बाहरू

195
shares

 

आज स्वदेश तथा बिदेशमा समेत हिन्दुहरु गाउंशहरभरी, सामाजिक सञ्जालका भरि र गल्ली-गल्लीमा बुबा (बा) को मुख हेर्ने दिनको रौनक छ। कोही मानिसहरू आफ्ना बासँगका पुराना तस्बिरहरू पस्किदैछन्, कसैका शब्दमा बाप्रतिको अगाध माया झल्किन्छ त कसैका शब्दमा बा नहुनुको गहिरो पीडा र टोलाएका आँखाहरू। कसैले बासँगको कालोसेतो फोटो पोस्ट गर्दै “मेरो पहिलो हिरो” लेखेका छन्। कतिपयले दिवंगत भइसकेका बुबाहरूको सम्झनामा हिन्दू विधिअनुसार श्राद्ध गर्दै, जल अर्पण गर्दै बाको सम्झनालाई ताजा गराइरहेका छन्। अरूका यस्तै भावुक कथाहरू र सम्झनाका विम्बहरूमा अल्किँदा अल्झिदै म आफैं पनि भावनाको एउटा वेगिलो तरेलीमा बगिइरहेको महसुस गर्दैछु।

 

तर, जब म आफ्नै जीवनको पाना पल्टाउँछु, मेरो कथा अलि फरक र पृथक नै बनिदिन्छ। धेरैका लागि “बा” एउटा शब्द हो, एउटा व्यक्ति हो। तर मेरो जीवनमा भने बा शब्द कहिल्यै एकवचनमा सीमित रहेन, मेरो भागमा त बाहरू परेका थिए।

 

निश्चय नै, जन्मदिने आमा र बुबा संसारमा एउटै हुनुहुन्छ, तर हुर्काइको यात्रामा, जीवनका अनेकौँ परिवेश र उतारचढावहरूमा परिस्थिति र सम्बन्धले हामीलाई अनेकौं “बा” हरू प्रदान गर्दो रहेछ। तर हुर्कने क्रममा जीवनले कहिलेकाहीँ हामीलाई थप अभिभावक बाहरू उपहारमा दिन्छ। अचेल मानिसहरू जन्मदिने बा र विवाहपछि सासू-ससुरामध्यका सासूलाई “कर्मदिने आमा”र ससुरालाई “कर्मदिने बा” भनेर सम्बोधन गर्छन्। मलाई लाग्छ, यो नेपाली समाजले सम्बन्धलाई अझ आत्मीय बनाउने एउटा सुन्दर आविष्कार हो।

 

जीवनका यो क्षण सम्म आइपुग्दा मैले समाजको ठूलो रूपान्तरण देखें। आर्थिक, सामाजिक, प्राविधिक, राजनितिक र सांस्कृतिक परिवर्तनका अनेकौँ आँधीबेहरी भोग्दै म यहाँसम्म आइपुगेको छु। यो परिवर्तनको यात्रामा एउटा कुरा भने बदलिएको छैन- बाहरूको माया। गाउँको हिसाबले हेर्ने हो भने, हाम्रो परिवार उच्च मध्यमवर्गमै पर्थ्यो। यसलाई समयको अनुकूलता भनौँ या हजुरबाको कृपा र दूरदर्शिता – म र मेरा ३ भाइहरू तुलनात्मक रूपमा दुःखमा भन्दा सुख-सुविधामै हुर्कियौँ।

 

हाम्रो घर एउटा ठूलो र संयुक्त परिवार थियो, जहाँ जन्मदिने बाका साथै दुई जना काका “बा”हरू हुनुहुन्थ्यो। म र मेरा तीन जना भाइहरू, हामीले कहिल्यै एक जना बाको मात्रै मायामा सीमित हुनुपरेन। हामी त बाहरूको सामूहिक छत्रछायाँमा, उहाँहरूको संयुक्त सामीप्य र अगाध स्नेहमा हुर्कियौँ। सामाजिक सञ्जालमा आज देखिने कतिपय अभाव र सङ्घर्षका एकाङ्गी कथाहरूभन्दा हाम्रोबालापन र हुर्काइको यो स्वरूप निकै पृथक् र थोरबहुत समृद्ध थियो। हामी चार भाइ थियौँ, तर अभिभावक चारभन्दा बढी। बहिनीहरु अलि पछि जन्मिएकाले अनुभव अलि फरक हुनसक्छ।

