लघुकथा : न्यायको तराजु
वि.सं.२०८२ माघ १८ आइतवार
shares
फैसला भयो रे !
यिनीहरू कहिल्यै मिलेनन् तर आज निर्णय भएकोमा पहिलो खुसी हुँदै भन्यो, ” जे भयो राम्रै भयो कमसेकम अब यिनका कचकच सुन्नु त परेन ।” उसको मुहारमा चमक देखियो
दोस्रोले सही थाप्दै, ” बिहान बेलुका, रातदिनको झगडाले गाउँ छिमेकी हैरान परेका थिए । कागजमा मात्रै मिलाएर के गर्नु विचार नमिलेसी ?” उसले दिकदारी व्यक्त गर्यो ।
विष्णु र मदन मिल्ने साथी थिए । सङ्गै पढीलेखी, हुर्कीबढेकाले आत्मियता पनि प्रगाढ नै थियो । तर एक्कासी किन त्यति साह्रै बेमेल भएछ क्यार पत्तै भएन ? पहिलोले एकोहोरो घोरिएर सोचेर बोल्यो
त्यतिकैमा मदन केको गलफती हो, केटा हो भन्दै टुपुल्कियो । उसलाई देखेर दुबैले ऊत्कण्ठाले भरिएको नजर डुलाए । पहिलोले सोध्यो, ” अँ केके भयो ? कुरो मिल्यो नि हगि !”
उसले भन्यो, “दुबै आगोआगो भएर केको मिलिन्थ्यो, मैले इज्जत सम्झेर विनम्रता देखाए र सही गरेर पो।” उसले खिन्नता व्यक्त गर्यो
दोस्रोले सहानुभूति देखाउँदै भन्यो, ” कुरो जग्गाको थियो हैन, छोड्दे मरिलानु केनै छर ? भाग्यले साथ दिए फेरि जोडिन्छ ।” उसको भावमुहार पढ्दै विश्वास दिलायो
मदनले घटना नियाल्दै गहन भएर बोल्यो, ” बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने भन्थे, न्यायको तराजु पनि शक्तिको अगाडि ढल्कदो रहेछ ।” उसले लामो सास तान्दै निराशा व्यक्त गर्यो ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर






























