विराटनगर विमानस्थलमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने प्रयास, दुई नेविसंघ कार्यकर्ता पक्राउ
वि.सं.२०८२ मंसिर ७ आइतवार
shares
विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान विराटनगर विमानस्थल परिसरमा रङ (रातो मसी) छ्याप्ने प्रयास भएको भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ।
नेविसंघका कार्यकर्ता अर्पित कुवँर र सञ्जोग गौतमले गाडीमा रङ छ्याप्दै आक्रमण प्रयास गरेका थिए । उहाँले उक्त घटना लोकतान्त्रिक मूल्य-मान्यताविरुद्ध रहेको टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत घटना सार्वजनिक गर्दै लेख्नुभएको छ- ‘विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतमबाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ, लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ।’
उहाँले शान्तिपूर्ण विरोध, सभा–जुलुस र देशभर स्वतन्त्र आवत–जावत गर्ने अधिकार सर्वसाधारणको नैसर्गिक हक भएको बताउँदै यस्तो किसिमको आक्रमणकारी व्यवहार कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ । बस्नेतले घटनापछि सुरक्षा निकायको तत्कालीन सक्रियताप्रति धन्यवाद व्यक्त गर्नु भएको छ । ‘प्रहरीको तत्परताप्रति धन्यवाद, हिंसा होइन, विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ’, उहाँले लेख्नु भएको छ ।
उहाँका अनुसार यस्तो किसिमको अराजक गतिविधिले राजनीतिक प्रतिस्पर्धालाई मात्र गम्भीर रूपमा असर पार्ने नभई युवाहरूमा गलत सन्देश पनि प्रवाह हुन्छ। ‘अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन,’ उहाँले स्ट्याटसमा उल्लेख गर्नुभएको छ।
यसैबिच, आज कोशी प्रदेशमा आयोजित युवा संघ नेपालको जागरण सभा तोकिएकै समयमै सुरु भएको छ। बाधा–अड्चनका बाबजुद कार्यक्रम उत्साहजनक रूपमा प्रारम्भ भएको र सहभागी युवाहरूको ठुलो उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो। ‘ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ,’ बस्नेतले लेख्नुभएको छ।
विराटनगर विमानस्थलमा भएको रङ छ्याप्ने घटनामा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
































