चितवनबासीलाई प्रश्न,‘जिताएर पनि सदनमा जान नपाउनेलाई छान्ने कि काम गर्नेलाई ?’
वि.सं.२०८२ माघ १६ शुक्रवार
shares
कानुनले भ्रष्टाचार, ठगी र सम्पत्ति शुद्धिकरणको अभियोग लागेको व्यक्ति सांसदमा निर्वाचित भएपनि शपथ खान र सदनमा जान नपाउने व्यवस्था गरेको छ । तर, सम्पत्ति शुद्धिकरण र संगठित अपराध, भ्रष्टाचार मुद्दा लागेकाहरु पनि चुनावमा उठेका छन् । आउँदो फागुन २१ गतेको निर्वाचनबाट सांसद बन्ने दौडमा छन्, अभियुक्तहरु ।
जसको एउटा जल्दोबल्दो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् । अमेरिकामा विभिन्न मुद्दा खेपिरहेका उनी नेपालमा पनि काण्डैकाण्डले थिचिएका छन् । पाँच वटा सहकारी ठगीको आरोपमा उनीविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेको छ । यता, दोहोरो नागरिकता र राहदानी दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
आफ्नो ड्राइभरलाई छतबाट खसालेर मारेको आरोप पनि उनीमाथि लागेको थियो । पत्रकार शालिकग्राम पुडासैनी आत्महत्यामा प्रमुख दोषी मानिएका उनी पहुँच र पैसाको आडमा उम्किए । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावमा होमिए । भारी मतले उनले चुनाव जिते ।
उनले ‘जनतालाई सरकारमा जाँदैनौं’ भनेर भ्रमित बनाएर मत बटुले । तर, चुनाव जित्नेबित्तिकै सरकारमा जान सबैभन्दा हतार भएको पार्टी रास्वपा बन्यो । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रवि गृहमन्त्री भए । तर, सर्वोच्च अदालतले उनी नेपाली नागरिक नै नभएको ठहर गरेपछि ३२ दिनमा गृहमन्त्री, सांसद, पार्टी सभापतिलगायत सबै पद गयो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले नागरिकता लिएपछि चितवनमा उपनिर्वाचन गराइयो । २०८० वैशाख १० गते भएको निर्वाचनबाट उनी फेरि निर्वाचित भए । चुनाव जितेर आएपनि उनको काण्ड रोकिएन । कहिले प्रहरी हिरासत त कहिले जेलको चिसो भुइँमा पुगिरहे ।
उनी १० करोडबराबर बिगो र धरौटी अदालतलाई तिरिसकेका छन् । आफूले अपराध गरेको स्वीकार्दै उनी बिगोबापतको रकम तिरेर बाहिर आएका हुन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनलाई उचाल्ने रवि हुन् । उनले आन्दोलनमा एक्यबद्धता जनाएका थिए । आन्दोलन चर्काउनुमा उनको र उनको पार्टीबाट उम्मेदवार बालेन्द्र साहको ठूलो हात छ ।
बालेनले सामाजिक सञ्जालमा लेखेर र रविले जेलबाट समर्थन जनाएर आन्दोलनकारीलाई उग्र बनाएका थिए । जसका कारण देशमा अर्बौंको क्षति हुन पुग्यो । सो आन्दोलनको मौका छोपेर रवि कारागारबाट भागे । उनको कारणले देशभरको २८ कारागारबाट साढे १४ हजार बढी कैदीबन्दी फरार भएका थिए ।
अहिलेपनि साढे चार हजार बढी बाहिरै छन् । जेलबाट भाग्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा पाँच कैदीबन्दी र पाँच बाल बिज्याइँकर्ताको मृत्यु भएको छ । आन्दोलनमा ७७ जनाको ज्यान गएको छ । भदौ २३ र २४ गतेको घटनाबाट छानबिन गर्न गठित न्यायिक समितिले रविसँग बयान लिइसकेको छ ।
रविले आउँदो फागुन २१ गतेको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुनः उम्मेदवारी दिएका छन् । यतिबेला देशभरको जनताको नजर चितवन २ मा छ । त्यहाँका जनताले मुद्दैमुद्दाले घेरिएको व्यक्तिलाई चुनाव जिताउँछन् कि सजायँ दिन्छन् ? हेर्न बाँकी छ ।
रविले राजनीतिक प्रतिशोध भनिरहेपनि उनले सहकारीबाट पैसा लगेको प्रमाणहरु भेटिएको छ । अर्कोतिर, एउटै व्यक्तिमाथि अमेरिका र नेपालमा मुद्दा चल्नु राजनीतिक प्रतिशोध कदापि हुन सक्दैन । अमेरिकामा मुद्दाको संख्या हेर्दा उनी अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ ।
