Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ : व्यवसाय विस्तारसँगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

105
shares

गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ।

सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोगलगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रम पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले त्यसअनुसार आफूलाई तयार पार्दै व्यवसाय प्रवद्र्धन गर्नु चुनौतीपूर्ण रहेको बताइन्।

कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रशिक्षणमा कम्पनी निरन्तर अग्रसर रहेको बताउँदै उनले पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा समेत ठूलो योगदान पु¥याउन सक्ने बताइन्। कम्पनीले एआईसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्दै डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।

अध्यक्ष सिंहले कम्पनीले आफ्ना कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताइन्। कर्मचारीहरूको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वाससमेत उनले व्यक्त गरिन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य दिँदै नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ यात्रा, नयाँ संकल्प र नयाँ अवसरको सुरुवात भएको बताए। नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पु¥याउने संकल्प गर्ने अवसर भएको उनको भनाइ थियो।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष चनाखो र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए।

यसैगरी कर्मचारीलाई प्रविधिमा अब्बल बनाउने उद्देश्यले प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विशेष प्रशिक्षण दिएका थिए। उनले एआईका विभिन्न टुल्सबारे जानकारी दिँदै एआईको प्रयोगमार्फत बीमा व्यवसायलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा मार्केटिङ गर्ने उपायबारे प्रशिक्षण दिएका थिए।

प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रशिक्षण दिएका थिए। उनले विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गर्दै बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे सहभागीलाई जानकारी गराएका थिए।

उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी अधिकतम प्रथम बीमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन तथा अधिकतम बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान गरिएको थियो।

चेयरपर्सन क्लब योजना र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल उत्कृष्ट एक–एक शाखा कार्यालयलाई समेत कम्पनीकी अध्यक्ष सिंहले सम्मान तथा पुरस्कार प्रदान गरिन्।

सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका खेल सञ्चालन गरिएको थियो। विभिन्न खेल विधामा उत्कृष्ट हुने कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गरेका थिए।

कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

civil hospital
Hams Hospitals