सहकारीका कर्मचारीले : न तलब पाए न कोषको रकम, बचतकर्ताबाट भागीभागी हिँड्छन् !
वि.सं.२०८३ जेठ २२ शुक्रवार
shares
सात वर्षअघि देशभरिका वित्तिय संस्था (सहकारी, लघुवित्त, फाइनान्स) मा दिनहुँ करोडौं–अर्बौको कारोबार हुन्थ्यो । यी वित्तिय संस्था बैंकजस्तै हुन्थ्यो । कार्यालयका फर्निचर, कर्मचारीदेखि सञ्चालनसम्मको तरिका हुबहु बैंकको हुन्थ्यो । वित्तिय संस्था पुगेका अधिकांश भन्थे– बैंक हो कि वित्तिय संस्था भनेर छुट्याउनै गाह्रो पर्यो ।
सहकारी, लघुवित्त, फाइनान्समा जागिर खान पनि फाराम भरेर अन्तरवार्तालगायत परिक्षा दिनुपथ्र्यो । कि त भनसुनको आडमा जागिर पाइन्थ्यो । बजार प्रतिनिधिहरुको मासिक तलब आठ हजार हुन्थ्यो भने कार्यालयभित्र काम गर्ने कर्मचारीको २५ हजारसम्म हुन्थ्यो ।
कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हुन्थ्यो । यसले मासिक बुझ्ने तलबको केही हिस्सा कोषमा जम्मा गरिन्थ्यो । अर्कोतर्फ, आठ हजार तलब भएपनि मासिक २५ देखि ५० हजारसम्म बुझ्थे । २५ हजार तलब भएकाले डेढ लाखसम्म कमाउँथे । कारण हो, कमिशन ।
बजार प्रतिनिधिले जति धेरै पैसा ल्यायो, उति नै कमिशन पाउँथे । कार्यालयभित्र बस्ने कर्मचारीले पनि जतिधेरै ऋण दियो वा निक्षेप ल्यायो, उति नै कमिशन पाउँथे । यसैले, उनीहरु दिनमै लाखौं रकम संस्थामा भित्र्याउँथे । सहकारीहरुले आफ्ना सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हुन्थ्यो ।
यसले कर्मचारीले मासिक बुझ्ने तलबको केही हिस्सा कोषमा जम्मा गरिन्थ्यो । अर्कोतर्फ, कर्मचारीहरुले आफू कार्यरत सहकारीमै खाता खोलेर तलब जम्मा गरे । बैंकमा भन्दा दश गुणा बढी ब्याज आउने भएपछि उनीहरुले पनि आफूसँग भएको सम्पूर्ण रकम आफू काम गर्ने सहकारीमै राखे ।
यता, बजारबाट पनि एउटै कर्मचारीले दिनमै लाखौं रकम उठाउँथे तर कसरी ? जवाफ सहज छ– प्रलोभन देखाएर । निक्षेपको १२ देखि २२ प्रतिशतसम्म ब्याज दिइन्थ्यो । बचतकर्ताको बर्थ डेमा घरमै पुगेर केक काटिदिने ।
ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा लैजाने, दोसल्ला ओढाएर सम्मान गर्ने । लौरो उपहार दिने । बचतकर्ता सुत्केरी हुँदा वा शोकमा रहँदा फलफूलसहित घरमै पुग्नेजस्ता काम सहकारीहरुले गरे । यसले सहकारी आफैंले प्रचार गर्नैपरेन, बचतकर्ताहरुले नै गरिदिए ।
छरछिमेक, आफन्तजन, साथीभाइलगायतलाई आफूले बचत राखेको सहकारीले यस्तो गर्छ भनेर सुनाए । त्यसबाट प्रभावित भएर उनीहरुले बैंकमा भएको रकम निकालेर, पुख्र्यौली सम्पत्ति बेचेको वा आफूसँग भएको सम्पूर्ण रकम सहकारीमा राखे ।
करोडौं सर्वसाधारणले सहकारीमा बचत गरे । एउटै व्यक्तिले दश हजारदेखि २० करोडसम्म निक्षेप राखेको पाइन्छ । यत्रो पैसा सहकारीले कहाँ लगानी गर्यो त ? जवाफ हो–घरजग्गा, गाडी र सेयर । यी तीन क्षेत्रमा सहकारीमा सम्पूर्ण निक्षेप लगानी गर्यो । अहिले त्यसकै परिणाम भोगिरहेको छ । रोपनीको दश हजार नपर्ने जग्गामा सहकारीहरुले लाखौं–करोडौं रकम लगानी गरे ।
एक सय रुपैयाँ प्रतिकित्ताको सेयरलाई तीन हजारसम्म कर्जा दियो । गाडीमा पनि अर्बौ लगानी गर्यो । तर, सहकारीहरुले बुझेनन् यी तीनै वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको हो ।
भूमाफियाहरुले प्लटिङ गरेर जग्गाको मूल्य बढाए । दलालहरुले सेयरको मूल्य उकासे त अटो शोरुमहरुले छिमेकमा एकदेखि दश लाख पर्ने गाडी अढाई लाखदेखि करोडौंमा बेचे ।
यतिसम्म होइन, भूमाफियाहरुले सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, आर्यघाट, वनजंगल, खोलानाला, राजपरिवारलगायतको जग्गासमेत प्लटिङ गरेका थिए । तर, सहकारीहरुले जाँच्दै नजाँची घुस खाएर यस्ता क्षेत्रमा लगानी गरे । करोडौं–अर्बौ कर्जा प्रवाह गरे । सहकारीहरुले कर्जाको २२ देखि ८० प्रतिशतसम्म् ब्याज असुल्थे । सेवाशुल्क तीन प्रतिशत, धितोको बीमा र वर्षेनी नवीकरण हुनुपथ्र्यो ।
तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलामी र कालोसूची प्रक्रिया अघि बढ्थ्यो । ऋणीले केही समय त किस्ता तिरे । विस्तारै धितोको मूल्य घटेपछि र चर्को ब्याजका कारण ऋणीहरुले किस्ता तिर्न सकेनन् । त्यसपछि सहकारीको दिनगन्ती शुरु भयो । सहकारीको भागाभाग चल्न थाल्यो । सञ्चालक, अध्यक्षहरु रातारात फरार भए ।
अन्तिममा बिचल्लीमा चाँहि कर्मचारी परे । कसरी भन्नुपर्दा एकातिर बचतकर्ताले लखेट्ने, अर्कोतिर आफ्नै पैसा डुबेको छ । कर्मचारीहरुले आफ्नो तलब सोही सहकारीमा राखेका थिए । सामाजिक सुरक्षा कोषमा पनि उनीहरुको लाखौं रकम जम्मा भइसकेको थियो । तर, तलब पाए न सामाजिक सुरक्षा कोषको रकम । उल्टै बद्नामी सहनुपरेको छ ।
बजारमा उनीहरुलाई हिँड्ने वातावरणसमेत छैन । बचतकर्ताहरुले देखेमा कुट्न आइहाल्छन् । कालोमोसो र जुत्ताको माला लगाइदिन्छन् । यसले भागिभागी हिँडिरहेका छन् । कतिपय कर्मचारीको त कोठासमेत बचतकर्ताहरुले देखेका थिए । सहकारी बन्द भएपछि बचतकर्ताहरु कर्मचारीकै कोठा पुगेर तोडफोडसमेत गरेको पाइन्छ । यसले उनीहरु कोठा सर्नुका साथै दिनभर कोठामै समेत आउँदैनन् ।
सहकारीजस्तै हालत अब बैंकको पनि हुने देखिँदैछ । किनकि बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । डेढ वर्षअघि कर्णाली डेभलपमेन्ट बैंक डुब्यो । अहिलेसम्म सो बैंकका बचतकर्ताले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् ।
उनीहरु आन्दोलन गरिरहेका छन् । बैंक डुब्ने संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले दिनहुँ तरलता तान्न थालेको छ । बैंक, वित्तिय संस्था डुब्नु भनेको एउटा संस्थामात्र डुब्नु होइन, करोडौं सर्वसाधारण डुब्नु हो । एकचोटी डुबेपछि बचत फिर्ता आउने सम्भावना एकदमै न्यून हुन्छ, जुन सहकारी घटनाले देखाइसक्यो ।
त्यसैले, जनता आफैं सतर्क हुन जरुरी छ । आफूले पैसा राखेको बैंकको अवस्था के कस्तो छ ? कता लगानी गरिएको छ ? जस्ता विषयमा जानकार रहिरहनुपर्छ । नभए जीवनभरको कमाई क्षणभरमै डुब्नुपर्छ । यता, बजारमा घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ ।
पाँच वर्षअघि करोडौं भनिने घरजग्गा अहिले लाखमा झरिसक्यो । तैपनि बिक्री नभएको अवस्था छ । कित्ताकै पाँच हजार पुगिसकेको सेयर २६ सयमा झरिसक्यो । गाडी पनि इन्धनबिना चल्दैन । फेरि गाडी दुई रुपैयाँ किलोमा नबिक्ने फलाम, प्लाष्टिक, रबर, सिसा, कपडा, फर्मलगायतबाट बनेको हुन्छ । अनि यी वस्तुको के काम ?
यी क्षेत्रमा गरिएको लगानी बालुवामा पानीसरह भइसक्यो । यो कुरा अझैपनि नबुझ्ने हो भने वा बुझ पचाउने हो भने पछि पछुताउनुबाहेक केही विकल्प हुन्न । केही स्वार्थी व्यक्ति तथा दलालहरुले आफ्नो फाइदाका निम्ति कृत्रिम रुपमा घरजग्गा, गाडी र सेयरको मूल्य बढाए अनि सर्वसाधारण, बैंक, वित्तिय संस्थाले पनि सोचविचार नगरी यी क्षेत्रमा लगानी गरे ।
यसको असर मुलुककै अर्थतन्त्रमा परिरहेको छ ।
मुलुकमा अर्थविद्हरु थुप्रा छन् । गर्भनर, अर्थमन्त्री पनि छन् । तर, दलालहरुसामु सबै निरीह बने । अझ भन्नुपर्दा सरकार नै दलालीहरुको पछि लाग्यो । नभए विलासित वस्तुमा लगानी गर्न प्रोत्साहन गर्ने थिएन ।



























