष्ट्रियताको रजतरङ्ग राजनीतिक रंग फिक्का पर्छ र ‘समभावको सूर्य’ उदाउँछ।

 

 

विश्वबन्धुत्व भनेको आदर्शको आदानप्रदान मात्र होइन, यो त मानवीय मनहरूको महासंगीत हो, जसमा जात, धर्म र राष्ट्रका स्वरहरू मिलेर समरसताको सरगम बजाउँछन्। हरेक राष्ट्रलाई एउटै शरीरका अंगझैँ, हरेक भाषा र संस्कृतिलाई एउटै बगैंचाका रंगीन फूलझैँ समानताका साथ फुल्न दिने चेतनाको आवश्यकता छ।

 

 

विश्वशान्ति कुनै राजनीतिक उद्घोष मात्र होइन, यो त मानव हृदयको समर्पणको संगीत हो। विश्वबन्धुत्व भनेको भौतिक सीमाहरूलाई सजाएर राख्ने कुरा होइन, बरु चेतनाको पंख चढेर विभाजनका बादललाई चिर्दै सबैलाई एउटै मानवताको छायामा समेट्ने अभियान हो।जब हामी ‘मेरो’ को मोहबाट मुक्त भई ‘हाम्रो’ को हिमालय–हृदय आत्मसात गर्छौं, त्यतिबेला मात्र जीवनको वास्तविक लक्ष्य—सर्वकल्याण र विश्वबन्धुत्वको स्थापनाको सपना साकार हुन्छ। हाम्रो रगतको रङ एउटै छ, हाम्रो आकाश एउटै छ, हाम्रो अस्तित्व एउटै छ।

 

 

भौतिक सीमाबाट चेतनासम्मको यात्रा भनेको आत्मशुद्धिको यात्रा हो। यो यात्रा मोहका मोहक बन्धनलाई चिर्दै, स्वार्थका साँचोलाई भत्काउँदै, प्रेम र सहकार्यको उज्यालोबाट संसारलाई आलोकित बनाउने यात्रा हो।हामीले वसुधैव कुटुम्बकम्को मन्त्रलाई  शाब्दिक सीमामा सीमित नराखेर व्यावहारिक जीवनमा उमार्नुपर्छ। यसका लागि सहिष्णुता, समभाव, प्रेम र परस्पर सम्मानका बीउहरू बोइर, चेतनाको गहिराइमा सिंचाई गर्नु पर्दछ।

 

 

संसारमा भइरहेका युद्ध, कलह र द्वन्द्वका मूख्य कारण सीमाहरू हुन्। तर सीमा भनेको सिमेन्ट र कागजमा खिचिएका रेखाहरू मात्र होइन, चेतनामा खिचिएका रेखाहरू पनि हुन्। ती रेखाहरू भत्काउन नसकेसम्म हाम्रो यात्रा अधुरो रहन्छ।विज्ञानको वज्रपात शक्तिले सृजनाको सन्धि गर्नुपर्छ, संहारको संज्ञा होइन। विज्ञान मानवताको सेवामा प्रयोग हुनुपर्छ, विनाशको व्यूह निर्माणमा होइन। जब राष्ट्रहरू विवेकशील नियम लागू गरेर पृथ्वीलाई रक्षाको कवच दिन्छन्, तब मात्र विश्व एकतामा बाँधिन्छ र वसुधैव कुटुम्बकम्को उज्यालो पुनर्जागरण हुन्छ।

 

 

साँचो सुख क्षणिक भौतिक उपलब्धिमा होइन, चेतनाको गहिराइमा छ। भौतिक दुःख क्षणिक हुन्, चेतनाको सुख शाश्वत। प्रेम, करुणा र सहकार्यको बलले मात्र संसारमा शान्ति र समृद्धिको सपना साकार हुन्छ।उपनिषद्का उपदेशहरू अमृत–अलाप हुन्, जसले चेतनाको शुद्धिकरण गर्छ। जब चेतनाका आकाशमा मानवता उड्छ, तब जातीयता, धर्म र भाषाका सीमाहरूका तगाराहरू हट्दै जान्छन्।

 

 

हामीले हाम्रा मनमा विश्वबन्धुत्वको उज्यालो प्रकाश फैलाउनु छ, अहंकारको अन्धकार हटाउनु छ, र प्रेम र करुणाका पुष्पहरू चेतनाको बगैंचामा फुलाउनु छ।वसुधैव कुटुम्बकम् कुनै सपना होइन, यो मानवताको विजय यात्रा हो। यो चेतनाको चन्द्रमामा पुग्ने अभियान हो, जसले शान्ति र समृद्धिको उज्यालो प्रकट गर्छ।

 

 

नेपालको सन्दर्भमा पनि चेतनाको उज्यालोले असमानता हटाउने मार्ग देखाउँछ। जातीय, भाषिक, क्षेत्रीय र आर्थिक भेदभाव घटाउन, शिक्षा र चेतना बढाउन, समानुभूति र करुणालाई जीवनमा अंगाल्न आवश्यक छ। सामाजिक नीति, प्रशासनिक संरचना र कानूनी व्यवस्थाले पनि समानताको संरक्षण गर्नुपर्छ। तर यी बाह्य उपायले मात्र काम हुँदैन; मुख्यतया नागरिकको चेतना, हृदय र व्यवहारमा समभावको मूल्य स्थापित हुनु अपरिहार्य छ।

 

 

जब मानव मनमा समभावको दीप जल्छ, तब विश्व एक परिवार बन्छ। राष्ट्रहरू सीमित नभई आत्मिक सहयोगका केन्द्र बन्छन्। यही युग हो—आध्यात्मिक सभ्यताको पुनर्जन्मको युग, जहाँ “विश्वबन्धुत्व”  सपना होइन, मानव अस्तित्वको शाश्वत सूत्र बन्न पुग्छ। चेतनाको उज्यालोले मात्र समाजलाई दिगो शान्ति, मेलमिलाप र समृद्धि प्रदान गर्न सक्छ। जब प्रत्येक व्यक्ति समभाव, करुणा र समानुभूतिको अभ्यासमा दृढ हुन्छ, तब मात्र राष्ट्रमा न्याय, स्थायित्व र सहिष्णुताको वातावरण स्थापित हुन्छ।

 

 

 

civil hospital
Hams Hospitals