कौटिल्यकालीन भन्सार प्रशासनको परिवेशमा नेपालको भन्सार प्रशासन
वि.सं.२०८१ पुस २४ बुधवार
shares
कौटिल्यको अर्थशास्त्र प्राचीन विश्वको राजनैतिक विज्ञानका विविध आयामहरुमा एउटा विशिष्ट तथा महत्वपूर्ण ग्रन्थ हो । यो पुस्तक केवल अर्थशास्त्रसंग मात्र सम्बन्धित नभै राजनीति, शासनकला, कूटनीति, अर्थनीति, दण्डनीति , धर्मशास्त्र, समाजशास्त्र, न्याशास्त्र र युध्दशास्त्र संग पनि समान रुपले सम्बन्धित छ । कौटिल्यको अर्थशास्त्र तत्कालीन सन्दर्भमा लेखिएका पुस्तक भएपनि उनले अगाडी सारेका विभिन्न शासकीय, राजनैतिक, प्रशासनिक र आर्थिक सामाजिक जनजीवनका कतिपय आयामहरु वर्तमान सन्दर्भमा पनि उत्तिकै सामयिक छन् फरक यत्ति हो ती अवधारणाहरुमा समय, प्रविधि र शैक्षिक परिवेशमा आएका परिवर्तनले व्यवहारिक पक्षमा केही परिवर्तन त पक्कै ल्याए तथापि आज भन्दा सयौं वर्ष अगाडी तत्कालीन परिवेशको सन्दर्भमा प्रयोगमा ल्याईएका विषहरुको सान्दर्भिकता अहिले पनि रहेको छ ।
कर प्रशासन राज्य संचालनको लागि आधारभूत तत्व हो । प्राचीनकाल देखिनै कर सरकारको लागि श्रोत परिचालनको महत्वपूर्ण अंग वन्दै आएको छ । कर प्रशासनमा सीमा राजस्व प्रशासन (भन्सार राजस्व )को महत्वपूर्ण भूमिका रहेको हुन्छ । भन्सार राजस्व प्रशासन संचालनका लागि उपयुक्त कानूनी व्यवस्था, करका दर, प्रकार, संकलन प्रक्रिया, कर कानून परिपालनाका विधी र कानूनको उल्लंघनमा दण्ड तथा जरिवानाको व्यवस्था, प्रक्रियागत र कार्यगत सरलता तथा सहजताका विधिहरु हुनु आवश्यक हुन्छ । कौटिल्यले आफ्नो पुस्तक अर्थशास्त्र को शुल्कव्यवहार ( करको नियम) र शुल्काध्यक्षः (कर अधिकारी ) खण्डहरुमा यसको विभिन्न आयामबाट चर्चा गरेका छन् । आर्थिक गतिविधि को प्रभावकारिता अझ त्यसमाथि करको प्रभावकारिताले राज्य व्यवस्था प्रभावकारी हुने विचार कौटिल्यको रहेको छ । उनका अनुसार देश, जातिको आचार अनुसार नयां एवं पुराना सवै खालका पदार्थमा करको व्यवस्था गर्नु पर्दछ र जतावाट नोक्सान हुने जस्तो देखिन्छ त्यसलाई दण्डको व्यवस्था गर्नु पर्दछ (अतो नवपुराणानां देशजातिचरित्रतः । पण्यानां स्थापयेच्छुल्कमत्यं चाकारतः ।।) कर असुली बाह्य, आभ्यान्तर र आतिथ्य गरी तीन किसिमको हुन्छ तथा निष्काम्य र प्रवेश्य गरी शुल्क दुई किसिमको हुन्छ ( शुल्कव्यवहारो बाह्यामाभ्यन्तरं चातिथ्यं निष्काम्यं प्रवेश्यञ्च शुल्कम् ) ।
सीमा राजस्व प्रशासन संचालनार्थ संस्थागत संरचनाको सन्दर्भमा कौटिल्य भन्छन् शुल्कका अध्यक्षले शुल्कशालाको निर्माण गराउनुपर्दछ। त्यसका पूर्व र उत्तरतिर मूल ढोकाका छेउमा शुल्कशाला हो भन्ने चिनारीका लागि झण्डा राख्नुपर्दछ (शुल्काध्यक्षः शुल्कशालां ध्वजञ्च प्राड.मुखं उदड.मुखं वा महमव्दाराभ्याशे निवेशयत्)। शुल्कशालामा चारपाँच जना कर्मचारीहरु खटाउनुपर्दछ । तिनीहरुले माल ओसारपसार गर्ने व्यापारीहरुको नाम, जाति, ठेगाना, मालको विवरण र तिनमा कहाँकहाँ छाप लगाईएको छ भन्ने विवरण लेख्नुपर्दछ(शुल्कादायिनश्चत्वारः पञ्च वा सार्थोपयातान् वणिजो लिखेयुः के कुतस्त्याः कियत्पण्या क्व चाभिज्ञानमुद्रा वा कृतेति )।
आफ्नो देशमा आयात हुने सामग्रीहरुमा लाग्ने करका दरहरु पारदर्शी हुनुपर्ने र पूर्वनिर्धारित हुनुपर्दछ । कौटिल्यकालीन युगमा विभिन्न आयातीत वस्तुहरुमा विभिन्न करहरुको व्यवस्था भएको पाईन्छ । आयातीत वस्तुहरुमा मा पाँच भागको एक भाग कर (प्रवेश्यानां मूल्यपञ्चभागः), फूल, फल, साग, मूल, शकरकन्द, धान्य,सुकेको माछा मासु आदि वस्तुहरुमा छ भागको एक भाग कर (पुष्पफलशाकमूलकन्दवल्लिक्यबीजशुष्कमत्स्यमांसानां षडभागं गृह्रीयात् )लाग्ने गरेको पाइन्छ । त्यस्तै खस्रा वा मसिना रेशमी कपडा, किमखाव, सुतीको कपडा , कवच, हरताल, मैनसिल, हिड.गुल, फलाम, गेरु, चन्दन, अगर, पिप्ला, कटुक, नसालु वियाँवाट बनेको वस्तु मदिरा, हात्तीका दाँतले बनेको वस्तु , रेशमी धागो, बिछौना, ओढ्ने, अन्य रेशमी वस्त्र, भेडाबाख्राका ऊनले बनेको कपडा आदि वस्तुमा तिनै वस्तुका मोलको पन्ध्र भागको एक भाग (क्षौमदुकूलक्रिमितानकड.्कटहरितालमनःशिलाहिड.गुलुकलोहवर्णधातुनां चन्दनागुरुकटुकविण्वावराणंसुरान्दताजिनक्षौमदुकूलनिकरास्तरणप्रावरणक्रिमिजातनामजैलकस्य दशभागः पञ्चदशभागो वा ) ,साधारण कपडा, चारखुट्टे, दुईखुट्टे, धागो, कपास, औषधि, काठदाउरा, वांस, बोक्रा, छाला, माटाका भाँडाकुँडा, अन्न, घिउ, तेल, नुन, मदिरा र पकाइएको अन्नमा मूल्यको बीस वा पच्चीसौँ भागको एक भाग (वस्त्रचतुष्पदव्दिपदसूत्रकार्पासगन्धभैषज्यकाष्ठवेणुवल्कचर्ममृद्भाण्डानां धान्यस्नेहक्षारलवणमद्यपक्वान्नादीनाञ्च विंशतिभागः पञ्चविंशति भागो वा) करको व्यवस्था भएको देखिन्छ ।यस्ता करहरु तोकिएको निश्चित दरमा संलन गरिननपर्ने मान्यता कौटिल्यको रहेको छ । उनी भन्छन् व्दारपालले नगरका प्रमुखव्दारवाट आवतजावत हुने वस्तुको पाँचौं भाग भनी तोकिएको कर असुल गर्नुपर्दछ । सवैखालका करलाई देशको हित हुने किसिमले निश्चित गरिएको हुनुपर्दछ (व्दारदेयं शुल्कपञ्चभागः आनुग्राहिकं वा यथादेशोपकारं स्थापयेत् )।
कौटिल्यकालीन सीमा राजस्व प्रशासन स्वयं घोषणा प्रणालीमा आधारित देखिन्छ । व्यापारीले आफ्नो सामानको मूल्य घोषणा स्वयं गर्ने र त्यस घोषणा लाई वस्तुको मूल्य मानि तोकिए बमोजिमको कर संकलन गर्ने वर्तमान परिपाटी त्यसै वखतको प्रयासको थप निरन्तरता हो । उनी भन्छन् शुल्कशालाका झण्डामुनि बसेर व्यापारीहरुले आआफ्ना मालको नाम, मूल्य र तौल आदिको बोलकबोल गर्नुपर्दछ । तीनपटक कराएर किन्नेलाई नै माल दिनुपर्दछ । किन्नेहरुमा होड चल्यो भने मालको दाम बढाएर बोलकबोल गर्नुपर्दछ र निर्धारित आम्दानीभन्दा बढी आएको मूल्य र कर राजकीय कोषमा जम्मा गराउनुपर्दछ(ध्वजमूलोपस्थितस्य प्रमाणमधं वैदेहकाः पण्यस्य ब्रयुः एतत्प्रमाणेनार्घेण पण्यमिदं कः क्रेतेति । त्रिरुद्घोष्तिमर्थिभ्यो दद्यात् । क्रेतृसंघर्षे मूल्यवृध्दिः । सशुल्का कोशं गच्छेत् )। तर यसरी गरिने मूल्य, परिमाण , गुणस्तरको घोषणा गलत भएमा त्यस्ता व्यापारीहरु दण्डित हुनुपर्ने उनको मान्यता थियो । यस्ता दण्डहरुमा धेरै कर तिर्नु पर्ने डरले माल र मोल घटाउने व्यापारीको उसले बताएको भन्दा बढी भएको माल राजाले लिनुपर्छ वा व्यापारीसँग आठ गुना कर असुल्नुपर्ने (शुल्कभयात्पण्यप्रमाणं मूल्यं वा हीनं ब्रुवस्तदतिरिक्तं राजा हरेत् । शुल्कमष्टगुणं वा दद्यात्) ,असल माल राखिने पेटीमा कमसल माल राखेर मोल घटाउने र असल माल तल लुकाएर माथिबाट कमसल माल राख्ने व्यापारीलाई पनि उसै किसिमको कर लिनुपर्ने(तदेव निविष्टपण्यस्य भाण्डस्य हीन प्रतिवर्णकेनार्धापकर्षणे सारभाण्डस्य फल्गुभाण्डेन प्रतिच्छादने च कुर्यात् )
प्रतिस्पर्धाका कारण जुन ग्राहकले कुनै वस्तुको मूल्य बढाउँछ भने त्यो बढेको मूल्य राजाले लिनुपर्ने अथवा मूल्य बढाउने क्रेतासँग दोब्बर मूल्य कर लिनुपर्ने (प्रतिक्रेतृभयाव्दा पणमूल्यादुपरी मूल्यं वर्धयतो मूल्यवृध्दिं राजा हरेत् । व्दिगुणं वा शुल्कं कुर्यात्)जस्ता प्राबधानहरु कौटिल्यले अगाडी सारेका थिए ।
सीमा राजस्व प्रशासन संचालन गर्ने निकाय देशको सीमामा रहने र सीमाको तोकिएको क्षेत्र वा लुकिछिपी करको ध्वजा नाघेर जाने वा छल्नेलाई निश्चित गरिएको भन्दा आठ गुना बढी शुल्क लगाउनुपर्ने सोझो बाटो छोडेर चोरबाटो जानेलाई पनि त्यस्तै किसिमले उचित निगरानी गर्नुपर्ने (ध्वजमूलमतिक्रान्तानां चाकृतशुल्कानां शुल्कादष्टगुणो दण्डः पथिकोत्पथिकास्तव्दिद्युः) कौटिल्यको धारणा रहेको पाईन्छ ।
कौटिल्यको कर प्रशासनको अर्को पाटो सदाचारिता संग सम्बन्धित छ । उनी भन्छन् अध्यक्षले मित्रता वा घुसका कारण कसैको कर छोडिदियो भने आठ गुना दण्ड अध्यक्षलाई गराउनुपर्दछ(तदेवाष्टगुणमध्यक्षस्य छादयतः )।
व्यापार सहजीकरण र उपभोक्ता संरक्षणका दृष्टिले पनि कौटिल्यको सीमा राजस्व प्रशासन सामयिक रहेको थियो । वस्तुको नापजोख , तौल , गन्ती आदि छलकपट हुन नपाउने गरी राम्रोसँग गर्नुपर्ने , कोईला, नुन आदि थोरै मूल्य पर्ने वस्तुहरु नजोखिकन अन्दाजमै पनि कर लगाउन सकिने (तस्माव्दिक्रयः पण्यानां धृतो मितो गणितो वा कार्यः । तर्कः फल्गुभाण्डानामानुग्राहिकाणञ्च) तथा बिहाका सम्बन्धको, भोजदानका सम्बन्धको, यज्ञकर्म, जन्मोत्सव, देवपूजा, मुण्डन, व्रतबन्ध, गोदान आदि धर्मकार्यका सम्बन्धको मालमाथि कर लगाउनु नहुने (वैवाहिकमन्वायनमौपायनिकं यज्ञकृत्यप्रसवनैमित्तिकं देवेज्याचौलोपनयन गोदानव्रतदक्षिणादिषु क्रियाविशेषु भाण्डमुच्छुल्कं गच्छेत् ) प्राबधानहरु यसका उदाहरण हुन् । तर ढाँटेर धार्मिक सम्बन्ध देखाउनेलाई चोरको दण्ड (अन्यथावादिनः स्तेयदण्डः ) लगाइएको देखिन्छ ।
तत्कालीन समयको सीमा राजस्व प्रशासनलाई व्यवस्थित गराउने सन्दर्भमा कौटिल्यले उपरोक्त प्राबधानहरुको अतिरिक्त अन्य अवधारणा समेत प्रस्तुत गरेको पाईन्छ ती अन्य अवधारणाहरु सीमा राजस्व संग भन्दा आन्तरिक कर प्रशासन संग सम्बन्धित छन् ।
नेपालको सन्दर्भमा कर प्रशासनको एउटा महत्वपूर्ण आयामको रुपमा भन्सार प्रशासनको भूमिका रहदै आएको छ ।
एक देशको सीमा पार गरेर अर्को देशमा मालसामान लैजादा निश्चित शुल्क तिर्नु पर्ने व्यवस्थाको शुरुवात प्राचीनकालदेखि नै भएको हो । वैदिककालमा सुरक्षा तथा कल्याणकारी कार्य सञ्चालन गर्नका लागि आम जनताबाट कर सङ्कलन गर्ने प्रचलन रहेको पाइन्छ । कौटिल्यको अर्थशास्त्रमा कर सङ्कलन गर्ने विभाग नै गठन गरेको उल्लेख छ । प्राचीन ग्रिक र रोमन साम्राज्यमा पनि भन्सार महसुल रहेको कुरा इतिहासले देखाएको छ भने बेलायतमा एडवार्ड प्रथमको पालामा केन्द्रीय भन्सार प्रशासनको सङ्गठन बनेको बुझिन्छ । शुक्रनीति अनुसार राजकाज ढुकुटीको निम्ति बेच्ने र किन्नेसँग असुली गरिने करलाई शुल्क भनिएको र शुल्क सङ्कलन गर्ने स्थान प्रायः सीमाना र बजारमा रहने गरेको उल्लेख छ । त्यस्तै गरी विष्णु स्मृतिमा देशमा बनेका सामानमा दश प्रतिशत र विदेशबाट पैठारी हुने सामानमा नाफाको पाँच प्रतिशत कर असुली गर्ने प्रचलन भएको पाइन्छ । महाभारत कालमा पनि किनबेच, बाटो खर्च, मालवस्तुको उपलब्धता आदि विचार गरी व्यापारीसँग कर लिनुपर्दछ भन्ने कुरा शान्ति पर्वमा उल्लेख भएको पाइन्छ ।
कौटिल्यले आफ्नो पुस्तक अर्थशास्त्रमा अन्य विविध विषयहरुको अतिरिक्त कर प्रशासनका सम्बन्धमा शुल्काध्यक्ष (कर अधिकारी) र शुल्क व्यवहार (करको नियम) गरी दुई शीर्षकहरुमा वस्तुको आयातको आधारमा करका दरहरु निर्धारण हुनुपर्ने, यस्तो कर छलीको लागि स्पष्ट सजायको व्यवस्था ,कर प्रशासन संचालन गर्न कर्मचारी (कर प्रशासक) हरुको व्यवस्थापन तथा पूर्वाधारहरुको व्यवस्था वारेमा आफ्नो अवधारणा प्रस्तुत गरेका छन् ।
राज्य व्यवस्था संचालन गर्न राज्यको लागि आवश्यक वित्तीय श्रोतको प्रबन्ध गर्न राजस्वको प्रमुख भूमिका रहेको हुन्छ । यसका लागि प्रभावकारी राजस्व प्रशासन हुनु आवश्यक हुन्छ ।राजस्व प्रशासनको प्रभावकारिता राजस्व प्रशासन सम्बन्धी नीतिगत प्राबधान, ऐन नियमहरु, संस्थागत व्यवस्था , मानव श्रोत व्यवस्थापन र अन्य प्रक्रियागत पक्षको प्रभावकारितामा निर्भर रहेको हुन्छ । राजस्वका विभिन्न श्रोतहरु मध्ये भन्सार एउटा महत्वपूर्ण श्रोतमा पर्ने गर्दछ ।कौटिल्यले आफ्नो पुस्तक अर्थशास्त्रमा कर प्रशासनको उल्लेख गर्ने क्रममा भन्सार प्रशासनको उल्लेख गरेका छन् ।
कर प्रशासन राज्य संचालनको लागि आधारभूत तत्व हो । प्राचीनकाल देखिनै कर सरकारको लागि श्रोत परिचालनको महत्वपूर्ण अंग वन्दै आएको छ । कर प्रशासनमा सीमा राजस्व प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भन्सार राजस्व प्रशासन संचालनका लागि उपयुक्त कानूनी व्यवस्था, करका दर, प्रकार, संकलन प्रक्रिया, कर कानून परिपालनाका विधी र कानूनको उल्लंघनमा दण्ड तथा जरिवानाको व्यवस्था, प्रक्रियागत र कार्यगत सरलता तथा सहजताका विधिहरु हुनु आवश्यक हुन्छ । कौटिल्यले आफ्नो पुस्तक अर्थशास्त्र को शुल्कव्यवहार (करको नियम) र शुल्काध्यक्षः (कर अधिकारी ) खण्डहरुमा यसको विभिन्न आयामबाट चर्चा गरेका छन् । आर्थिक गतिविधि को प्रभावकारिता अझ त्यसमाथि करको प्रभावकारिताले राज्य व्यवस्था प्रभावकारी हुने विचार कौटिल्यको रहेको छ ।
वर्तमान सन्दर्भमा भन्सार प्रशासन व्यवस्थापन र प्रक्रिया एकीकरण तथा सामन्जस्यताका लागि विश्व भन्सार संगठनको स्थापना भएको छ । यस संगठनको मूल कार्य भन्सार संग सम्बध्द आवश्यक नयां सिध्दान्तहरु प्रतिपादन, कार्यान्वयन, संगठनात्मक संरचना, प्रशासकीय संरचना तथा परिवर्तित विश्व परिवेश अनुरुप नयां अवधारणा निर्माण गर्नु र भन्सार प्रशासनको संचालन प्रक्रियामा सहजता ल्याउनु हो । भन्सार प्रशासनको मूल दायित्व भनेको सीमा राजस्व संकलन, सामाजिक सुरक्षा र व्यापार सहजीकरण हो । वैदिककालमा सुरक्षा तथा कल्याणकारी कार्य सञ्चालन गर्नका लागि आम जनताबाट कर सङ्कलन गर्ने प्रचलन रहेको देखिन्छ । कौटिल्यको अर्थशास्त्रमा कर सङ्कलन गर्ने विभाग नै गठन भएको र करका प्रकार कर संकलन गर्ने तरिका, दण्ड सजायका प्राबधानहरु व्यवस्था भएको देखिन्छ । आज भन्दा सयौं वर्ष अगाडी विकसित कर प्रशासन संग सम्बन्धित कौटिल्यको अवधारणाहरु वर्तमान समयमा पनि निकै प्रासांगिक रहेको पाईन्छ।
कौटिल्यले अर्थ व्यवस्थाको सवलीकरणमा कृषि, पशुपालन र वाणिज्य क्षेत्रको महत्वपूर्ण योगदान रहने र कर प्रशासन यी सवै पक्षहरुसंग सम्बन्धित हुने हुदा सवल कर प्रशासन राज्यको आवश्यकता हो भन्ने कुरामा जोड दिएका छन् । वाणिज्य क्षेत्र व्यापारिक मार्ग संग समेत सम्बन्धित हुने भएकोले यो क्षेत्रमा राज्यको नियन्त्रण रहनु पर्ने र यसको लागि उपयुक्त संस्थागत संरचना, कानूनी आधारशीला , मानवश्रोत व्यवस्थापन हुनुपर्नेमा कौटिल्यको कर प्रशासनले जोड दिएको देखिन्छ ।
भन्सार प्रशासनमा सदाचारिता आवश्यक विषय हो तसर्थ भन्सार प्रशासन संग सम्बध्द कर्मचारीहरु नैतिकवान र आचरणयुक्त हुनुपर्दछ भन्ने मान्यता कौटिल्य को अर्थशास्त्रको अर्को महत्वपूर्ण आधार हो । कौटिल्यको सदाचारिता संग सम्बन्धित कर प्रशासनमा अध्यक्षले मित्रता वा घुसका कारण कसैको कर छोडिदियो भने आठ गुना दण्ड अध्यक्षलाई गराउनुपर्दछ भनेका छन् तसर्थ भन्सार वा कर प्रशासनलाई नैतिकवान वनाउन निरन्तर सुधारका कार्यहरु संचालन गर्नु कर प्रशासनको दायित्व हुन आउंछ । विश्व भन्सार संगठनको २१ औ शताव्दीको भन्सार प्रशासन र भन्सारमा सदाचारिता सम्बन्धी आरुसा घोषणापत्र ले पनि यसै विषयमा जोड दिएका छन् र भन्सार प्रशासनको सुधारमा सदाचारिता सामयिक विषय वन्दै गैरहेको छ ।
कुनै देश विशेषको ब्यापार नीतिले आन्तरिक उत्पादनलाई सकभर संरक्षण गर्ने तथा बढी भन्दा बढी भन्सार महसूल संकलन गर्ने उद्देश्यले आयात प्रक्रियालाई जटिल वनाउने वा आन्तरिक आपूर्तिलाई समायोजन हुने गरी आयात संकुचन वाणिज्य नीति अपनाउने प्रवृत्ति बढी देखिन्छ । आन्तरिक उत्पादनलाई टेवा पुर्याउनु तथा निर्यातको माध्यमव्दारा विदेशी मुद्रा आर्जन गर्ने किसिमको वाणिज्य नीति देश विशेषको वाणिज्य नीतिको लक्ष्य हुने गर्दछ । ब्यापारको यो परम्परागत शैली हो । तर ब्यापारिक अन्तरनिर्भरता बढदै गएको सन्दर्भ र सीमाविहिन संसार को अवधारणाको पृष्ठभूमीमा भन्सार महशूल तथा ब्यापार सम्बन्धी सामान्य सम्झौता (GATT) र यसको परिस्कृत स्वरुप विश्व ब्यापार संगठन (WTO) जस्ता संस्थाहरुको उदय पश्चात परम्परागत अनुदारपूर्ण ब्यापार नीतिलाई समसामयिक, उदार तथा प्रतिस्पर्धी तथा सहजीकरण सहितको व्यापार नीति अव साझा ब्यापार नीतिको रुपमा स्थापित भै मार्गदर्शक सिद्धान्तको रुपमा अगाडी बढेको पाइन्छ । यस परिस्थितिमा जुन तहको ब्यापार नीति भएतापनि अन्तर्राष्ट्रिय रुपमा स्वीकृत मान्यता र परिपाटीलाई अगाल्नु पर्ने वातावरणको विकास भएको छ । यसरी ब्यापारिक बिषयवस्तु परम्परागत शैलीबाट उदारतातर्फ रुपान्तरण हुने क्रममा विभिन्न सर्वस्वीकृत मान्यताका साथ अगाडी बढेको छ । व्यापार सहजीकरणको विषयले पनि यसै सन्दर्भमा मान्यता पाएको हो। कौटिल्यको कर प्रशासन व्यापार सहजीकरण मैत्रीय छ । व्यापार सहजीकरणका सम्बन्धमा कौटिल्य भन्दछन् व्यापार सहजीकरण र उपभोक्ता संरक्षणका दृष्टिले पनि कौटिल्यको सीमा राजस्व प्रशासन सामयिक रहेको थियो। वस्तुको नापजोख, तौल, गन्ती आदि छलकपट हुन नपाउने गरी राम्रोसँग गर्नुपर्ने , कोईला, नुन आदि थोरै मूल्य पर्ने वस्तुहरु नजोखिकन अन्दाजमै पनि कर लगाउन सकिने तथा बिहाका सम्बन्धको, भोजदानका सम्बन्धको, यज्ञकर्म, जन्मोत्सव, देवपूजा, मुण्डन, व्रतबन्ध, गोदान आदि धर्मकार्यका सम्बन्धको मालमाथि कर लगाउनु नहुने प्राबधानहरु यसका उदाहरण हुन् । विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्बन्धी वाली सम्झौताले पनि भन्सार प्रशासनका काम कारवाहीहरुले व्यापार सहजीकरणमा सहयोग पुयाउनुपर्ने कुरामा जोड दिएको छ ।
