हाइकुहरू
वि.सं.२०८३ भदौ १४ आइतवार
shares
१.
हिमाल मौन छ
मान्छे शिखर खोजिरहेछ
अहङ्कार झर्छ।
२.
नदी बगिरहेछ
किनाराले केही बोल्दैन
समय बग्छ।
३.
हिउँको सेतोपन
मनको मैलो पखाल्दै
मौन प्रार्थना।
४.
बादलको छाया
पहाडले बोकेर हिँड्छ
धैर्यको पाठ।
५.
चट्टानको काख
सानो बिरुवा मुस्कायो
जीवन अजेय।
६.
हावा बोल्दैन
पातहरू मात्र हल्लिन्छन्
प्रकृति बोल्छ।
७.
हिमाल उभिएको
न विजय, न पराजय
केवल अस्तित्व।
८.
खोलाको कलकल
मनभित्रको कोलाहल
बिस्तारै थामियो।
९.
वनको हरियाली
मानिसको श्वास बनेर
धरती हाँस्छ।
१०.
हिमपहिरो आयो
क्रोध होइन प्रकृतिको
आफ्नै लय हो।
११.
उकालो बाटो
शरीर थाक्दै जाँदा
मन जाग्यो।
१२.
सहर छुट्यो
आफ्नै आवाज सुनियो
पहाड चढ्दा।
१३.
साँघुरो बाटो
खुल्दै गयो अन्तरमन
यात्रा भित्रियो।
१४.
पाइलापिच्छे
अहङ्कार झर्दै गयो
हिमाल चढ्दै।
१५.
बाटो भत्कियो
पहाड भने उस्तै रह्यो
मान्छे सम्झियो।
१६.
थाकेको शरीर
हिमाल हेर्दै मुस्कायो
सीमा चिनियो।
१७.
चियाको तातोपन
बाहिर हिमपात थियो
भित्र आत्मा।
१८.
अपरिचित बाटो
परिचित भयो आफैँसँग
एकान्त क्षण।
१९.
फर्कने बाटो
उही थियो तर दृष्टि
पूर्णतः नयाँ।
२०.
यात्रा सकिएन
पाइला रोकिए पनि
मन हिँडिरह्यो।
२१.
आकाश असीम
मानिस सानो भए पनि
चेतना विशाल।
२२.
ईशावास्य भाव
हिमाल, नदी, वनमा
एउटै स्पन्दन।
२३.
बुद्धको अनित्य
हिउँ पग्लँदै भन्छ
सबै क्षणिक।
२४.
मौन हिमालले
अहङ्कारलाई सोध्यो
तिमी को हौ?
२५.
प्रकृति गुरु हो
पात झर्दै सिकाउँछ
छोड्न सिक।
२६.
डर लाग्यो जब
सम्मान जन्मियो
हिमालअघि।
२७.
लोभको जंगल
काट्दै जाँदा मानिस
आफैँ हरायो।
२८.
विज्ञानको हात
दर्शनको दिशा खोज्छ
भविष्य उभिन्छ।
२९.
पृथ्वी सराय
हामी क्षणिक यात्री
के छोड्छौँ यहाँ?
३०.
हिमालबाट फर्केँ
शिखरभन्दा माथि केही
विनम्रता थियो।





























