कविता : जीवनवृत्तान्त

156
shares

 

 

कसैले सोध्यो, “ के हो बाल्यकाल ?”

मैले मन्दहासले जवाफ फर्काएँ, “जहाँ गल्ती गल्ती हुदैनन्, न केही पाउँला भन्ने आश न गुमाउँला भन्ने डर, न छल न कपट, भगवानको रूप हो, बाल्यकाल ?”

बाल्यकालका ती अनौठा गल्तीहरू पनि कम्ता प्रिय थिएनन्,

जहाँ गल्तीका कुनै सजाय थिएनन्, नत अपराधबोध नै

गल्तीमा पनि माया लुकेको हुन्थ्यो,

सानो हुँनुको पनि अलग्गै मजा थियो

त्यतिबेला हार्नु भनेको खेलमा पछि पर्नु मात्र थियो

जित्दा आमाको मुस्कान पाउनु, स्नेहले भरिएका नजरले सुम्सुम्याउनु, असिम माया अनि प्रेम पाउनु पनि कम्ता रोचक थिएनन् ?

 

त्यतिबेला माटोमा कोरिएका ती सपना, बालुवामा बनाएका ती चित्र, नदीका छालले कहाँ पुर्याइदिएछ, मेटाएछ

रत आज हाम्रा समयका पाना फिक्का अनि धुमिल छन्

जीवनले धेरै कुरा सिकायो, कहीं लडायो, कहीँ उठायो,  कहीँ दियो त कहीं लियो

तर एउटा कुरा सदाका लागि खोस्यो

गल्ती गरेर पनि हाँस्ने बालापन ।

 

त्यसैले त म भन्छु, “ ती गल्ती गल्ती थिएनन्

ती त जीवनमा आउँने सङ्घर्ष,चुनौती अनि जीवन जिउने कला थिएँ, अभ्यास थिएँ ।“

 

लडेर उठ्न सक्ने अनि हारेर दौड्न सक्ने, आफ्नो पराइ चिन्ने कला थिएँ ।

तितामिठा भोगाइको सँगालो रहेछ,

जीवनले व्यवहारिक पाठ सिकाउदो रहेछ,

अनुभव र सङ्घर्षको प्रमाण रहेछ ।

अहिले कतिपय घाउमा मलहम लाग्दैनन् , त्यसैले त लाग्छ

ती चोटहरू मेरो जीवनको अध्याय रहेछन्, सिकाइ रहेछन् ।

 

सङ्घर्षका सीमाहीन परीक्षा थिएँ

कहिले काँडेबार बनेर त कहिले आँधी बनेर पछ्छायो,

कहिल्यै मुक्त भएन, दु:खले कहिल्यै बिदा अनि विश्राम लिएन

टुटेको झिनो आशा अनि फिरफिर पखेटा लिएर

गरूण झै खुला आकाशमा उड्ने सपना देखिरह्यो ।

सायद ! त्यसैले होला अभावले ढोका थुन्दा पनि पीडाले कहिल्यै प्रश्न गरेन ।

कहिले आफ्नै छायाले साथ छोडे जस्तो लाग्यो, कसैले पछ्छाइरहे जस्तो,

कहिले बोलाए जस्तो लाग्थ्यो आफन्त बनेर

तर कसैले सोध्यो, “के छ, तेरो खबर ?”

डर देखाउँथे, तर्साउँथे, भयभीत बनाउँथे, पाइलैपिच्छे

तर पाइला रोकिएन

किनकी धैर्यको परीक्षा नै सही गन्तव्य रहेछ ।

 

तिनै अपरिमित सङ्घर्षलाई नै मैले अनुभवका अक्षर बनाएर साटेँ,अनि मुस्कुराएर भनेँ, “ठिक छ, सब ठिक छ ।“ बाहिरी मुस्कानले वास्तविकता ढाक्ने हरसम्भव प्रयास गरेँ ।

 

समयले दिएको आशुलाई नै मैले साहसको मसी बनाएँ अनि रङ्ग्याएँ सादा पाना, अनि कोर्ने थालेँ, अनुभव अनि भोगाइका तितामिठा निमेष ।

 

 

जीवन भोगाइमा मैले चिनेँ, “यो त मानिसभित्र लुकेको आगो चिन्ने खुबी रहेछ ।“

तर समयले एउटा कुरा बारम्बार दोहोर्याइरह्यो, भनिरह्यो

जीवनमा सबैभन्दा ठूलो गुरू किताब मात्र होइन रहेछ

कहिलेकाहीँ परिस्थिति पनि इच्छा विपरीत उभिदो रहेछ, ठिङ्ग,मजबुत भएर, कठोर शिक्षक बनेर ।

 

जुन मेरो चेतना, अनुभूति,समय,साधना र अन्तर्मनबाट निस्किएको अस्तित्वको एक अंश थियो ।

