सहकारीदेखि सरकारी जग्गासम्मलाई कर्जा, संकटमा बैंक !
वि.सं.२०८३ असोज २ शुक्रवार
shares
Photo By: AI
कान्तिपुर, सुमेरु, शिवशिखर, देउराली, लालीगुराँस, पशुपतिलगायत समस्याग्रस्त घोषित २३ वटा सहकारीका कतिपय अध्यक्ष, सञ्चालक, कर्मचारीहरु जेल जीवन काटिरहेका छन् त कतिपय वर्षौदेखि फरार छन् । यी सहकारीमा बचतकर्ताको खर्बौ रकम डुबेको छ । एउटै सहकारीमा अर्बौ रकम डुबेको पाइन्छ । प्रायजसो सहकारीले बैंकबाट कर्जा लिएका थिए ।
बैंकबाट सस्तो ब्याजमा कर्जा लिएर चर्को ब्याजदरमा ऋण प्रवाह गर्दै आएका थिए, सहकारीहरुले । धितोको नाममा डाँडाकाँडा, खोला नदी किनार, सरकारी तथा सार्वजनिक जग्गाजमिन राखिएको पाइन्छ । रोपनीको एक लाखमा नबिक्ने जग्गा धितो राखेर बैंकबाट करोडौं कर्जा लिइएको छ । समस्याग्रस्त घोषितमात्र होइन, अन्य सहकारी, लघुवित्त, फाइनान्सले पनि यही गरेका छन् ।
यी वित्तिय संस्थाले बैंकबाट १२ देखि १८ प्रतिशत ब्याजमा कर्जा लिन्थे, त्यही पैसा ऋणीलाई भने ४८ देखि ८० प्रतिशतसम्ममा दिन्थे । त्यो पनि २० प्रतिशत घुस खाएर । अनि चर्को ब्याजदर, तीन प्रतिशत सेवाशुल्कका कारण तीन किस्ता तिर्न नसक्नेबित्तिकै धितो लिलाम गरिहाल्ने । यसरी सहकारीका कारण धेरैको बिल्लीबाँठ भयो ।
धेरैले आफ्नो जायजेथा गुमाएका छन् । उनीहरु सडकमा आइपुगे । तर, पाप धुरीबाट कराउँछ भनेझैं सहकारीको पनि त्यस्तै हालत हुन पुग्यो । जस्तो ऋणीको हालत बनाइएको थियो, त्यस्तै सहकारीको पनि भयो । मुख्य कुरा चाँहि सहकारी र ऋणीबीचको कारोबारका कारण जग्गाको मूल्य ह्वात्तै बढेको थियो । ऋणीको धितो लिलाम गर्नेबित्तिकै सहकारीले त्यो धितो दोब्बर बढी मूल्यमा बेच्थे ।
एउटै जग्गामाथि दर्जनौंले लगानी गर्दा मूल्य ह्वात्तै बढ्यो । आनाकै ५० लाखदेखि २० करोडसम्म पुग्यो । जबकी त्यही जग्गा केही दशकअघिसम्म रोपनीको दश–पन्ध्र हजारमा बिक्न महामुस्किल पथ्र्यो । जग्गाको मूल्य कृत्रिम रुपमा बढेको थियो । तर, यो कुरा न सहकारी, लघुवित्त, फाइनान्सले बुझे न त बैंकले ।
राम्रो धितो देख्नेबित्तिकै बैंकले आँखा चिम्लेर कर्जा दिइहाल्थे, त्यो पनि बजार मूल्यको आधारमा । सहकारीलाई त्यसरी नै बैंकले कर्जा दियो । सहकारी त भागिसक्यो, डुबिसक्यो, अब पालो बैंकको हो । किनकि बैंकले सहकारीलाई मात्र होइन, पहुँचको आडमा जथाभावी, जोखिमपूर्ण क्षेत्रमा पनि उत्तिकै लगानी गरेको छ । थुप्रै सरकारी जग्गा धितो राखेर बैंकले ऋण दिएको पाइन्छ ।
बालुवाटारस्थित ललिता निवासको २६१ रोपनी जग्गा धितो राखेर बैंकले चार खर्ब ८७ अर्ब कर्जा दिएको छ । यो जग्गा सरकारको नाममा आइसकेको छ । तर, बैंकले यो जग्गा धितो राखेर दिएको कर्जा के ? बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा धितो राखेर बैंकले ४० करोड ऋण दिएकोमा यो जग्गा पनि सरकारको स्वामित्वमा आइसकेको छ ।
नक्सालस्थित बाल मन्दिरको जग्गा धितो राखेर विशाल गु्रपले विभिन्न बैंकबाट अर्बौ कर्जा लिएको छ । गोंगबुस्थित नयाँ बसपार्कको १६१ रोपनी जग्गा लोत्से सहकारीका अध्यक्ष दीपक कुँवरले बैंकमा धितो राखेर करोडौं कर्जा लिएका छन् । गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, राजपरिवारलगायतका जग्गासमेत धितो राखेर बैंकबाट खर्बौ कर्जा लिएको भेटिन्छ ।
