लघुकथा : यथार्थ

वि.सं.२०८२ वैशाख २७ शनिवार
shares

उत्साहित हुँदै दिदीले बहिनीलाई भनी ,“ ए केटी ,सुन् त ! आज धनेकहाँ रोपाइँ छ , जानुपर्छ है । त्यहाँ राम्रो टिकटक बनाउनु पर्छ । भाइरल हुनुपर्यो नि हामी नि ! ”
” ह्या ! यो दिदीलाई जहिले पनि भिडियो मात्रै बनाउनु पर्ने रहेछ ।
दुनियाँलाई देखाएर के नाप्छ र ? के के न गर्या जस्तो ! म त आज जान्न । ´´ बहिनीले भनी ।
दिदीले हप्काउँदै भनी , “ यो बहिनी पनि बुढी आइमाईजस्तो कुरा पो गर्छे । जमानाअनुसार चल्न जान्नुपर्छ क्या ! होइन भने मान्छेले हेप्छन् नि ! खै कुरो बुझ्या ? कति सम्झाउनु ? म त हैरान परेँ ।´´
बहिनीले झर्किदै भनी ,“ आफु जे जस्तो छ , म त त्यसैमा रमाउँछु। अरूलाई देखाउन मलाई त आउदैन । ´´
दिक्क मान्दै बहिनीलाई सम्झाई ,“ न कहिल्यै गतिलो लाउन जान्या छ , न त खान नै ! सम्पत्ति जत्ति छदै छ । राम्रो लगाऊ। मिठो खाऊ । पार्लर जाऊ । स्कुटी किन । आइफोन किन । के पाखेजस्ती भएर घरमा मात्रै कोच्चिएर बसेकी हो ? ´´
बहिनीले हाँस्दै भनी , “ रहर नि हुनुपर्यो , जान्नु नि पर्यो । ह्या , मलाई त लाज लाउछ । ´´
दिदीले दिक्क भएर भनी , “यिनलाई सम्झाउनु र हाम्रा देशका नेतालाई भन्नु एकै हो । ”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर