ईश्वर पोखरेलले जितेर आएपछि टोल नै उज्यालो भएको छ
वि.सं.२०७९ कात्तिक २० आइतवार
shares
काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन्। यसअघि पनि काठमाडौं क्षेत्र ५ कै प्रतिनिधि रहेका पोखरेल फेरि पनि प्रतिनिधि बनेर आउनुपर्ने अधिंकाशको इच्छा छ।
पोखरेलका प्रमुख प्रतिद्वन्दी बनेर आएका गठबन्धनका उम्मेदवार स्थानीय होइनन्। सोहीकारण पनि काठमाडौं क्षेत्र नम्बर ५ मै थातथलो भएका पोखरेलको विकल्प मतदाताले देखेका छैनन्। यस क्षेत्रका जनता परिवेश चिनेको नेता आवश्यक ठान्छन्, जसका लागि पोखरेल नै उपयुक्त छन्।
यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन्। ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ। अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ’– उनले भने।
पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरु बताउँछन्। बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ।
‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ। विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरुमा साँझ परेपछि महिलाहरुलाई एक्लै हिँड्न डर लाग्नेस्थिति थियो। तर अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सीसी क्यामेरा राखिएको छ। जसले गर्दा निर्धक्क भएर रातको १२ बजेपनि हिँडन सक्ने अवस्था बनेको छ’- अर्का एक स्थानीयले भने।


