व्यापारको अर्को महत्वपूर्ण आयाम भनेको उपभोक्ता हितको संरक्षण हो । आयातीत वस्तुको यथार्थपरक मूल्य घोषणा, मानव, प्राणी र वनस्पतिको स्वास्थ्य तथा सुरक्षाको लागि आयात र निर्यात हुने वस्तुहरुको गुणस्तर परीक्षण हुनु आवश्यक हुन्छ यसका लागि सम्बन्धित भन्सार कार्यालयहरुमा प्रयोगशालाहरु हुनु आवश्यक हुन्छ र गुणस्तर परीक्षण गर्ने प्रणाली व्यवस्थित गरिनु पर्दछ । कौटिल्यकालीन प्रशासनमा वजार अनुगमनको संयन्त्रहरु विकास भएको देखिन्छ भने प्रतिस्पर्धाका कारण जुन ग्राहकले कुनै वस्तुको मूल्य बढाउँछ भने त्यो बढेको मूल्य राजाले लिनुपर्ने अथवा मूल्य बढाउने क्रेतासँग दोब्बर मूल्य कर लिनुपर्ने जस्ता प्राबधानहरुले उपभोक्ता हितको संरक्षण तर्फ कौटिल्यकालीन प्रशासन सम्वेदनशील भएको देखिन्छ ।
विश्व भन्सार संगठनले आयात निर्यात हुने वस्तुहरुकोे पहिचानको लागि प्रत्येक वस्तुको एउटा पहिचान गर्न सकिने वर्गीकरण नम्बर हुनुपर्ने, त्यस्ता वस्तुको आयात र निर्यातमा लाग्ने करको दर स्पष्ट किटान हुनुपर्ने, वस्तुमा लाग्ने कर निर्धारणको लागि मूल्यको घोषणा आयात निर्यातकर्तावाटै हुने गरी स्व घोषणा प्रणाली हुनुपर्ने मान्यता राखेको छ । कौटिल्यकालीन सीमा राजस्व प्रशासन स्वयं घोषणा प्रणालीमा आधारित देखिन्छ । व्यापारीले आफ्नो सामानको मूल्य घोषणा स्वयं गर्ने र त्यस घोषणा लाई वस्तुको मूल्य मानि तोकिए बमोजिमको कर संकलन गर्ने वर्तमान परिपाटी त्यसै वखतको प्रयासको थप निरन्तरता हो । उनी भन्छन् शुल्कशालाका झण्डामुनि बसेर व्यापारीहरुले आआफ्ना मालको नाम, मूल्य र तौल आदिको बोलकबोल गर्नुपर्दछ । तीनपटक कराएर किन्नेलाई नै माल दिनुपर्दछ । किन्नेहरुमा होड चल्यो भने मालको दाम बढाएर बोलकबोल गर्नुपर्दछ र निर्धारित आम्दानीभन्दा बढी आएको मूल्य र कर राजकीय कोषमा जम्मा गराउनुपर्दछ। तर यसरी गरिने मूल्य, परिमाण, गुणस्तरको घोषणा गलत भएमा त्यस्ता व्यापारीहरु दण्डित हुनुपर्ने उनको मान्यता थियो । यस्ता दण्डहरुमा धेरै कर तिर्नु पर्ने डरले माल र मोल घटाउने व्यापारीको उसले बताएको भन्दा बढी भएको माल राजाले लिनुपर्छ वा व्यापारीसँग आठ गुना कर असुल्नुपर्ने ,असल माल राखिने पेटीमा कमसल माल राखेर मोल घटाउने र असल माल तल लुकाएर माथिबाट कमसल माल राख्ने व्यापारीलाई पनि उसै किसिमको कर लिनुपर्ने व्यवस्थाले राजस्व छलीको नियन्त्रणमा उचित दण्डको व्यवस्था भएको इंगित गरेको छ ।
राजस्व प्रशासनमा राजस्व छलीका प्रयासहरु पनि हुन सक्दछन् यसको नियन्त्रणको दायित्व राज्यको हुन्छ । सीमा राजस्व प्रशासन संचालन गर्ने निकाय देशको सीमामा रहने र सीमाको तोकिएको क्षेत्र वा लुकिछिपी करको ध्वजा नाघेर जाने वा छल्नेलाई निश्चित गरिएको भन्दा आठ गुना बढी शुल्क लगाउनुपर्ने सोझो बाटो छोडेर चोरबाटो जानेलाई पनि त्यस्तै किसिमले उचित निगरानी गर्नुपर्ने कौटिल्यको अवधारणाले राजस्व छलीलाई नियन्त्रण गरी राजस्वको सही परिचालन गर्ने नीति अवलम्बन गरेको देखिन्छ ।
कर प्रणालीको स्वरुप निर्धारण गर्ने सम्बन्धमा कौटिल्यले देश, जातिको आचार अनुसार नयां एवं पुराना सवै खालका पदार्थमा करको व्यवस्था गर्नु पर्दछ र जतावाट नोक्सान हुने जस्तो देखिन्छ त्यसलाई दण्डको व्यवस्था गर्नु पर्दछ ,कर बाह्य, आभ्यान्तर र आतिथ्य गरी तीन किसिमको हुन्छ तथा निष्काम्य र प्रवेश्य गरी शुल्क दुई किसिमको हुन्छ भनी करको एउटा निश्चित दायराको विकास गरेका थिए । यसले तत्कालीन कर प्रशासन को दायरा र उत्तरदायित्वलाई स्पष्ट पारेको थियो ।
सीमा राजस्व प्रशासन संचालनार्थ संस्थागत संरचनाको आवश्यकता कर्मचारी व्यवस्थापन र कार्य प्रक्रियाको समुचित व्यवस्थापन को वारेमा पनि कौटिल्यको अर्थशास्त्र ले महत्व दिएको छ उनका अनुसार शुल्कका अध्यक्षले शुल्कशालाको निर्माण गराउनुपर्ने, त्यसका पूर्व र उत्तरतिर मूल ढोकाका छेउमा शुल्कशाला हो भन्ने चिनारीका लागि झण्डा राख्नुपर्ने ,शुल्कशालामा चारपाँच जना कर्मचारीहरु खटाउनुपर्ने , तिनीहरुले माल ओसारपसार गर्ने व्यापारीहरुको नाम, जाति, ठेगाना, मालको विवरण र तिनमा कहाँकहाँ छाप लगाईएको छ भन्ने विवरण लेख्नुपर्ने प्रणालीको विकास गरिदिएवाट राजस्व प्रशासनमा मानवश्रोत, संरचनागत र प्रक्रियागत पक्षको प्रभावकारी भूमिका रहने वारेमा कौटिल्यकालीन प्रशासन स्पष्ट रहेको देखिन्छ । यसै पृष्ठभूमिमा मानश्रोत व्यवस्थापन र मानव श्रोत विकास राजस्व प्रशासनको वर्तमान प्रशासनिक परिवेशमा सामयिक बन्ने गरेका छन् ।
विश्व व्यापार संगठनले आफ्नो देशमा आयात हुने सामग्रीहरुमा लाग्ने करका दरहरु पारदर्शी हुनुपर्ने र पूर्वनिर्धारित हुनुपर्दछ भन्ने मान्यता राख्दछ । यसै अनुरुप कौटिल्यकालीन कर प्रशासनमा विभिन्न आयातीत वस्तुहरुमा विभिन्न करहरुको व्यवस्था भएको पाईन्छ । आयातीत वस्तुहरुमा मा पाँच भागको एक भाग कर, फूल, फल, साग, मूल, शकरकन्द, धान्य,सुकेको माछा मासु आदि वस्तुहरुमा छ भागको एक भाग कर लाग्ने गरेको पाइन्छ । त्यस्तै खस्रा वा मसिना रेशमी कपडा, किमखाव, सुतीको कपडा , कवच, हरताल, मैनसिल, हिड.गुल, फलाम, गेरु, चन्दन, अगर, पिप्ला, कटुक, नसालु वियाँवाट बनेको वस्तु मदिरा, हात्तीका दाँतले बनेको वस्तु, रेशमी धागो, बिछौना, ओढ्ने, अन्य रेशमी वस्त्र, भेडाबाख्राका ऊनले बनेको कपडा आदि वस्तुमा तिनै वस्तुका मोलको पन्ध्र भागको एक भाग, साधारण कपडा, चारखुट्टे, दुईखुट्टे, धागो, कपास, औषधि, काठदाउरा, वांस, बोक्रा, छाला, माटाका भाँडाकुँडा, अन्न, घिउ, तेल, नुन, मदिरा र पकाइएको अन्नमा मूल्यको बीस वा पच्चीसौँ भागको एक भाग करको व्यवस्था भएको देखिन्छ ।यस्ता करहरु तोकिएको निश्चित दरमा संलन गरिननपर्ने मान्यता कौटिल्यको रहेको छ । उनी भन्छन् व्दारपालले नगरका प्रमुखव्दारवाट आवतजावत हुने वस्तुको पाँचौं भाग भनी तोकिएको कर असुल गर्नुपर्दछ ।
कौटिल्यकालीन सीमा राजस्व प्रशासन स्वयं घोषणा प्रणालीमा आधारित देखिन्छ । व्यापारीले आफ्नो सामानको मूल्य घोषणा स्वयं गर्ने र त्यस घोषणा लाई वस्तुको मूल्य मानि तोकिए बमोजिमको कर संकलन गर्ने वर्तमान परिपाटी त्यसै वखतको प्रयासको थप निरन्तरता हो । उनी भन्छन् शुल्कशालाका झण्डामुनि बसेर व्यापारीहरुले आआफ्ना मालको नाम, मूल्य र तौल आदिको बोलकबोल गर्नुपर्दछ । तीनपटक कराएर किन्नेलाई नै माल दिनुपर्दछ । किन्नेहरुमा होड चल्यो भने मालको दाम बढाएर बोलकबोल गर्नुपर्दछ र निर्धारित आम्दानीभन्दा बढी आएको मूल्य र कर राजकीय कोषमा जम्मा गराउनुपर्दछ। तर यसरी गरिने मूल्य, परिमाण , गुणस्तरको घोषणा गलत भएमा त्यस्ता व्यापारीहरु दण्डित हुनुपर्ने उनको मान्यता थियो । यस्ता दण्डहरुमा धेरै कर तिर्नु पर्ने डरले माल र मोल घटाउने व्यापारीको उसले बताएको भन्दा बढी भएको माल राजाले लिनुपर्छ वा व्यापारीसँग आठ गुना कर असुल्नुपर्ने,असल माल राखिने पेटीमा कमसल माल राखेर मोल घटाउने र असल माल तल लुकाएर माथिबाट कमसल माल राख्ने व्यापारीलाई पनि उसै किसिमको कर लिनुपर्ने व्यवस्था तथा प्रतिस्पर्धाका कारण जुन ग्राहकले कुनै वस्तुको मूल्य बढाउँछ भने त्यो बढेको मूल्य राजाले लिनुपर्ने अथवा मूल्य बढाउने क्रेतासँग दोब्बर मूल्य कर लिनुपर्ने जस्ता प्राबधानहरु कौटिल्यले अगाडी सारेका थिए यसवाट भन्सारमा हुने स्वघोषणा प्रणालीको प्रभावकारिता र यसलाई बजारमूल्य संग सामन्जस्य गराई उपभोेक्ता हितको संरक्षणको व्यवस्था गराउन उपयुक्त आधारशीला प्रदान गरेको थियो ।
कौटिल्य वैदेशिक व्यापार उत्थानका पक्षधर हुन् । कुनै पनि देश विशेषको अर्थतन्त्रको उत्थानमा वैदेशिक व्यापार आवश्यकीय तत्वको रुपमा रहेको हुन्छ । वैदेशिक व्यापार को प्रोत्साहनको लागि सरकारले करमा छूट दिनु आवश्यक हुन्छ यसवाट व्यापारीहरु व्यापार गर्न उत्साहित हुन्छन् । साथै आयातले देशभित्र उत्पादन हुन नसक्ने अत्यावश्यक सामानहरुको आपूर्तिलाई सहज बनाईदिन्छ । आयात र निर्यातको संचालन तुलनात्मक लाभको सिध्दान्तमा आधारित हुनुपर्दछ र आयात निर्यातको व्यवस्थापन महसुल र करहरुव्दारा गरिनु पर्दछ । विलासिताका वस्तुहरुको कर उच्च, सामान्य जनताले प्रयोग गर्ने वस्तुहरुमा न्यून कर र देशलाई अत्यावश्यक पर्ने वस्तुहरुको आयातमा कर नलाग्ने व्यवस्था हुनुपर्ने मान्यताले कौटिल्य वैदेशिक व्यापार उत्थानका पक्षधर रहेको देखिन्छ ।
कौटिल्यले राज्यकोषलाई समृध्द बनाउने विषयलाई उच्च प्राथमिकता दिएका छन् । कौटिल्यले भन्सार र अन्तशुल्कलाई अप्रत्यक्ष कर व्यक्तिगत आय, सम्पत्ति कर र पेशागत करलाई अप्रत्यक्ष कर को रुपमा परिभाषित गरेका छन् । उनका अनुसार कर देशको राजस्वको प्रमुख श्रोत हो कर लगाउने राज्यको अधिकारको विषय भएपनि करको दर अधिक हुनुहुदैन । कौटिल्यले कर प्रशासकलाई माहुरी संग तुलना थरेका छन् जसरी माहुरीले फूलवाट आवश्यक मात्रामा मात्र रस चुस्ने गर्दछ त्यसरी नै राज्यले आवश्यक मात्रामा मात्र कर संकलन गर्ने गर्नु पर्दछ ।सामाजिक कल्याण र राज्यको आर्थिक समृध्दि को लागि राज्यले विभिन्न नीतिहरु लिनु पर्ने , कर प्रणाली र कर प्रशासन सामयिक र प्रभावकारी हुनुपर्ने आदि विषयले कौटिल्यको कर प्रशासन सम्बन्धी नीति अझै पनि सान्दर्भिक रहेको छ । कौटिल्यको अर्थशास्त्र तत्कालीन सन्दर्भमा लेखिएका पुस्तक भएपनि उनले अगाडी सारेका विभिन्न आयामहरु वर्तमान सन्दर्भमा पनि उत्तिकै सामयिक छन् तर ती अवधारणाहरुमा समय, प्रविधि र शैक्षिक परिवेशमा आएका परिवर्तनले व्यवहारिक पक्षमा केही परिवर्तन त पक्कै ल्याए तथापि आज भन्दा सयौं वर्ष अगाडी तत्कालीन परिवेशको सन्दर्भमा प्रयोगमा ल्याईएका विषहरुको सान्दर्भिकता अहिले पनि रहेको छ ।
(डा. दामोदर रेग्मी अर्थ, प्रशासनविद तथा गीतकार हुन्)






























