एक्काइसौँ शताब्दीको चौथो औद्योगिक क्रान्ति:वर्तमान युगको नयाँ प्रतिमान
वि.सं.२०८३ साउन ३ आइतवार
shares
वर्तमान युगलाई सूचना प्रविधिको युग मात्र नभई चौथो औद्योगिक क्रान्तिको युग पनि भन्न सकिन्छ किनभने आजको समाज केवल कम्प्युटर र इन्टरनेटको प्रयोगमा सीमित छैन कृत्रिम बुद्धिमत्ता, बिग डाटा, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, क्लाउड कम्प्युटिङ, ब्लकचेन र जैव प्रविधि (Biotechnology) जस्ता अत्याधुनिक प्रविधिहरूको एकीकृत प्रयोगले अर्थतन्त्र, समाज, शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रशासन र मानव जीवनका सबै क्षेत्रमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसर्थ वर्तमान युगलाई सूचना प्रविधिको परिपक्व र विकसित चरणका रूपमा रहेको चौथो औद्योगिक क्रान्तिको युग हो। एक्काइसौँ शताब्दीको चौथो औद्योगिक क्रान्ति (Fourth Industrial Revolution–4IR) लाई अघिल्ला तीन औद्योगिक क्रान्तिहरूको निरन्तरता मात्र नभई भौतिक, डिजिटल र जैविक प्रविधिहरूको अभूतपूर्व समन्वयात्मक एकीकरण (Convergence) का कारण नयाँ युगको सुरुआतका रूपमा हेरिन्छ। यो क्रान्ति केवल नयाँ मेसिन वा कम्प्युटरको विकासमा सीमित छैन यसले मानिस, मेसिन, तथ्याङ्क र निर्णय प्रक्रियालाई वास्तविक समय (Real-time) मा परस्पर जोड्ने बुद्धिमान् (Intelligent) प्रणाली निर्माण गरेको छ। कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), मेसिन लर्निङ, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT), बिग डाटा, क्लाउड कम्प्युटिङ, ब्लकचेन, क्वान्टम कम्प्युटिङ, जैव प्रविधि, नानो प्रविधि, थ्रीडी प्रिन्टिङ, स्वचालित सवारीसाधन, ड्रोन र साइबर–भौतिक प्रणाली (Cyber-Physical Systems) जस्ता प्रविधिहरूको संयुक्त प्रयोगले उत्पादन, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, बैंकिङ, सार्वजनिक प्रशासन, सुरक्षा, न्याय प्रणाली र दैनिक जीवनका लगभग सबै क्षेत्रमा आमूल परिवर्तन ल्याइरहेको छ। यसको प्रमुख विशेषता परिवर्तनको तीव्र गति, प्रभावको व्यापक दायरा (Breadth and Depth) र सम्पूर्ण प्रणालीमा पर्ने प्रभाव (Systems Impact) हो। यही कारणले यसको प्रभाव कुनै एक उद्योग वा क्षेत्रसम्म सीमित नभई सम्पूर्ण आर्थिक, सामाजिक र राजनीतिक संरचनामा देखिएको छ।
यस क्रान्तिले डिजिटल अर्थतन्त्र, साझेदारी अर्थतन्त्र (Sharing Economy), गिग अर्थतन्त्र (Gig Economy), ई–व्यापार (E-commerce), डिजिटल वित्त (FinTech), स्मार्ट उद्योग (Smart Industry), स्मार्ट कृषि (Smart Agriculture), स्मार्ट सहर (Smart Cities) र डिजिटल सरकार (Digital Government) जस्ता नयाँ अवधारणाहरूलाई जन्म दिएको छ। उद्योगहरूमा Industry 4.0 अवधारणाअनुसार स्मार्ट कारखाना (Smart Factory), पूर्वानुमानात्मक मर्मत (Predictive Maintenance), स्वचालित उत्पादन प्रणाली र डेटा–आधारित व्यवस्थापनको विकास भइरहेको छ। यसैगरी सार्वजनिक प्रशासनमा ई–शासन (E-Governance), खुला तथ्याङ्क (Open Data), कृत्रिम बुद्धिमत्तामा आधारित निर्णय सहयोग प्रणाली, डिजिटल सेवा प्रवाह, ब्लकचेनमा आधारित सार्वजनिक अभिलेख तथा स्मार्ट सार्वजनिक वित्त व्यवस्थापन जस्ता अभ्यासहरू विस्तार भइरहेका छन्। स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, व्यक्तिगत उपचार (Personalized Medicine), जीन सम्पादन तथा एआईमा आधारित रोग निदानको विकास भएको छ भने शिक्षामा अनलाइन सिकाइ, अनुकूलित शिक्षण (Adaptive Learning) र दूर शिक्षाको विस्तार भएको छ।
