भन्सार मूल्याङ्कनको अवधारणात्मक पक्ष
वि.सं.२०८१ कात्तिक ७ बुधवार
shares
राज्यले विकासको क्रममा देशका सामयिक आवश्यकताहरु पूरा गर्न र जनताका माग सम्वोधन गर्न विभिन्न विकासात्मक तथा लोक कल्याणकारी गतिविधिहरू संचालन गर्नु पर्ने हुन्छ । यसको लागि विभिन्न श्रोतहरुको आवश्यकता पर्दछ । यस्ता आवश्यक श्रोतहरु राज्यले विभिन्न श्रोतहरुवाट जुटाउने गर्दछ । जसमध्ये राजस्व प्रमुख श्रोतमा पर्दछ । राजस्व संकलन दुई प्रमुख आधारवाट निर्धारित हुने गर्दछन् पहिलो समसामयिक राजस्व नीति, दोश्रो राजस्व संकलनको लागि आवश्यक कानूनी र संस्थागत व्यवस्था,राजस्व संकलनको प्रक्रियात्मक विधि र जनशक्ति व्यवस्था । राजस्व एउटा भारपरक संयन्त्र हो जुन तिर्ने व्यक्ति वा संस्था सकभर यसको भारवाट मुक्त हुन चाहन्छ । यसै कारणले राजस्व नतिर्ने, आय वा कारोवार लुकाउने वा गलत विवरण देखाउने भन्सारमा कम मूल्य घोषणा गर्ने प्रवृत्तिले वढावा पाउने गर्दछ । राजस्व प्रशासनमा भन्सार प्रशासनको महत्व अझ पनि रहदै आएको छ । कूल कर राजस्वमा भन्सार विन्दुवाट उठाइने राजस्वको योगदान २० प्रतिशत , भन्सार विन्दूमा संकलन हुने सवै राजस्वको हिस्सा ५० प्रतिशत रहेको र भन्सार विन्दू वाट प्रवेश भैसकेका वस्तुको विक्रीको आधारमा निर्धारण हुने मूल्य अभिवृध्दि कर र आयकर निर्धारणको मूल आधार पनि भन्सार विन्दूमा घोषणा गरेको मूल्य ( भन्सार मूल्याङ्कन ) हुने भएकोले राजस्व निर्धारणको मूल आधार यथार्थपरक भन्सार मूल्याङ्कन घोषणा नै हो ।
भन्सार मूल्याड्ढन भनेको भन्सार महसुल निर्धारण प्रयोजनका लागि भन्सार कार्यालयले गर्ने आयातीत वस्तुको मूल्य निर्धारण हो । निर्यातकर्ता वा आयातकर्ताले भन्सार अधिकृतसमक्ष घोषणा गरेको वस्तुको मूल्य तथा अन्य विवरणलाई आधार मानेर भन्सार कार्यालयले यस्तो मूल्याड्ढन गर्ने गर्दछ । वस्तुको मूल्याड्ढन गरिसकेपछि तोकिएको भन्सार दरअनुसार उक्त वस्तुमा लाग्ने भन्सार महसुल निर्धारण हुन्छ । सामान्यतया भन्सार महसुल निर्धारणका तीनवटा आधारहरु छन्ः क) मूल्यगत ( Advalorem) ख) वस्तुगत (specific); र ग) मिश्रित (compound) । भन्सार मूल्याड्ढन गरी निर्धारण गरिएको मूल्यको निश्चित प्रतिशत असूल गरिने महसुललाई मूल्यगत महसुल भनिन्छ ।आयातीत वस्तुमा लाग्ने भन्सार महसुल सो वस्तु आयात गर्ने राष्ट्रले तोकेको भन्सार महसुलको दरसँगै सो वस्तुको लागि कायम गरिएको भन्सार मूल्याड्ढनको आधार मूल्यमा भर पर्दछ । अन्तर्राष्ट्रिय व्यापारमा भन्सार दरसँगै भन्सार मूल्यांकनको पनि महत्व रहेको हुन्छ
पैठारी गर्दा मालवस्तुको मूल्यमा पैठारी हुने देशको भन्सार नाकासम्म ल्याउँदासम्मको भाडा र बीमा शुल्कसमेत गणना गरिएको (कष्ट इन्स्योरेन्स फ्राइट– सीआईएफ) मूल्य भन्सार मूल्याङ्कनका लागि लागू गरिन्छ । निकासीको हकमा भने बीजक मूल्यमा निकासी हुने देशको भन्सार नाका पुग्दासम्मको भाडासमेत गणना भएको (फ्री अन बोर्ड– एफओबी) मूल्य लागू गरिन्छ ।
आयात तथा निर्यात हुने माल वस्तुको भन्सार महशुल र भन्सार विन्दूमा संकलन गरिने अन्य महसुलको निर्धारण र संकलन गर्ने प्रयोजनार्थ माल वस्तुको भन्सार विन्दू सम्म आईपुग्दासम्मको परल मूल्य निर्धारण तथा घोषणा गर्ने प्रक्रिया नै भन्सार मूल्यांकन हो । भन्सार मूल्यांकनको मूलभूत आधारको रुपमा कारोवार मूल्य ( Transaction Value) लाई लिने गरिन्छ ।
यथार्थपरक भन्सार मूल्याङ्ककनको आवश्यकता
कम मूल्य घोषणा (Under Invocing) वाट न्यून विजकीकरण हुने, वास्तविक राजस्व संकलन नहुने र वढी मूल्यमा वजारमा सामानको विक्री भएमा सीमित वर्गमा नाफाको ठूलो हिस्सा जाने भएकोले भन्सार मूल्याङ्ककनको आवश्यकता हुन्छ ।
बढी मूल्य घोषणा (Over Invocing) वाट विदेशी मुद्रा पलायन हुने भएकोले सो संभावनालाई रोक्न ।
स्वस्थ्य तथा प्रतिस्पर्धात्मक व्यवसायिक वातावरणको निर्माण गर्न ।
वस्तुको आयातलाई सही मूल्यांकनको माध्यमव्दारा व्यवस्थित गर्दै स्वदेशी वस्तु र उद्योगको संरक्षण गर्नको लागि ।
भन्सार विन्दू पश्चातका (Post Customs activities) राजस्व निर्धारण र संकलनको प्रभावकारी आधार निर्माण तयार गर्नको लागि ।
सही राजस्व प्राप्त गर्न ।
आयातीत वस्तुको उपभोगमा प्रतिस्पर्धा सिर्जना गर्न ।
अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न ।
असम्बन्धित पक्षहरु -Unrelated Parties) वीचको व्यवसायिक प्रतिस्पर्धाको प्रवध्र्दन गर्न र सम्बन्धित पक्षहरु -Related Parties) को मिलेमतो वाट हुन सक्ने एकाधिकारलाई निरुत्साहित गर्न ।
भन्सार मूल्याङ्ककनका आधारहरु
भन्सार मूल्यांकनका दुई प्रमुख आधारहरु रहेका छन् । पहिलो आधार भनेको व्यापारका अधिकांश चक्र सम्बन्धित पक्षहरु -Related Parties) को कब्जामा रहेको हुन्छ , उनीहरुको मिलेमतोको कारणले न्यून भन्सार मूल्यांकन, विचौलियाको वजार मूल्य निर्धारणमा मुख्य भूमिका ,मालवस्तुको उच्च बजार दर, कर प्रयोजनको लागि न्यून मूल्यांकनका बीलहरुको प्रयोग हुने गर्दछ । यसर्थ सम्बन्धित पक्षहरुको यो चक्रव्यूहलाई तोड्न भन्सार मूल्यांकनलाई भन्सार विन्दूमै कडाईका साथ हेरिनु पर्दछ । भन्सार मूल्यांकनको यो नकारात्मक अवधारणा हो । यसको विपरीत भन्सार मूल्यांकन स्व घोषणा र कारोवार मूल्यमा आधारित हुनु पर्दछ यदि भन्सार विन्दूमा न्यून मूल्यांकन घोषणा गर्ने तर मा बजारमा उच्च दरमा वस्तु विक्री गर्ने तर कर प्रयोजनको लागि न्यून मूल्यांकनका बीलहरुको प्रयोग गर्ने वातावरणलाई रोक्न कर प्रशासन, भन्सार पछिको परीक्षण जस्ता निकायहरुको सवल उपस्थिति गराउने अवधारणा हो ।
भन्सार मूल्यांकन विधिको विकासक्रम
१. ब्रसेल्स मूल्यांकन प्रणाली
विभिन्न राष्ट्हरुले आ आफ्नो किसिमको भन्सार मूल्यांकन प्रणाली अवलम्बन गर्दै आएकोमा यसलाई एकरुपता दिनु उपयुक्त हुने मान्यताका साथ विभिन्न ३३ विकासोन्मुख राष्ट्हरुले २८ जुलाई १९५३ मा ब्रसेल्स मूल्यांकन प्रणाली Brussels Definition of Value प्रयोगमा ल्याएका थिए । यसमा पछि थप ७० देशहरु सहभागी भएका थिए। ब्रसेल्स मूल्यांकन प्रणाली
मूलतः भन्सारका कर्मचारीहरुवाट मालवस्तुको मूल्य निर्धारण गर्ने प्रणाली (Official Assissment System) मा आधारित थियो । यसमा भन्सार कर्मचारीहरुको स्वविवेकीय अधिकार वढी हुने, सवै राष्ट्हरुमा मात्र होइनकि एकै देशका सवै भन्सार विन्दूहरुमा समेत भन्सार मूल्यांकन प्रणालीमा विविधता देखिने जस्ता समस्याहरु रहेका थिए । ब्रसेल्स मूल्यांकन प्रणाली मा रहेका यस्ता समस्याहरुको सन्दर्भमा भरपर्दो विकल्पको खोजी गर्नु पर्ने आवश्यकताबोध भैरहेको थियो।
२. सकारात्मक मूल्यांकन प्रणाली
सकारात्मक मूल्यांकन प्रणाली अमेरिका , अष्ट्रेलिया र अन्य केही देशहरु क्यानडा न्यूजिल्याण्डले प्रयोग गर्ने गरेको प्रणाली हो । यो प्रणाली अन्तरगत वस्तुको अपारदर्शी वा अनुमानित मूल्यको साटो वास्तविक तिरेको मूल्य लाई मूल्यांकनको आधार वनाइन्छ।
३. भन्सार तथा महसुल सम्बन्धी सामान्य सम्झौता ग्याट पूर्वका अन्य प्रयासहरु
ग्याट प्रणाली भित्र सन् १९५१ तिर एकीकृत तथा समान भन्सार मूल्यांकन प्रणाली अवलम्बन गरिनुपर्ने बहस चलिरहेको वेला अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सले ब्रसेल्स मूल्यांकन प्रणालीको विकल्प खोजी गरी मूल्यांकन प्रणाली अपनाउनु पर्ने विषयमा जोड दिन थाल्यो । फलस्वरुप वस्तुको बजार मूल्य , कारोवार मूल्य र आयातीत वस्तुको मूल्य संग तुलना जस्ता थप विकल्पहरु छलफलमा आयो ।
४. भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता
अर्थतन्त्रलाई ब्यापारिक उदारीकरणको माध्यमव्दारा समृध्दि हासिल गर्ने साझा संयन्त्रको रुपमा विकास गर्ने प्रयासको सन्दर्भमा भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता सन् १९४७ मा भएको थियो । यसको मूल उद्देश्य भन्सार दरहरुको न्यूनीकरणव्दारा उदारीकरणको प्रबध्र्दन गर्नु रहेको थियो । भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता लाई परिमार्जन र परिस्कृत गर्ने क्रममा सन् १९८६ देखि १९९४ सम्म भएको उरुग्वे चरणको वार्ताले ग्याट लाई विश्व ब्यापार संगठन मा परिणत गर्ने क्रममा Tokyo Round (1973 -1979) , GATT Agreement on Customs Valuation1981, Uruguay Round (1986-1994)सम्पन्न भए ती सवै प्रयासहरु भन्सार दरहरुको न्यूनीकरण र भन्सार मूल्यांकनलाई यथार्थपरक वनाउने विषयहरु संग सम्बन्धित थिए। यसै क्रममा भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता
को Article VII मा भन्सार मूल्यांकनका विभिन्न छ वटा विधिहरु प्रस्तावित गरिए र पछि भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता विश्व ब्यापार संगठन मा रुपान्तरण भएपछि GATT Agreement on Implementation of Article VII of GATT 1994 को रुपमा व्याख्या भइ अहिले भन्सार मूल्यांकनको प्रमुख सैध्दान्तिक आधारशीलाको रुपमा रहदै आएको छ र विश्व भन्सार संगठनले पनि भन्सार मूल्यांकनको यहि प्रणालीलाई मान्यता दिएको छ ।
WTO/ GATT Valuation पद्धति अन्तरगत गर्नु पर्ने मूल्याङ्ककन पद्धति क्रमवद्ध रुपमा निम्नानुसार रहेका छन् ः
१.कारोवार मूल्य विधि (Transaction Value Method)
२.समरुप वस्तु अनुरुपको मूल्य विधि (Transaction Value of Identical Goods Method )
३.मिल्दोजुल्दो वस्तु अनुरुपको मूल्य (Transaction Value of Similar Goods Method )
४.घटाउने मूल्य विधि (Deductive Value Method)
५.गणना गर्ने मूल्य पद्धति (Computed Value Method)
६.अवशिष्ट वा औचित्यपुर्ण विधि (अवशिष्ट वा औचित्यपुर्ण विधि Fallback or Reasonable Means Method)
नेपालमा २००७ साल भन्दाअघि प्रज्ञापनपत्र भरेर आयात गरिएका वस्तुको मूल्य घोषणा गर्ने अभ्यास थिएन । तत्कालीन बजार अड्डा हालका भन्सार कार्यालयहरुले नै प्रत्येक वस्तुको भन्सार मूल्य तोकिदिएर त्यसैका आधारमा भन्सार महसुल असूल गर्ने गर्दथ्यो । तर २००७ साल आयातकर्ताले नै बीजक संलग्न गरेर वस्तुको मूल्य घोषणा गर्ने र त्यसैका आधारमा भन्सार कार्यालयले भन्सार महसुल असूल गर्ने अभ्यास शुरु भयो । भन्सार ऐन जारी भए पश्चात ऐनको दफा १३ मा भन्सार महसुल असूलीको प्रयोजनका लागि भन्सार कार्यालयले वस्तुको मूल्य तोक्ने व्यवस्था गरिएको थियो । उक्त भन्सार ऐनको सातौं संशोधनले भन्सार मूल्याड्ढन प्रयोजनका लागि कारोबार मूल्यलाई मान्यता दिने व्यवस्था गर्यो । नेपाल विश्व व्यापार संगठन र विश्व भन्सार संगठनको सदस्य रहेको छ । यसै हैसियतले नेपालले १ जनवरी २००७ देखि भन्सारले पूर्णरूपमा WTO Valuation System लाई कार्यान्वयनमा ल्याएको छ । उपरोक्त विधिहरु मध्ये कारोवार मूल्यलाई भन्सार ऐन, २०१९ को सातौ शंसोधन (२०५४ सालमा) मा उल्लेख गरिएको थियो भने अन्य विधिहरु त्यस पछिका आर्थिक ऐनहरुमा क्रमिक रुपले समावेश गरी पूर्ण रुपमा भन्सार ऐन, २०६४ मा मात्र समावेश गरिएको हो ।
भन्सार मूल्याङ्ककनका सम्बन्धमा भन्सार ऐन, २०६४ मा भएको व्यवस्था
भन्सार ऐन, २०६४ को परिच्छेद ५ को दफा १३, १४ र १५ ले भन्सार मूल्यांकन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ ः
पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार संगठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लेखित मूल्याङ्ककन सम्बन्धी नियमहरु, अनुसुची र व्याख्या अवलम्बन गरिने ।
पैठारी गरिने मालवस्तुको भन्सार मूल्य मालवस्तुको कारोवार मूल्यको आधारमा गरिने ।
पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोवार मूल्य घोषणा गर्नुपर्ने ।पैठारीकर्ताले यस बमोजिम घोषणा गरेको कारोबार मूल्य अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ ।
पैठारीकर्ताले घोषणा गरेको मूल्य शंकास्पद छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसंग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग भएका कागजात उपलव्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताको हुने ।
पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको विल, वीजक र कागजातका आधारमा कुनै मालवस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनुपर्ने ।
उपरोक्त बमोजिम कारोवार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तुको कारोवार मूल्यको आधारमा निर्धारण गरिने ।
समरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तुको कारोवार मूल्यको आधारमा निर्धारण गरिने ।
मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघिनै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासंग असम्बन्धीत व्यक्तिलाई विक्री भएको रहेछ भने त्यसरी विक्री भएको अधिकतम इकाईको प्रति इकाई विक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाई त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिने ।
उपरोक्त अनुसार भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई विक्री गर्दा विक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी मूल्य निर्धारण गरिनेछ ।
माथि उल्लेख गरिएका सवै तरीकावाट पनि भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले WTO को] Valuation Method को विपरीत नहुने गरि मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिने ।
