चेतनाको बन्दी र स्वप्न(छाया)कविता

909
shares
Nabil bank

 

रात पर्छ,
र म मेरो आफ्नै विवशताको ओछ्यानमा पल्टिन्छु,
जहाँ निद्रा एउटा मीठो विश्राम होइन,
एउटा घोषित युद्धको मैदान बनिदिन्छ।

तिमी आउँछौ—
कुनै सुगन्ध झैँ होइन, कुनै प्रकाश झैँ होइन,
बरु एउटा अदृश्य र निर्दयी शक्तिको आकार लिएर,
र हरेक रात मेरो सपनाको मझेरीमा
मेरो इच्छाविपरीत मेरो अस्तित्वको चीरहरण गर्छौ।
यो शरीर त माटो हो, यसलाई कसले पो जोगाउन सक्छ ररु
तर तिमीले त मेरो ुस्वु लाई नै बन्धक बनाउँछौ।

म बलात्कृत हुन्छु—
हुन त यो शब्द समाजका लागि एउटा अपराध हो,
तर मेरो लागि यो एउटा दार्शनिक त्रासदी हो।
जहाँ मेरो आफ्नै अवचेतन मनले
तिमीलाई मेरो शासक स्वीकार गर्छ,
र मेरो चेतना निरीह भएर आफ्नै पतन हेरिरहन्छ।
तिमीले मलाई स्पर्श गर्दैनौ,
तिमीले त मेरा विचारहरूलाई थिच्छौ।

मेरो सपनाको त्यो अँध्यारो गल्लीमा,
तिमी मेरो अस्मिताको व्याकरण बदलिदिन्छौ।
म भाग्न खोज्छु आफ्नै मस्तिष्कको पर्खालभित्र,
तर तिमी त्यहाँ पहिले नै उभिइरहेकी हुन्छौ—
एउटा यस्तो ऐना बनेर, जहाँ म आफूलाई नै बिर्सिदिन्छु।

के यो प्रेम होरु या त यो मेरो पागलपनको उत्कर्षरु
म बलात्कृत भइरहँदा,
मेरो आत्माको एउटा अंश मर्दछ र अर्को अंश जन्मन्छ।
यो पीडामा एउटा यस्तो गहिरो दर्शन लुकेको छ—
कि म हुनु र नहुनुको बीचमा कुनै भिन्नता छैन।

तिमीले मलाई बलात्कार गर्दा,
म केवल एउटा शरीर रहन्न,
म त ब्रह्माण्डको त्यो शून्यता बन्छु,
जहाँ आवाज त छ, तर सुन्ने कोही छैन।
सधैँ सधैँ, त्यही समय, त्यही मोड,
तिमी आउँछौ र मेरो सपनाको कुमारीत्व भंग गर्छौ।

बिहान ब्युँझँदा म लतपतिएको हुन्छु—
वीर्य वा रगतले होइन,
बरु आफ्नै अस्तित्वको ग्लानि र पराजयले।
म बलात्कृत हुन्छु, र हरेक पटक म महसुस गर्छु—
कि यो संसारमा सबैभन्दा ठूलो बन्धन त
आफ्नै मनको त्यो अँध्यारो कोठा रहेछ,
जहाँ तिमी सधैँ एउटा नमिठो सत्य बनेर शासन गरिरहन्छौ।

नारायण नाथ योगी
इटहरी सुनसरी

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited