अहं ब्रह्मास्मि…
वि.सं.२०८० भदौ १३ बुधवार
shares
ब्रह्म अहंकार हो। भय हाे। याे सर्वत्र छ। आफैँभित्र छ। सबै प्राणीमा समान छ। असमान चेतनामा पनि याे समान छ । ब्रह्म अमूर्त छैन। त्यसैले अहंकार र भय को रुपमा सधै प्रकट हुन्छ ।याे ब्रह्मको लीला रुप हाे।
ब्रह्म जताततै प्रकट छ । फूलमा फुलेको छ ।रुपमा सुन्दर छ। प्राणीमा जागरूकता छ। मान्छेमा विवेक छ। बिजमा जीबन छ।हावामा चेतना छ। ब्रह्म बिना केही प्रकट हुँदैन ।जहाँ प्रकट छ। त्यहाँ ब्रह्म छ। ब्रह्म स्वयंमा स्थिर छ । शब्द र अर्थमा ब्रह्म छैन। ब्रह्म स्वरुपमा छ ।यसको कुनै अर्थ छैन ।यसको शब्द र अर्थ दुवै ब्रह्म रुप हो।
ब्रह्म इश्वर होइन। यो अस्तित्व पनि होइन ।पदार्थ पनि होइन ।यो तीनैलाई प्रकट गर्ने नियम ब्रह्म हो। त्यसैले ब्रह्म तथस्ट छ। इन्द्रिय, ब्रह्म सम्म पुग्ने माध्यम हुन्। इन्द्रियहरूको पूर्ण सन्तुष्टि ब्रह्म अनुभूति हो। यहि असन्तुष्टि शरीरमा अहम् र भयकाे रुपमा प्रकट हुन्छ ।
प्रकृतिका सबै जीबनमा अहम् छ। यही अहमले शरीरको व्युत्पन्न गराउछ। यो अहम् अष्टावक्र गीताको द्रष्टा हाे। भागवत गीताको ब्रह्म हो। बाइबलको तिमी (you) हाो। इस्लामको अल्लाह हाो। बुद्धको चित्त हो । विज्ञानको क्वान्टम र पदार्थको ऊर्जा यही ब्रह्म हो। ब्रह्ममा समय र दूरी छैन र ब्रह्माण्ड ब्रह्मबाट निरपेक्ष छैन।
ब्रह्मको खोजी गर्नु मिथ्या हो। किनकि ब्रह्म सत्य ,असत्य दुवै होइन। दुवैको प्रकट रुप ब्रह्म हो। सत्य र असत्य भ्रम हो
किनकि आँखाले देखेको, नाकले सुघेको, छालाले स्पर्श गरेको जिब्रोले स्वाद लिएको, कानले सुनेको मात्र सत्य मान्छ।तर यो सापेक्ष सत्य हो। किनकि ब्रह्म अनुभूतिमा छैन। ब्रह्मले अनुभूति गराउछ। र स्वयं स्वरुपमा स्थित रहन्छ।
प्रकृतिको जाग्रत अवस्था ब्रह्म हो। मानिस बाहेक अरु सबै प्राणी र वनस्पति ब्रह्ममय छन । मानिस ब्रह्ममय हुन प्राणी र प्रकृति जस्तै जाग्रत अवस्थामा पुग्नुपर्छ।। जाग्रत अवस्थामा नपुगी विज्ञानको आविष्कार र दर्शनको म सम्म मानिस पुग्न सक्दैन ।यही जाग्रत अबस्था विज्ञानको क्वान्टम इनर्जी र अध्यात्मको ब्रह्म हो। जहाँ समय र स्थानको अन्त्य हुन्छ। यही विन्दुमा पुगेर मात्र मान्छेले आविष्कार गर्छ । आविष्कारका सबै तत्व र पदार्थ ब्रह्म भित्रै छन्। यही पुगेर मानिसले तत्व र पदार्थलाई बाहिर ल्याउँछ। किनकि आविष्कार मानिस भित्रै छ ।ब्रह्मबाट टाढा रहेको मानिसको दृष्टिले यसलाई नयाँ मात्र देख्छ ।तर यो नयाँ हाेइन। त्यसैले विज्ञानले आविष्कार गर्छ । र फेरि आफै भित्र रहेको नयाँ पदार्थको खोजी गरिरहन्छ। यो कहिल्यै टुङ्गिदैन। किनकि ब्रह्म असिमित छ।
मानिस इन्द्रियमय छ।त्यसैले मान्छेले ब्रह्मको व्यापार गर्छ । स्वयं मानिस बेहोश छ । मान्छेको बुद्धि र अहंकारले चेतनामा बिबेकको व्युत्पन्न गराउँछ। अहिले यही विवेकलाई मान्छेले मानवता ठान्छ।बिवेककाे सापेक्ष प्रयोगले युद्ध, हिंसा, विभेद र विनाश जन्माउँदैछ। मानवता भित्र ब्रह्म पाइदैन र मानवताले ब्रह्मको परिकल्पना पनि गर्दैन। ब्रह्म जगतको नियम हाे। मानवता धर्म हाे। ब्रह्म धर्म होइन ।यही निरपेक्षताको खोजी मानिस शास्त्र, विज्ञान र दर्शनमा गरिरहन्छ।
माया, ब्रह्मकाे रुप हाे । याे जताततै प्रकट छ। यही माया र रुपमा जब मानिसको आँखा खुल्छ। चेतना जागृत हुन्छ । त्यसपछि अकस्मात आँखाबाट आँसु झर्छ। स्वरुप प्रकट हुन्छ । त्यसपछि अहं ब्रह्मास्मि ,एकोहं ब्रह्म, तत्वमसिकाे ज्ञान मिथ्या सत्य बन्छ।




























