कम्युनिष्ट ‘धुलो बनाउने’ हरूलाई ओलीको चुनौती, ‘षड्यन्त्र चकनाचुर पार्छौं’
वि.सं.२०८२ जेठ १२ सोमवार
shares
ललितपुर। प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई स्पष्ट बहुमतमा पुर्याउने “मिशन २०८४” मा जुट्न जनप्रतिनिधिहरूलाई आह्वान गरेका छन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले जनप्रतिनिधिहरूलाई जनतासँगको सम्बन्ध अझ बलियो बनाउन, पार्टीको नीति–निर्देशनअनुसार चल्न र विकास तथा सुशासनमा केन्द्रित हुन निर्देशन दिए।
प्रधानमन्त्री ओलीले निर्वाचित भएपछि पार्टीसँगको सम्बन्ध काट्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै भने, “निर्वाचनपछि पार्टीलाई चटक्क बिर्सनु हुँदैन, अर्को निर्वाचन पनि आउँछ।”
उनले एमालेलाई ‘देशको नायक पार्टी’ भन्दै यसलाई कमजोर पार्न विभिन्न देशी–विदेशी षड्यन्त्र भएको आरोप लगाए। ओलीले नेकपा माओवादी केन्द्र, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूलाई एमालेविरुद्धको षड्यन्त्रमा संलग्न भएको आरोपसमेत लगाए।
“कम्बोडियामा ३२ अर्ब लगानी गरेको भनेर झूटो प्रचार गर्ने प्रचण्ड, र त्यसको पछि लाग्ने माधव र झलनाथ जस्ता नेतृत्वहरूले पार्टी कब्जा गर्न खोजे, तर हामीले परनिर्भर नेतृत्व विस्थापन गरी पार्टीलाई सही दिशामा अघि बढाएका छौं”, उनले भने।
प्रधानमन्त्री ओलीले वर्तमान प्रतिगामी गतिविधिहरूविरुद्ध सचेत रहन र जनतालाई भ्रममा नपार्न आग्रह गर्दै राजतन्त्र फर्कन नदिने दृढता व्यक्त गरे।
त्यस्तै, उनले भ्रष्टाचार विरोध र सहकारी पीडितका मुद्दामा भ्रम फैलाएर जनतालाई अन्योलमा पार्न खोजिएको भन्दै त्यसप्रति पनि सचेत रहन वडाध्यक्षहरूलाई निर्देशन दिए।
ओलीले २०६४ सालमा माओवादीको आतंककारी रणनीतिका कारण आफूहरूले निर्वाचनमा पराजय भोग्नुपरेको स्मरण गर्दै अब त्यस्तो परिणाम दोहोरिन नसक्ने दाबी गरे।
प्रधानमन्त्री ओलीको भाषणले नेकपा एमालेको आगामी निर्वाचन तयारी र पार्टीभित्र तथा बाहिर देखिएका चुनौतीहरूको सामना गर्ने रणनीति स्पष्ट गरेको छ। अध्यक्ष ओलीले पार्टी अनुशासन, जनसम्पर्क, र गठबन्धन राजनीति सन्तुलनमा रहन वडाध्यक्षहरूलाई प्रेरित गरेका छन्।




