चौथो औद्योगिक क्रान्ति अवसरको मात्र स्रोत होइन; यसले रोजगारीको स्वरूपमा परिवर्तन, सीपको मागमा तीव्र वृद्धि, डिजिटल असमानता, साइबर सुरक्षा, डेटा गोपनीयता, एल्गोरिद्मिक पक्षपात (Algorithmic Bias), कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोग, जलवायु परिवर्तन तथा प्रविधिमाथिको अत्यधिक निर्भरता जस्ता चुनौतीहरू पनि उत्पन्न गरेको छ। धेरै परम्परागत काम स्वचालित हुने सम्भावना बढे पनि नयाँ प्रकृतिका रोजगारी सिर्जना भइरहेका छन्, जसका लागि Reskilling, Upskilling र Lifelong Learning अपरिहार्य बन्दै गएका छन्। त्यसैले मानव पुँजीको विकास, नवप्रवर्तनलाई प्रोत्साहन, डिजिटल पूर्वाधारको विस्तार र उत्तरदायी नियमन यस युगका प्रमुख आवश्यकता हुन्।
एक्काइसौँ शताब्दीको चौथो औद्योगिक क्रान्ति (Fourth Industrial Revolution–4IR) को अवधारणा विश्वव्यापी रूपमा स्थापित गराउने श्रेय Klaus Schwab लाई दिइन्छ। यद्यपि यसअघि पनि केही अनुसन्धानकर्ताले “Industry 4.0” वा चौथो औद्योगिक परिवर्तनसम्बन्धी विचार प्रस्तुत गरेका थिए, तर यसलाई विश्वव्यापी आर्थिक, सामाजिक र नीतिगत अवधारणाका रूपमा लोकप्रिय बनाउने काम Schwab ले गरेका हुन्।
सन् २०१५ मा Klaus Schwab ले Foreign Affairs पत्रिकामा प्रकाशित The Fourth Industrial Revolution: What It Means and How to Respond शीर्षकको लेखमार्फत यो अवधारणा व्यापक रूपमा प्रस्तुत गरे। सन् २०१६ मा प्रकाशित उनको पुस्तक The Fourth Industrial Revolution ले यस अवधारणालाई विस्तृत रूपमा व्याख्या गर्यो। सन् २०१६ को विश्व आर्थिक मञ्चको डाभोस वार्षिक बैठक को मुख्य विषय Mastering the Fourth Industrial Revolution राखिएको थियो। त्यसपछि यो अवधारणा विश्वभरका सरकार, विश्वविद्यालय, अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रले व्यापक रूपमा अपनाउन थाले। Schwab का अनुसार यस क्रान्तिको विशेषता केवल नयाँ प्रविधि हुनु होइन, बरु ती प्रविधिहरूको पारस्परिक एकीकरण, परिवर्तनको अभूतपूर्व गति, व्यापक प्रभावको दायरा र सम्पूर्ण प्रणालीमा पर्ने प्रभाव हो।
Industry 4.0 र Fourth Industrial Revolution बीचको सम्बन्ध
Industry 4.0 भन्ने शब्द पहिलो पटक सन् २०११ मा जर्मनीको Hannover Fair मा उन्नत उत्पादन (Smart Manufacturing) को सन्दर्भमा प्रयोग गरिएको थियो।Fourth Industrial Revolution (4IR) भने यसको भन्दा फराकिलो अवधारणा हो। यसले उद्योग मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, वित्त, सार्वजनिक प्रशासन, श्रम बजार, शासन र समाजका सबै क्षेत्रमा हुने डिजिटल रूपान्तरण लाई समेट्छ।
