सफलता प्राप्तिका केही सरल सूत्रहरु
वि.सं.२०८१ चैत ९ शनिवार
shares

आत्मविश्वास वढाउने
आत्मविश्वास भनेको आफ्नै क्षमतामा दृढ विश्वास राख्ने मानसिक अवस्था हो। जब कुनै व्यक्ति आफैंमा भरोसा राख्छ, तब ऊ नयाँ अवसरहरूलाई आत्मसात् गर्न, चुनौतीहरू सामना गर्न र आफ्नो लक्ष्य प्राप्त गर्न सक्षम हुन्छ। आत्मविश्वासले व्यक्तिगत, व्यावसायिक, र सामाजिक जीवनमा सफलता हासिल गर्न ठूलो भूमिका खेल्छ। आत्मविश्वास बढाउन केही प्रभावकारी तरिकाहरू प्रयोग गर्न सकिन्छ। यहाँ केही उपायहरू प्रस्तुत गरिएका छन्:
१. आत्म-ज्ञान र आत्म-समीक्षा
आफूलाई राम्ररी चिन्ने प्रयास गर्नुहोस्।
आफ्नो बलियो पक्ष र कमजोरीहरूको सूची बनाउनुहोस्।
कमजोरी सुधार्न काम गर्नुहोस् तर बलियो पक्षलाई अझ बलियो बनाउनुहोस्।
२. सकारात्मक सोच अपनाउनुहोस्
आफैंलाई सकारात्मक शब्दहरू भन्नुहोस् – जस्तै, “म सक्षम छु”, “म राम्रो गर्न सक्छु”।
नकारात्मक सोच हटाएर समाधानमुखी सोच अपनाउनुहोस्।
३. तयारी र अभ्यास
जुन कुरामा आत्मविश्वास कम छ, त्यसको तयारी राम्रोसँग गर्नुहोस्।
बारम्बार अभ्यास गर्दा अन्य विषयहरुमा पनि आत्मविश्वास स्वाभाविक रूपमा बढ्दै जान्छ।
४. शरीरको भाषा सुधार गर्नुहोस्
ठाडो भएर उभिनुहोस्, आत्मविश्वास देखिने गरी हिँड्नुहोस्।
आँखामा आँखामा हेरेर कुरा गर्नुहोस्।
शारीरिक हाउभाउ (body language) आत्मविश्वासी बनाउनुहोस्।
सफा मिलेको कपडा लगाउनुहोस ।
५. स्वास्थ्य
राम्रो निद्रा, पौष्टिक आहार, र व्यायाम आत्मविश्वास बढाउन सहयोगी हुन्छ।
Early to Bed Early to Rise Makes a Man Happy Walethy and Wise भनाइलाई व्यवहारमा रुपान्तरण गर्नुहोस ।
मानसिक शुध्दता र शान्ति प्राप्त गर्नुहोस । ध्यान वा योगले मानसिक शान्ति प्राप्तिमा सहयोग गर्दछ।
६. सानो लक्ष्य निर्धारण गरेर सफलता प्राप्त गर्नुहोस्
साना-साना लक्ष्यहरू निर्धारण गरी ती पूरा गर्दै जानुहोस्।
ठूलो लक्ष्य राख्दा त्यसलाई सानो-सानो चरणमा विभाजन गर्नुहोस्।
लक्ष्य SMART (Specific, Measurable, Achievable, Relevant, Time-bound) हुनुपर्छ।
अपेक्षा राख्दै जानोस तर साना साना उपलब्धीमा रमाउने गर्नोस ।
सफलता पाउँदा आत्मविश्वास बढ्छ।
७. असफलतालाई पाठको रूपमा लिनुहोस्
धैर्यता र संयम असफलतालाई सिक्ने अवसर को रूपमा हेर्नुहोस्।
धैर्यता बनाउनुहोस् र हार नमान्नुहोस्।
असफलताबाट सिक्नुहोस्, नआत्तिनुहोस्।
सफल व्यक्तिहरूले पनि धेरै असफलता सामना गरेका छन् भन्ने कुरा बुझ्नुहोस्।
हर अवसर संग चुनौती र हर चुनौती संग अवसर आइरहन्छन् हामी सवै यसै चक्रको परिवेशमा रहिरहेका छौं भन्ने भनाइलाई आत्मसात गर्नुहोस ।
८. असल व्यक्तिहरूसँग समय बिताउनुहोस्
सकारात्मक र आत्मविश्वासी व्यक्तिहरूसँग संगत गर्नुहोस्।
तपाईँलाई निरुत्साहित गर्ने वा नकारात्मक प्रभाव पार्ने व्यक्तिहरूसँग दूरी राख्नुहोस्। यस्ता व्यक्तिका नकारात्मक भनाइले कदापि मन सानो नपार्नोस।
९. नयाँ कुरा सिक्नुस् र कहिले काही सकारात्मक जोखिम लिनुस्
नयाँ सीप वा ज्ञान हासिल गर्नुहोस्।
आफ्नो कम्फर्ट जोन बाहिर निस्कन प्रयास गर्नुहोस्।
सकारात्मक प्रयास वा जोखिमले सिर्जनशील बन्नमा सहयोग गर्दछ ।
सफलता प्राप्तिमा आत्मविश्वासको भूमिका अत्यन्तै महत्वपूर्ण छ। आत्मविश्वासले व्यक्ति मानसिक रूपमा बलियो बनाउँछ, कठिन परिस्थितिहरू सामना गर्न प्रेरित गर्छ, र लक्ष्य प्राप्त गर्न निरन्तरता दिन मद्दत गर्छ।
१. चुनौतीहरू सामना गर्न सक्ने साहस दिन्छ
आत्मविश्वासी व्यक्ति कठिनाइ आए पनि भाग्दैन, बरु समाधान खोज्ने प्रयास गर्छ।
असफलता वा असहज परिस्थितिलाई अवसरको रूपमा लिन्छ।
२. निर्णय क्षमतामा सुधार ल्याउँछ
जब व्यक्तिमा आत्मविश्वास हुन्छ, ऊ दोधारमा नपरी निर्णय लिन सक्षम हुन्छ।
निर्णय गर्दा डर कम हुन्छ र तार्किक ढंगले सोच्न सक्छ।
३. लक्ष्य निर्धारण र कार्यान्वयनमा प्रभावकारी बनाउँछ
आत्मविश्वास भएकाले ठूला लक्ष्यहरू निर्धारण गर्न डराउँदैन।
निरन्तर प्रयास गर्न प्रेरित हुन्छ र सजिलै हरेस खान्न।
४. सकारात्मक सोचको विकास गर्छ
आत्मविश्वास भएकाले हरसमय सफलताको आशा गर्छ र सकारात्मक ऊर्जामा बाँच्छ।
नकारात्मक विचारहरूलाई हावी हुन दिँदैन।
५. सञ्चार र नेतृत्व क्षमतामा सुधार ल्याउँछ
आत्मविश्वासी व्यक्तिले आफ्ना विचारहरू स्पष्ट रूपमा अभिव्यक्त गर्न सक्छ।
राम्रो नेतृत्व गर्ने क्षमता बढ्छ, जसले टीम वा समाजलाई प्रभाव पार्छ।
६. निरन्तर सुधार गर्न प्रेरित गर्छ
आत्मविश्वास भएकाले आफ्नो कमजोरी स्वीकार गर्छ र सुधारका लागि कदम चाल्छ।
सिक्ने चाहना बढ्छ, जसले सफलता नजिक ल्याउँछ।
७. दृढता कायम राख्न मद्दत गर्छ
जब व्यक्ति आत्मविश्वासी हुन्छ, ऊ साना असफलताले विचलित हुँदैन।