भन्सार ऐन, २०६४ का मूल्याङ्ककन सम्वन्धी प्रावधानहरुमा जे सुकै लेखिएको भएता पनि व्यक्तिगत प्रयोजनको लागि गुण्टा, झिटी, भारी आदेश अन्तरगत पैठारी भएको मालवस्तु विदेशी मुलुकवाट उपहार वा नमूना स्वरुप प्राप्त गरी पैठारी भएको मालवस्तुको कारोवार मूल्य खुलाउन नसक्ने कारण जनाई सो मालवस्तुका धनीले मूल्याङ्ककन गरिदिन निवेदन दिएमा र सो व्यहोरा भन्सार अधिकृतलाई उपयुक्त लागेमा त्यस्तो मालवस्तुको मनासिव भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।
मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था
पैठारीकर्ताले घोषणा गरेको कारोवार मूल्यलाई मान्यता दिन नसक्ने भएमा त्यसको कारण सहितको सूचना पैठारीकर्तालाई भन्सार अधिकृतले दिनुपर्छ । कुनै वस्तुको तत्काल कारोवार मूल्य कायम गर्न नसकिएमा अस्थायी मूल्य कायम गरी सो मूल्यमा लाग्ने महसुल धरौटी राखी पैठारीकर्ताले मालवस्तु छुटाई लैजान सक्छ । कुनै मालवस्तुको मूल्य कायम गर्नुपर्दा हवाईमार्गबाट पैठारी हुने वस्तुहरूको ढुवानी खर्च निर्धारण गर्दा स्थलमार्गबाट नेपाल अधिराज्यका सिमानास्थित भन्सार कार्यालयहरूमा मालसामान पैठारी गर्दा लाग्ने ढुवानी खर्च सरह मात्र खर्च जोडी मूल्य कायम गरिन्छ । निजी प्रयोगको लागि यात्रुहरूले लिई आउने मालवस्तुको साथै नमूना वस्तुहरूको मूल्याङ्कन भन्सार अधिकृतबाट हुन्छ । निजी प्रयोजनको लागि गुण्टा, झिटी भारी आदेश अन्तरगत पैठारी हुने मालवस्तु र पुराना लुगाफाटा, बरविछ्यौना, कसनतसन र घर गृहस्थीका पुराना वस्तुहरूको हकमा भन्सार अधिकृतले मनासिव मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ ।
भन्सार ऐनले कारोवार मूल्यलाई भन्सार मूल्यांकन को आधार उपरोक्त वमोजिमको व्यवस्था गरेको छ । कारोवार मूल्य को आधाकारिकता को लागि वनाउन देहाय वमोजिमका कागजात वा प्रक्रियालाई आधार लिन सकिन्छ ।
१. कागजातको आधार
खरीद गरेको सामान वापत वास्तविक मूल्य अंकित वील
खरीद सम्झौता
कर सम्बन्धी कागजात
बैंकिड. कागजात
वस्तु निर्यात सम्बन्धी कागजात
मूल्याङ्कन निर्देशिकाले तोके बमोजिमका कागजात र प्रक्रियाहरु
२.वस्तुको अधिकतम खुद्रा विक्री मूल्य MRP उल्लेख भएको भए सो सम्बन्धी प्रमाण
३. ख्याति प्राप्त अन्तर्राष्ट्यि व्यापारिक संस्थाहरु वाट निर्यात भएका वस्तुहरु को घोषित मूल्य
भन्सार मूल्याङ्कनका सम्बन्धमा भन्सार ऐन, २०६४ का विशेषताहरुः
भन्सार ऐन, २०६४ मा भएका निम्न व्यवस्थाले भन्सार मूल्याङ्कनको स्वीकृत आधारलाई आत्मसात गरेको देखिन्छ ः
GATT / WTO Provision ः विश्व व्यापार संगठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लेखित मूल्याङ्ककन सम्बन्धी नियमहरु, अनुसुची र व्याख्या अवलम्बन गरिनेछ भन्ने प्रावधान भन्सार ऐनमा उल्लेख हुनु ।
मूल्यांकनका आधारभूत विधिहरुलाई ऐनले प्राथमिकताको आधारमा सम्वोधन गरेको
पैठारी गरिने मालवस्तुको भन्सार मूल्य मालवस्तुको कारोवार मूल्यको आधारमा गरिनेछ भन्ने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
माथी लेखिए बमोजिम कारोवार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तुको कारोवार मूल्यको आधारमा निर्धारण गरिने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
समरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तुको कारोवार मूल्यको आधारमा निर्धारण गरिने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
माथि उल्लेखित मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघिनै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासंग असम्बन्धीत व्यक्तिलाई विक्री भएको रहेछ भने त्यसरी विक्री भएको अधिकतम इकाईको प्रति इकाई विक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाई त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
माथी उल्लेख भए अनुसार भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई विक्री गर्दा विक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी मूल्य निर्धारण गरिने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
माथि उल्लेख गरिएका सवै तरीकावाट पनि भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले WTO को मूल्यांकन प्रणालीको विपरीत नहुने गरि मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोवार मूल्य घोषणा गर्नुपर्ने भन्ने व्यहोरा भन्सार ऐनमा उल्लेख हुनु ।
पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्न सक्ने प्रावधानले पैठारीकर्तालाई मूल्यको घोषणा प्रति जिम्मेवार वनाएको ।
पैठारीकर्ताले घोषणा गरेको मूल्य शंकास्पद छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले नीजसंग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्ने र त्यसरी माग भएका कागजात उपलव्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताको हुने प्रावधानले प्रमाणको भारको दायित्व घोषणाकर्तामा रहेको ।
पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको विल, वीजक र कागजातका आधारमा कुनै मालवस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनुपर्ने व्यवस्थाले भन्सार कर्मचारीको स्वविवेकीय अधिकार नदिएको तथा पारदर्शिताको प्रत्याभूती गरेको ।
कुनै वस्तुको तत्काल कारोवार मूल्य कायम गर्न नसकिएमा अस्थायी मूल्य कायम गरी सो मूल्यमा लाग्ने महसुल धरौटी राखी पैठारीकर्ताले मालवस्तु छुटाई लैजान सक्ने व्यवस्थाले सेवा प्रवाहको तत्कालीन वैकल्पिक वाटो खुला राखेको छ ।
भन्सार कार्यालयले गरेको मूल्याङ्कन सम्बन्धित निर्यातकर्तालाई चित्त नवुझेमा पुनरावलोकन गर्न सक्ने र राजस्व न्यायाधिकरणमा उजुर गर्न सक्ने प्रावधानले उपचारात्मक व्यवस्था प्रत्याभूति गरेको ।
भन्सार मूल्याङ्कनलाई ब्यवस्थित, पारदर्शी, सहज र सरल वनाई वैध ब्यापारलाई सहजीकरण गर्दै करको आधार फराकिलो पार्न तथा राष्ट्रिय लेखामा उचित व्यापार तथ्याङ्कको लेखाङ्कनलाई तथ्यपरक बनाई राजस्व जोखिम न्यूनीकरण गर्न भन्सार ऐन, २०६४ को दफा ९३ ले दिएको अधिकार प्रयोग गरी भन्सार विभागले भन्सार मूल्याङ्कन निर्देशिका जारी गरेको छ ।आशिकुडा वर्ल्ड प्रणालीवाट भन्सार जांचपास भैरहेकोमा हाल वेब बेस्ड प्रणाली आशिकुडा वर्ल्ड कार्यान्वयनमा आएको छ।
समस्याका क्षेत्र
कानूनी स्पस्टता तर व्यवहारमा धेरै समस्या
कारोवार मूल्यको गलत विवरण प्रस्तुत हुन सक्ने अवस्थाले विश्वासको संकट
सन्दर्भ मूल्यको प्रयोग कानूनी हैसियत नरहेको
सन्दर्भ मूल्यले नजानिदो रुपमा प्रयोग कानूनी हैसियत समान प्रयोगमा आउने गरेको
अधिकांश वस्तुको सन्दर्भ मूल्य कारोवार मूल्य भन्दा कम हुने गरेको
सन्दर्भ मूल्य वरावरको रकम नै वीलमा उल्लेख हुने गरेको
समस्याको प्रभाव
भन्सार प्रशासन प्रतिको व्यापक आशंका र आरोपले निरन्तरता पाएको
व्यवसायिक र प्रशासनिक सदाचारितामा सधै प्रश्नचिन्ह उठ्ने गरेको
राजस्व छलीको संभावनले व्यापकता पाएको
न्यून विजकीकरणले प्रश्रय पाएको
समाधानका उपायहरु
बैंकिङ्ग कारोवार मार्फत पैठारी गर्नुपर्ने प्रावधान लागू गर्नु पर्ने ।
अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने प्रणाली लाई अनिवार्य वनाउनु पर्ने ।
वस्तुहरुलाई कम्तीमा ८ अंकमा वर्गीकरण (HS Code) गरी Product Code लाई प्रभावकारी बनाउनु पर्ने ।
विदेशी भन्सार प्रशासनसँग द्विपक्षीय सम्झौता एवं सूचना आदान प्रदान गरी Web based updated Real Time Valuation Database तयार गर्नु पर्ने ।
भन्सार कार्यालयहरूबीच प्रभावकारी सञ्चारको व्यवस्था गरी भन्सार कार्यालयहरूको मूल्याङ्कन परिपाटीमा एकरूपता कायम गनु पर्र्ने ।
आयात निर्यातकर्ताको पहिचान नम्बर प्रणाली कार्यान्वयनमा ल्याउनु पर्ने ।
भन्सार विन्दूमा गरिएको घोषणा अनुरुप वजारको हरेक तहमा तादाम्यता रहे नरहेको Catch up effect सहितको निरन्तर अनुगमन , भन्सार जांचपास पछिको परीक्षण, उपभोक्ता हीत संरक्षण संग सम्बन्धित निकायहरुको सक्रियता र समन्वयमा अभिवृध्दि गर्ने ।
भन्सार व्यवसायी साझेदारी -Customs Business Partnership) मा अभिवृध्दि गर्ने ।
व्यापारिक क्षेत्रमा स्वच्छ व्यवसायिक प्रतिस्पर्धा सहितको सामाजिक उत्तरदायित्वको भावनाको विकास हुनु पर्ने ।
राजस्व निर्धारणको मूल आधार यथार्थपरक भन्सार मूल्याङ्कन घोषणा नै हो । आयात तथा निर्यात हुने माल वस्तुको भन्सार महशुल र भन्सार विन्दूमा संकलन गरिने अन्य महसुलको निर्धारण र संकलन गर्ने प्रयोजनार्थ माल वस्तुको भन्सार विन्दू सम्म आईपुग्दासम्मको परल मूल्य निर्धारण तथा घोषणा गर्ने प्रक्रियालाई कारोवार मूल्य वा भन्सार मूल्यांकनका अन्य विधिसम्मत प्रक्रियाहरु को सही अवलम्वनवाट नै भन्सार मूल्यांकन यथार्थपरक बनाउन सकिन्छ । नेपालको भन्सार प्रशासन सम्वन्धी कानूनमा भन्सार मूल्यांकनको स्पष्ट व्यवस्था भएतापनि कानूनी कार्यान्वयन तहमा धेरै समस्याको अनुभुत गरिएको स्थिति छ । कारोवार मूल्यको गलत विवरण प्रस्तुत गर्ने परिपाटी ले विश्वासको संकट वढाउनुको अतिरिक्त व्यवसायी क्षेत्र र भन्सार प्रशासनको सदाचारितामा सधै प्रश्नचिन्ह उठ्ने गरेको छ । न्यून विजकीकरणले प्रश्रय पाएको र यसवाट राजस्व छलीको संभावनले व्यापकता पाएको सन्दर्भ वौध्दिक र जनसाधारणका वहसका विषय वन्न पुगेका छन् । बैंकिङ्ग कारोवार मार्फत पैठारी गर्नुपर्ने प्रावधान लागू गर्ने, अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने प्रणाली लाई अनिवार्य वनाउने , प्रभावकारी अनुगमन र व्यापारिक क्षेत्रमा स्वच्छ व्यवसायिक प्रतिस्पर्धा सहितको सामाजिक उत्तरदायित्वको भावनाको विकास गर्न सकेमा भन्सार मूल्यांकन प्रणालीलाई यथार्थपरक वनाउन सहयोग मिल्नेछ ।
डा. दामोदर रेग्मी अर्थ प्रशासनविद तथा गीतकार हुन् ।






