वर्तमान युगलाई विगत संग जोड्ने सन्दर्भमा तीन वटा औद्योगिक क्रान्तिका वारेमा चर्चा गर्नु उपयुक्त हुन्छ। पहिलो औद्योगिक क्रान्ति मानव इतिहासको यस्तो ऐतिहासिक मोड थियो, जसले हस्तकला र परम्परागत उत्पादन प्रणालीलाई यान्त्रिक उत्पादन प्रणालीमा रूपान्तरण गर्यो। यसको सुरुआत अठारौँ शताब्दीको उत्तरार्ध (करिब सन् १७६०) मा बेलायतबाट भएको मानिन्छ र पछि यो युरोप तथा उत्तर अमेरिकामा विस्तार भयो। यस क्रान्तिको मुख्य आधार वाफ इन्जिन, Power Loom, सिलाइ बुनाइका मेसिन तथा फलाम कोइला उद्योगको विकास थियो। जेम्सवाटद्वारा वाफ इन्जिनको सुधारपछि उद्योग, यातायात र उत्पादन क्षेत्रमा अभूतपूर्व परिवर्तन आयो। यसले कारखाना प्रणालीको विकास, उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि, सहरीकरण, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा आधुनिक औद्योगिक अर्थतन्त्रको जग बसाल्यो। यद्यपि, यससँगै श्रमिक शोषण, लामो कार्यघण्टा, बालश्रम र वातावरणीय प्रदूषणजस्ता सामाजिक चुनौतीहरू पनि देखा परे। त्यसैले पहिलो औद्योगिक क्रान्तिलाई आधुनिक औद्योगिक युगको प्रारम्भ तथा विश्व अर्थतन्त्रमा संरचनागत परिवर्तनको आधारशिला मानिन्छ।
दोस्रो औद्योगिक क्रान्तिले पहिलो औद्योगिक क्रान्तिबाट सुरु भएको यान्त्रिकीकरणलाई अझ उन्नत चरणमा पुर्याउँदै विद्युत् शक्ति, स्टिल उद्योग, रासायनिक उद्योग, आन्तरिक कम्वसन इन्जिन र ठूलो मात्रामा उत्पादन (Mass Production) को युग प्रारम्भ गर्यो। यसको विकास मुख्यतः सन् १८७० देखि प्रथम विश्वयुद्ध (करिब १९१४) सम्म भएको मानिन्छ। यस अवधिमा विद्युतको औद्योगिक प्रयोग, टेलिफोन, टेलिग्राफ, रेलमार्गको विस्तार, मोटरगाडी तथा उत्पादन प्रक्रियामा Assembly Line प्रणालीको विकासले उद्योगहरूको उत्पादकत्व र दक्षतामा क्रान्तिकारी वृद्धि गर्यो। हेनरी फोर्डले Assembly Line उत्पादन प्रणालीलाई व्यावसायिक रूपमा सफल बनाएपछि ठूलो मात्रामा कम लागतमा उत्पादन सम्भव भयो। यस क्रान्तिले औद्योगिकीकरणलाई विश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय व्यापार, यातायात, सञ्चार, रोजगारी र आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुर्यायो। साथै, आधुनिक उत्पादन व्यवस्थापन, उपभोक्ता बजारको विस्तार र बहुराष्ट्रिय उद्योगहरूको विकासका लागि पनि यसले बलियो आधार तयार गर्यो। यही कारणले यसलाई पहिलो औद्योगिक क्रान्तिको निरन्तरता मात्र नभई विद्युत् र सामूहिक उत्पादनमा आधारित नयाँ औद्योगिक युगको प्रारम्भ भएकाले दोस्रो औद्योगिक क्रान्ति भनिएको हो।
तेस्रो औद्योगिक क्रान्तिले पहिलो औद्योगिक क्रान्तिको यान्त्रिकीकरण र दोस्रो औद्योगिक क्रान्तिको विद्युतीकरण तथा सामूहिक उत्पादनलाई डिजिटल प्रविधि, इलेक्ट्रोनिक्स, कम्प्युटर र सूचना–सञ्चार प्रविधि मार्फत नयाँ चरणमा प्रवेश गरायो। यसको विकास मुख्यतः सन् १९६०/१९७० को दशकदेखि २१औँ शताब्दीको प्रारम्भसम्म भएको मानिन्छ। यस अवधिमा सेमिकन्डक्टर, माइक्रोप्रोसेसर, कम्प्युटर, इन्टरनेट, दूरसञ्चार, औद्योगिक स्वचालन र डिजिटल सूचना प्रणाली को तीव्र विकासले उत्पादन, सञ्चार, वित्त, शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासनमा अभूतपूर्व परिवर्तन ल्यायो। यसले सूचना र ज्ञानलाई आर्थिक विकासको प्रमुख स्रोतका रूपमा स्थापित गर्दै ज्ञानमा आधारित अर्थतन्त्र र डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्यो। उत्पादन प्रक्रियामा कम्प्युटर–नियन्त्रित प्रणाली, रोबोटिक्स र स्वचालनको प्रयोगले उत्पादकत्व, गुणस्तर र दक्षतामा उल्लेखनीय वृद्धि गरायो भने इन्टरनेटको विकासले विश्वलाई एउटै डिजिटल सञ्जालमा जोड्दै विश्वव्यापीकरणलाई नयाँ गति दियो। यसैले यसलाई डिजिटल क्रान्ति पनि भनिन्छ, किनकि यसले सूचना, सञ्चार र कम्प्युटिङ प्रविधिलाई औद्योगिक तथा सामाजिक रूपान्तरणको केन्द्रमा स्थापित गर्यो। यही कारणले यो चरणलाई औद्योगिक विकासको तेस्रो औद्योगिक क्रान्तिका रूपमा स्वीकार गरिएको हो।
औद्योगिक क्रान्तिहरूको समयरेखा हेर्दा पहिलो औद्योगिक क्रान्ति१७६०– करिब १८४० को अवधि संग सम्बन्धित छ । यस अवधिका विशेषताहरु वाफ इन्जिन, यान्त्रिकीकरण, कारखाना प्रणाली रहेका थिए। दोस्रो औद्योगिक क्रान्ति १८७०–१९१४ को अवधि हो । यस अवधिका विशेषताहरुमा विद्युत , स्टिल, रसायन, आन्तरिक दहन इन्जिन, ठूलो मात्रामा उत्पादन रहेका थिए। पहिलो र दोस्रो औद्योगिक क्रान्तिबीचको लगभग तीन दशक (१८४०–१८७०) लाई धेरै इतिहासकारहरूले संक्रमणकाल मान्छन्। यस अवधिमा पहिलो औद्योगिक क्रान्तिका प्रविधिहरू परिपक्व हुँदै गए, स्टिल, रसायन र विद्युत् प्रविधिमा नयाँ अनुसन्धान भयो,तर दोस्रो औद्योगिक क्रान्तिको व्यापक औद्योगिक प्रभाव अझै पूर्ण रूपमा सुरु भएको थिएन। त्यसैले १८७० लाई दोस्रो औद्योगिक क्रान्तिको औपचारिक सुरुआत मान्ने प्रचलन बढी छ। तेस्रो औद्योगिक क्रान्ति१९६०/१९७० को दशकदेखि २१औँ शताब्दीको प्रारम्भसम्मको अवधि हो। यस अविधको विशेषतामा कम्प्युटर, इलेक्ट्रोनिक्स, सूचना तथा सञ्चार प्रविधि, स्वचालन पर्दछन् । चौथो औद्योगिक क्रान्ति सन् २०१० को दशकदेखि वर्तमानसम्मको अविध हो। यस अवधिका विशेषतामा कृत्रिम बुद्धिमत्ता, IoT, बिग डाटा, रोबोटिक्स, ब्लकचेन, जैव प्रविधि पर्दछन् ।
एक्काइसौँ शताब्दीको चौथो औद्योगिक क्रान्तिले आर्थिक, सामाजिक र शासकीय मान्यतामा ल्याएका सकारात्मक परिवर्तनहरू समेत ल्याएका छन् । चौथो औद्योगिक क्रान्तिले केवल प्रविधिमा मात्र परिवर्तन ल्याएको होइन यसले अर्थतन्त्र, समाज र शासन प्रणालीका आधारभूत मान्यता, कार्यशैली र सेवा प्रवाहको ढाँचामा समेत व्यापक रूपान्तरण ल्याएको छ। यसका केही सकारात्मक परिवर्तनहरू निम्नानुसार छन्:
१. आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन
डिजिटल अर्थतन्त्रको विकास भई ई–व्यापार, डिजिटल वित्त (FinTech) र डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तार भएको छ।
गिग अर्थतन्त्र, साझेदारी अर्थतन्त्र (Sharing Economy) र प्लेटफर्म अर्थतन्त्र को विकासबाट नयाँ रोजगारी र आयका स्रोत सिर्जना भएका छन्।
उत्पादनमा स्वचालन (Automation) र कृत्रिम बुद्धिमत्ताको प्रयोगले उत्पादकत्व, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता बढेको छ।
उद्यमशीलता र नवप्रवर्तन लाई प्रोत्साहन मिल्यो तथा स्टार्टअप संस्कृतिको विकास भउको छ ।
