सार्वजनिक प्रशासनमा संगठनात्मक व्यवहारको वहस 

3.1K
shares

 

संगठनमा कार्यरत कर्मचारीे वा कर्मचारिहरुको समुहले संगठनमा के कस्तो व्यक्तिगत वा व्यवसायिक व्यवहार प्रस्तुत गर्छन् र उक्त स्वभाव वा बानी व्यवहारले समग्र सँगठनको व्यवसायिक वातावरणमा के कस्तो प्रभाव पर्दछ भनि गरिने व्यवस्थापकिय अध्ययनलाई संगठनात्मक व्यवहार भनिन्छसंगठनमा आबद्ध मानिसको व्यक्तिगत, समूहगत र संगठनात्मक क्रियाकलापको अभ्यास नै संगठनात्मक व्यवहार हो । एउटा पूर्ण संगठनका लागि उद्देश्य संरचना अधिकार कामको विभाजन, प्रभावकारी संचारको व्यवस्था र कार्यसंस्कृति आवश्यकता पर्छ । संगठनमा कार्यरत मानिसका अन्तरनिहित भावना, दृष्टिकोण विश्वास र व्यवहारको अध्ययन गरी कमी कमजोरी सुधार गर्ने विषय नै संगठनात्मक व्यवहार हो ।सङ्गठनात्मक व्यवहारले खासगरी सङ्गठन भित्र व्यक्ति, समूह र संरचनाको भूमिका कस्तो रहन्छ भन्ने विषयको अध्ययन गर्दछ ।

। संगठनात्मक व्यवहार साँगठनिक वातावरणमा व्यक्तिगत रुपमा वा समुहगत रुपमा कर्मचारिहरुको व्यक्तिगत वा समूहगत काम प्रतिको धारणा, उत्प्रेरणा वा व्यवसायिक व्यवहारलाई बुझ्नु, अनुमान गर्नु वा मापन गर्नु , व्यक्तिगत व्यवहारलाई वा समुहगत व्यवहारलाई संगठनात्मक लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा वा कर्मचारिहरुकै व्यक्तिगत वा समुहगत उदेश्य हाँसिल गर्न उपयुक्त ढँगले उनीहरुको व्यवसायिक व्यवहारलाई व्यवस्थापन गर्नु हो ।

सङ्गठनमा कार्यरत मानिसहरूको व्यवहारको विभिन्न पक्षहरूको अध्ययन गरिन्छ । संगठनात्मक व्यवहार सन् १९६० र ७० को दशक देखी प्रयोगमा आएको हो । सन १९२०को दशकको हाउथ्रन एक्सपेरिमेन्ट पछि संगठनात्मक व्यवहारलाई सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट बुझ्ने कामको शुरुवात व्यवहारवादीहरुबाट शूरु भयो । कर्मचारिलाई संगठन भित्र सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट बुझ्ने क्रममा सँगठनको उत्पादकत्वको कुरा, शान्त कार्य वातावरण, सामुहिक कार्य कुशलता र कर्मचारी बिदा जस्ता कुरामा आधारित हुन्छन् भनि बिश्लेषण गरिएको थियो ।

कर्मचारीको संगठनात्मक व्यवहार अध्ययन गर्ने क्रममा व्यक्तिगत, समुहगत र सँस्थागत तहमा अध्ययन गर्नुपर्छ । व्यक्तिगत तहमा कर्मचरीको व्यक्तित्व, बानी वा स्वभाव, कार्य सन्तुष्टी बिश्लेषण, कर्मचारिको सिकाई, कर्मचारिको काम प्रतिको उत्प्रेरणा र काम प्रतिको कर्मचारिको धारणा बुझ्ने प्रयास गर्नुपर्छ । समुहगत तहमा कर्मचारीको तहगत विश्लेषण, कर्मचारीहरुको सामाजिक परिवेष तथा साँस्कृतिक पक्ष र संगठनात्मक तहमा कर्मचारिहरुको बहु आयमिकता, समुह समुहको अन्तर सँवाद र अन्तरद्धन्द्ध, समुह समुह बिचको कार्यक्षमता, अधिकार र दायित्व जस्ता कुराहरुको अध्ययन गर्नुपर्छ ।

संगठनात्मक व्यवहारको अध्ययन गर्न आन्तरिक धारणा र बाह्य धारणा छन् । आन्तरिक धारणा प्रत्येक कर्मचारीहरुको व्यबहार, सोच, अनुभव र बोलिचालिमा आधारित हुन्छन् भने बाह्य धाराणा कर्मचारीहरुको काम गर्ने तरिका, काम गर्ने सोच संगठन भन्दा बाहिरका कृयाकलापले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ र यी भिन्न भिन्न कर्मचारीहरुमा हुने स्वभावगत धारणाले नै सँस्थाको उदेश्य र सँस्थाको उत्पादकत्वमा प्रभाव पार्छ ।

