शुक्र अस्त हुँदैमा दसैँ मनाउन रोकिँदैन

232
shares
Nabil bank

 

काठमाडौँ । शुक्र ग्रह अस्त भएका कारण यस वर्ष दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचारप्रति नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ। समितिले यस्तो प्रचार शास्त्रसम्मत नभएको स्पष्ट पार्दै दसैँ मनाउन कुनै बाधा नरहेको जनाएको हो।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्यकर्म हो। शुक्र वा बृहस्पति अस्त भएको अवस्थामा पनि यस्ता नित्यकर्म गर्न शास्त्रीय रूपमा कुनै रोकावट नरहेको उहाँले स्पष्ट पार्नुभयो।

शुक्र र बृहस्पति अस्त भएका बेला सबै धार्मिक कार्य गर्न हुँदैन भन्ने बुझाइ गलत रहेको समितिको भनाइ छ। शास्त्रीय मान्यताअनुसार ग्रह अस्त भएको समयमा विशेष कामना राखेर गरिने केही कर्ममा मात्र बन्देज हुने भए पनि नियमित धार्मिक अनुष्ठान तथा नित्यकर्म गर्न रोक नलाग्ने समितिले जनाएको छ।

सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा धार्मिक तथा सांस्कृतिक परम्पराबारे भ्रममा नपर्न समितिले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता विषयमा कुनै निर्णय लिनुअघि धर्मशास्त्रका जानकार, धर्मशास्त्रविद् तथा समितिका पदाधिकारीसँग परामर्श गर्न पनि समितिले अनुरोध गरेको छ।

समितिले स्वीकृति दिएका पात्रोअनुसार यही असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिम दिशामा अस्त भएका शुक्र ग्रह कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुने उल्लेख छ।

शुक्र अस्त भएको विषयलाई लिएर दसैँ मनाउन नहुने भन्दै फैलाइएको हल्लाले सर्वसाधारणमा अन्योल सिर्जना गरिरहेका बेला समितिको यो स्पष्टीकरण आएको हो। समितिले शास्त्रीय मान्यताको सही व्याख्या बुझ्न र अपुष्ट प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x