रविको देशमा कुनै योगदान छैन । माओवादीको जनयुद्ध हुँदा देश छोडेर अमेरिका पुगेका रवि आफूलाई उता बस्न अप्ठेरो भएपछि नेपाल फर्किए । यहाँ आएपछि उनले पटकपटक कानुनको अवज्ञा गरे । नागरिकता नै नलिईकन पत्रकारिता र त्यसपछि राजनीतिमा होमिए । आफूलाई सही देखाउनका लागि उनले सँधै अरुमाथि हिलो छ्याप्ने काम गरे ।
लाखौं जनता सहकारीबाट पीडित छन् । उनीहरुले साग बेचेर, शौचालय सफा गरेर, मजदुरी गरेर थोरैथोरै बचत गरेको पैसा रविजस्ताले स्वाहा पारिदिएका छन् । अर्कोतिर, उनको आदेश गर्ने अदालतले पनि उनी निर्दोष भएको नदेखिएको भनिरहेको अवस्थामा उनी फेरि जेल जाँदैनन् भन्ने कुनै ग्यारेण्टी छैन ।
रविको कारणले चितवनमा दुईपटक जनताले तिरेको कर खेर गयो । त्यहाँका जनताको दिनभरको दुःख व्यर्थै गयो । उनलाई मतदान गरेर त्यहाँका जनताले पठाए, तर के फाइदा भयो ? जितेपछिको अवधि उनको जेलमै जित्यो । अर्कोतिर क्षेत्र नम्बर २ का जनताको बदनाम भयो ।
कस्तो व्यक्तिलाई चुनाव जिताएर पठाएछन् ? भनेर देशभरका जनताले प्रश्न उठाए । अहिले फेरि जिताएर पठाएपनि उनले शपथ खान पाउँदैनन् । सदनमा पनि छिर्न पाउँदैनन् । सदनमा गएर आवाज नै उठाउन नपाउनेलाई चुनाव जिताउनुको औचित्य के ? अदालतले उनलाई दोषी ठहर गरेर जेल पठाइदियो भने जनताको मत पुनः खेर जान्छ ।
त्यति मात्र होइन्, उपनिर्वाचन गराउँदा फेरि जनताले तिरेको कर खर्च हुन्छ । २०७९ को चुनावमा रास्वपाले प्रत्यक्ष सात सिट जित्यो । समानुपातिकसहित सदनमा रास्वपाको २१ सिट थियो । रविको कारण पार्टीको बदनाम भएको भन्दै कतिपय नेताले रास्वपा छोडे । जनतासमेत रास्वपाको दुई सिट नआउने बताइरहेका थिए ।
उनी पुस ३ गते बिगो तिरेर निस्किनुअघि पार्टी लथालिङ्ग अवस्थामा पुगिसकेको थियो । पार्टीभित्रै नेताहरुबीच विवाद सिर्जना भइसकेको थियो । जेलबाट निस्किएपछि रविले चर्चित अनुहारहरुलाई आफ्नो पार्टीमा भित्र्याए । बालेनलाई प्रधानमन्त्री दिने उधारो सहमति गरेर आफ्नो पार्टीमा ल्याए ।
कुलमान घिसिङलाई पनि उनले रास्वपामा भित्र्याए । तर, १२ दिनमै कुलमान रास्वपाबाट निस्किए । रविको आनाबानी र बठ्याइँ थाहा पाएपछि कुलमान रास्वपा छोडेर आफ्नै पार्टीमा फर्किएका हुन् । रविले जेलबाट बाहिर आएपछि आफ्नो मुद्दा फिर्ता गराउन अनेकौं खेल खेले ।
प्रधानमन्त्री सुशीला कार्कीलाई हाता लिएर उनले महान्यायाधिवक्ताको कार्यालयमार्फत सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने खेल रचाए । उनको मुद्दा फिर्ता लिने निर्णयले अहिले महान्यायाधिवक्ताको कार्यालयलाई नै तनाव भएको छ । सर्वोच्च अदालतले मुद्दा फिर्ता लिन फेला परेका थप प्रमाण पेश गर्न कार्यालयलाई आदेश दिइसकेको छ ।
धनुषाको जनकपुरमा गत माघ ५ गते आयोजित चुनावी सभामा रविले भनेका थिए,‘म कुन दिन जेल जाने ठेगान छैन । पार्टी बालेनले हाँक्छन् ।’ आफूले अपराध गरेको भन्ने कुरा उनको मनमा रहेको सो अभिव्यक्तिबाट देखिन्छ । आफ्नो जनप्रतिनिधि कस्तो छान्ने ? चितवनका जनताको हातमा छ ।
निर्वाचित भएर जेल नै जानसक्ने व्यक्तिलाई भोट दिने कि स्वच्छ छवि र जनताका लागि काम गर्ने व्यक्तिलाई ? उनले जितेपनि पाँच वर्ष काम गर्न सक्ने सम्भावना निकै न्यून छ । त्यसैले चितवनबासीले निकै सोचविचार गरेर मात्र मतदान गरौं । फेरि निर्वाचन गराउनुपर्यो भने दुःख त हुन्छ, हुन्छ, आफूले तिरेको कर पनि खेर जान्छ ।
चितवनका जनताले ‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्छन्’ कि चर्चितभन्दा सही नेतृत्व छान्छन् ? फागुन २१ गतेपछि थाहा हुन्छ ।






