निरन्तरता (consistency) कायम राखेर सफलता प्राप्त गर्न सक्षम हुन्छ।
केही असफलतावाट किन नडराउने
१. असफलता सिकाइको उत्तम अवसर हो
असफलता भनेको अन्तिम गन्तव्य होइन, बरु सिकाइको एउटा चरण मात्र हो।
हरेक असफलताबाट केही नयाँ पाठ प्राप्त गर्न सकिन्छ।
२. सफलता असफलता पार गरेर मात्र प्राप्त हुन्छ
संसारका सफल व्यक्तिहरू पनि धेरै पटक असफल भएका छन्।
उदाहरणका लागि, थोमसएल्वा एडीसन हजारौं पटक असफल भएपछि मात्र बिजुली बल्ब आविष्कार गर्न सके।
३. असफलता आत्मबल र धैर्य बढाउने साधन हो
असफलताले मानिसलाई मानसिक रूपमा अझ मजबुत बनाउँछ।
धैर्य र आत्मविश्वास बढ्दै जान्छ।
४. असफलता वास्तविकतासँग जोड्ने माध्यम हो
असफलता स्वाभाविक कुरा हो, जसले आफ्नो कमजोरीहरू चिन्न सहयोग गर्छ।
यसले हामीलाई सुधार्ने अवसर दिन्छ।
५. असफलता र सफलता परस्पर पूरक विषयहरु हुन्
जब असफलताबाट सिकेर अघि बढिन्छ, सफलता अझ मीठो लाग्छ।
असफलताले कमजोरी सुधार गर्दै सफल बन्न प्रेरित गर्दछ ।
सफलताले असफल नहुनको लागि सचेत बनाउदै जान्छ ।
६. असफलता भनेको अन्त्य होइन, नयाँ सुरुवात हो
जब एउटा ढोका बन्द हुन्छ, अर्को अवसरको ढोका खुल्न सक्छ।
सही दृष्टिकोण राखेमा असफलता अन्त्य होइन, प्रगतिको सुरुवात मात्र हो।
७. जोखिम लिने हिम्मत बढाउँछ
असफलतालाई सहज रूपमा लिन सकियो भने, नयाँ चुनौतीहरू स्वीकार्ने हिम्मत आउँछ।
जसले ठूलो उपलब्धिहरू हासिल गर्न मद्दत गर्छ।
आफनो जस्तो कमजोरी अरुमा पनि हुन सक्दछ
आफुमा जुन कमजोरी छ, त्यो अरू धेरै मानिसमा पनि हुन सक्छ। वास्तवमा, हरेक व्यक्तिसँग आफ्नै केही कमजोरीहरू हुन्छन्। महत्वपूर्ण कुरा के हो भने, कमजोरीलाई स्वीकार्ने र त्यसलाई सुधार्ने प्रक्रियामा लाग्नुनै बुध्दिमानी हो।कमजोरी अरूमा पनि किन हुन सक्छ?
मानिस पूर्ण हुँदैन हरेक व्यक्तिसँग केही न केही कमी हुन्छ।
अनुभव र वातावरणले असर गर्छ । कसैको आत्मविश्वास कम हुन सक्छ, कसैलाई निर्णय लिन गाह्रो लाग्न सक्छ।सवैका परिवेशहरुमा केही न केही प्रतिकूलता र समस्या रहिरहेका हुन्छन्।
सबैले सिक्दै जाने हो – कुनै सीप वा क्षमता जन्मजात हुँदैन, अभ्यासले मात्र राम्रो बन्छ।
हामी एक्लै मात्र समस्यामा परेको वा कमजोरी भएको व्यक्ति होइन, सबैले आफ्ना कमजोरीहरूसँग संघर्ष गर्छन्। महत्वपूर्ण कुरा भनेको अघि बढ्ने सोच राख्नु हो!
के गर्ने?
कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने योजना बनाउने।
अरूको अनुभव र सिकाइबाट प्रेरणा लिने।
सानो-सानो सुधार गर्दै आत्मविश्वास बढाउने।
समय व्यवस्थापनमा कुशल बन्ने
समय सबैका लागि समान रूपमा उपलब्ध हुन्छ, तर यसको उपयोग कसरी गरिन्छ भन्ने कुराले नै सफलता र असफलता निर्धारण गर्छ। कुशल समय व्यवस्थापक बन्ने व्यक्ति आफ्नो लक्ष्य, प्राथमिकता र कार्यशैलीलाई व्यवस्थित ढंगले अघि बढाउन सक्षम हुन्छ।
समय व्यवस्थापनले व्यक्तिलाई समय अनुसार चल्न सिकाउंछ । समय व्यवस्थापक समय सारिणी अनुसार चल्ने भएकोले उ संग फूर्सदको समय पनि हुन्छ । जो व्यक्तिले समय प्रति न्याय गर्न सक्दैन उ व्यस्त होइन अस्तव्यस्त हुन्छ ।
समय न छिटो चल्छ न ढिलो। यसको आफ्नै गति हुन्छ। समय आफैमा अदृष्य छ यो आफ्नै रफ्तारमा निरन्तर चलिरहन्छ तर यसलाई आफ्नो वशमा राख्न सक्ने अर्थात समयको गतिसंग आफूलाई समायोजन गर्ने सामर्थ्यको लागि इच्छाशक्ति र स्व अनुशासनको आवश्यकता रहन्छ ।
समयको व्यवस्थापन गर्ने सन्दर्भमा कामहरुको प्राथमिकीकरण गरिन्छ।जसमा पहिलो महत्वपूर्ण र जरुरी, दोस्रो महत्वपूर्ण तर कम जरुरी, तेस्रो महत्वपूर्ण नभएको तर जरुरी र चौथौ महत्वपूर्ण नभएको र कम जरुरी भएको गरि प्राथमिकता निर्धारण गरि काम गरिन्छ।
सामान्यतया सात देखि आठ घण्टा सुत्ने गर्नु पर्दछ । विहान चाँडो उठ्ने वानीले सिर्जनात्मक शक्ति बढ्ने र धेरै कामहरु विहानमै सम्पन्न गर्न सकिन्छ । राती धेरै समय वस्ने तर विहान ढिलो उठ्ने मानिसका धेरै कामहरु समयमा भैरहेका हुदैनन्।अमृतवेलाको उठाइले हामीलाई धेरैमात्रामा सिर्जनात्मक बनाउंदछ ।
समय व्यवस्थापनका लागि कामहरुको प्राथमिकीकरण र प्राथमिकताका आधारमा कामहरू गर्दै जानुपर्दछ। तर काम र समयको सूचि त बनाउने तर, त्यसलाई व्यवहारमा नउतार्ने प्रवृत्ति धेरै देखिन्छ । यसको लागि स्व अनुशासन पहिलो आवश्यकता हो । समय व्यवस्थापनमा ठीक समयमा समय अनुसार कार्यसम्पादनको प्रतिबध्दता हुनु आवश्यक हुन्छ।कार्यालयमा गर्नु पर्ने महत्वपूर्ण कामहरु कहिले कुन समयमा गर्ने भन्ने स्पष्ट कार्ययोजना बनाउनु आवश्यक हुन्छ तदनुरुप वैठक व्यवस्थापन जनसम्पर्क व्यवस्थापन आदिमा सामञ्जस्य मिलाउनु आवश्यक हुन्छ ।
अहिले इमेल र सामाजिक सञ्जालका अन्य माध्यमवाट सूचनाको प्रवाहवाट समय व्यवस्थापन गर्न सकिन्छ । मनोरञ्जनका लागि प्रयोग गर्ने सामाजिक सञ्जालको लागि भने फुर्सदको समय मिलाउनु पर्दछ ।परिवार, समाज, कार्यालय, साथी, संगाती संगको सम्पर्क र समय व्यवस्थापन कौशलता पनि हुनु आवश्यक हुन्छ ।
