आत्म–जागरण र विश्वबन्धुत्वको यात्रा
वि.सं.२०८२ माघ १८ आइतवार
shares
मानव जीवनको वास्तविक उद्देश्य अन्तर्मनको उज्यालोमा लुकेको छ। आत्म–जागरण भनेको आफ्नो भित्री चेतनालाई बुझ्नु, शुद्ध गर्नु र स्थिर बनाउनु हो। जब व्यक्ति आफ्ना अहंकार, ईर्ष्या, क्रोध र लोभबाट मुक्त हुन्छ, तब उसको चेतना उज्यालो हुन्छ। उज्यालो चेतनाले मात्र सही निर्णय, करुणा र सहिष्णुता जन्माउँछ।
असमानता मानव समाजको पुरानो वास्तविकता हो। जात, वर्ग, धर्म, भाषा, आर्थिक स्थिति वा भौगोलिक विभाजनको आधारमा मान्छेहरूलाई भिन्न व्यवहार गर्नु, मानिसको मूल अधिकार र समानताको अवधारणासँग असंगत छ। यद्यपि प्राचीन समयदेखि समाजले यस असमानतालाई सहिष्णुता, अनुशासन वा परम्परागत नियमले केही हदसम्म व्यवस्थापन गरेको पाइन्छ, तर वास्तविक समानता र समभावको अनुभूति आजसम्म पूर्ण रूपले हासिल भएको छैन। असमानता सामाजिक संरचनामा देखिने तत्व मात्र होइन, यो मानिसको चेतनामा पनि रहेको भेदभाव र स्वार्थको प्रतिबिम्ब हो। यही मानसिक र सांस्कृतिक असमानताले समाजमा द्वन्द्व, असन्तोष र विवादलाई जन्म दिन्छ।
समभाव, जसको आधार समानुभूति, करुणा, न्याय र मानव अधिकार हो, समाजको उज्यालो मार्ग हो। समभाव मानसिक र आध्यात्मिक दृष्टिले सबै प्राणीको अस्तित्वको सम्मान गर्ने चेतना हो। जब एक व्यक्तिले अरूको पीडा, आवश्यकताहरू र अधिकारको सम्मान गर्छ, तब मात्र साँचो समानुभूति जन्मन्छ। पूर्वीय दर्शन, विशेष गरी बुद्ध धर्म, हिन्दू धर्म, कन्फ्युसियस र ताओवादी चिन्तनले यस समभावलाई जीवनका उच्चतम मूल्यका रूपमा स्थापित गरेका छन्। बुद्ध धर्ममा करुणा र मैत्री सबै प्राणीप्रतिको दया र सम्मानको मार्ग देखाउँछ। हिन्दू धर्ममा ‘दया धर्मको मूल हो’ भनिएको छ, जसले सहिष्णुता, क्षमा र समानुभूतिलाई जीवनको आधार बनाउँछ। कन्फ्युसियसले पनि शासक र नागरिकबीचको न्याय, समान व्यवहार र उत्तरदायित्वमा जोर दिएका छन्। यी शिक्षाले स्पष्ट देखाउँछन् कि समाजमा असमानतालाई हटाएर समभाव स्थापना गर्नु मात्र बाह्य सामाजिक सुधार होइन, मानसिक र चेतनात्मक सुधारको पनि आवश्यकता हो।
मानिसको चेतनामा असमानता हुनु, स्वार्थ, लोभ र अज्ञानताको परिणाम हो। जब मानिस आफ्ना लाभ, पद, सम्पत्ति वा अधिकारमा केन्द्रित हुन्छ, तब उसले अरूको आवश्यकतामा संवेदनशीलता गुमाउँछ। यस्तो स्वार्थपरक दृष्टिकोणले सामाजिक मेलमिलाप कमजोर बनाउँछ, विश्वास र सहकार्यको सम्बन्ध तोड्छ। त्यसैले चेतनाको विकास, आत्म–साक्षात्कार र नैतिक शिक्षाले मात्र असमानतालाई समभावमा रूपान्तरण गर्न सक्छ। शिक्षामा समानता, न्याय, करुणा र नैतिकताको शिक्षा दिनाले व्यक्तिमा समभावको मूल्य गाढा हुन्छ।
वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन् कि समानुभूतिपूर्ण चेतनाले मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा सकारात्मक प्रभाव पार्दछ। न्यूरोविज्ञानले पुष्टि गरेको छ कि करुणा र समानुभूतिको अनुभव गर्दा मस्तिष्कका सम्बन्धित क्षेत्र सक्रिय हुन्छन्, जसले निर्णय क्षमतामा सुधार, तनाव कम गर्नु र पारस्परिक विश्वास बढाउन सहयोग पुर्याउँछ। यसैगरी समाजशास्त्र र मनोविज्ञानको अध्ययनले पनि प्रमाणित गरेको छ कि असमानता घटाउँदा सामाजिक स्थायित्व, सहयोग, समावेशिता र समृद्धि बढ्छ।
नेपालजस्तो बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा असमानताको समस्या अझ जटिल छ। जातीय भेदभाव, क्षेत्रीय असमानता, आर्थिक विभाजन र लैङ्गिक असमानताले समाजलाई अस्थिर बनाएको छ। यस्ता असमानताले नागरिकमा निराशा, अविश्वास र सामाजिक द्वन्द्व बढाउँछ। तर जब चेतनामा समभावको मूल्य स्थापित हुन्छ, तब यी चुनौतीहरू पार गर्न सकिन्छ। विपत्तिमा, प्राकृतिक प्रकोप वा महामारीमा देखिने जनताको सहकार्य, करुणा र मेलमिलाप नै प्रमाणित गर्छ कि चेतनाको उज्यालोले असमानतालाई पार गर्न सक्दछ।
समभाव आत्मिक शुद्धि र मानवता प्राप्तिको मार्ग हो। मानिसले आफ्नै सुख, लाभ वा अधिकारमा केन्द्रित भएर जीवन बिताउँदा वास्तविक मानवता नष्ट हुन्छ। बुद्ध धर्ममा करुणा र मैत्रीले व्यक्तिलाई मात्र होइन, समाजलाई पनि उज्यालो बनाउँछ। हिन्दू धर्ममा दया र धर्मपालनले नै साँचो न्याय र समानता सुनिश्चित गर्छ। इस्लाममा ‘अल्लाह रहमान र रहीम हुनुहुन्छ’ भन्ने सिद्धान्तले सबै प्राणीप्रति समान व्यवहार र करुणाको शिक्षा दिन्छ। येशू ख्रिस्तले प्रेम, करुणा र क्षमाको माध्यमबाट समाजमा मेलमिलाप स्थापना गर्ने मार्ग देखाएका छन्।
असमानताबाट समभावमा यात्रा चेतनाको गहन परिवर्तन हो। जब मानिसले आत्म–अनुशासन, नैतिक शिक्षा, करुणा र समानुभूतिको अभ्यास गर्छ, तब मात्र समाजमा साँचो समभाव र मेलमिलाप जन्मन्छ। शिक्षा, परिवार र समाजिक संस्थाहरूले यसको लागि मार्गदर्शन गर्नु अत्यन्त आवश्यक छ। जब व्यक्तिका हृदयमा समभावको मूल्य अंकित हुन्छ, तब निर्णय, व्यवहार र नेतृत्वमा नैतिकता र न्याय सुनिश्चित हुन्छ।
आजको प्रतिस्पर्धी, स्वार्थपरक र आत्मकेन्द्रित संसारमा समभावको चेतना समाजको आधारशिला हो। आर्थिक लाभ, पद र सम्पत्तिमा मात्र केन्द्रित समाज अस्थिर, असंवेदनशील र हिंसात्मक बन्न सक्छ। तर जब समानुभूति, करुणा र सहिष्णुताको मूल्य चेतनामा प्रवेश गर्छ, तब सामाजिक पूँजी निर्माण हुन्छ। समभावशील समाजमा विवाद कम हुन्छ, सहयोग र सहकार्य बढ्छ, र दीर्घकालीन विकास सम्भव हुन्छ।
विश्वबन्धुत्व मानवीय मनहरूको महासंगीत हो, जसमा जात, धर्म र राष्ट्रका स्वरहरू मिलेर समरसताको सरगम बजाउँछन्। हरेक राष्ट्रलाई एउटै शरीरका अंगझैँ, हरेक भाषा र संस्कृतिलाई एउटै बगैंचाका रंगीन फूलझैँ समानताका साथ फुल्न दिने चेतनाको आवश्यकता छ।
विश्वशान्ति मानव हृदयको समर्पणको संगीत हो। विश्वबन्धुत्व चेतनाको पंख चढेर विभाजनका बादललाई चिर्दै सबैलाई एउटै मानवताको छायामा समेट्ने अभियान हो।जब हामी ‘मेरो’ को मोहबाट मुक्त भई ‘हाम्रो’ को हिमालय–हृदय आत्मसात गर्छौं, त्यतिबेला मात्र जीवनको वास्तविक लक्ष्य—सर्वकल्याण र विश्वबन्धुत्वको स्थापनाको सपना साकार हुन्छ। हाम्रो रगतको रङ एउटै छ, हाम्रो आकाश एउटै छ, हाम्रो अस्तित्व एउटै छ।
भौतिक सीमाबाट चेतनासम्मको यात्रा मोहका मोहक बन्धनलाई चिर्दै, स्वार्थका साँचोलाई भत्काउँदै, प्रेम र सहकार्यको उज्यालोबाट संसारलाई आलोकित बनाउने यात्रा हो।हामीले वसुधैव कुटुम्बकम्को मन्त्रलाई शाब्दिक सीमामा सीमित नराखेर व्यावहारिक जीवनमा उमार्नुपर्छ। यसका लागि सहिष्णुता, समभाव, प्रेम र परस्पर सम्मानका बीउहरू बोइर, चेतनाको गहिराइमा सिंचाई गर्नु पर्दछ।
संसारमा भइरहेका युद्ध, कलह र द्वन्द्वका मूख्य कारण सीमाहरू हुन्। तर सीमा भनेको सिमेन्ट र कागजमा खिचिएका रेखाहरू मात्र होइन, चेतनामा खिचिएका रेखाहरू पनि हुन्। ती रेखाहरू भत्काउन नसकेसम्म हाम्रो यात्रा अधुरो रहन्छ।विज्ञानको वज्रपात शक्तिले सृजनाको सन्धि गर्नुपर्छ, संहारको संज्ञा होइन। विज्ञान मानवताको सेवामा प्रयोग हुनुपर्छ, विनाशको व्यूह निर्माणमा होइन। जब राष्ट्रहरू विवेकशील नियम लागू गरेर पृथ्वीलाई रक्षाको कवच दिन्छन्, तब मात्र विश्व एकतामा बाँधिन्छ र वसुधैव कुटुम्बकम्को उज्यालो पुनर्जागरण हुन्छ।
साँचो सुख क्षणिक भौतिक उपलब्धिमा होइन, चेतनाको गहिराइमा छ। भौतिक दुःख क्षणिक हुन्, चेतनाको सुख शाश्वत। प्रेम, करुणा र सहकार्यको बलले मात्र संसारमा शान्ति र समृद्धिको सपना साकार हुन्छ।उपनिषद्का उपदेशहरू अमृत–अलाप हुन्, जसले चेतनाको शुद्धिकरण गर्छ। जब चेतनाका आकाशमा मानवता उड्छ, तब जातीयता, धर्म र भाषाका सीमाहरूका तगाराहरू हट्दै जान्छन्।
हामीले हाम्रा मनमा विश्वबन्धुत्वको उज्यालो प्रकाश फैलाउनु छ, अहंकारको अन्धकार हटाउनु छ। प्रेम र करुणाका पुष्पहरू चेतनाको बगैंचामा फुलाउनु छ।वसुधैव कुटुम्बकम् कुनै सपना होइन, यो मानवताको विजय यात्रा हो। यो चेतनाको चन्द्रमामा पुग्ने अभियान हो, जसले शान्ति र समृद्धिको उज्यालो प्रकट गर्छ।
व्यक्तिगत जागरण समाज र विश्वका लागि आधार हो। यदि प्रत्येक व्यक्ति आफ्नो भित्री अशान्ति कम गर्छ, तब सामूहिक चेतना शान्त र समरस हुन्छ। अशान्त हृदयले समाजमा द्वेष, असमानता र संघर्ष फैलाउँछ। शान्त हृदयले प्रेम, समानता र सहयोगको बीज बन्छ। व्यक्तिगत आत्म–जागरण नै सामाजिक स्थायित्वको पहिलो चरण हो।
विश्वबन्धुत्व मानवता र करुणामा आधारित सम्बन्ध हो। जब हामी आफूलाई अरूको पीडा र सुखसँग जोड्छौं, तब हामी वैश्विक चेतनाको हिस्सा बन्छौं। प्रेम, सेवा र करुणाले मात्र अन्तरराष्ट्रीय समानता र मेलमिलाप सम्भव छ।आत्म–जागरण र विश्वबन्धुत्वको यात्रा व्यक्तिगत सुधारबाट सुरु हुन्छ। जब प्रत्येक व्यक्ति शुद्ध, स्थिर र करुणामय हुन्छ, तब मात्र समाज शान्त र सहिष्णु हुन्छ। यही जागरण नै मानवताको दिगो भविष्य र समग्र विश्वको स्थायित्वको आधार हो।






























