संकल्प यात्राले एमाले प्रतिको जनविश्वास जाग्यो : भानुभक्त ढकाल 

921
shares
Nabil bank

 

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले नेकपा एमालेकाे सङ्कल्प यात्राले व्यवस्था विरोधीको मुखमा बुझो लगाएको बताउनुभएको छ।

 

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई दैलेखमा सम्बोधन गर्दै ढकालले नेपालमा उत्पन्न भएका धेरै विकारयुक्त मनोभावनालाई सो यात्राले चिरेको बताउनुभयो । ‘नेपालमा धेरै उब्जनी भएका विकारयुक्त मनोभावनालाई हाम्रो यात्राले चिरेको छ’, ढकालले भन्नुभयो ।

 

राजतन्त्र फर्काउँछौँ भनेर लागेकालाई एमालेको यात्राले गणतन्त्र बलियो रहेछ भन्ने पाठ पढाएको ढकालले बत्ताउनुभयो । सडकमा तथानाम बोल्दै हिँड्ने, पुराना दलकाे काम छैन भन्ने मानिसहरू पनि एमालेको संकल्प यात्रा पछि दुलो पसेका ढकालले बताउनुभयो ।

 

यात्राको क्रममा दिउँसो दुई बजे बोलाएको सभामा सम्बोधन गर्न पार्टी अध्यक्ष राति १० बजे पुग्दा पनि नागरिकहरू अविचलित भएर बसेको उहाँले सुनाउनुभयो । ‘एमाले प्रतिको जनविश्वास त्यसले प्रकट गर्‍यो, जनस्तरमा एमाले कमजोर भयो, एमाले सकियो कि भन्ने कुरालाई पनि त्यसले खण्डित गरिदिएको छ’,उहाँले भन्नुभयो ।

 

नेकपा एमालेको एक मात्र लक्ष समाजवादको आधार निर्माण गर्ने भएको ढकालले बत्ताउनुभयो । केपी ओलीको नेतृत्व र जनताको बहुदलीय जनवादको प्रकाशमा नेकपा एमाले अघि बढेको प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनुपर्दछ’, उहाँले भन्नुभयो ।

 

ढकालले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पछि आफूहरूले देश बुझ्न ढिला गरेको अनुभूत भएको बताउनुभयो । तर अहिलेको पुस्ताले सुरुदेखि नै देश बुझ्ने मौका पाएको उल्लेख गर्नुभयो । यसले एमालेलाई अझ बलियो बनाउन मद्दत गरेको ढकालको भनाइ छ ।

 

एमाले विरुद्ध गरेको गठबन्धनको विरुद्ध एमाले लडिरहेको ढकालले बताउनुभयो । यो लडाइँलाई अझ प्रभावकारी बनाउन संगठनलाई चलायमान बनाउन आवश्यक रहेको ढकालको विश्लेषण छ ।

 

ढकालले आफू काम नगर्ने र अरूलाई दोष दिने प्रवृत्ति त्याग्नु पर्ने बताउनुभयो । उहाँले अरूलाई दोष दिएर उम्कने व्यक्तिले संगठनमा नेतृत्व गर्न नसक्ने बताउनुभयो । यस्तो कामले अनावश्यक अन्तर्द्वन्द्व मात्र बढाउने ढकालले प्रष्ट पार्नुभयो ।

 

ढकालले सत्य कुरा तितो लागे पनि ढिलो थाहा पाउनु भन्दा समयमा नै थाहा पाउनु राम्रो हुने बताउनुभयो । पार्टी कमिटी केन्द्रको निर्देशन भन्दा बाहिर गएर चल्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला निर्वाचित नगरी गरिएको त्रुटिलाई सच्याउन केन्द्रले दिएको निर्देशन कार्यान्वयन हुने र हुनै पर्ने उहाँले बताउनुभयो ।

 

हरेक कुरामा तलका कार्यकर्तालाई प्रयोग गरेर म अघि बढ्छु भन्ने सोच कर्णालीका बिचौलिया नेताहरूले राख्छन् त्यतिबेलासम्म कर्णालीमा पार्टी सुदृढ नहुने उहाँले प्रष्ट पार्नुभयो । पार्टी भित्रै बसेर पार्टीको निर्णय नमान्ने अधिकार कसैलाई नरहेको उहाँले प्रष्ट शब्दमा बताउनुभयो । ‘पार्टी र संगठनमा बसेर म त्यो गर्दिन भन्न पाइँदैन’, उहाँले भन्नुभयो ।

 

अब पार्टीका नेताहरूको आचरण जनताले पत्याउने र जनवादी खालका हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समाजका सीमा भित्र सबैले बस्नु पर्ने उहाँले बताउनुभयो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited