अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद र उदारवादको संयोजन

312
shares

 

अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रहरूबीचको सम्बन्ध, सहकार्य, प्रतिस्पर्धा, द्वन्द्व तथा विश्वव्यापी राजनीतिक, आर्थिक र सामाजिक अन्तरक्रियाहरूको अध्ययन गर्ने व्यावहारिक क्षेत्र पनि हो। विश्व राजनीतिलाई बुझ्न विभिन्न सिद्धान्तहरू विकसित भएका छन्, जसमध्ये यथार्थवाद (Realism) र उदारवाद (Liberalism) व्यापक रूपमा प्रयोग हुने सिद्धान्तहरू हुन्। यी सिद्धान्तहरूले राष्ट्रहरू किन व्यवहार गर्छन्, किन युद्ध वा शान्ति हुन्छ, किन सहकार्य वा प्रतिस्पर्धा हुन्छ भन्ने प्रश्नहरूको उत्तर दिन प्रयास गर्छन्। अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरू एकैपटक विकसित भएका होइनन्। विश्व इतिहासका विभिन्न राजनीतिक, आर्थिक, सामाजिक तथा सैन्य घटनाक्रमहरूको प्रभावबाट यी सिद्धान्तहरू क्रमशः विकसित भएका हुन्। यथार्थवाद र उदारवाद पनि मानव सभ्यता, युद्ध, शान्ति, शक्ति संघर्ष तथा सहकार्यका अनुभवहरूबाट जन्मिएका विचारधाराहरू हुन्।

यथार्थवादको इतिहास प्राचीन कालसम्म पुग्छ। यसको प्रारम्भिक आधार ईसा पूर्व पाँचौं शताब्दीका ग्रीक इतिहासकार Thucydides को लेखनमा पाइन्छ। उनले Peloponnesian War को वर्णन गर्दै शक्तिशाली राष्ट्रहरूले आफ्नो हितका लागि शक्ति प्रयोग गर्ने र कमजोर राष्ट्रहरू शक्तिशालीको प्रभावमा पर्ने तर्क प्रस्तुत गरेका थिए। उनको प्रसिद्ध भनाइ The strong do what they can and the weak suffer what they must यथार्थवादी चिन्तनको आधार मानिन्छ। पुनर्जागरणकालमा इटालीका राजनीतिक चिन्तक Niccolò Machiavelli ले आफ्नो प्रसिद्ध कृति The Prince मार्फत राज्य सञ्चालनमा नैतिकताभन्दा शक्ति, व्यवहारिकता र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने विचार प्रस्तुत गरे। यसले यथार्थवादी सोचलाई थप बल प्रदान गर्यो।

सत्रौं शताब्दीमा अंग्रेज दार्शनिक Thomas Hobbes ले मानव स्वभावलाई स्वार्थी र प्रतिस्पर्धी भएको तर्क गर्दै अन्तर्राष्ट्रिय प्रणालीमा कुनै सर्वोच्च विश्व सरकार नहुँदा राष्ट्रहरू पनि सुरक्षा र अस्तित्वका लागि निरन्तर संघर्षरत रहने विचार व्यक्त गरे। उनको State of Nature को अवधारणा आधुनिक यथार्थवादको बौद्धिक आधार बन्यो।

विशेष गरी प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धपछि यथार्थवाद झन् प्रभावशाली बन्यो। युद्धअघि धेरै विद्वानहरूले अन्तर्राष्ट्रिय सहकार्य र नैतिकताले युद्ध रोक्न सक्छ भन्ने विश्वास गरेका थिए। तर दुई विश्वयुद्धले त्यो आशावादलाई कमजोर बनायो। त्यसपछि अमेरिकी विद्वान Hans Morgenthau ले आधुनिक यथार्थवादलाई व्यवस्थित रूपमा विकास गरे। उनले अन्तर्राष्ट्रिय राजनीतिलाई शक्ति प्राप्ति र शक्ति संरक्षणको संघर्षका रूपमा व्याख्या गरे। पछि Kenneth Waltz ले संरचनात्मक यथार्थवाद (Structural Realism) वा नवयथार्थवाद (Neorealism) को विकास गरे। यथार्थवादको उदयका कारणहरु निम्नानुसनर रहेका छन्

राष्ट्रहरूबीच निरन्तर युद्ध र शक्ति संघर्ष

राष्ट्रिय सुरक्षाको आवश्यकता

अन्तर्राष्ट्रिय प्रणालीमा विश्व सरकारको अभाव

विश्वयुद्धहरूको अनुभव

राष्ट्रिय हित र शक्ति राजनीतिको प्रभाव

उदारवादको विकास भने मानव स्वतन्त्रता, प्रगति, लोकतन्त्र र सहकार्यप्रतिको विश्वासबाट भएको हो। यसको बौद्धिक आधार सत्रौं र अठारौं शताब्दीको ज्ञानोदय युग (Enlightenment) मा विकसित भएको थियो।अंग्रेज दार्शनिक John Locke ले व्यक्तिको स्वतन्त्रता, प्राकृतिक अधिकार र सीमित सरकारको अवधारणा प्रस्तुत गरे। उनका विचारहरूले पछि उदारवादी राजनीतिक तथा अन्तर्राष्ट्रिय सोचको आधार तयार गरे। अठारौं शताब्दीका जर्मन दार्शनिक Immanuel Kant ले आफ्नो प्रसिद्ध निबन्ध Perpetual Peace मा लोकतान्त्रिक शासन, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूबीचको सहकार्यद्वारा स्थायी शान्ति सम्भव हुने तर्क गरे। उनलाई आधुनिक उदारवादी अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तका प्रमुख प्रवर्तक मानिन्छ।

औद्योगिक क्रान्तिपछि अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सम्बन्ध विस्तार हुँदै गए। व्यापार र आर्थिक सहकार्यबाट सबैलाई लाभ हुन्छ भन्ने कुरा राष्ट्रहरूले महसुस गरे यो अवधारणा तुलनात्मक लाभको सवध्दान्तमा आधारिता थियो । यसले उदारवादी सोचलाई थप बलियो बनायो।प्रथम विश्वयुद्धपछि अमेरिकी राष्ट्रपति Woodrow Wilson ले अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्न लोकतन्त्र, अन्तर्राष्ट्रिय कानुन र सामूहिक सुरक्षा प्रणालीको अवधारणा अघि सारे। उनको पहलमा League of Nations को स्थापना भयो, जसलाई उदारवादी सोचको प्रारम्भिक संस्थागत रूप मानिन्छ।

दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन जस्ता संस्थाहरूको स्थापना भयो। यसले अन्तर्राष्ट्रिय सहकार्यलाई संस्थागत र अपरिहार्य बनायो र उदारवादलाई विश्व राजनीतिको महत्वपूर्ण सिद्धान्तका रूपमा स्थापित गर्यो। उदारवादको उदयका प्रमुख कारणहरु निम्नानुसार रहेका छन्

मानव स्वतन्त्रता र प्रगतिप्रतिको विश्वास

ज्ञानोदय युगका विचारहरू

लोकतन्त्रको विकास

औद्योगिक क्रान्ति र व्यापार विस्तार

अन्तर्राष्ट्रिय संस्थाहरूको स्थापना

युद्ध रोक्ने सामूहिक प्रयास

यथार्थवादले शक्ति, राष्ट्रिय हित र सुरक्षालाई अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राख्छ भने उदारवादले सहकार्य, अन्तरनिर्भरता, लोकतन्त्र र अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकालाई महत्व दिन्छ। आजको विश्वमा यी दुवै सिद्धान्तहरूको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ। कुनै पनि देशको वैदेशिक नीति, सुरक्षा नीति तथा अन्तर्राष्ट्रिय व्यवहार बुझ्न यी सिद्धान्तहरूको अध्ययन आवश्यक मानिन्छ। यथार्थवाद अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा पुरानो र प्रभावशाली सिद्धान्त हो। यसको आधारभूत मान्यता के हो भने विश्व राजनीति मूलतः शक्ति र राष्ट्रिय स्वार्थद्वारा सञ्चालित हुन्छ। अन्तर्राष्ट्रिय प्रणालीमा कुनै विश्व सरकार वा सर्वोच्च नियामक निकाय नभएकाले प्रत्येक राष्ट्रले आफ्नै सुरक्षा सुनिश्चित गर्नुपर्छ।यथार्थवादका अनुसार राष्ट्रहरू अन्तर्राष्ट्रिय राजनीतिका प्रमुख र सर्वाधिक महत्वपूर्ण पात्र हुन्। प्रत्येक राष्ट्रले आफ्नो अस्तित्व, सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण गर्न निरन्तर प्रयास गरिरहेको हुन्छ। यस क्रममा शक्ति आर्जन, सैन्य क्षमता वृद्धि र रणनीतिक गठबन्धन निर्माणलाई राष्ट्रहरूले प्राथमिकता दिन्छन्।

प्राचीन ग्रीक इतिहासकार थुसिडिडिजलाई यथार्थवादको प्रारम्भिक चिन्तक मानिन्छ। उनले शक्ति र सुरक्षाको खोजी नै राष्ट्रहरूको व्यवहारको मूल कारण भएको तर्क गरेका थिए। आधुनिक यथार्थवादका प्रमुख विद्वानहरूमा Hans Morgenthau, Kenneth Waltz, John Mearsheimer आदि पर्दछन्।

यथार्थवादका मुख्य मान्यताहरू

यथार्थवादका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रभन्दा महत्वपूर्ण अन्य कुनै संस्था वा संगठन हुँदैन। संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका सीमित हुन्छ।

हरेक राष्ट्रले आफ्ना राष्ट्रिय हितलाई सबैभन्दा माथि राख्छ। नैतिकता, आदर्श वा भावनाभन्दा राष्ट्रिय हित महत्वपूर्ण हुन्छ।

सैन्य, आर्थिक तथा कूटनीतिक शक्ति राष्ट्रको प्रभाव निर्धारण गर्ने प्रमुख तत्व हुन्।

अन्तर्राष्ट्रिय प्रणाली असुरक्षित भएकाले प्रत्येक राष्ट्र आफ्नो सुरक्षा सुनिश्चित गर्न लागिपर्छ।

राष्ट्रहरूबीच हितको टकराव हुने भएकाले प्रतिस्पर्धा र द्वन्द्व अन्तर्राष्ट्रिय सम्बन्धका स्वाभाविक पक्ष हुन्।

यथार्थवादले नीति निर्माताहरूलाई आदर्शवादी सोचभन्दा वास्तविक शक्ति सन्तुलन र राष्ट्रिय हितमा आधारित निर्णय लिन प्रेरित गर्छ।यथार्थवादले अन्तर्राष्ट्रिय संस्थाहरू, मानव अधिकार, आर्थिक अन्तरनिर्भरता तथा गैरराज्यीय पात्रहरूको भूमिकालाई अपेक्षाकृत कम महत्व दिन्छ। आजको विश्वमा बहुराष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय संगठनहरू, नागरिक समाज र प्रविधिले पनि विश्व राजनीतिमा ठूलो प्रभाव पारिरहेका छन्, जसलाई यथार्थवादले पूर्ण रूपमा व्याख्या गर्न सक्दैन।

उदारवाद अन्तर्राष्ट्रिय सम्बन्धको अर्को महत्वपूर्ण सिद्धान्त हो। यसले राष्ट्रहरूबीच सहकार्य सम्भव र आवश्यक छ भन्ने मान्यता राख्छ। उदारवादका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध केवल शक्ति र प्रतिस्पर्धामा आधारित हुँदैन; राष्ट्रहरूले साझा हितका लागि सहयोग पनि गर्न सक्छन्। उदारवादी विचारधाराले मानव प्रगति, लोकतन्त्र, आर्थिक सहकार्य, अन्तर्राष्ट्रिय कानुन तथा संस्थाहरूको महत्वलाई जोड दिन्छ। यसको विश्वास छ कि व्यापार, संवाद र अन्तरनिर्भरता बढ्दै जाँदा युद्धको सम्भावना घट्छ र शान्ति तथा समृद्धि बढ्छ।Immanuel Kant लाई उदारवादी विचारधाराका प्रमुख प्रारम्भिक चिन्तक मानिन्छ। आधुनिक उदारवादी विद्वानहरूमा Robert Keohane, Joseph Nye, Michael Doyle लगायतका नाम उल्लेखनीय छन्।

उदारवादका मुख्य मान्यताहरू

राष्ट्रहरूबीच मतभेद भए पनि साझा हितका आधारमा सहकार्य गर्न सकिन्छ।

संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरूले नियम-आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न सहयोग गर्छन्।

आर्थिक अन्तरनिर्भरता शान्तिको आधार हो।

व्यापार र लगानीका माध्यमबाट राष्ट्रहरू एकअर्कामा निर्भर हुँदा युद्धको सम्भावना कम हुन्छ।

लोकतन्त्रले शान्ति प्रवर्द्धन गर्छ ।

लोकतान्त्रिक राष्ट्रहरूबीच युद्ध हुने सम्भावना कम हुने तर्क उदारवादले प्रस्तुत गर्छ।

अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था, बहुराष्ट्रिय कम्पनी तथा नागरिक समाज पनि अन्तर्राष्ट्रिय सम्बन्धका महत्वपूर्ण पक्ष हुन्।

दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापना, क्षेत्रीय संगठनहरूको विकास, अन्तर्राष्ट्रिय व्यापारको विस्तार तथा विश्वव्यापी सहकार्यका प्रयासहरू उदारवादको प्रभावका उदाहरण हुन्।जलवायु परिवर्तन, महामारी नियन्त्रण, मानव अधिकार संरक्षण तथा दिगो विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता उदारवादले प्रभावकारी रूपमा व्याख्या गर्छ। उदारवादले राष्ट्रहरूको शक्ति राजनीति र सुरक्षासम्बन्धी चिन्तालाई कहिलेकाहीँ कम आँक्ने गरेको आरोप लाग्ने गर्छ। अन्तर्राष्ट्रिय संस्थाहरू भए पनि युद्ध र द्वन्द्व पूर्ण रूपमा रोकिएका छैनन्। राष्ट्रिय हित र शक्ति राजनीति अझै पनि विश्व राजनीतिमा प्रभावशाली छन्।

यथार्थवाद र उदारवाद दुवैले अन्तर्राष्ट्रिय सम्बन्धलाई व्याख्या गर्ने प्रयास गर्छन्, तर तिनीहरूको दृष्टिकोण फरक छ।यथार्थवादले विश्वलाई प्रतिस्पर्धा र शक्ति संघर्षको क्षेत्रका रूपमा हेर्छ भने उदारवादले सहकार्य र साझा हितको सम्भावनालाई महत्व दिन्छ। यथार्थवादका लागि सुरक्षा र राष्ट्रिय हित प्रमुख हुन्छन् भने उदारवादका लागि शान्ति, विकास र अन्तरनिर्भरता महत्वपूर्ण हुन्छन्।यथार्थवादीहरू अन्तर्राष्ट्रिय संस्थाहरूलाई शक्तिशाली राष्ट्रहरूको हितअनुसार सञ्चालन हुने संरचनाका रूपमा हेर्छन् भने उदारवादीहरू तिनलाई विश्व शान्ति र सहकार्यका महत्वपूर्ण माध्यम मान्छन्।

कुनै पनि सिद्धान्त पूर्ण हुँदैन; प्रत्येकका आफ्नै सवल पक्ष र कमजोर पक्ष हुन्छन्। यही कारणले आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनमा यी दुवै सिद्धान्तलाई परस्पर पूरक रूपमा पनि हेरिन्छ।

यथार्थवादका सवल पक्षहरू

विश्व राजनीतिका यथार्थ पक्षको व्याख्या गर्छ

यथार्थवादले अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति, सुरक्षा र राष्ट्रिय हितको महत्वलाई स्पष्ट रूपमा व्याख्या गर्छ। विश्वका अधिकांश राष्ट्रहरूले आफ्नो वैदेशिक नीति राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने भएकाले यो सिद्धान्त व्यवहारिक मानिन्छ।

सुरक्षा चुनौतीहरूको राम्रो विश्लेषण गर्छ

सीमा विवाद, सैन्य प्रतिस्पर्धा, आणविक हतियार, आतंकवाद तथा भूराजनीतिक प्रतिस्पर्धा जस्ता विषयहरूलाई यथार्थवादले प्रभावकारी रूपमा बुझाउँछ।

राष्ट्रिय हितलाई केन्द्रमा राख्छ

राष्ट्रको अस्तित्व, सार्वभौमिकता र सुरक्षा सर्वोपरि हुने भएकाले नीति निर्माणमा यथार्थवाद उपयोगी मार्गदर्शक बन्न सक्छ।

शक्ति सन्तुलनको महत्व स्पष्ट गर्छ

विश्वमा कुनै एक शक्ति अत्यधिक प्रभावशाली नबनोस् भन्ने उद्देश्यले शक्ति सन्तुलन कायम गर्ने अवधारणालाई यथार्थवादले महत्व दिन्छ।

इतिहाससँग मेल खान्छ

दुवै विश्वयुद्ध, शीतयुद्ध, सैन्य गठबन्धन तथा वर्तमान शक्ति प्रतिस्पर्धालाई यथार्थवादले तुलनात्मक रूपमा राम्रोसँग व्याख्या गर्न सक्छ।

 

यथार्थवादका कमजोर पक्षहरू

सहकार्यको सम्भावनालाई कम आँकलन गर्दछ

यथार्थवादले राष्ट्रहरूबीचको सहकार्यलाई सीमित रूपमा हेर्छ, जबकि आज विश्वमा व्यापार, जलवायु परिवर्तन, स्वास्थ्य तथा विकासका क्षेत्रमा व्यापक सहकार्य भइरहेको छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकालाई कम महत्व दिन्छ

संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय न्यायालय लगायतका संस्थाहरूले विश्व राजनीतिमा खेलेको भूमिकालाई पर्याप्त महत्व दिँदैन।

गैरराज्यीय पात्रहरूको प्रभावलाई बेवास्ता गर्छ

बहुराष्ट्रिय कम्पनी, गैरसरकारी संस्था, सञ्चार माध्यम, अन्तर्राष्ट्रिय अभियान तथा नागरिक समाजको भूमिकालाई यथार्थवादले पर्याप्त रूपमा समेट्दैन।

युद्धलाई स्वाभाविक मान्ने प्रवृत्ति

कहिलेकाहीँ यथार्थवादले शक्ति संघर्ष र द्वन्द्वलाई अपरिहार्य ठान्ने भएकाले शान्ति निर्माणका सम्भावनाहरूलाई कमजोर बनाउन सक्छ।

मानवीय मूल्यहरूलाई कम महत्व

मानव अधिकार, सामाजिक न्याय, अन्तर्राष्ट्रिय नैतिकता तथा मानवीय मूल्यहरूलाई कम महत्व दिएको आरोप यथार्थवादमाथि लाग्ने गर्छ।

उदारवादका सवल पक्षहरू

सहकार्यको सम्भावनालाई जोड दिन्छ

उदारवादको सबैभन्दा ठूलो विशेषता राष्ट्रहरूबीच सहकार्य सम्भव छ भन्ने विश्वास हो। यसले साझा हितका आधारमा सम्बन्ध विकास गर्न प्रेरित गर्छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको महत्व स्पष्ट गर्छ

संयुक्त राष्ट्रसंघ, WTO, WHO लगायतका संस्थाहरूले विश्व शान्ति, विकास र सहकार्यमा खेलेको भूमिकालाई उदारवादले प्रभावकारी रूपमा व्याख्या गर्छ।

लोकतन्त्र र मानव अधिकारको पक्षपोषण गर्छ

उदारवादले लोकतान्त्रिक शासन, विधिको शासन, मानव अधिकार र नागरिक स्वतन्त्रतालाई महत्व दिन्छ।

आर्थिक विकास र व्यापारलाई प्रोत्साहन गर्छ

अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा आर्थिक अन्तरनिर्भरता मार्फत साझा समृद्धि हासिल गर्न सकिने धारणा प्रस्तुत गर्छ।

समकालीन विश्वलाई राम्रोसँग व्याख्या गर्छ

विश्वव्यापीकरण, क्षेत्रीय एकीकरण, अन्तर्राष्ट्रिय सहयोग तथा दिगो विकासका अवधारणाहरू उदारवादसँग निकट सम्बन्धित छन्।

शान्ति निर्माणमा योगदान पुर्‍याउँछ

संवाद, वार्ता, कूटनीति र अन्तर्राष्ट्रिय कानुनमार्फत विवाद समाधान गर्ने उपायलाई प्राथमिकता दिन्छ।

उदारवादका कमजोर पक्षहरू

अत्यधिक आशावादी

राष्ट्रहरू सदैव सहकार्य गर्न इच्छुक हुन्छन् भन्ने धारणा व्यवहारमा सधैं सत्य हुँदैन।

शक्ति राजनीतिलाई कम महत्व दिन्छ

राष्ट्रिय सुरक्षा र शक्ति प्रतिस्पर्धाको वास्तविकतालाई कहिलेकाहीँ पर्याप्त रूपमा सम्बोधन गर्न सक्दैन।

अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभाव सीमित हुन सक्छ

संस्थाहरू भए पनि ठूला शक्तिशाली राष्ट्रहरूले आफ्ना हितअनुसार व्यवहार गर्ने उदाहरणहरू प्रशस्त छन्।

युद्ध र द्वन्द्व रोक्न सधैं सफल हुँदैन

अन्तर्राष्ट्रिय संस्थाहरू र कानुनी संरचना हुँदाहुँदै पनि विश्वमा युद्ध, आक्रमण र द्वन्द्व जारी छन्।

विकसित र विकासशील राष्ट्रबीचको असमानतालाई कम आँकलन गर्दछ।

विश्व आर्थिक प्रणालीबाट सबैले समान लाभ प्राप्त गर्दैनन् भन्ने यथार्थलाई उदारवादले पर्याप्त रूपमा सम्बोधन नगरेको आलोचना गरिन्छ।

यथार्थवाद र उदारवादमध्ये कुन बढी सान्दर्भिक छ भन्ने प्रश्नको उत्तर त्यति सरल र सहज छैन। वास्तवमा, आधुनिक विश्व राजनीतिमा दुवै सिद्धान्तको सान्दर्भिकता कायम छ। यद्यपि, कुनै विशेष समय, परिस्थिति र विषयका आधारमा एक सिद्धान्त अर्कोभन्दा बढी प्रभावकारी देखिन सक्छ।

विश्वमा आज पनि शक्ति राजनीति समाप्त भएको छैन। विभिन्न देशहरु वीचको रणनीतिक प्रतिस्पर्धा, युद्ध, सागरका विवाहरुद, आणविक हतियारको प्रतिस्पर्धा, साइबर सुरक्षा र सीमा सुरक्षाका प्रश्नहरूले राष्ट्रिय सुरक्षा र शक्ति अझै पनि अन्तर्राष्ट्रिय सम्बन्धका केन्द्रिय विषय भएको देखाउँछन्।यस दृष्टिकोणबाट हेर्दा आजको भूराजनीतिक वातावरणमा यथार्थवादको प्रभाव निकै बलियो देखिन्छ।

अर्कोतर्फ आजको विश्व कुनै एक राष्ट्रले एक्लै सञ्चालन गर्न सक्ने अवस्थामा छैन। जलवायु परिवर्तन, महामारी, अन्तर्राष्ट्रिय व्यापार, आपूर्ति श्रृंखला, मानव अधिकार, दिगो विकास, प्रविधि र साइबर अपराधजस्ता विषयहरूमा राष्ट्रहरूबीच सहकार्य अपरिहार्य छ। यदि उदारवादी संरचनाहरू नहुने हो भने विश्व व्यापार, अन्तर्राष्ट्रिय उडान, वित्तीय प्रणाली, सार्वजनिक स्वास्थ्य तथा वातावरणीय व्यवस्थापन अत्यन्त कठिन हुने थियो। व्यवहारमा अधिकांश राष्ट्रहरूले यथार्थवाद र उदारवादको मिश्रित प्रयोग गर्छन्।

उदाहरणका लागि राष्ट्रिय सुरक्षाको विषयमा राष्ट्रहरू यथार्थवादी हुन्छन्, व्यापार र विकासको विषयमा उदारवादी हुन्छन्, सीमाको रक्षा गर्दा शक्ति प्रयोग गर्न सक्छन्, जलवायु परिवर्तन र व्यापारमा सहकार्य पनि गर्छन्। यसलाई कतिपय विद्वानहरूले व्यावहारिक वैदेशिक नीति (Pragmatic Foreign Policy) पनि भन्छन्।

व्यवहारमा अधिकांश राष्ट्रहरूले यथार्थवाद र उदारवादको मिश्रित प्रयोग गर्छन् उदाहरणका लागि राष्ट्रिय सुरक्षाको विषयमा राष्ट्रहरू यथार्थवादी हुन्छन्, व्यापार र विकासको विषयमा उदारवादी हुन्छन्, सीमाको रक्षा गर्दा शक्ति प्रयोग गर्न सक्छन्, जलवायु परिवर्तन र व्यापारमा सहकार्य पनि गर्छन्। यसलाई कतिपय विद्वानहरूले Pragmatic Foreign Policy (व्यावहारिक वैदेशिक नीति) पनि भन्छन्।

यथार्थवाद र उदारवादलाई प्रतिस्पर्धीभन्दा पनि परस्पर पूरक सिद्धान्त का रूपमा हेर्नु उपयुक्त हुन्छ। यथार्थवादले राष्ट्रिय सुरक्षा, शक्ति र हितको संरक्षण गर्न सिकाउँछ भने उदारवादले सहकार्य, विकास र शान्तिको मार्ग देखाउँछ। आजको अन्तरनिर्भर विश्वमा उदारवादले अवसरहरू सिर्जना गर्छ भने यथार्थवादले ती अवसरहरूको उपयोग गर्दा राष्ट्रिय हित सुरक्षित राख्न मार्गदर्शन गर्छ। त्यसैले आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै एक सिद्धान्तको पूर्ण वर्चस्वभन्दा पनि दुवैको सन्तुलित र परिस्थितिसापेक्ष प्रयोग बढी सान्दर्भिक देखिन्छ।२१औँ शताब्दीको सफल राज्य त्यही हो जसले यथार्थवादको विवेक र उदारवादको दूरदृष्टिलाई एकसाथ आत्मसात् गर्न सक्छ।

नेपाल जस्तो विकासोन्मुख तथा दुई ठूला शक्तिका बीचमा रहेको मुलुकका लागि केवल यथार्थवाद वा केवल उदारवाद पर्याप्त हुँदैन।नेपालका लागि पनि दुवै सिद्धान्तको सन्तुलित प्रयोग आवश्यक छ। जसमा यथार्थवादी पक्षमा राष्ट्रिय सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको संरक्षण, भूराजनीतिक सन्तुलन, राष्ट्रिय सुरक्षा जस्ता विषयहरु पर्दछन् भने उदारवादी पक्षमा अन्तर्राष्ट्रिय सहकार्य, व्यापार र लगानी विस्तार, पर्यटन प्रवर्द्धन, विकास साझेदारी ,क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा सक्रिय सहभागिता जस्ता विषयहरु पर्दछन्।

नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि यी दुवै सिद्धान्त सान्दर्भिक छन्। नेपाल दुई उदाउँदा शक्तिहरू भारत र चीनको बीचमा अवस्थित छ। यस कारण नेपालको वैदेशिक नीतिमा राष्ट्रिय हित, सार्वभौमिकता तथा रणनीतिक सन्तुलन महत्वपूर्ण विषय हुन्, जुन यथार्थवादी दृष्टिकोणसँग मेल खान्छ।

अर्कोतर्फ, नेपाल संयुक्त राष्ट्रसंघ, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन, बिमस्टेक, विश्व व्यापार संगठन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूमा आबध्द छ। वैदेशिक सहायता, व्यापार, पर्यटन, जलवायु परिवर्तन र विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यमा नेपालको निर्भरता उदारवादी दृष्टिकोणसँग सम्बन्धित छ।नेपालले आफ्नो राष्ट्रिय हितको संरक्षण गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई पनि सुदृढ बनाउनु आवश्यक छ। यस अर्थमा नेपालको वैदेशिक नीति यथार्थवाद र उदारवादको सन्तुलित संयोजनमा आधारित हुनु आवश्यक देखिन्छ।

डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्

civil hospital
Hams Hospitals