सङ्गठनात्मक व्यवहारमा प्रभाव पार्ने तत्वहरूमा विश्वव्यापीकरणबाट सिर्जित मान्यताहरु, कर्मचारीको व्यक्तिगत व्यवहार र शैली,साङ्गठनिक संरचना र सोको शैली, सहभागितामुलक संस्कृत एवं समावेशी अवधारणा,परिवर्तनको सामना,साङ्गठनिक निष्ठा,कर्मचारीहरूमा विषमता,प्रतिस्पर्धात्मक अवस्था, सामाजिक उत्तरदायित्व र व्यवस्थापकीय आचरण र प्रविधिको विकास प्रमुख रहेका छन् ।

संगठनात्मक व्यवहारको अध्ययनले संगठन र कार्यरत मानिसलाई लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रूपमा लगाउन सकिने,संगठनको दिशा वा गतिबारे सही जानकारी दिने, संगठनको कमजोरी सुधार्न सहयोग पुग्ने,व्यवस्थापकीय खुबीको विकास हुने,कर्मचारीका अपेक्षा र उत्प्रेरणाको स्तरको जानकारी हुने,संगठनभित्रको द्वन्द्व समाधानमा सहयोग पुग्ने,सेवाग्राही र सहकर्मीसँगको व्यवहारबारे जानकारी हुने,परिवर्तनलाई आत्मसात् र व्यवस्थापन गर्न सजिलो हुने,संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्न मदत पुग्ने, व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने अध्ययनमा मदत पुग्ने गर्दछ ।

सङ्गठनात्मक व्यवहारका नविन प्रवृत्तिहरूमा प्रतिस्पर्धात्मक क्षमतामा जोड,आत्मनिर्देशन, स्वनियन्त्रण र स्वअनुशासनमा जोड,मानव केन्द्रित अवधारणामा जोड,विकेन्द्रीकरणमा जोड,कर्मचारीलाई साझेदारको रूपमा लिने व्यवहारको सुरुवात,कार्यसन्तुष्टिको भावनामार्फत उत्प्रेरणाको अभिवृद्धि, सङ्गठनात्मक एवं व्यक्तिगत लक्ष्य बीच उचित सन्तुलन र एकीकरणमा जोड,संगठनात्मक कार्य संस्कृति,प्रविधीमा परिवर्तन आदि रहेका छन् ।

बिश्वव्यापीकरणसँगै प्रतिस्पर्धात्मक क्षमता अघि बढाउनु, कार्यवल बिविधताको उचित प्रयोग गर्नु, कार्यस्थल सुरक्षा र गुणस्तरियता अभिबृद्धि गर्नु, कर्मचारी अभिमुखिकरण र अविबृद्धि गर्नु, गुणस्तर र उत्पदकत्वमा वृद्धि गर्नु, कर्मचारीको क्षमता विकास गर्नु, व्यवस्थापकिय सुधार प्रभावकारी ढंगले अघि बढाउनु र सुचना तथा सन्चारको बढ्दो प्रयोग र बिकास , कर्मचारीको कार्य व्यवहार र ज्ञान दक्षताको मूल्यांकन, गुनासाहरूको अध्ययन, कर्मचारीको सन्तुष्टिको तह, दोहोरो सञ्चार, सहभागितामूलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर समस्या पत्ता लगाई समाधान गर्ने परिपाटीको विकास गर्ने कार्यहरु चुनौतीपुर्ण रहेका छन् ।

नेपालको सन्दर्भमा संगठनमा कर्मचारिहरुको कार्य व्यवहार, कर्मचारी ज्ञान, दक्षताको मुल्यांकन, गुनासाहरूको अध्ययन प्रभावकारी हुन सकेको छैन । साथै, कर्मचारिहरुको सन्तुष्टिको तह, दोहोरो सञ्चार बिधी र कर्मचारीहरुको सहभागितामुलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर उपयुक्त समाधान गर्ने परिपाटी सघन रुपमा अभ्यासमा आएको छैन । कार्यालय हातामा कुन पदको व्यक्तिले कसलाई कस्तो व्यवहार गर्ने, के काम गर्ने, जवाफदेही र उत्तरदायित्व के के हुन सक्छन् भन्ने कुराको निर्धारण नहुँदा अवस्था झन जोखिम पुर्ण हुँदै गएको छ ।संगठनात्मक सृदृढिकरण र संरचनात्मक सुधारको अभावले आम सर्वसाधारणमा संस्थागत छवि राम्रो बन्न सकेको छैन । संघसंगठनको दैनिक क्रियाकलाप तदर्थ वा पुरातन प्रवृत्तिबाट चलेको देखिन्छ । संगठनको कार्यप्रकृति अनुरूपको पद सृजना, योग्यता र व्यावसायिकताको आधारमा कार्य विभाजनका साथै कार्य अदलबदलसमेतको अभावले संगठनहरू आक्रान्त छन् ।

नेपालको संगठनात्मक संरचनामा हेर्ने हो भने कर्मचारीले प्राप्त गरेको दक्षता, व्यावसायिकता बौद्धिक क्षमता र थप शिक्षा प्राप्तिलाई मानव संसाधन सूचना प्रणालीमा आबद्ध गरेको देखिँदैन । नेपालका संगठनमा व्यवहारमा सुशासनको पालन गरेको पाइँदैन । के मन्त्री, के सचिव, के कार्यकारी निर्देशक के सहायक सबैमा अनुशासन, समर्पण र कर्तव्यपरायणताको अभाव देखिन्छ । सुशासनमा कमी, बढ्दो भ्रष्टाचार, नियमकानूनको उल्लंघन, तथा उत्तरदायित्व, जवाफदेहिता, पारिदर्शिता, समन्वय, सञ्चार र आत्मनिर्भरताको अभावले संगठनको उत्पादकत्व अपेक्षित बढेको छैन ।

संगठनले कर्मचारिको मनोभावना, योग्यता र क्षमता बुझि सोही अनुसार उनिहरुलाई अभिप्रेरित गर्दै काममा लगाउनु पर्दछ ।संगठनात्मक व्यवहारमा मुलत आन्तरिक तथा बाह्य परिपेक्षहरुको प्रभाव मुल्याँकन गरिन्छ ।संगठनात्मक व्यवहार अध्ययनमा कर्मचारीको स्वभागत आनीबानी बुझी उनीहरुलाई संगठित गर्दै सँस्थागत लक्ष्य हाँसिल गर्न सँगठन कृयाशिल हुनु पर्दछ । कर्मचारीको क्षमता, दक्षता चाहाना र कर्मचरीको सामाजिक तथा सँस्कृतिक पक्षको बारेमा अध्ययन गर्नुपर्छ । र सोही अनुसार कर्मचारीलाई व्यवहार गरी संगठनात्मक लक्ष्य हाँसिल गर्न सक्नुपर्छ । संस्थागत तह अनुसार सबै कर्मचारी बिच सह सम्बन्ध स्थापना गर्दै कर्मचारीहरुबाट कार्य सम्पादन गर्ने गराउनु पर्छ । र सँस्थागत लक्ष्य हाँसिल गर्नुपर्छ ।सँस्थामा प्राप्त साधन श्रोतको परिचालनमा ध्यान दिँदै कार्य सम्पादन गर्न सक्नुपर्छ । व्यवसायिक वतावरण ( आन्तरिक तथा बाहिय वातावरणमा आएका विभिन्न प्रकारको अवसर र चुनौति र कमिकजोरीलाई सुधार गर्दै कर्मचारिको मनोभावना बुझि संगठनात्मक कामहरु गर्नुपर्छ ।

संगठनात्मक व्यवहारका परिवर्ति सोचहरु जस्तै, गुणस्तर र उत्पादकत्व, प्रविधी र उत्खन्न, नैतिकता,विश्वव्यापी वातावण र प्रभाव , बहु सँस्कृतिक पक्षको व्यवस्थापन, खोज तथा अनुसन्धान, कर्मचारी व्यवस्थापन निती नियम,राष्ट्रिय नितिनियम, अन्तराष्ट्रिय नीति नियम हुन् । यी परिवर्तित सोचलाई ध्यान दिँदै सँगठनात्मक व्यवहारका व्यक्तिगत तह वा समूहगत तह वा संगठनात्मक तहका तहगत कामहरु गर्नुपर्छ । साथै,संगठनात्मक व्यवहारलाई चुस्त तथा प्रभाकारी बनाउन संगठन भित्र प्रविधिको विकास गर्न, कर्मचारिहरुको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा समय सापेक्ष सुधार ल्याउन जरुरी छ ।

संगठनात्मक व्यवहारको वहस वहुआयामिक विषय हो । नेपालमा संगठनात्मक सुधार र व्यवहारमा परिवर्तन ल्याउनसंगठनात्मक व्यवहारमा देखिएका जटिलताहरुलाई समयमै निराकरणगरी संगठनात्मक गतिशीलता र प्रभावकारीता अभिबृद्धि गर्नु आवश्यक रहेको छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

civil hospital
Hams Hospitals