जीवनका अनुभूति, कल्पनाको धरातलमा शब्दले सिञ्चेको बनाएको उर्वर अनुभूति थियो । हो, त्यसैले म भन्छु, “सिर्जना कागजमा उतारेको संवेदना हो, अनुभूति हो, साधना हो, स्रष्टाको धड्किएको आत्मस्वर अनि विनत ध्वनि हो, जसले जीवनको वास्तविक अर्थ र मूल्य बुझाउँछ ।“

 

यहाँ  सबैका अलग अलग जीवनगाथा छन् । कसैको मुहारमा हाँसो छ त कसैको दबिएको आशु

कसैको मनमा शान्ति छ त कसैको मौनताको चित्कार

कसैको सुनाउँन सकिने सफलताको कथा छ, बाटो छ, विजयका कथा छन् ।

तर कसैको सङ्घर्षका बीच हारेर बाँच्नुपर्ने बाध्यता छ, अभाव छ, त कति लुकाएर बाँच्नुपर्ने पराजयका कथा छन् ।

 

बाहिर झट्ट हेर्दा सबैका जीवन उस्तै लाग्छन्

तर सबैका छुट्टै संसार छन्, कोही पूर्ण छैनन्, सबैका अधुरा कथा अनि व्यथा छन् ।

कसैका लेखिन्छ, कसैका पढिन्छन् त कसैका महसुस मात्र गरिन्छन् ।

हरेक अनुहारमा एउटा मुखौटो हुन्छ,

बाहिरबाट चट्टान जस्तो देखिए पनि भित्र खाली, बालुवाको घर हुन्छ,

कतिबेला छताछुल्ल हुन्छ थाहा छैन,

अरूको पीडामा सान्त्वनाको चाङ थुपार्छ,

उज्यालो बोकेर हिडेको अभिनय गर्छ तर

भित्र खोक्रो हुन्छ ।

 

 

कहिले सम्बन्ध जोगाउँन हार्छ, कहिले घर, स्वाभिमानलाई बन्दक राखेर कैयौं पटक हार्छ ।

तर नाटक गर्नेको कमी छैन यहाँ

नजिक रहेर हावाको भूमिका खेलेर बलेको दियो निभाउँनेको कमी छैन,

तर अचम्म त के छ भने अरूलाई साहसका कथा सुनाउँनेहरू स्वार्थका अगाडि आफैं प्रणत छन् । लाचार छन्

सायद ! यहीं त छ विडम्बना

कसैले चरित्रको प्रमाण बोकेर हिडेका छन्,

त कसैले आफ्नै अनुहार ऐनामा खोज्न डराउँछ,

कसैको घरमा उज्यालोका कथा छन् त कसैको घरमा अँध्यारोको साम्राज्य ।

 

 

त्यसैले त भन्छु,”यहाँ सबैका अलग अलग जीवनगाथा छन्, कथा छन् ।“

कसैले समयलाई दोष दिएर पन्छिन खोज्छ त कसैले भाग्यलाई ।

तर अफसोच

कसैले बुझ्न चाहदैनन् कि मौनताले पनि सङ्घर्षको इतिहास लेख्छ भनेर

बाहिरी पृष्ठ रङ्गीन मुस्कानको

बीचका अध्याय सङ्घर्ष, बाधा,चुनौती र कठिन परिस्थितिको

र अन्तिम अध्याय समयले लगाएको पूर्णविराम, निष्कर्ष अनि उपसंहारको ।

 

यहाँ पर्दा नझरूञ्जेलका सब नायक हुन्

जब रङ्गमञ्चको पर्दा खस्छ,

त्यसपछि न पद रहन्छ, न मान, न सम्मान, न प्रतिष्ठा

जीवनको सबै तामझाम सकिन्छ ।

त्यसैले त म भन्छु, “यहाँ केवल कर्म बोल्छ, समय साक्षी बन्छ ।“

 

सङ्घर्षका अपरिमित परीक्षा दिन पनि कम्ता सहज थिएनँ ?

समय हरेक पटक प्रश्न बोकेर उभिन्थ्यो,

उत्तर चाहिँ कहिल्यै सजिलो खोजेन,

तर अचम्म त के छ भने ?

जसले जीवनको सङ्घर्ष पढेकै छैन, बुझेकै छैन ।

उत्तरपुस्तिका जाँच्न चाहिँ उसैलाई  अगाडि तेर्सायो ।

 

बल्ल बुझेँ,

जीवन भनेको त परीक्षामा उत्रीर्ण हुँनु मात्र होइन रहेछ

प्रश्नका उत्तर जाँच्नु मात्र पनि रहेनछ ।

यो त गलत प्रश्न हातमा पर्दा पनि मौन भएर उत्तर लेखिरहनु रहेछ, धैर्य रहेछ । उहीँ नै समयविजेता रहेछ ।।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals