द्वन्दको उत्कर्षमा सरकारी सेवा ।

1.8K
shares

 

 

द्वन्द स्वार्थको उत्पादन हो। द्वन्दको सुरुवात व्यक्तिको मनोभावबाट सुरु हुन्छ। तर मनोव्यक्तिगत द्वन्द तनाव हो। द्वन्द होइन। । तनाव व्यक्तिको अन्तर वैयक्तिक गुण हो। इच्छा पूर्ति नभएपछि यो अन्तर वैयक्तिक द्वन्द्वको रूपमा बाहिर देखिन्छ। संगठन भित्र द्वन्दको पहिचान गर्नु नेतृत्वको व्यवस्थापकीय गुण हो। बेलैमा पहिचान र उपचार भएमा द्वन्द उत्पादक बन्छ ।नत्र यसले व्यक्ति र संगठन दुवैमा हानि गर्छ । हाम्रो सरकारी सेवामा द्वन्दलाई विषयगत भन्दा बस्तुगत रूपमा बढी हेरिन्छ । विषयगत द्वन्द पहिचान नगरी कारण थाहा पाउन सकिँदैन। जसको पहिचान गर्ने व्यवस्थापकीय शैली नेपाली प्रशासनमा कमै छ।

 

अहिले प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालाबन्दी, प्रहरी र कर्मचारी बीचको कुटाकुटका दृश्यहरू, पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई हाजिर गराउने नगराउने विषयहरू, टिप्पणी र फाइलमा निर्णय गर्न डराउने प्रवृत्ति, माथिल्लो निकाय र पदले गरेका निर्णयहरूमा विश्वसनीय हुन नसक्ने वातावरण, माथिल्लो र तल्लो पदमा अनुशासन र मर्यादामा क्षयीकरण, जस्ता उदाहरणीय द्वन्दका विषय यत्रतत्र छापिएका छन्। यसलाई हामी व्यवस्थापकीय जिम्मेवारी र नेतृत्वको निर्णयको रुपमा मात्र लिन्छौँ। पद र शक्तिको प्रयोग झट्ट हेर्दा स्वभाविक मानिन्छ । तर यसभित्रको अन्तरनिहित विषय फरक छ। जसलाई छुट्याउन व्यक्ति र संगठनको सम्बन्ध र स्वार्थका पक्षलाई हेर्नुपर्छ। नेपालमा संगठनसँग व्यक्तिको स्वार्थ जोडिन्छ तर व्यक्तिसँग संगठनको स्वार्थलाई महत्त्व दिइँदैन। हाम्रा सरकारी पद र जिम्मेवारीमा संगठनसँग व्यक्तिको स्वार्थ जोडिएको विषय हेरिँदैन। ।यसको पहिचान नगरुन्जेल सरकारी सेवा प्रवाह स्वत स्फुर्त र नतिजाप्रति उत्तरदायी हुँदैन। र नतिजा पनि चिरस्थायी हुँदैन। व्यवस्थापनमा संगठनात्मक व्यवहारको सिद्धान्तले यही भन्छ।

 

पेशाप्रतिको सम्मान र इच्छा अनुसारको कामले व्यक्तिगत तनाव कम गर्छ। तर तनाव कम गराउने मुख्य विषय हाम्रोमा पैसा र सुविधा मानिन्छ। मौद्रिक सुविधापछि पनि अन्तत व्यक्ति सम्मान चाहन्छ। जुनसुकै तह र पदका कर्मचारी पनि आफूलाई सम्मानित महसुस गर्दैनन्। किनकि पेशाले सम्मान दिएको छैन भन्ने कुरामा उनीहरू चिन्तित छन्।। यो सुसुप्त तनाव संगठनका दैनिकीमा देखिन थाल्छ। यो मनोवैज्ञानिक समस्या प्रशासनिक र राजनीतिक नेतृत्व दुवैमा छ। दुवै नेतृत्व तल्लो तहका पद र कार्यकर्ता हरूसम्म पुग्दा सम्मानित छैन। व्यक्ति र संगठन दुवै तहमा सुसुप्त द्वन्द छ भन्ने यसले चित्रण गर्छ।

 

हाम्रोमा द्वन्द व्यवस्थापनका कानुनी प्रावधान छन्। तर यी विषय सरुवा, बढुवा र वृत्ति विकासभन्दा माथि उठ्न सकेका छैनन्। र यिनै विषयहरूले व्यक्तिगत तहमा धेरै द्वन्द सिर्जना गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भएर कति दिन बस्ने हो उसलाई नै थाहा हुँदैन। अध्यागमनमा सरुवा भएर जानेलाई नै थाहा हुँदैन। कति दिन सेवा गर्नुपर्ने हो। राजनीतिक ,प्रशासकीय कार्यकारी नेतृत्वहरू दलगत निर्देशनभन्दा माथि उठ्न गाह्रो छ। राजनीति र प्रशासनिक दुवै नेतृत्व कसरी एकआपसमा जोगिने भन्नेमा सतर्क छन्। के यो कानुनले ल्याएको द्वन्द हो र। यो व्यक्तिगत र संगठनिक स्वार्थका कारण जन्मेका द्वन्द हुन्। यी द्वन्दको कारणसम्म पुग्न र सुधार गर्न पैसा खर्च गर्नु पर्दैन। भ्रष्टाचार गर्ने र नगर्ने ठाउँको विभेद अन्त्य गरिदिए पुग्छ। कानुनले तोकेको समयसम्म कर्मचारीको सरुवा नगरे हुन्छ। सबैले कानुनको परिपालना गरे मात्र पुग्छ।

 

हाम्रोमा गुनासो सुन्ने कोही छैन। सबै प्रशंसा सुन्न चाहन्छन्। अझ मनोव्यक्तिगत तनाव पोख्ने ठाउँ कमैले पाउँछन्। किनकि कर्मचारी साथीभाइभित्रै तनाव पोख्ने ठाउँ पनि कतिपय ठाउँमा रहँदैन। अस्वस्थ प्रतिस्पर्धा, कानुन विपरीतको काम गर्नुपर्ने बाध्यता, वृत्ति विकासको अनिश्चितता, कामको मूल्याङ्कन नहुँदा स्वतः कर्मचारी तनावमा रहन्छ। केहीले आध्यात्मिक चिन्तन र व्यक्तिगत अभ्यासबाट यसलाई कम गर्छन्। तर यो निदान होइन। अधिकृत र सहायक स्तरका कर्मचारीहरूमा कामप्रतिको इमान्दारिता ,सम्मान र अन्तरवैयक्ति सम्बन्ध देखिन्छ। साथीभाइ ,पिकनिक, घुलमिल, भेटघाट ले केही तनाव कम गरेको छ। तर माथिल्लो पद तह र संगठनमा यो साथीभाइत्व कमै पाइन्छ। प्रदेश, स्थानीय तह र सङ्घको सेवाप्रतिको अन्तरसम्बन्ध जोडिन सकेको छैन। यिनले आफैमा द्वन्दात्मक सम्बन्ध राख्छन्। यो सरकारी नीति र कानुनले खडा गरेको द्वन्द हो।। यो संगठनात्मक मनोविज्ञानलाई गहिरो हेर्ने र नीतिगत सुधार गर्ने अभिभावक अहिलेसम्म नपाउनु दुःखको कुरा हो।

civil hospital
Hams Hospitals