काँकरभिट्टाबाट आयात ७.५७ प्रतिशतले बढ्यो, निर्यात घट्दै

1.1K
shares

झापा । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो ।

 

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।

 

यता, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाकाबाट हुने निर्यात भने घटेको छ । मङ्सिर मसान्तसम्म १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरका वस्तु विभिन्न मुलुक निर्यात भएका छन् । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएकामा यस वर्ष ६.६५ प्रतिशतले गिरावट आएको हो ।

 

काँकरभिट्टा नाकाबाट निर्यात हुने प्रमुख वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो र फलामे पाता रहेका छन् । त्यस्तै आयाततर्फ पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, सवारी साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गार सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता–चप्पल र विभिन्न खनिजजन्य वस्तु मुख्य रूपमा भित्रिने गरेका छन्।

 

भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको मङ्सिर मसान्तसम्म आयात–निर्यात कारोबारबाट कुल ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

civil hospital
Hams Hospitals