साना तथा मझौला उद्यमहरूले पनि विश्वव्यापी बजारमा पहुँच विस्तार गर्न सकेका छन्।
तथ्यमामा आधारित निर्णय प्रणालीको विकासले व्यवसायिक दक्षता बढाएको छ।
आपूर्ति श्रृङ्खला र बजार व्यवस्थापन थप प्रभावकारी बनेको छ।
२. सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन
ज्ञान र सूचनामा सहज पहुँच स्थापित भई सूचना लोकतान्त्रीकरण भयो।
अनलाइन शिक्षा (E-Learning) र डिजिटल सिकाइको विस्तारले शिक्षा थप पहुँचयोग्य बनेको छ।
टेलिमेडिसिन र डिजिटल स्वास्थ्य सेवा को विकासले स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ।
सामाजिक सञ्जाल र डिजिटल सञ्चारका माध्यमले विश्वव्यापी अन्तरसम्बन्ध र सहकार्य बढाएको छ।
महिलाहरू, अपाङ्गता भएका व्यक्ति र दुर्गम क्षेत्रका नागरिकका लागि घरबाटै काम गर्ने अवसर बढेको छ।
डिजिटल वित्तीय समावेशिता को विस्तारबाट बैंकिङ सेवाको पहुँच बढ्यो।
जीवनभर सिकाइ र निरन्तर सीप विकासको संस्कृति बलियो बनेको छ।
३. शासकीय क्षेत्रमा सकारात्मक परिवर्तन
डिजिटल सरकार र विद्युतीय शासन को विकासले सेवा प्रवाहलाई छरितो, सरल र पारदर्शी बनाएको छ।
अनलाइन सार्वजनिक सेवा विस्तार हुँदा नागरिकले कार्यालय धाउनुपर्ने आवश्यकता घटेको छ।
खुला सरकार र खुला तथ्याङ्कको अवधारणाले पारदर्शिता र सार्वजनिक उत्तरदायित्वलाई सुदृढ बनाएको छ।
कृत्रिम बुद्धिमत्ता र बिग डाटा को प्रयोगबाट प्रमाणमा आधारित नीतिनिर्माण सम्भव भएको छ।
डिजिटल सार्वजनिक वित्त व्यवस्थापन ले बजेट, राजस्व र सार्वजनिक खर्च व्यवस्थापनलाई प्रभावकारी बनाएको छ।
ब्लकचेन प्रविधि को प्रयोगले अभिलेख व्यवस्थापन, सम्पत्ति दर्ता र सार्वजनिक खरिदमा पारदर्शिता बढाउने सम्भावना सिर्जना गरेको छ।
नागरिक सहभागिता डिजिटल माध्यमबाट बढ्न गई शासन थप सहभागितामूलक बन्न थालेको छ।
विपद र संकट व्यवस्थापन मा वास्तविक समयको सूचना प्रयोग गरी छिटो निर्णय लिन सहज भएको छ।
४. श्रम बजार र मानव संसाधनमा परिवर्तन
सीपमा आधारित र ज्ञान–आधारित रोजगारीको माग बढेको छ।
दूर कार्य र लचिलो कार्य प्रणाली को विकास भएको छ।
प्रतिभाको विश्वव्यापी उपयोग सम्भव भएको छ।
निरन्तर नयाँ सीप विकास (Reskilling) र सीप स्तरोन्नति (Upskilling) को संस्कृतिले मानव संसाधन विकासलाई नयाँ दिशा दिएको छ।
५. विकासको अवधारणामा परिवर्तन
चौथो औद्योगिक क्रान्तिले विकासलाई केवल आर्थिक वृद्धिको दृष्टिकोणबाट मात्र होइन, डिजिटल समावेशिता, नवप्रवर्तन, दिगोपन, मानव–केन्द्रित प्रविधि, सुशासन र ज्ञान–आधारित समाज को दृष्टिकोणबाट पनि हेर्ने नयाँ मान्यता स्थापित गरेको छ।
चौथो औद्योगिक क्रान्तिले उत्पादनको तरिका मात्र होइन, अर्थतन्त्रको संरचना, समाजको जीवनशैली र शासन प्रणालीको दर्शनसमेत परिवर्तन गरेको छ। यसले डिजिटल अर्थतन्त्र, स्मार्ट शासन, नवप्रवर्तन, ज्ञान–आधारित विकास र नागरिक–केन्द्रित सेवा प्रवाहलाई नयाँ उचाइमा पुर्याएको छ। तर यी लाभहरू सबै नागरिकसम्म समान रूपमा पुग्न डिजिटल पूर्वाधार, डिजिटल साक्षरता, समावेशी नीति, साइबर सुरक्षा, नैतिक कृत्रिम बुद्धिमत्ता र मानव–केन्द्रित शासन प्रणाली को विकास अपरिहार्य छ। यी आधारहरू सुदृढ गर्न सके चौथो औद्योगिक क्रान्ति आर्थिक समृद्धि, सामाजिक न्याय र प्रभावकारी सुशासनको महत्वपूर्ण आधार बन्न सक्छ।
नेपालजस्ता विकासोन्मुख देशका लागि चौथो औद्योगिक क्रान्ति फड्कोमार्फत विकास अर्थात् Leapfrogging अर्थात् परम्परागत विकासका केही चरणहरू छोट्याउँदै प्रत्यक्ष रूपमा उन्नत डिजिटल प्रणालीमा प्रवेश गर्ने ऐतिहासिक अवसर पनि हो। डिजिटल सार्वजनिक सेवा, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग, कृषि र पर्यटनमा स्मार्ट प्रविधिको उपयोग, डिजिटल उद्यमशीलताको प्रवर्द्धन तथा गिग अर्थतन्त्रलाई श्रमिकमैत्री कानुनी ढाँचाभित्र विकास गर्न सके नेपालले आर्थिक वृद्धि, सुशासन र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय फड्को मार्न सक्छ। त्यसैले चौथो औद्योगिक क्रान्तिलाई केवल प्रविधिको विकासका रूपमा नभई मानव–केन्द्रित, समावेशी, दिगो र नैतिक विकासको नयाँ प्रतिमान का रूपमा ग्रहण गर्दै त्यसअनुसार सार्वजनिक नीति, शिक्षा प्रणाली, श्रम बजार र शासकीय संरचनामा समयानुकूल सुधार गर्नु आजको प्रमुख आवश्यकता हो।
उपसंहार
मानव सभ्यताको विकासक्रममा प्रत्येक औद्योगिक क्रान्तिले उत्पादन प्रणाली, श्रम बजार, अर्थतन्त्र र समाजको संरचनामा नयाँ युगको सुरुआत गरेको छ। आजको चौथो औद्योगिक क्रान्तिले भने भौतिक, डिजिटल र जैविक प्रविधिको अभूतपूर्व एकीकरणमार्फत विकासको गति, स्वरूप र सम्भावनालाई नै पुनर्परिभाषित गरिरहेको छ। कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, जैव प्रविधि तथा डिजिटल प्लेटफर्मले आर्थिक गतिविधि, सामाजिक अन्तरक्रिया र सार्वजनिक शासनलाई थप बुद्धिमान , छरितो र नवप्रवर्तनमुखी बनाएका छन्। यही परिवर्तनले गिग अर्थतन्त्र, डिजिटल सरकार, स्मार्ट उद्योग, स्मार्ट कृषि र ज्ञान–आधारित अर्थतन्त्रको विकासलाई नयाँ उचाइमा पुर्याएको छ।तर कुनै पनि प्रविधि आफैमा न राम्रो हुन्छ, न नराम्रो यसको प्रभाव प्रयोग, नीति र शासन व्यवस्थामा निर्भर हुन्छ। त्यसैले चौथो औद्योगिक क्रान्तिको सफलताको आधार केवल अत्याधुनिक प्रविधिको प्रयोगमा होइन, त्यसलाई मानव–केन्द्रित, नैतिक, समावेशी र उत्तरदायी ढङ्गले परिचालन गर्न सक्ने राज्यको क्षमता, निजी क्षेत्रको नवप्रवर्तन र नागरिकको डिजिटल दक्षतामा निहित छ। नेपालका लागि यो क्रान्ति परम्परागत विकासका केही चरणहरू उछिन्दै (Leapfrogging) समृद्धितर्फ अग्रसर हुने ऐतिहासिक अवसर हो। यसको लाभ पूर्ण रूपमा प्राप्त गर्न शिक्षा प्रणालीमा सुधार, अनुसन्धान र नवप्रवर्तनमा लगानी, डिजिटल पूर्वाधारको विस्तार, पुनः सीप विकास (Reskilling) र सीप अभिवृद्धि (Upskilling), साइबर सुरक्षा, नैतिक कृत्रिम बुद्धिमत्ता र प्रभावकारी नियामकीय संरचनालाई समान प्राथमिकता दिन आवश्यक छ। यस्ता आधारहरू सुदृढ गर्न सके चौथो औद्योगिक क्रान्ति नेपालका लागि केवल प्रविधिगत परिवर्तनको युग नभई समावेशी आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सुशासनको नयाँ युगको आधार बन्न सक्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्



























