लघुकथा:अधुरो स्वतन्त्रता

834
shares

 

“बधाई छ! आजबाट तिमी स्वतन्त्र भयौ,” तीन वर्षअघि अदालतको फैसलापछि बुबाले भन्नुभएको थियो। मलाई पनि गु लागेको थियो— मैले एउटा ‘जेल’ बाट मुक्ति पाएँ।

बिहे गर्दा १९ वर्षकी थिएँ। श्रीमान् शान्त थिए, तर अलिकति जिद्दी। साना झगडा हुँदा म झोला बोकेर माइत जान्थेँ। आफ्ना गल्ती लुकाएर उनको नराम्रो मात्र सुनाउँथेँ। माइतीले पनि “ज्वाइँ नै दोषी” देख्थे। एकदिन झगडामा मैले सीमा नाघेर तीतो वचन बोलेँ, उनले आवेशमा मलाई एक झापड हाने।

त्यही एक झापडलाई हतियार बनाएर मैले मुद्दा हालेँ। अहङ्कार यति बढ्यो कि उनको माफीलाई पनि लत्याइदिएँ। माइतीले हौस्याए— “कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो, डिभोर्स गर!” मैले खुसीसाथ कागजमा ल्याप्चे लगाएँ।

तर आज तीन वर्षपछि, त्यो स्वतन्त्रता ‘नर्क’ जस्तो लाग्दैछ। सुन्छु, उनले अर्को बिहे गरेर सुखी संसार बसाएछन्। तर म? माइतीमा अब म ‘पाहुना’ भएँ, बुहारीका आँखा बिझाउन थालेकी छु। समाजले मलाई हेर्ने नजर बदलिएको छ— कोही दया गर्छन् त कोही रात कटाउने ‘रखेल’ बनाउने दाउ खोज्छन्।

आज बुझ्दै छु, डिभोर्सपछिको त्यो ‘स्वतन्त्रता’ वास्तवमा खुल्ला आकाश होइन, एउटा शून्यताको कारागार रहेछ। यदि त्यसबेला थोरै नरम बनेर आफ्नो संसार जोगाएको भए, आज म यसरी आफ्नै घरमा बेवारिसे हुने थिइनँ। माइतीले दिएको सहाराको ‘बैसाखी’ भन्दा आफ्नै घरको त्यो ‘कर्कश’ नै मेरा लागि स्वर्ग रहेछ, जुन मैले आफ्नै हातले जलाएर खरानी बनाएँ।

 

योगी नारायण नाथ 

  इटहरी सुनसरी

civil hospital
Hams Hospitals