 

बाल्यकालका ती दिनहरू अझै ताजै छन्। कुनै बा काँधमा राखेर गाउँ डुलाउनुहुन्थ्यो। कोही शहरबाट चकलेट ल्याइदिनुहुन्थ्यो। कोही कथा सुनाउनुहुन्थ्यो। कोही स्कुलको गृहकार्य पूरा भए कि भएन भनेर जाँच गर्नुहुन्थ्यो। उम गल्तीको अनुसार समयानुकुल चडकन पनि खाइयो तर मायामा कमि रहेन। समय बित्दै गयो, हामी बाल्यकालबाट युवावस्थातिर ढल्कियौँ। त्यो उमेरमा, जब बाटो बिराउने डर हुन्थ्यो, बाहरूले सधैं अध्ययनशील बन्न र प्रगतिको बाटोमा अगाडि बढ्न प्रेरित गरिरहनुभयो। शरीरले उहाँहरू स्वदेशमा हुनुहोस् या विदेशमा, उहाँहरूको भावनात्मक उपस्थिति र अभिभावकत्वले हामीलाई कहिल्यै छाडेन। जीवनको कुनै पनि मोडमा हामीले ढाडस, हिम्मत वा साथको कमी महसुस गर्नुपरेन। उहाँहरू सबैको लक्ष्य एउटै थियो, हामी सफल र असल मानिस बनौँ। अझ पछि मेरो जीवनको नयाँ अध्याय सुरु भएपछि “कर्म बा” को रूपमा अर्को एउटा बलियो खम्बा थपियो।

 

आज आफु पनि वा भइसकेपछि फर्केर हेर्दा लाग्छ, यी चारै जना बाहरू बाट मैले जे-जति पाए, त्यो केवल पालनपोषण या पारिवारिक दायित्व मात्र थिएन, त्यो त जीवन जिउने संस्कार, आत्मविश्वास र अमूल्य मार्गदर्शन थियो। कसैले अनुशासन सिकाउनुभयो, कसैले सहनशीलता। कसैले मेहनतको मूल्य बुझाउनुभयो, कसैले मानवीयता। कसैले आत्मविश्वास दिनुभयो, कसैले विनम्र रहन सम्झाउनुभयो। यी चारै जना बाहरूले आफ्नो आफ्नो स्वभावर क्षमता अनुसार आफ्नो-आफ्ना ठाउँबाट मेरो जीवनको जग बलियो बनाउन जुन अमुल्य योगदान दिनुभएको छ, त्यसका लागि म शब्दमा कृतज्ञता व्यक्त गर्ने सक्दिनँ। म आफूलाई संसारकै भाग्यमानी र अनुगृहीत महसुस गर्छु। त्यसैले आज बुबाको मुख हेर्ने दिनमा म गर्वका साथ भन्न सक्छु, म कहिल्यै अभिभावकको अभावमा हुर्किन। बरु माया, मार्गदर्शन र संरक्षणको अतिरिक्त डोज पाएर हुर्किएँ।

 

बा हुनु भनेको केवल परिवारको आर्थिक भार उठाउनु मात्र होइन रहेछ, बा त आँधीबेहरीमा ओत दिने छहारी, अँध्यारोमा बाटो देखाउने बत्ती र लड्न लाग्दा समात्ने बलियो हात हुनु रहेछ। र जब यस्ता चार-चार वटा छहारीहरू एउटै जीवनमा पाइन्छ, तब जीवनका कुनै पनि चुनौतीहरू साना लाग्दा रहेछन्।

 

आजको यो पावन दिनमा, मेरा जीवनका ती सम्पूर्ण “बाहरू” को समर्पण, त्याग र स्नेहप्रति शीर झुकाउँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।

 

मेरा जीवनका सम्पूर्ण बाहरूप्रति हार्दिक नमन।

 

civil hospital
Hams Hospitals