काठमाडौंको टोखामा ५३ रोपनी, काठमाडौं–१५, मा १६ रोपनी ६ आना, कीर्तिपुरको चोभारमा ४६ रोपनी १३ आना हदबन्दी बढी जग्गा व्यक्तिको कब्जामा जानुका साथै धितो राखेर बैंकबाट खर्बौ कर्जा लिइएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७, मा देवराज्यलक्ष्मी राणाको नाममा दुई सय रोपनी बढी जग्गा थियो ।काठमाडौं उपत्यकामा कुनै पनि व्यक्तिको नाममा २५ रोपनीमात्र जग्गा राख्न पाउने भएकोले बाँकी सबै जग्गा सरकारको हो । तर, यो सबै जग्गा व्यक्तिहरुको कब्जामा गइसकेको छ । बरु जग्गा धितो राखेर बैंकबाट कर्जासमेत निकालिएको छ ।
पूर्वी नवलपरासीको गैडाकोटमा रहेको भृकुटी कागज कारखानाको ७८० रोपनी जग्गा गोल्छा अर्गनाइजेशनको हिमाली पाइपे कम्पनीले कौडीको नाममा खरिद सम्झौता गर्नुका साथै धितो राखेर बैंकबाट अर्बौ कर्जा लिइएको छ ।
चितवनको भरतपुर अस्पतालको ३१ बिगाहा जग्गा निजी मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स) को नाममा राखेर बैंकबाट एक अर्ब ३५ करोड बढी कर्जा लिइएको छ । विराटनगर जुट मिलको जग्गा व्यक्तिकै नाममा लगेर बैंकबाट कर्जा निकालिएको छ । झापाको गिरिबन्धु टि स्टेटको जग्गा पनि धितो राखेर बैंकले ऋण दिएको छ ।यी त केहीमात्र उदाहरण हुन् । देशभरिका सार्वजनिक, सरकारी, गुठी, ऐलानी, उद्योग, कारखाना, खोला नदी, मठमन्दिर, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतका जग्गा व्यक्ति वा निजी संघसंस्थाका नाममा लगेर बैंक, वित्तिय संस्थाबाट खर्बौ कर्जा लिएको पाइन्छ ।
अर्को रोचक कुरा चाँहि कमसल धितो राखेर बैंकबाट खर्बौ रकम निकाल्ने पनि उत्तिकै छन् । जसमध्ये कतिपय ऋणीले त वर्षौदेखि साँवाब्याजसमेत तिरेका छैनन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट ११ अर्ब कर्जा लिएका छन्, अस्पताल र घर धितो राखेर । भक्तपुरको ताथलीमा एक व्यक्तिले विभिन्न बैंकबाट जग्गा प्लटिङका लागि ८७ अर्ब कर्जा लिएको तर जग्गा कारोबार ठप्प भएपछि सम्पर्कविहीन भएको स्थानीय जग्गा कारोबारीहरु बताउँछन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बैंकबाट ५३ अर्ब कर्जा लिएका छन् । पूर्वमन्त्री एंव कांग्रेस नेता दीपक खड्काले १८ अर्ब, एमाले नेता महेश बस्नेतले ६ अर्ब बैंकबाट कर्जा लिएका छन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले ताप्लेजुङको पाथीभरास्थित सात लाखमा किनेको जग्गा धितो राखेर बैंकबाट २८ करोड कर्जा निकालेका छन् ।
जेलमा रहेका बिचौलिया दीपक भट्ट, व्यवसायी सुलभ अग्रवालले पनि बैंकबाट खर्बौ ऋण लिएको पाइन्छ । अन्य व्यापारी, व्यवसायीले पनि बैंकबाट खर्बौ कर्जा लिएका छन् । गत भदौ १० गतेको रसुवा बाढीले सात खर्ब बढीको क्षति पुगेको छ । त्यहाँका दर्जनौं हाइड्रोपावर बगेको छ त घरलगायत संरचना त केही पनि छैन । ती हाइड्रोपावर, संरचना र सवारीसाधनमा पनि बैंकले खर्बौ रकम कर्जा गरेको छ ।
तर, धितो नै बगाएपछि बैंकको लगानी डुब्यो कि डुबेन ? आफैं सोचौं । घरजग्गा, गाडी र सेयरमा बैंकको खर्बौ कर्जा लगानी छ । घरजग्गा धितो राखेर आठ खर्ब, सेयरमा एक खर्ब ६८ अर्ब र सवारीसाधनमा पनि उत्तिकै कर्जा लगानी गरिएको छ । यी वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको हो । एक सय रुपैयाँको सेयर ३२ सयदेखि पाँच हजारमा किनबेच गरियो ।
छिमेक भारत र चीनमा ५० हजारदेखि दश लाखमा बनेको गाडी अटो शोरुमहरुले पाँच लाखदेखि करोडौंमा बेचेका छन् । पाँच दशकअघि रोपनीको पाँच हजारमा नबिक्ने जग्गा सात वर्षअघि आनाकै करोडौंमा बेचियो । अनि यस्तै वस्तु धितो राखेर बैंकले खर्बौ कर्जा प्रवाह गर्यो । अनि नडुबेर के हुन्छ ? बैंक संकटमा परिसकेको छ । त्यसैले त धमाधम शाखा र कर्मचारी कटौती गरिँदैछ । बैंकहरु मर्च भइरहेका छन् । अब बचतकर्ता पनि सचेत हौं । नत्र सहकारीका बचतकर्ताजस्तै हविगत होला ।






