अहिले समयमा बैठक वा कार्यक्रम शुरु नहुने रोग नै वनेको छ यसको लागि समयको परिपालना गर्ने व्यक्तिहरु अरुको कुराइमा बस्नु पर्ने बाध्यता छ । यसमा सुधार हुनु आवश्यक छ ।नआएकालाई कुरेर समय फाल्ने होइन आएकाहरुलाई सम्मान गर्दै समयमै कार्यक्रम शुरु गर्नु पर्दछ ।धेरै समय पढेर कम कुरा स्मृतिमा राख्नुको साटो पढेजति सम्झन सकिने किसिमबाट पढ्ने गर्नु पर्दछ । पढ्दा आफूलाई सजिलो हुने गरी नोट तयार गर्ने गर्नु पर्दछ । नोटको तयारीले लेखनकलालाई पनि सहयोग गरिरहेको हुन्छ । एक विषय पढिसकेपछि अर्को विषय पढ्दा ती दुई विषयको अन्तरसम्बन्ध पहिचान गर्ने गर्नु पर्दछ । विषयहरुको एक अर्कासंगको अन्तरसम्बन्ध कायम गर्दा सवै विषयहरु सम्झन सकिन्छ र लेखाइ राम्रो तथा प्रभावकारी हुन्छ । पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने क्षमताको विकास गर्ने । यसले समय व्यवस्थापन गर्न र लेखाइ राम्रो तथा प्रभावकारी बनाउन सहयोग गर्दछ । सम्झन कठीन कुराहरुलाई सूत्र, अक्षर वा अंकको आधारमा सम्झने अथवा आफूलाई सजिलो हुने उपाय अवलम्बन गर्ने गर्नु पर्दछ।
अधिकांश परीक्षार्थीहरुमा समय व्यवस्थापनको समस्या देखिने गर्दछ । अधिकांश परीक्षार्थीहरुले मलाइ त समय नै पुगेन भन्ने गरर्को देखिन्छ । समय भित्र आफ्नो लेखाइलाई सीमित गर्न सक्नु नै असल लेखन कला वा क्षमता हो । यो कौशलताको बुद्धिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, बढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना बनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ । प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरको लम्बाइ व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुति आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा आफूलाई समस्या आउन नदिन परीक्षापूर्व स्वलेखन अभ्यास गर्नु राम्रो हुन्छ । कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ । अंकभार अनुरुपको समय व्यवस्थापन कौशलता सफलताको आधार हो ।
बैठकमा आफ्ना विचार प्रस्तुत गर्दा होस वा कुनै प्रवचन दिदन होस वा कुनै प्रशिक्षण दिदा होस आफूले प्राप्त गरेको समय कति हो त्यति अवधि भित्रमा आफ्नो विचार प्रवचन वा प्रस्तुति सक्नु पर्दछ । धेरै व्यक्तिहरुमा कुनै पनि काममा समयमा नपुग्ने प्रवृत्ति देखिन्छ । पाँच मिनेटको सिध्दान्तलाई अपनाउने हो भने यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।यसको लागि दिएको समय भन्दा पाँच मिनेट अगावै पुग्ने वानीको विकास गर्नु पर्दछ ।
एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्दछ। समयको महत्व नबुझ्ने र समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कार्यालयको मात्र होइन स्व व्यवस्थापक बन्न सक्दैन । स्व अनुशासन र प्रतिबध्दता सहितको व्यवहारिक कार्ययोजनाले कुशल समय व्यवस्थापक बन्नमा सहयोग गर्दछ ।
सफलता यात्रा हो, गन्तव्य होइन
सफलता भनेको एक यात्रा हो, गन्तव्य होइन। यसको मतलब सफलता भनेको एउटा अन्तिम बिन्दु होइन, बरु यो एक निरन्तर प्रक्रिया हो जसमा हामी सिकिरहन्छौं, बढिरहन्छौं, र आफूलाई विकास गर्दै जान्छौं। यी कदमहरू
को अवलम्बनले तपाईं सफलता प्राप्त गर्न सक्नुहुन्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा वरिष्ठ गीतकार हुन्